site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीवनमा जे भोगेँ, त्यही पर्दामा देखाइरहेको छु

काठमाडौं । घरभित्र थिए, दयाहाङ राई । झाँक्रीको भेषमा थिए । धामी बसिरहेका थिए । बाहिर दनदनी आगो बलिरहेको थियो । आकाशमा कालो बादल मडारिरहेको थियो । पानी परिहाल्लाजस्तो भइरहेको थियो । चाँडै छायांकन सकाउने दबाब थियो ।

दयाहाङ ‘पानी पर्छ, चाँडो गरौँ न’ भनिरहेका थिए । गाउँका झाँक्रीहरू ‘आत्तिनु पर्दैन, हामीले छायांकन नसकिउन्जेलका लागि पानी रोकिदिएका छौँ’ भनिरहेका थिए । दयाहाङ आश्चर्यमा परे ।

दयाहाङ : आकाशबाट पर्ने पानी पनि रोक्न मिल्छ ?
झाँक्री : टार्न नै त मिल्दैन, तर केही पर सार्न मिल्छ ।

आगो बालिरहेको ठाउँमा जितु नेपाल थिए । “पानी पर्न लाग्यो, छिटो गरौँ न भनेर म भनिरहेको थिएँ । तर, झाँक्री मन्त्र लामो हुन्छ, मन्त्र नसकिएसम्म कोइलाको राप मर्दैन भनेर मन्त्र पढिरहनुभएको थियो,” जितु भन्छन् । 

चिर्पट जलेर कोइला भयो । मन्त्र पढेर सकियो । दयाहाङ भित्रबाट बाहिर निस्किए । 

आँगनभरि आगो थियो । दाउरा बलिसकेर कोइला भइसकेको थियो ।“कोइलामाथि लागेको खरानी फुके । कोइला रातो देखियो । अब त्यो कोइलामा पसेर म धामी बस्नुपर्ने थियो,” दयाहाङ भन्छन्, “सुरुमा त मलाई सिनेमा हो, चिट भइहाल्छ भन्ने लागेको थियो । तर, सबैले ल अब आगोमा पस्नुपर्छ भन्न थाल्नुभयो । मलाई डर लागिरहेको थियो ।”

कहिल्यै नगरेको काम गर्नुपर्नेभयो । के भन्छन् सबै मिलेर भन्ने उनलाई लागिरहेको थियो । हुन त उनले भोजपुरमा छँदा पनि धामी आगोमा नाचेको सुनेका थिए । तर, धामी पो नाच्थे, दयाहाङ त धामी थिएनन् । अभिनय गरिरहेका थिए । चारतिरबाट लागेका क्यामेराको बीचमा थिए । 

चिटिङ हुन्छ भन्नेमा ढुक्क रहेका दयाहाङलाई निर्देशक (यम शेर्पा)ले नै ‘खासै केही हुँदैन, जानुस्’ भन्न थाले । साँच्चैका धामीझाँक्री पनि भन्न थाले, ‘डराउनु पर्दैन, पोल्दैन । हाम्रो मन्त्रले आगोको राप मारिसकेको छ ।’

स्क्रिप्ट हेरे/पढेकै थियो । मन परेर नै साइन गरेका थिए । सुटिङको सेटमा थिए । “जे त होला, केही हुँदैन भनिरहेका छन्, आगोमा पसेर ट्राई गर्छु, पोल्यो भने निस्किन्छु भनेर पसेँ,” उनी भन्छन्, “लाललाल आगोमा पसेर नाच्दा पनि केही भएन । म आफैँ चकित भएँ । जिन्दगीमै पहिलोपटक नयाँ र अनौठो अनुभव लिएँ ।”

डराइडराइ यो कार्यपछि यही सेटमा दयाले अर्को पनि गजब अनुभव गरे । भलै, यो संयोग हो वा साँच्चै उनले अहिलेसम्म खुट्ट्याउन सकेका छैनन् । तर, झाँक्रीले पानीको सन्दर्भमा जे भनेका थिए, त्यही भयो ।

