site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
जितु सिंगो सिनेमा लिड गर्न सक्छन् ? 

काठमाडौं । केही समययता जितु नेपाल चलचित्रको अभिनयमा व्यस्त छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा रहेर केही चलचित्रमा काम गरेका जितु यो समूहबाट बाहिरिएपछि पनि चलचित्रमा निरन्तर काम गरिरहेका छन् । 

‘छक्का पञ्जा’ समूहबाट बाहिरिएपछि उनले सिनेमाको मुख्य भूमिकामा रहेर नै काम गर्ने मौका पाए । ‘ह्यारिकी प्यारी’मा उनले पहिलोपटक सोलो लिडको अवसर पाए । यो अवसर पाउँदा उनी हिरोको रुपमा दरिए । 

त्यसपछि जितु मुख्य भूमिकामा रहेको चलचित्र थियो, ‘ज्वाइँ साब’ । यो चलचित्र गएको दसैँमा रिलिज भएको थियो । यो चलचित्रमा पनि उनी हिरोको रूपमा थिए । यो उनको दोस्रो सोलो लिड थियो । 

अहिले हलमा रहेको चलचित्र ‘कार्साङ’मा पनि जितुको अभिनय छ । यसमा भने जितु सहायक भूमिकामा छन् । यो चलचित्रको नायक दयाहाङ राई हुन् । 

दयाहाङले समय दिन नसकेपछि यो चलचित्रको प्रचारमा सहायक भूमिकामा रहे पनि जितु नै दौडिरहेका छन् । नायिकाको भूमिकामा रहेकी सिर्जना निङ्लेखु, जितु र दीया मास्के ‘कार्साङ’को प्रचारमा छन् । 

यो चलचित्रले पनि खासै धेरै दर्शकको माया पाउन सकेन । चलचित्रका धेरै शो खालीखाली छन् । त्यसैले यसले प्रदर्शनको एक सातामा उलेख्य कलेक्सन गर्न सकेको छैन । डेढ करोड हाराहारीमा मात्रै कलेक्सन गरेको छ । 

जितुको पहिलो सोलो लिड रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ पनि व्यापारिक रूपमा सफल चलचित्र होइन । राम्रो हाइप बनाए पनि यसले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सकेन । 

दसैँमा ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’सँगै रिलिजमा आएपछि राम्रो हाइप  बनाएको ‘ज्वाइँ साब’ले पनि हाइप अनुसारको कलेक्सन गर्न सकेन । तर, यसले लगानी भने सुरक्षित गरेको थियो । 

त्यसैले जितुले लिड गरेको दुई चलचित्रमध्ये एउटाले लगानी सुरक्षित गर्दा एउटा घाटामा गयो । जितुले अभिनयमा तारिफ बटुलिरहेका छन् । 

अब जितु आफ्नै लगानी र निर्देशनमा चलचित्र निर्माणको तयारीमा छन् ।  

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro