site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गढीमाईको दर्शनार्थ कलैयातिर

काठमाडौं छोडेको दिनदेखि हिसाब गर्दा यात्राको तेस्रो दिन हो आज । अर्थात्, शुक्रबार, वैशाख २८, २०८१ ।

सदाझैँ पूर्वतिरबाट घाम उदायो धरानको होटेल नवयुगमा । बरन्डामा बसेर चिया पिउँदै देशी लाइनका पसलहरूमा आँखा दौडाएँ, भर्खरै खुल्ने तरखरमा छन् । फुटपाथमा पातालो रूपमा मान्छेहरू हिँडिरहेका छन् । बसपार्कमा बसहरू आउने जाने गरिरहेका छन् । आदिकवि भानुभक्त आचार्यको सालिकछेउबाट मान्छेहरू ओहरदोहर गरिरहेका छन् । घण्टाघर भने होटेलको बरन्डाबाट देख्न सकिएन ।

रामेश्वरजीको पहिलो धरान यात्रा भएकोले एकसरो धरानका धार्मिकलगायत अन्य पर्यटकीय स्थानहरू हेर्ने मनसाय व्यक्त गर्नुभएको छ । त्यसैले धेरै ढिलो नगरी होटेल छोड्ने विचारमा छौँ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

७ः३० बजे काउन्टरमा झर्‍यौँ र बिल माग्यौँ । सबै गरी तीन हजार पन्द्र रुपैयाँ बिल भुक्तानी गर्‍यौँ ।

होटेलबाट बिदा भएर निस्कियौँ प्रसिद्ध बूढासुब्बा मन्दिरतिर । धरान क्षेत्रमा कहलिएको आस्थाका देवता हुन्, बूढासुब्बा ।

लोकोक्ति वा मिथकअनुसार बुढासुब्बाको उत्पत्तिका सम्बन्धमा विकिपिडियाले यसरी उल्लेख गरेको छ, ‘बुढासुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने गर्थे । एक दिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो बढेन । त्यसपछि विजयपुरमा कहिल्यै काग आएनन् । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढासुब्बाले त्यहीँ ध्यान गरे, जहाँ अहिलेले बुढासुब्बाको मन्दिर छ । उनकी बहिनी सुब्बिनीको मन्दिर पनि छेउमै छ ।’

अर्को आम विश्वासको कुरा के पनि छ भने, बुढासुब्बामा गएर भाकल गरेको कुरा पाइने विश्वास छ । (खासगरी बंगुर वा कुखुराको भाले वा पोथी चढाउने भाकल गरिने प्रचलन रहेको छ । भाले भए बुढासुब्बालाई र पोथी भए सुब्बिनीलाई र प्रेममा रहेको अवस्थामा बुढासुब्बामा रहेका बाँसमा आफ्नो प्रेमीप्रेमिकाको नाम लेखेमा सफल भइने भन्ने विश्वास रहेको पाइन्छ ।)

तर, बाँसमा लेख्ने कार्यले धेरै बाँसहरू मर्ने गरेकोले हाल बाँसमा धागो वा कपडाका सानो डोरी बाँध्न मन्दिर व्यवस्थापन समितिले अनुरोध गर्ने गरेको रहेछ, जुन कुरा मन्दिर परिसरमा रहेका बाँसका झ्याङहरूले स्पष्ट पारेका छन् ।

धरान आइपुगेपछि बुढासुब्बाको दर्शन नगरी फर्कने कुरा भएन । बुढासुब्बाको आसपासमा रहेका पिण्डेश्वर बाबाधाम अर्थात् शिवजीको आराधना गर्ने स्थान र दन्तकाली वा मिथकअनुसार पार्वतीको दाँत खसेको स्थानको पनि दर्शन गर्ने अभिप्रायले विजयपुरको डाँडामा आइपुगेका छौँ ।

मोटर पार्क गरी बुढासुब्बाको दर्शनका लागि गयौँ । प्रवेश गर्ने द्वारकै छेउबाट स्टिल रेलिङ र बाँसका बोटहरूमा विभिन्न रंगीन धागो तथा खादा आदि तीर्थालुहरूले फनफनी बाँधेको देख्यौँ । बुढासुब्बाको मूल मन्दिरमा निकै भीड भए पनि पूर्वतिरको ढोकाबाट भेटी चढाएर छेउको आँखीझ्यालबाट टीका तथा फूल लिने काम गर्‍यौँ ।

त्यसपछि एक कान्लामाथि रहेकी बुढी सुब्बिनीको समेत दर्शन गर्‍यौँ हामीले । खास गरी बिदाको दिन वा शनिबार निकै भीडभाड हुन्छ । तर, आज पनि दर्शनार्थीहरूको सानोतिनो भीड नै रहेको छ ।

बुढासुब्बाको दर्शनपश्चात् पिण्डेश्वरधाम गयौँ । आज अक्षया तृतीयाको दिन परेकोले गेटमा गहुँका सातु र सर्बत वितरण भइरहेको पायौँ । हिन्दु विश्वासानुसार आजै शिवपार्वतीको विवाहोत्सव भनेर पनि मानिने दिन हो । त्यसैले पनि बाहिरको चहलपहलतिर अल्मलिनुभन्दा मन्दिर परिसरमा प्रवेश गर्‍यौँ  । ठूलो कम्पाउन्डसहितको मन्दिर भवनको दाहिनेतिरको देवताको प्रतिमामा गई फूल तथा भेटी चढाई दर्शन गर्‍यौँ । त्यसपछि बायाँपट्टि विराजमान देवदेवीलाई दर्शन गरी फर्कियौँ ।

मन्दिर परिसरबाट बाहिरिने स्थानमा सातु तथा सर्बत पिउने काम गर्‍यौँ । तीर्थयात्रीहरूका लागि निःशुल्क वितरण गरिएको रहेछ सातु र सर्बत । पिण्डेश्वरी दर्शनपश्चात् दन्तकालीमा आयौँ । दन्तकालीमा दाँत दुख्नेहरूले विशेष पूजाअर्चना गरेमा निको हुन्छ भन्ने कुरा रामेश्वरजीले सुन्नुभएको रहेछ । त्यसैले ढाकीमा फूल प्रसाद लिएर मन्दिरमा चढाउनुभयो रामेश्वरजीले । र, त्यहाँबाट फर्कने क्रममा एउटा सानो रुद्राक्षले बनेको ढाकी पनि खरिद गर्नुभयो । सायद धरानको चिनो हुन्छ भन्ने लागेको हुनुपर्छ ।

म भने दन्तकाली मन्दिरबाहिर रहेको ‘सहयात्री उपचार तथा पुनःस्थापना केन्द्र धरान १४, विजयपुर’को भवनको फोटो खिच्न लागेँ । यस्तैमा रामेश्वरजी आइपुग्नुभएपछि जिरो माइल फुस्रेतिर रमाना भयौँ ।

बाटोको बायाँतर्फ लोकनाथ महादेवको शिव मन्दिरसँग सहर्ष जम्काभेट भयो र मोटर रोकेर मन्दिरभित्रको देवदेवीको दर्शन गरी डाँडामा रहेकोले धरान बजारलाई सरसर्ती नियाल्यौँ ।

अहिले बिहानको सवा नौ भइसकेको छ । त्यसैले हतारिँदै बीपी स्मृति पार्क पनि अवलोकन गरेर जाने विचार व्यक्त गर्नुभयो रामेश्वरजीले । त्यसका बारेमा सोध्दै गयौँ । एउटा पहाडी खोच वा खेर गइरहेको स्थानलाई पार्कमा परिणत गरिएको रहेछ, वि.सं.२०७६ सालमा ।

बगरलाई उपयोग गर्दै विविध कलात्मक चिजहरू निर्माण गरिएको छ । हाल यसलाई श्रम स्वीकृति पार्क तथा ओशो पार्कको नामले पनि चिनिने रहेछ । पार्क प्रवेश गर्नलाई शुल्क रु. १०/– पर्ने रहेछ । तर, किन हो हामीलाई तिर्नु पर्दैन भनिन् काउन्टरकी बहिनीले ।

पार्कमा दुईजना महिलाले डोकोमा केही सामान बोकेको प्रतिमा रहेको छ भने तीनवटा ढुंगा किराँती सांस्कृतिक रूप झल्काउने चुल्होजस्तो बनाई त्यसमाथि ठूला खँदिलो ढुंगा राखिएको छ । चुल्होको वरिपरिबाट पानीको फोहरा छोडेर आकर्षक बनाइएको छ । पारिको पहाडलाई अडेस लगाएजस्तो देखिने किसिमले फलामका पातालो पातामा अंग्रेजीमा धरान लेखेर टाँसिएको छ ।

यस पार्कमा आरा काटिरहेको जीवन्त प्रतिमा पनि बनाएर राखिएको छ । वास्तवमा आरा काट्नका लागि बनाइएको संरचनालाई धरान भनिने र पहिले यस क्षेत्रमा धेरै आरा काटिने भएकोले नै कालान्तरमा यस स्थानको नाम धरान हुन गएको आमविश्वास छ । त्यसैले आरा काटिरहेको प्रतिमा बनाइएको हुनुपर्छ भन्ने लाग्यो मलाई । पार्क अझै धमाधमा निर्माणाधीन अवस्था रहेको रहेछ । अझै धेरै कुराहरू बनाइसक्न समय लाग्ने देखिन्छ ।

केही समय पार्कको छेउकुना घुम्यौँ र यस बेला झलक्क सम्झना आयो, तारानाथ शर्माले लन्डनको हाइड पार्कको स्पिकर्स कर्नरको चहलपहल हेर्न जाँदाको वर्णन । त्यहाँ देखेका कुरालाई उनले यसरी उल्लेख गरेका छन्, ‘अब हामी साम्यवादी र समाजवादी पर्चा बिक्रेताहरूको कुनाबाट दक्षिणतर्फ लागौँ । हाम्रो दाहिने हाततर्फ खुला हरियो मैदान छ – जसमा आज न्यानो घामले आफ्ना किरणहरू फिँजाएकोले असंख्य अर्धनग्न युवकयुवतीहरू जोडाजोडा भएर पल्टिरहेका छन् । उनीहरूलाई अश्लील भन्ठान्नुहोला नि ! होइन, ती त उन्मुक्त जोडाहरू हुन् – जो संसारका वेदनाहरूलाई भुसुक्कै बिर्सेर वर्तमानको परमानन्दको भोगलाई म्वाइँमा साटिरहेका छन् । उनीहरू गफ गर्छन्, घाम ताप्छन्, म्वाइँ खान्छन् अनि आफ्नाआफ्ना काममा फर्कन्छन् ।’ (बेलाइततिर बरालिँदा, वक्ताहरूको कुनो शीर्षकीय नियात्राबाट, पृ. ७८)

वास्तवमा धरानमा केही मात्रामा पश्चिमी सभ्यता भित्रिएको भए पनि पूराका पूरा पाश्चात्य जीवनशैली भित्रिसकेको छैन भन्ने कुराको साक्षी भयौँ हामीहरू । जेजस्तो स्थितिलाई सरसर्ती देख्यौँ, त्यही नै सत्यता हो भन्ने कुरालाई आत्मसात् गर्दै बिदा हुने तरखरमा लाग्यौँ । समयमा नै प्रस्थान नगरेमा गन्तव्यमा पुग्न पनि कठिन हुनेछ । अगाडि लामो बाटोले पर्खिरहेको छ हामीलाई । किनकि, आज जसरी भए पनि बारा जिल्लाको कलैयामा पुगेर गढीमाईको दर्शन गर्ने अभिलाषासहित यात्राको थालनी गरेका छौँ ।

बिहानको १०ः०० पनि बजिसकेको छ यस बेला । त्यसैले पनि हतारिँदै बाटो तताउने काममा जुट्यौँ ।

सवा १० बजे चतरालाइनमा आइपुगी लाग्यौँ चतरातिर । स्वस्तिकचोक, कल्याणचोक, शान्तिचोक भएर बीचघोपाचोक पुगेर रेल्वेलाइन पुग्यौँ ।

चतरामार्गको यात्रा निरन्तर छ । मुनालचोक, सर्दुखोला पुल तरेर अलिक बिग्रिएको बाटो भएर बढिरहेका छौँ । जंगलमा गाईगोरुहरू चरिरहेका छन् । निकै रमाइलो लाग्यो मलाई । आफू पनि सानोमा गोठालो गएको याद ताजा भएर आयो । गाउँघर सम्झिएँ । परलोकमा बास बसिरहेका हजुरबा, हजुरआमा, पिता, माता, आफन्त र साथीसंगी सम्झिन पुगेँ । यस्तैमा पटनाली खोलाको पुल पार गरी बगुवा पुग्यौँ ।

सवा एघार बजे चतरा आइपुग्यौँ । चतरामा निकै भीडभाड छ । आज यस वर्षको कुम्भमेलाको अन्तिम दिन पनि हो । मेलाको अन्तिम दिन देवदर्शन गरेर धर्म र मनमा शान्ति दिलाउने दिन । भीडलाई मोटरबाट नै अवलोकन गर्दै बढ्यौँ अगाडि कोसी पुल वा चतराघाट पुग्नलाई ।

११ः२० बजिसकेको छ । बिहानको खाना खान डोको होटेलमा पस्यौँ र शाकाहारी खाना अर्डर गर्‍यौँ । खाना र एक बोतल मिनरल वाटर आइपुग्यो र खपाखप खायौँ खाना । सप्तकोसीको किनारसँगै रहेको छ यो होटेल । अगाडि बाटोले पर्खिरहेकोले पनि हतारमा छौँ आज । खाना खाइसकेपछि बिल माग्यौँ । जम्मा ४३०/– रुपैयाँ भएछ । भुक्तानी गर्‍यौँ र होटेलसँग बिदाबारी भयौँ ।