“सुटिङ हुन्जेललाई हामीले पानी सारिदिएका छौँ, पानी पर्दैन, ढुक्कले काम गर्नुस् भनेका थिए,” दयाहाङ अगाडि थप्छन्, “जे भनेको त्यस्तै भयो ।हामीले सुटिङ प्याकअप गरेर लुगा पनि चेन्ज गरिसकेका थिएनौँ, लुगा फेर्दाफेर्दै मुसलधारे वर्षा भयो ।” 

भोजपुरको दुरदराजको गाउँमा बस्दा होस् वा त्यहाँबाट काठमाडौं आएर बसेको करिब तीन दशकको समय, उनलाई धामीझाँक्रीप्रति उति धेरै विश्वास थिएन । तर, जब पहिलोपटक आफैँ आगोमा नाचेर सकुशल फर्किए, त्यसपछि उनलाई लाग्यो– झाँक्री विद्या लामो अभ्यास र अनुभवको शक्ति हो । यसमा केही न केही परम्परागत ज्ञान छ ।

‘कार्साङ’मा दयाहाङको त्यही झाँक्रीको भूमिका हो, जसले आफ्नो विद्याबाट समाजसेवा गरिरहेको छ ।

यसअघिको उनको चलचित्र ‘गाउँ आएको बाटो’मा दयाहाङ चित्रा बन्ने गाउँले थिए । 

यी दुई सिनेमा त उदाहरण मात्रहुन्, दयाहाङका अधिकांश चलचित्रमा उनी अक्सर भुइँमान्छेको चरित्रमा हुन्छन् । धेरैजसो उनका चलचित्र सोसल ड्रामा हुन्छन् । समाजको पिँधमा रहेका मान्छेको कथामा उनी देखिन्छन् । 

तपाईंलाई भुइँमान्छेका नायक भन्दा के हुन्छ ?
“मलाई सोसल ड्रामा मन पर्ने जानरा हो । यस्तै कथामा मलाई धेरै अफर पनि आइरहेको हुन्छ,” उनी भन्छन् ।

धेरै दर्शकले भुइँमान्छेकै कथा ‘रिलेट’ गर्ने गरेको उनको अनुभव छ । धेरैले आफ्नैजस्तो ठान्ने र कतिपय आफैँले भोगेको र देखेको भएकाले पनि यसलाई धेरैले रिलेट गर्ने गरेको उनी सुनाउँछन् । 

“हामीले विगत हेर्ने हो भने हाम्रो विगत पनि त्यही नै हो । आफैँले भोगेको कथामा काम गर्न मलाई पनि आनन्द आउँछ,” दयाहाङ भन्छन्, “शब्द के प्रयोग गर्ने भन्ने मात्रै हो । सिनेमाको कथा लेखनको अभ्यास, निर्देशकले पनि भुइँमान्छेकै कथा लेखिरहेको अवस्था छ ।”

अधिकांश नेपालीको आमजीवन नै भुइँमान्छेको भोगाइ रहेकाले त्यस्ता कथा आइरहेको र आफूले त्यसलाई निभाउने प्रयास गरिरहेको उनको भनाइ छ । 

आमनेपालीले भोगेको जीवनमा काम गर्दा आफू रमाइरहेको दया बताउँछन् । “भुइँमान्छेको जीवन आफैँले भोगेकाले पनि मलाई यो काम गर्न सहज भयो । म माइनसबाट आएकाले पनि यो जीवन के हो, कसरी पर्दामा देखाउने भनेर मलाई रिसर्च नै गर्नुपरेन,” उनी अगाडि भन्छन्, “पर्दामा हुबहु देखाउन अभिनेतालाई भोगाइ अथवा अध्ययन चाहिन्छ ।”

नेपालमा समय, बजेट, स्कुलिङ, पारिश्रमिक आदिका कारण चलचित्रको चरित्रका निम्ति पर्याप्त अध्ययन गर्ने संस्कार छैन । यस्तो अवस्थामा भोगाइले बढी काम गर्ने दयाहाङको अनुभव छ ।

