काठमाडौं । यो वर्षको सुरुदेखि नै नेपाली चलचित्र उद्योग गुलजार भयो । वैशाखदेखि सुरु भएको नेपाली चलचित्रको व्यापार आक्रामक देखियो ।
‘बोक्सीको घर’देखि सुरु भएको चलचित्रको आक्रामक व्यापार तिहारसम्म जारी रह्यो । ‘बोक्सीको घर’ले ११ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्यो । ‘पूर्ण बहादुरको सारङ्गी’ले करिब ५० करोड रुपैयाँ नेपाली बक्सअफिसबाट कलेक्सन गर्यो ।
योबीचमा आएका चलचित्र ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ले लोभलाग्दो कलेक्सन गरे । ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली रजतपटमा खडा गरिदिएको बेन्चमार्क तोड्न तत्काल सम्भव होला/नहोला भन्ने प्रश्न खडा भएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’पछि प्रदर्शनमा आएका ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ औसत रहे । त्यसपछिका चलचित्रको बजार कस्तो रह्यो ? ‘तेल भिसा’पछि ‘अग्नि दहन’, ‘बम बहादुर’, ‘देववाणि’ र ‘कार्साङ’ रिलिज भए ।
‘कार्साङ’ हलमा प्रदर्शनरत छ । ‘अग्नि दहन’, ‘बम बहादुर’, ‘देववाणि’ प्रदर्शन भएर उत्रिसकेका छन् । यी चलचित्रलाई दुई दिन पनि हलमा टिक्न कठिन भयो । लगानी उठाउन सकेनन् । हालसम्मको अवस्था हेर्दा ‘कार्साङ’ले पनि राम्रो संकेत देखाएको छैन । मंगलबार (भोलि) बिदाको दिन कस्तो व्यापार गर्छ, त्यसले यसको भविष्य निर्धारण गर्नेछन् ।
दसैँ र तिहारमा रिलिज भएका चलचित्रले मात्र करिब एक अर्बको व्यापार गरेका थिए, जसले नेपाली सिनेमा उद्योगमा ठूलो आशा र अपेक्षा जगाए । करिब तीन महिनामा एक अर्बभन्दा धेरैको कारोबार भएको थियो । यसले चलचित्र क्षेत्र उद्योग भएको प्रमाणित गरेको थियो ।
लगातार चलचित्रले राम्रो कमाइ गरेपछि नेपाली सिनेमा उद्योग चलायमान मात्र भएन, नयाँ निर्माणका निम्ति इजाजत लिनेको संख्या अनपेक्षित रूपमा बढ्यो । चालु आर्थिक वर्षमा हालसम्म पाँच दर्जनभन्दा धेरै चलचित्र निर्माणका लागि इजाजत लिइसकेको तथ्यांक छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा धेरै हो ।
“पूर्ण बहादुरको सारङ्गीपछि नेपाली चलचित्रको बजार पुनः सुस्तायो । यसपछि आएका चलचित्रले राम्रो व्यापार गर्न सकेनन्,” निर्देशक घनश्याम लामिछाने भन्छन्, “राम्रा चलचित्र नहुनु नै चलचित्र नचल्नुको मुख्य कारण हो ।” चलचित्र राम्रो भए व्यापारिक रूपमा सफल हुने सम्भावना धेरै हुने उनको भनाइ छ ।
चलचित्र राम्रो भएर पनि उचित प्रचार हुन नसके व्यापारिक रूपमा असफल हुने उनी बताउँछन् । “हाम्रोमा चलचित्रको मार्केटिङ पनि कमजोर छ । सधैँ वर्ड अफ माउथको मात्रै भर परेर पनि हुँदैन,” उनी अगाडि थप्छन्, “चलचित्रले हाइप बनाउन नसक्नु पनि चलचित्र नचल्नुको अर्को कारण हो ।” चलचित्र राम्रो बनेर पनि वर्ड अफ माउथ नपाउँदै हलबाट उत्रिएका थुप्रै उदाहरण रहेको उनको भनाइ छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ र ‘पुष्पा’को मारमा पनि केही नेपाली चलचित्र परेको उनको उनको निष्कर्ष छ । सोही कारण यी दुई रिलिजलगत्तै प्रदर्शनमा आएका चलचित्र राम्रोसँग चल्न नसकेको उनको ठम्याइ छ ।
नेपालमा ‘सेलेक्टेड’ सीमित दर्शकमा बाहेक कुन चलचित्र कहिले आयो भन्ने नै थाहा नहुने उनी बताउँछन् । “आमदर्शकमा कुन चलचित्र कहिले आउँछ भनेर नै हाम्रो कमजोर पब्लिसिटीबाट थाहा नहुने भयो,” निर्देशक घनश्याम भन्छन्, “अब नयाँ तरिकाले कसरी पब्लिसिटी गर्ने ताकि आमअडियन्समा सिनेमाबारे थाहा होस् ।” यसबारे नेपाली मेकरले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आइसकेको उनको भनाइ छ ।
पब्लिसिटीका निम्ति मेकरको खर्च हुने तर प्रभावकारी नहुने अवस्थाको अन्त्य हुनुपर्नेमा उनी जोड दिन्छन् ।
चलचित्र वितरक करण श्रेष्ठ कमजोर सिनेमा नै बजार सुस्ताउनुको मुख्य कारण रहेको बताउँछन् । “भन्नलाई त चिसो मौसम पनि यो समय चलचित्र नचल्नुको कारण हो भनिन्छ । तर, कन्टेन राम्रो भयो भने चलचित्र चल्छन् । पुष्पा चिसो मौसममा नै चलेको चलचित्र हो,” करण अगाडि थप्छन्, “त्यसैले नेपाली सिनेमाको बजार कमजोर भएको होइन, कन्टेन कमजोर भएको हो ।”
कमजोरी केमा छ भनेर स्पष्ट हुनुपर्ने उनी बताउँछन् । राम्रो चलचित्र भए दर्शकको अभाव नरहेको उनको जिकिर छ ।
“अपेक्षाअनुसार दर्शक नआएको मात्रै हो, दर्शक नै हलमा नआएको होइन,” उनी भन्छन्, “योबीचमा मास अपिलिङ सिनेमा नआएको र आएका चलचित्र पनि दर्शकको रोजाइमा नपर्नु बक्सअफिस कमजोर हुनुको मुख्य पक्ष हो ।”
माघदेखि पुनः नेपाली चलचित्रको माहोल बन्ने उनी दाबी गर्छन् । “चलचित्रको लाइनअप हेर्दा अहिले केही कमजोर देखिएको नेपाली चलचित्रको बजार माघ महिनाबाट पुनः फर्किनेछ,” चलचित्र वितरक करण ढुक्क हुँदै भन्छन् ।
फागुनमा नेपाली सिनेमाका निम्ति छुट्टै माहोल खडा हुने उनको तर्क छ । माघमा ‘एक्टर’ र ‘मिसिङ : केटी हराएको सूचना’लगायत चलचित्र रिलिज हुनेछन् ।
फागुनमा ‘मायावी’, ‘होस्टेल–३’, ‘लाज शरणम्’लगायत चलचित्रको बलियो लाइनअप देखिएको छ । फागुनमा मास अपिलिङ सिनेमा रिलिज हुने भएकाले नेपाली बक्सअफिसले पुरानै लय समाउने करणको विश्वास छ ।
कमजोर सिनेमा र नयाँपन नहुनु नै हाल चलचित्र नचल्नुको मुख्य कारण भएको निर्माता अवीरल थापा बताउँछन् । एकै प्रकृतिका चलचित्र आउनु नै मुख्य समस्या भएको उनी टिप्पणी गर्छन् ।
“दसैँ र तिहारपछि रिलिज भएका चलचित्रमा के थियो जुन त्यसअघि प्रदर्शनमा आएका चलचित्रमा थिएन ?,” अविरलको प्रश्न छ, “बलियो र नयाँ कन्टेन केही नआउनु नै बजार ओरालो लाग्नुको मुख्य कारण हो भन्ने मेरो बुझाइ छ ।”
दसैँतिहारमा एक्सन, कमेडी र इमोसनल सिनेमा हेरिसकेको र त्यसयता आएका चलचित्रमा नयाँपन नदेखिएकाले दर्शकले रुचि नदेखाएको उनको बुझाइ छ ।
दर्शकको रोजाइमा चलचित्र पर्न त्यसमा केही न कही नयाँपन हुनुपर्ने अन्यथा सिनेमा नचल्ने सत्यलाई स्वीकार गर्नुपर्नेमा उनको जोड छ ।