१२ः१० बजेको छ कोसीको पुल तर्दा । कोसीको बीचमा आएपछि केही रेच्की पैसा पुलको दायाँबायाँतिरको पानीमा पर्ने गरी अर्पण गरेँ । यो मेरो पुरानो बानी हो । मेरी माता बिजुलादेवी राईको आदेशलाई शिरोपर गर्दै ठूला नदी तर्दा रेच्की (खुजुरा क्वाइन) अर्पण गर्दै आएको छु ।

यसको सुरुआत वि.सं.२०२६ सालदेखि नै भएको हो, जुन समयमा पहिलोपटक झापा जाने क्रममा अरुण नदी घिर्लिङबाट तरेको थिएँ । त्यस समयमा बीचनदीमा पुग्दा रेच्की (खुजुरा पैसा) अर्पण गरेको थिएँ र त्यही बानीले निरन्तरता पाइरहेको छ । अर्थात्, मेरी माताको आदेश वर्तमानसम्म त शिरोधार्य गरेकै छु । सायद यो क्रम बाँचुन्जेलसम्म नै रहला कि !

अरुण नदी पार गर्नासाथ टेकिने भूमि हो, उदयपुर जिल्लाको बेलका नगरपालिका । उदयपुर जिल्लाको नाम उल्लेख भएको साइनबोर्ड देख्दा आदरणीय नियात्राकार एवं अनुसन्धाता पूर्णप्रकाश नेपाल ‘यात्री’को नाम दिमागभरि छरपस्टियो । उहाँले आफू वि.सं. २०३१ सालमा उदयपुरको मैनामैनी गाउँ पञ्चायतमा पुग्दाको क्षणलाई आफ्नो नियात्राकृति ‘बदलिँदो घाम छाया’मा लिपिबद्ध गरेको कुरा तत्क्षण स्मरण गरेँ । जसमा लेख्नुभएको छ, ‘...बगुवाघाट तरेर उदयपुर जिल्लाको मैनामैनी गाउँ पञ्चायतमा लालबहादुर राईको घरमा बसाइ भयो । बिहानको भोजन पनि यहीँ भयो । यी सबै राईहरू आफूलाई वाल्मीकि ऋषिका सन्तान बताउँछन् । मैनादेवीका पूजाहारी पनि यिनै छन् ।’ (पूर्णप्रकाश नेपाल ‘यात्री’, बदलिँदो घामछाया, स्वदेश दर्शनको पाँचौँ वर्ष, पृ. १९०) ।

समय भए त मैनामैनी पुग्ने मन भयो । तर, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै छ यात्राको समय । मनको कुरा मनमै कुहाउँदै चुपचाप बस्नमा नै उत्तम सम्झेँ ।

ठिक यसै बेला सुनसरी जिल्ला पार गरी उदयपुर जिल्लामा प्रवेश गर्‍यौँ । एक जिल्ला पार गरी अर्को जिल्लामा प्रवेश गरेको कुनै आभास भएन । किनकि, यहाँ कुनै किसिमको चेकजाँच र सोधपुछ गर्ने कार्य भएन ।

हुन त एकदेशबाट अर्को देश प्रवेश गर्दा पनि कुनै चेकजाँच नभएको कुरा २०५७ असार महिनाको मध्यतिर नेपालको पूर्वी नाका पशुपतिनगरबाट भारतको दार्जिलिङ जिल्ला प्रवेश गर्दाको समयमा प्रसिद्ध समालोचक तथा नियात्राकार डा. गोविन्दराज भट्टराईले लेख्नुभएको हरफहरूलाई एकाएक सम्झन पुगेँ म, ‘फाटकमा कसैले हाम्रा झोला सुटकेश छामेन । त्यसको दक्षिणतिर छेवैमा एक हूल पुलिसहरू परेड खेल्दै थिए । सरासर सिमाना काटेर हामीले दोबाटोको मुखैमा बिसायौँ । त्यस बेला हामीलाई एउटा कल्पितरेखा नाघेर आफ्नै आँगनको पल्लो छेउमा पर्खिरहेझैँ मात्र लाग्यो । मानिस उस्तै थिए, माटो उस्तै, सिरसिरे बतास उस्तै, मनमोहक डाँडापाखा उस्तै ।’ (एक्लै एक्लै एक्लै, गोविन्दराज भट्टराई, दार्जीलिङ यात्राको सम्झना शीर्षकीय नियात्रा, पृ. ३६) ।

चुपचाप आफ्नो गन्तव्यलाई पछ्याउँदै बढिरह्यौँ । सोमबारे, कामनाचोक, बुद्धचोक, मुस्कानचोक पुगेपछि कटारी खोला तर्‍यौँ पुलबाट । यस्तै किसिमले क्रमशः गुरुङचौरी, लालबजार, जहदापछि सुपाडे उकाली चढ्नासाथ चौदण्डीमा प्रवेश गर्‍यौँ लुसुक्कै ।

बसाहाको वर्षे डाँडामा आइपुग्यौँ केही समयपछि नै । बसाहा आइपुग्दा २००७ सालका क्रान्तिको अगुवा नेता तथा भोजपुर जिल्लाका शिक्षाका पिता नारदमुनि थुलुङलाई मस्तिष्कको नजिकै सलबलाइरहेको पाएँ । अझ उनले लेखेको ‘बिर्सेका अनुहारहरू ः बिर्सन नसकिएका घट्नाहरू’ आद्योपान्त अध्ययन गर्दा निकै नै प्रभावित भएको छु । वि.सं. २००७ सालको क्रान्तिमा पूर्वी पहाडी जिल्लाहरूमा त अगुवा भई नेतृत्व गर्नुभएको जगजाहेर छ । अझ दोस्रो विश्वयुद्धमा संलग्न हुन सन् १९४५ मा पञ्जाबको पलम्पुर बटालियनबाट ग्रीसको एथेन्स पुगेको समयमा सञ्चारसँग सम्बद्ध हुनुपरेका उक्त पुस्तकमा उल्लेख गरेको कुरा झन् झरिलो रूपमा सम्झनामा आयो ।

उनले लेखेका छन्, ‘...एथेन्समा गई युरोपमा गएका सबै लडाकु फौजहरूलाई लडाइ शान्त भएको र अब हामी सबै आआफ्नो देशमा फर्किन पर्ने सन्देश रेडियोद्वारा सुनाउनेमा मलाई नै फेरि खटाइएको हुनाले एथेन्समा गई सोही अनुसार रेडियो सन्देश दिएँ । शायद यस प्रकार रेडियोमा बोल्न मौका पाउने सर्व प्रथम गोर्खालीमा म नै थिएँ होला ।’ (नारदमुनि थुलुङ, बिर्सेका अनुहारहरू ः बिर्सन नसकिएका घट्नाहरू, नेताजी सुभाषसँगको भेट शीर्षकीय लेख, पृ. ४७) ।

यस्ता विशिष्ट व्यक्ति र दूरदर्शी जननेताले झोडा फाँडेर दुनियाँको कल्याण होस् भनी बसाएको बस्तीमा आइपुग्नु अहोभाग्य नै हो भन्ने सम्झिएँ । मलाई लाग्छ, किराँत राईमा युरोपका इटाली तथा ग्रीसमा सर्वप्रथम पाइला राख्ने नारदमुनि नै हुन् । जसरी नेपालको काठमाडौं आइपुग्ने युरोपियन नागरिक फादर जोहन काव्राल इ.सन् १६२८ को मार्च अन्तिम वा अप्रिलको पहिलो हप्तातिर आइपुगेका थिए । 
(हेर्नुहोस्, जय छाङ्छाको नियात्राकृति ‘साङ्ग्रिलाको पुछारतिर’ पृष्ठ ३३९ वा विस्तृत जानकारीका लागि ‘अर्लि जेसुइट ट्राभलर्स इन सेन्ट्रल एशिया’ अध्ययन गर्न हुन) ।

गन्थन गर्ने हो भने धेरै छन् । समयले अनुमति नै दिँदैन । किनकि, आज कलैया नपुगी नहुने भएकोले मोटरबाट नै बिदा लियौँ बसाहा अर्थात् वर्षे डाँडासँग । र, निरन्तर यात्रामा जुट्यौँ आँपडाँडा, भुल्के हुँदै । राजमार्गको दुवैतिर छेउमा फलामे खम्बा गाडेर हरियो प्लेटमा सूचना बोर्ड राखिएको छ – जसमा काठमाडौं २९७ कि.मि, हेटौँडा २७२ कि.मि., भिमान १२६ कि.मि. तथा गाईघाट २१ कि.मि. अंकित गरिएको छ । सो जानकारी नोटकपीमा सारेँ मैले ।

यात्रा जारी नै छ बेल्टार, सातधारे आदि पार गरेर खैरा झोरापछि चौदण्डी नगरपालिकालाई बाईबाई गरेर त्रियुगा नगरपालिकामा प्रवेश गर्‍यौँ ।

त्रियुगाका फूलजोर, दनुवारचोक, बेलगाछीचोक, ठाडाराई, थापाचोकपछि असरी किराँतचोकलाई पार गरेर गाईघाट आइपुग्यौँ दिनको १ः१० बजे । चियाका लागि रोकियौँ गाईघाटमा ।

त्यसपछि बतासियौँ होक्से, चिसापानी, संगमचोक हुँदै रौतामाई गाउँपालिकाको क्षेत्रतिर । बाघखोर, चियाबारी, नेपालटार, खत्रीटार, दनुवार बेँसी, राईटोल पार गरेपछि उदयपुर गढीको क्षेत्र समाप्त भएको जानकारी बोर्डले बतायो ।

जुनसुकै क्षेत्रको सीमा सकिए पनि हामीलाई केही छैन, केवल गन्तव्यमा पुग्नु छ सकुशल । तिथिमितिको पनि कुनै वास्ता छैन, केवल वास्ता छ त समयको अनि गन्तव्य विन्दुको । त्यसैले बढिरहेका छौँ अगाडि गेरुवा, बाँकेटार, चुहाड, भोर्ले, छाउरीखोला, कुकुरखोला, सिमराही, डम्बरखाडी, मानेडाँडा, दूधौलीखोला, शंखटार, खोरभञ्ज्याङ, थलीपछि आइपुग्यौँ मंगलपुर ।

मलाई आश्चर्य लागिरहेको छ, आखिर नाममा के छ ? सुन्दा, पढ्दा राम्रो हुने नामहरू राखिदिँदा के पो फरक पर्थ्यो र ? छाउरीखोला, कुकुरखोला नाम राख्नाको पछाडि के होला भन्ने सोचिरहेँ मैले । हुन त मजस्तो दुई सेकेन्डको यस क्षेत्रको पाहुनाले केही प्रतिक्रिया दिएर पो के हुन्छ र ! तर, पढ्दा र सुन्दा त्यति आकर्षक नभएकोले मात्र मेरो मनमा प्रश्न उब्जिएको हो ।

जे जस्तो र जसरी स्थानहरूका नाम राखिएका भए पनि विविध स्थानहरूलाई पार गरिरहेका छौँ । यसै क्रममा खनिया, लक्ष्मीपुर, घाटगाउँ, विचित्रखोला, कुर्थौली, राँगे, भलुवाही पार गरे कमला नदीको पुल तर्‍यौँ ।

कमलामाई नगरपालिकाको चन्दनपुर, रानीबास, चुरिया, धारापानी, इनारपानीपश्चात् दिनको ठिक ३ः१० बजे आइपुग्यौँ भिमानमा । र, बर्दिबासतर्फ बढ्यौँ ।

कालापानी हुँदै गँगटे पुगेपछि एकजना मोटरसाइकलवालासँग सोध्यौँ गढीमाई पुग्ने बाटोको सम्बन्धमा । स्थानीय भए पनि सौहार्दतापूर्ण व्यवहार गर्न रुचाउने तिनले मेरो नोटकपी मागेरै नक्सा कोर्दै लेखिदिए, ‘पूर्वपश्चिम राजमार्गमा नै पर्छ निजगढ, त्यहाँबाट पनि पश्चिम गएर पिलुवा पुगिन्छ । पिलुवाबाट बायाँ लागे कलैया पुगिन्छ र त्यहाँबाट गढीमाई नजिकै छ ।’

दयालु मनका ती सज्जनलाई धन्यवाद भन्यौँ हामीले ।

४ः०० बजे बर्दिबासबाट महेन्द्र राजमार्गलाई अँगालेर बायाँतर्फको सिधा बाटोमा हुर्रियौँ । यदि, काठमाडौंतर्फ छोटो दूरी पार गरी जाने भए दायाँतर्फ बीपी हाइवे पक्रनुपर्ने थियो हामीले ।

अतावे पुल, पञ्चधुरा माई, गौशालाचोक, टुटेश्वरस्थित मडहा पुल तरेपछि महोत्तरीको सीमा समाप्त भयो र सुरु भयो सर्लाही जिल्ला ।

दिन पनि पहाडको घाँटीसम्म पुगिसकेको छ यस बेला । हामी भने लालबन्दी, हरिवन, राईखोला पुल, वाग्मती पुल पार गरी अर्कै जिल्ला रौतहटमा प्रवेश गर्‍यौँ ।

रौतहटको सुगन्धित माटोमा दौडिरहेका छौँ बेतोडले । सिर्जनाचोक, चन्द्रपुरपश्चात् जंगलको बाटो भएर पिलुवालाई भेट्टाउन दौडिरहेका छौँ यस क्षणमा । बाटोका दायाँबायाँ बसिरहेका बाँदरहरूलाई बिस्कुट तथा वनरोटी (जनजिब्रोमा बमरोटी) दिँदै रमाइलोसँग यात्रारत छौँ । साँझको बेला भएकोले खासगरी बच्चासहितको देखिएमा एकछिन पर्खिएर दिने गर्दैछौँ बिस्कुट ।

फास्ट ट्र्याकको लागि छानिएको स्थानका रुखहरू काटिएका छन् । पर्सा नेसनल पार्कको घनाजंगल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित स्थान पार गरेपछि जंगलको बीचमा नै गढीमाई जाने बाटो लेखिएको बोर्ड देख्यौँ । जानकारी भएअनुसार जंगलको बीचको बाटो कच्ची रहेको छ । सो बाटोमा साना कार जान नसक्ने स्थिति छ भन्ने बुझिएकोले सो बाटोलाई बेवास्ता गर्दै बढ्यौँ अगाडि ।

६ः१० बजे पुग्यौँ बारा जिल्लाको पिलुवा । भद्रकाली मन्दिर र सशस्त्र प्रहरीको क्याम्प रहेछ यहाँ । ड्युटीमा रहेका प्रहरी जवान आर.सी. कुमालसँग संक्षिप्त वार्ता गर्‍यौँ । उनले राजमार्गमा अगाडि बढेमा पथलैया १० कि.मि. टाढा र बायाँ लागेर गएमा १७ कि.मि. पार गरेपछि कलैया पुगिने जानकारी दिए ।

पिलुवाबाट बायाँतर्फ लाग्यौँ कलैया पुग्न । आदर्शनगरचोक, चाँदनीचोक, दकाहा, शंकरचोक, श्रीपुर बेलवारी, अवधापुर, भरतचोक भएर बढिरहेका छौँ गुलेलीबाट छुटेको मट्यांग्राजस्तै ।

६ः२५ मै आइपुग्यौँ कलैयाको घण्टाघरमा । बारा जिल्लाको सदरमुकाम कलैया भए पनि सदरमुकामजस्तो लागेन पटक्कै । बाटोहरू हिलाम्मे र फोहरले हिँड्नै नसकिने किसिमका छन् । एक प्रकार अव्यवस्थित अवस्थामा रहेको देखियो कलैयाबजार । शक्तिशाली देवी गढीमाईको क्षेत्र भएर पनि बेवास्तामा रहेको पायौँ कलैयालाई ।

यस बेला स्मरण गर्न बाध्य भएँ म, करिब ३५ वर्ष आन्तरिक संघर्षले छियाछिया भएको देश युगान्डामा डिसेम्बर २०१६ मा नियात्राकार एवं एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने पुग्दा देखेका, गरेका अनुभूतिलाई । उनले लेखेका छन्, ‘राष्ट्रपति पौल कगामे महिनाको अन्तिम शनिबार स्थानीय नागरिकसहित समुदायमा निःशुल्क सरसफाइ तथा निर्माण अभियानमा सरिक हुँदा रहेछन् ।’ (जीवा लामिछाने, देश देशावर, कङ्काल सम्याएर उभिएको विकास शीर्षकीय नियात्रा, पृ. ११–१२) ।

गाउँ, सहर र देश आफसे आफ विकास र उन्नतितिर बढ्दैन । यसका लागि त्याग, तपस्या र मिहिनेतको जरुरत पर्छ भन्ने कुरा माथिको उद्धृत पंक्तिहरूबाट स्वतः स्पष्ट हुन्छ ।

तर, मैले देखिरहेको दृश्य यस्तै छ र यथार्थ पनि । जे जस्तो भौतिक दृश्य आँखामा ठोक्किन आए पनि मनमा भिन्नै प्रकारको खुसीले छाएको छ मेरो । धेरैअगाडिदेखिको आस्थाकी देवीको दर्शन, आफ्नै भौतिक जीवनको नांगा आँखाहरूले दर्शन गर्दै औँलाले स्पर्श गर्न पाइने क्षणको एकदम निकटमा आइपुगेको छु । यस शुभक्षणमा श्रीमद्भागवत महापुराणको द्वितीय खण्डको निम्न श्लोकहरूको स्मरण भइरहेको छ, ‘ममाद्यामंगलं नष्टं फलवांश्चैव मे भवः । यन्नमस्ये भगवते योगिध्येयाङ्घ्रिपंकजम् ।।६।।’ श्रीमद्भागवत महापुराण (महर्षि वेदव्यास प्रणीत), द्वितीय खण्ड, दशम स्कन्ध–पूर्वार्ध, अक्रूरजीको व्रजयात्रा, पृ. ३६७) ।
(भावानुवाद : आज मेरो सबै अशुभहरू अवश्य पनि नष्ट हुनेछन् । आज मेरो जीवन सफल भएको छ । किनकि, आज म भगवान्को चरणकमलमा साक्षात् नमस्कार गर्नेवाला छु – जुन कुरा महान् महान् योगीले समेत केवल ध्यानको विषय बनाएका छन् ।)

एकदम अव्यवस्थित र कल्पना गरेको भन्दा भिन्न दृश्यलाई आत्मसात् गर्नुपरे पनि मन प्रसन्न छ यस समयमा । त्यसैले अन्य सबै कुराहरूलाई थन्क्याएर अगाडि बढ्नेतर्फ लाग्यौँ ।

यसैबीचमा घण्टाघरबाट बायाँतर्फ लाग्यौँ कलैया–वरियापुर रोड पक्रेर । यहाँबाट दक्षिण पूर्वतिर पर्ने करिब ७ कि.मि. टाढा रहेको छ आस्थाकी देवी गढीमाइको मन्दिर ।

बघवन, भगवानपुर हुँदै पसाहखोला पुल पार गरेर गढीमाई रोडलाई समातेर सानो बस्ती सेमरागाउँ (चित्राले बारेर गोबर र माटोले लिपेका खरले छाएका साना झुपडीहरू)को बीचमा रहेको साँगुरा गल्ली हुँदै आइपुग्यौँ साक्षात् देवी गढीमाई विराज हुनुभएको पवित्रस्थलमा ।

६ः४० भएछ मोबाइलको घडीमा । अपार हर्ष र खुसीले पुरिएँ म । वर्षौंअगाडिदेखिको सपना साकार भयो आज । वास्तवमा मेरा मित्र सम्पादक नवराज रिजालले आफ्नो त्रैमासिक साहित्यिक पत्रिका ‘नवप्रज्ञापन’को पूर्णांक ८६, कात्तिक–पुस २०७६ मा गढीमाई मेला विशेष प्रकाशनमा ल्याउनुभएको थियो, जसमा मेरो पनि संस्मरण ‘बाल्यकालका सानासाना खुसीहरू’ समेत प्रकाशित गरिदिनुभएको थियो ।

उक्त अंक हातमा परेपछि सरसर्ती गढीमाईबारे अध्ययन गरेको थिएँ । त्यही समयबाट गढीमाई साक्षात् देवी भएको र एकपटक जसरी भए पनि दर्शन गर्ने अभिलाषा राखेको थिएँ । मलाई अत्यन्तै प्रभाव पार्ने कुरामा सुनील कुमारले आफ्नो भोजपुरी भाषाको लेखमा उल्लेख गरेका छन्, ‘एक रात भगवान चौधरीके घर में चोर पइसल बाकिर चोरी करते में पकडागइल आ लोग ओकरा के पीटपीट के महादेलक । माने ई एगो लम्हर फसाद होगइल । जान मारे के मुद्दा आ गइल मगर केहु संकारे ना तब भगवान चौधरी अपने संकरले आ जेल गइलें । ...एकदिन अध्सुतल अवस्था में भगवान चौधरीका देवी दर्शन भइल आ चमत्कारवश चौधरी जेलमुक्त होगइलें । देवी के आदेश अनुसार चौधरी गढीमाई के त्रिसुल रूप के ल्याके अभी मन्दिर रहल स्थान पर स्थापित कइलें आ नित्य पूजा होखेलागला पहिले चौधरीय पूजा करत रहलें । धिरेधिरे आउरलोग पूजापाठ करेलागल ।’ (बत्तीदेवी गढीमाई, पृ. ८, नवप्रज्ञापन) ।

त्यसरी नै गोपाल ठाकुरले लेखेका छन्, ‘किंवदन्तीअनुसार कुनै बेला मकवानपुर कारागारमा रहेका सेमरीका एकजना बासिन्दा भगवान चौधरीलाई सपनामा गढीमाईले आदेश गरेअनुसार यो परम्पराको शुरुवात भएको आधारमा तिनका सन्ततिहरू अहिले पुजारी छन् ।’ (गढीमाईको पाँच वर्षे मेला, पृ .१३, नवप्रज्ञापन, स्मरणहोस् कि मेला २०७६ ।)

दशौँ पुस्ताका पुर्खौली पुजारी मंगल चौधरी थारुसँगको अन्तर्वार्ताका क्रममा निम्न कुराहरूको जानकारी दिएका छन्, ‘गढीमाईको स्थापना ३०० देखि ३५० वर्ष अगाडितिर अर्थात् मकवानपुरका सेन राजाको पालामा भएको हो । मानिसहरूका विभिन्न भाकल हुन्छन् । ती भाकल पूरा भएको कारण गढीमाईप्रति सबैमा विश्वास जागेको हो । (गढीमाईमा पञ्चबलि दिइन्छ, जंगली मुसा, सुँगुर, बोका, राँगा र स्थानीय कुखुरा ।’ भाकल पूरा भएका कारण गढीमाईप्रति सबैमा विश्वास जागेको, पृ. ३३, उही) ।

बलि चढाउने सम्बन्धमा गोपाल ठाकुरले लेखेका छन्, ‘बलि प्रथा अन्धविश्वासको उपज नै हो, जो पहिले गोमेध, अश्वमेध, महिषमेध, अजोमेध हुँदै नरमेध यज्ञसम्म स्थापित थिए । ...साथै शक्तिपीठहरूमा कुनै न कुनै देवी माताको पूजा हुने गरेको छ र माता सृजनाको मुहान हो, जो आफ्नै सन्तानको बलि पक्कै पनि लिन्नन् होला । ... बलिको खास अर्थ अरूको भलाइको लागि आफ्नो ज्यान त्याग गर्नु हो, जो स्थापित बलि प्रथाले कदापि पुष्टि गर्दैन ।’ (गढीमाईको पाँचवर्षे मेला, पृ. १४, उही) ।

यिनै कुराहरूको अध्ययन गरेपश्चात् गढीमाईप्रतिको अगाध आस्था ममा भयो । तर, बलि प्रथाबारे विमतमा नै रहेको छु म पनि ।

तैपनि, स्थापित नियात्राकार श्रीओम श्रेष्ठ ‘रोदन’ले आफ्नो नियात्राकृति ‘नबिर्सने दिनहरू’मा वर्णन गरेको सम्झँदा भने अलमलमा पर्छु । उनले लेखेका छन्, ‘यहाँ अष्टमीको दिन बलि दिएपछि त्यो क्षेत्र रगताम्मे हुन्छ रे, जतासुकै टाउका नै टाउका (राँगा ?) हुन्छन् । तर अनौठो, सबै दिन आउने झिँगाहरू बलि चढाएपछि पटक्कै आउँदैनन् रे, ...देवीको सत्को सन्दर्भ सुनाएपछि म पञ्चबलिमा दिइने सेता मुसाको बारेमा जिज्ञासा राख्छु । मुसा पक्रिने निश्चित प्रक्रिया रहेछ । यहाँ मेला लाग्नु केही दिनपहिले मन्त्र जपेका अक्षता पुजारीले लिन जानेलाई दिँदा रहेछन् । यसपटक (२०५६ को मेला) रौतहटका सिमरी गाउँका दुखा चौधरी सो मन्त्रको अक्षता लिएर मुसा खोज्न गइसकेका रहेछन् । जंगलमा खोज्दै जाँदा जहाँ दुलो देखिन्छ, त्यसको वरिपरि लक्ष्मणरेखा कोरेर अक्षता दुलोभित्र खसालिन्छ । त्यसपछि मुसा निस्केर लक्ष्मणरेखा वरिपरि घुम्न थालेपछि पक्रेर ल्याउने गरिएको छ रे ।’ (नबिर्सने दिनहरू, गढीमाईको मेलामा दङ्गैदङ्ग शीर्षकीय नियात्रा, पृ. ९५) ।

यस्तै किसिमले २०४६ सालको गढीमाई मेलाका बारेमा वरिष्ठ नियात्राकार तथा यात्रासाहित्यका अनुसन्धाता निर्मोही व्यासले यसरी वर्णन गरेका छन्, ‘...दुवैतर्फ ठड्याइएका छाप्राहरूमा हुने खाने व्यापारीहरूका शाकाहारी, मांसाहारी, मद्याहारी छ्यासमिसे भोजनालय अति व्यस्त देखिन्छन् । रक्सी, मासुभात, पुरी मिठाई जे जे माग्यो त्यो त्यो सबै थोक पाइने ती बहुमुखी होटलहरूमा पकाउने पकाइरहेका छन्, बाँड्ने बाँडिरहेका छन्... खाने खाइरहेका छन्, पिउने पिएर मात्तिइरहेका छन् ।’ (झलझली आँखामा, निर्मोही व्यास, गढीमाईको मेला, पाइला : दुई शीर्षकीय नियात्रा, पृ. ४३) ।

त्यसरी नै भाकलको प्रसंगलाई उनले यसरी उल्लेख गरेका छन्, ‘गएको मेला (२०४१) पछि लगत्तै बिहारतिरको कुनै निःसन्तान र अति सम्पन्न व्यक्तिले भाकल गरेको थियो रे– ‘हे गढीमाई, मेरो सन्तान होस्, आउँदो मेलामा म सय वटा पाडा चढाउँछु ।’ भनेर । यसबीचमा उसको छोरै जन्म्यो रे त्यसैले यो मेलामा (२०४६) (हिजोको दिन) उसले ठ्याम्मै सय वटा पाडा ल्याएर बलि चढाएको हुनुपर्छ रे ।’ (उही, निर्मोही व्यास, गढीमाईको मेला, पाइला : दुई शीर्षकीय नियात्रा, पृ. ५५) ।

उल्लिखित कुराहरूका अलावा अन्य धेरै कुराहरू पनि विविध भक्तजनहरूबाट गढीमाईका बारेमा सुनेको छु मैले । गढीमाईलाई भाकल गरेमा सो पूरा गर्नैपर्ने नत्र अनिष्ट हुने । जस्तो कि कसैले कपाल चढाउने भाकल गरे पाँच वर्षसम्म कोरीबाटी नगरी मेलाको समयमा माईको प्रांगणमा आई कपाल खौरी चढाउने, गढीमाईको एकपटक चोरिएको सम्पत्ति माईको प्रतापले भेटिएको, माईमाथि अविश्वास, अश्राद्ध वा शंका मात्र पनि गर्नेलाई तुरुन्तै रगत छदाएर प्राणघातको दण्ड दिन बेर नलगाउने आदिआदि ।

अहिले सम्झना पनि गरिरहेको छु अन्वेषक तथा संकलक नवीनकुमार खड्काले ‘महातीर्थ यात्रा’मा उल्लेख गरेका हरफहरूलाई । उनले गढीमाईका सम्बन्धमा यसरी उल्लेख गरेका छन्, ‘प्यागोडा शैलीमा निर्मित यस मन्दिरमा भगवतीको प्रतीक स्वरूप काला रंगको शिलामूर्ति रहेको छ । यी भगवतीको मूल प्रतीक यहाँको चौतारोमा रहेको त्रिशूललाई मानिन्छ ।... मन्दिर परिसरमा रहेको चउर बलि दिएका पशुपंक्षीहरूका रगतले रक्ताम्य भए पनि त्यहाँ एउटा पनि झिँगो देखिंदैन । यसलाई भगवती प्रभाव मानिन्छ । ...यस देवस्थानमा बलि चढाइएका पशुपंक्षीहरूलाई प्रसादकारूपमा घर लैजान नहुने भएकोले यहीँको चउरमा गाडिन्छ ।... किंवदन्तीअनुसार अघि रस्सा गुरु नामक एक सिद्धपुरुषले यस स्थानमा  बाघलाई समातेर धानको दाइँ गर्दथे । उनैले यी भगवतीलाई बलि चढाउने प्रथा चलाएका थिए ।’ (खड्का, नवीनकुमार, महायात्राको श्री गढीमाई शक्तिपीठ वरियापुर बारा शीर्षकीय लेख, पृ. १०९) ।

उल्लिखित जानकारीहरूलाई मनन गर्दै लामो समयको प्रतीक्षापश्चात् साक्षात् देवी गढीमाईको पाउमा शिर झुकाउन सशरीर हाजिर भएको छु यस क्षणमा । मोटर पार्क गरेर रामेश्वरजी देवीलाई चढाउने फूल प्रसाद आदि किन्न नजिकैको पसलमा जानुभयो ।

मैले भने गढीमाईलाई चढाउन घरकै फूल, चामल, अबिर, केसरी, नरिवल, भेटी, बानेश्वरकै पूजासामग्री पसलबाट खरिद गरेको शृंगारका सामानको पोकादि साथमै लिएर आएको छु । मन्दिरको प्रवेशसँगै एउटा ठूलो रुख निमको रहेछ । त्यसको फेदमा धागोले वरिपरि बाँधेर अबिर आदिले राताम्मे हुने गरी पूजा गरिएको छ । त्यसको छेउमा श्रद्धालु आगन्तुकहरूलाई बस्ने विश्रामालय बनाइएको छ । विश्रामलयको दाहिनेतिर ठूलो प्यागोडा शैलीको मन्दिर छ । मन्दिर परिसरमा बर तथा महुवाका रुखहरूले शीतल छहारी दिइरहेका छन् ।

हामी पुग्दा बेलुकीको आरती भइरहेको छ । बडो सानदार र आकर्षक रूपमा पूजा पनि भइरहेको छ । मान्छेहरूको भीडमा थपिएर हामीले पनि आरती गरेको हेर्ने र श्रवण गर्ने सुनौलो मौका पायौँ । गढीमाईको मूल मन्दिर भने आरती हुँदै गरेको मन्दिरभन्दा बायाँतर्फ रहेको छ ।

सायद यो त्यही वेदी हुनुपर्छ, जुन कुरा कलैया निवासी एवं अग्रज नियात्राकार निर्मोही व्यासले उल्लेख गर्नुभएको छ, ‘...चारकुने अग्लो सिमेन्टेड वेदी हो जसलाई गढीमाईको गहना गुरिया र अथाह धनसम्पत्ति राख्ने खजाना भन्ने लोक विश्वास पनि प्रचलित छ । (त्यो वेदीमुनि पत्तै लगाउन नसकिने गहिरो खाल्डो छ रे ! र, त्यो पूरै धनसम्पत्तिले टन्नै छ रे । सय वर्षजति पहिलेसम्म गढीमाईको मूर्ति बहुमूल्य गहनाले झकिझकाउ थियो रे । पछि एकपल्ट गहना चोरी भएर फेरि देवीको प्रभावले फेला परेपछि यही खाल्डोमा हाली माथिबाट पक्की वेदी बनाएर सुरक्षित तुल्याइएको हो रे) ।’ (व्यास, उही, पृ. ५३–५४) ।