एक दशकअगाडिसम्म ‘फरक धार’मा रहेको यो जानरा हाल मूलधार भइसकेको छ । सोसल ड्रामा सबैभन्दा धेरै हेरिने र खोजिने सिनेमा बनेका छन् । 

“सायदफेन्टासी सिनेमाभन्दा ढंगले सोसल ड्रामा ढंगले बनिरहेकाले भुइँमान्छेका कथा बढी बिक्री भइरहेका हुन् कि भन्ने लाग्छ । दर्शकले कनेक्ट गर्नुको कारण पनि यही नै हो भन्ने लाग्छ,” दयाहाङ अगाडि भन्छन्, “त्योभन्दा पर फेन्टासी अथवा अरू जानरामा हामीले अभ्यास नै कम ग¥यौँ । अथवा, त्यसमा हामी पोख्त भएनौँ, जसका कारण दर्शकलाई कनेक्ट गरेनौँ ।”

चमकधमक नेपाली दर्शकले धेरै हेरिसकेकाले पनि पछिल्लो दशक आफ्नै गाउँठाउँ र यहाँकै कथा हेरौँ भन्ने मानसिकताका कारण सोसल ड्रामाको टिकट बिक्री भइरहेको उनको धारणा छ । यस्तो जानराका चलचित्र सबै मेकरले बनाउन नसक्ने उनी टिप्पणी गर्छन् ।

भुइँमान्छेको कथा युनिभर्सलली कनेक्ट हुने तर त्योउठान गर्दैमा पर्याप्त नहुने दयाहाङ बताउँछन् । उपभोक्तावादी खुला समाजमा भुइँमान्छे हो भन्दैमा सबैको कथा उही नहुने उनी प्रस्ट पार्छन् । उसको मूल्य, मान्यता र विश्वास के हो र जीवन र सम्बन्धलाई कसरी लिन्छ त्यसले महत्त्व राख्ने उनको भनाइ छ ।

युनिभर्सलली कनेक्ट हुने के हो भन्ने राइटर र डिरेक्टरको अध्ययन र बुझाइको स्तरमा भरपर्ने उनी बताउँछन् । त्यसैले नेपाली जनजीवनका दुःख र अभावका सबै कथा विदेशमा मन पराइन्छ नै भन्ने नरहेकामा उनी जोड दिन्छन् ।

“मान्छेको दिमागमा टिङ्ङ घण्टी बजाउने कुरा चाहिन्छ । संसारले त यसरी पनि सोच्दोरहेछ भनेर सोच्न बाध्य पार्नसक्नुपर्छ,” दयाहाङ भन्छन्, “सोच्दैन भने के कारणले सोच्दैन, कुन बादका कारण सोच्दैन – त्यो प्रस्टसँग मेकरले देखाउन सक्नुपर्छ ।” अन्यथा, पृथ्वीको एउटा ध्रुवमा रहेको मान्छेको कथा अर्को कुनाको व्यक्तिले कनेक्ट गर्न नसक्नेमा उनी सचेत गराउँछन् ।

कतिपय ग्लोबल सिनेमा भाषा नबुझे पनि किन मन पर्छ ? उनी प्रश्न गर्छन् । “सिनेमामा युनिक कुरा बिक्छ । मैले के सोचेर हेरेको थिएँ, के पाएँ भन्ने कुराले महत्त्व राख्छ,” दयाहाङ आफैँसँग त्यसको जवाफ छ, “मैले सोचेर हेरेको र नसोची हेरेको कुरा फरक हो । मैले देखेको र भोगेको सबै कुरा आउँदैन । किनभने, फरक भोगाइ भएको मान्छेले लेखेको कथा हो । मात्रै कनेक्ट कसरी गर्ने भन्ने हो ।” 

फरक समय र भूगोलको मान्छेले बनाएको सिनेमा अर्को क्षेत्रकोव्यक्तिलाई रिलेट गर्न सहजै नसकिने उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro