गजलकार ज्ञानुवाकर पौडेललाई ‘गजलका माली’ भनेर चिनिन्छ । गजल लेखनमा एउटा लामो शून्यतापछि ३० को दशकको मध्यतिर उनले गजल लेख्न थाले । गजलको फूलबारीलाई फेरि गोडमेल गरे ।
गजलका रूपमा फरक किसिमको कविता ज्ञानुवाकरले पाठकलाई दिएपछि त्यस बेलाका अरू केही कविले पनि यसमा कलम चलाउन थाले । त्यसपछिको समयमा गजल लेखन र वाचनले लिएको उचाइ कसैबाट लुकेको छैन । आज एकदुई होइन, सयौँ गजलकार यो क्षेत्रमा छन् । र, गजलमा काव्यात्मक भावना पस्किरहेका छन् ।
गजलका विभिन्न कृति सार्वजनिक गरिसकेका अग्रज स्रष्टा ज्ञानुवाकर यो लेखनीका विषयमा स्पष्ट छन् । परम्परागत रूपमा रहिआएको गजलका केही नियम आफूले भत्काएको उनी स्वीकार गर्छन् ।
यसलाई स्पष्ट पार्दै उनले भने, “घर बनाउँदा कुनामा पुगेर मिलाउन सग्लो इँटा फुटाउनैपर्छ, नभए घर बन्दैन । मैले पनि गजलको विकासका लागि केही नियम भत्काएको हुँ ।”
लेखकले ‘नजानेर लेख्ने तर जानेर सच्याउने’ उनले बताए । भारतमै पनि गजलको परम्परागत लेखनशैलीबाट गजलकारहरू मुक्त हुँदै गएको ज्ञानुवाकरको भनाइ छ ।
बाह्रखरीको यसपटकको ‘गजल गंगा’मा उनै ‘गजलका माली’ ज्ञानुवाकर पौडेलसँगको संवाद र केही गजल भिडियोमा हेर्नोस्–