वर्तमान समयमा गढीमाईलाई बलि दिने प्रथालाई निरन्तरता दिने कि बन्द गर्ने भन्नेबारे धेरै बहस सतहमा आएको छ । केहीको मत माईलाई बलि दिन बन्द गरिनुपर्छ भन्ने रहेको छ भने केहीको मत बलिप्रथालाई निरन्तरता दिइरहनुपर्छ भन्ने पाइएको छ । तर, गढीमाईबारे विभिन्न किंवदन्तीहरू जनमानसमा स्थान जमाएर बसेको कुरालाई सजिलै नकार्न सकिँदैन । जनमानसमा रहेको एउटा किंवदन्तीलाई उल्लेख गर्न उपयुक्त नै होला – जुन यसप्रकार रहेको पाइन्छ, ‘मकवानपुर गढीबाट आजभन्दा करिब ८०० वर्षअगाडि भगवान चौधरीले गढीमाईलाई वरियापुर ल्याउने क्रममा माईले नरबलिसहित प्रत्येक वर्ष मेला लगाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो रे ! तर, सो प्रस्तावको सट्टामा दैनिक पूजाआजा गरी ५/५ वर्षमा मेला लगाई पञ्चबलि (राँगा, बोका, सुँगुर, कुखुरा र जंगली सेतो मुसा) चढाउने कुरामा सहमति भयो रे ! अनि, सोहीबमोजिम पूजाआजा गर्दै रहेको भए पनि गढीमाईको मनोच्छा पूरा नभएकोमा गढीमाई विराजमान भएको क्षेत्रमा अकारण धेरै मानिसहरूको मृत्यु हुन थाल्यो रे ! गाउँमा विपत्को क्षण आइलागेकोले चौधरीले माईसँग अनिष्टबारे बिन्ती बिसाउँदा पञ्चबलिको साथसाथै नरबलि दिएमा यस्तो नहुने सुझाइन् रे ! सो कार्यका लागि विभिन्न स्थानमा नरबलिका लागि घुम्दा कोही तयार भएको नपाएपछि सो कुरा माईलाई अनुनय गर्दा माईले नै सेमरीगाउँ (हाल रौतहट) जाऊ भन्ने आदेश दिनुभयो रे ! माईको आदेशानुसार सेमरीगाउँ पुग्दा माईको सवारी मेरो घरमा भए नरबलि दिन तयार रहेको कुरा बताए रे ! तत्पश्चात् माईको सवारी उक्त गाउँलेको घरमा भएपछि उसले नरबलिका रूपमा ५ थोपा रगत दिन मञ्जुरी जनाए रे ! त्यसै समयदेखि नरबलिको रूपमा मानिसको पाँच थोपा रगत चढाए पछि पञ्चबलि दिइने चलन अद्यावधिसम्म कायम रहेको छ ।’

यी माथिका विविध किंवदन्तीहरू श्रवणमा आए पनि विधिविधानपूर्वक क्षमा पूजा गर्दै कोही कुनै पक्ष वा कोही कसैको आस्थामा ठाडो असर नपर्ने गरी बडो सतर्कता र सुझबुझको साथ सम्भव भएसम्म सर्वसम्मत हुने किसिमको राष्ट्रले कानुन बनाई सोको समाधान खोजिन जरुरी छ । किनकि, हिन्दु धर्मावलम्वीहरूको प्राचीन ग्रन्थ ऋग्वेदमा नरबलिसम्बन्धी उल्लेख भएको पाइन्छ । तर, त्यस्तो कुप्रथालाई उन्नाइसौँ शताब्दीमा बन्द गरिएको पाइन्छ ।

नरमेध यज्ञलाई समर्थन गर्ने गरी ऋग्वेदमा उल्लेख भएको पाइन्छ, जुन ऋग्वेदको प्रथम मण्डल, सूक्त २४ को मन्त्र १, २, ४, १३ लाई एक नजर दिऊँ, ‘कस्य नूनं कतमस्यामृतानां महामहे चारु देवस्य नाम । कोनोमह्या अदितये पुनर्दात् पितरं च दृश्येयं मातरंं च ।।१।।’ ‘अग्नेर्वयं प्रथमस्यामृतानां मनामहे चारु देवस्य नाम । सनो मह्या अदितये पुनर्दात् पितरं च दृश्येयं मातरं च ।।२।।’ ‘असीम ऋक्षा मिहितास उच्चानक्तं ददृश्रे कुहचिद्दिवेयुः । अदब्धानि बरुणस्य ब्रताति विचकासच्चन्द्रमा नक्तं मति ।।४।।’ ‘शुनःशेपोह्यल्हाद् गृभीतस्त्रिप्वादित्दु्र द्रुपदेषु वध्दः । अवैन राजा वरुणः ससृज्यद्विद्वां अदब्धोविमुक्तुपाशान् ।।१३।।’ (ऋग्वेद, प्रथम मण्डल ।)
(भावानुवाद : मैले कसको, कुन अमर देवताको पवित्र नामको स्मरण गरूँ, (यज्ञकुण्डछेउमा बाँधिएका शुनःशेफले प्रार्थना गर्छन्) कुनचाहिँ दयालुले मलाई मुक्तिदेवीको नजिक पुर्‍याइदिन्छ, जसले गर्दा म आफ्नो पिता र मातालाई पुनः देख्न सकूँ ।१। देवताहरूमा सर्वश्रेष्ठ अग्निदेव हुनुहुन्छ, उहाँको पवित्र नामलाई हामीले स्मरण गरौँ । उहाँ नै हाम्रो लागि महनीय मुक्तिदेवीको नजिक पुनः पुर्‍याइदिनुहुनेछ, जसबाट हामीले आफ्नो पिता र मातालाई पुनः देख्न सकौँ ।२। यी माथिका आकाशमा नक्षत्रगण निश्चल रूपमा स्थापित छन्, तिनीहरूलाई रातमा देख्न सकिन्छन् र दिनमा चाहिँ कहीँ कतै जान्छन्, अर्थात् लुप्त हुन जान्छन् र विशेष किसिमले चम्किने चन्द्रमा रातमा उदाउने गर्छ । वरुण देवको यी नियम नष्ट हुँदैन ।।४।। तीनवटा खम्बामा बाँधिएका शुनःशेपले अदिति पुत्र वरुण देवलाई पुकार्नुभयो । देवताका राजा वरुण जो ज्ञानको स्वरूपमा अनश्वर हुनुहुन्छ, बन्धनहरूबाट छुटाएर मुक्त गरिदिनुहोस् ।)

स्मरणहोस् कि प्राचीन हिन्दु समाजमा नरमेध विद्यामान भए पनि भारतवर्षमा ब्रिटिस सरकारले कानुन बनाई बन्द गराएको कुरा भारतीय अन्वेषक रजनीकान्त शास्त्रीले उल्लेख गरेका छन्, जुन यस प्रकार छ, ‘अश्वमेध और गोमेध यज्ञो पर विचार के पश्चात् अब नरमेध नामक यज्ञ पर विचार किया जाता है जिसे प्राचीन हिन्दू किया करते थे और जो ब्रिटिश शासन के आने के पूर्व कहीँ कहीँ अर्वाचीन काल में भी इस देश मे प्रचलित था । इस यज्ञ का आधार ऋग्वेदीय शुनःशेफ सूक्त माना जाता था । इस निष्ठुर प्रथा को ब्रिटिश सरकार ने ई.सन् १८४५ के एक्ट २१ द्वारा बन्द कर दिया ।

...शुनःशेफ (प) की संक्षिप्त कथा जो ऋग्वेद के ऐतरेय ब्राह्मण मे विस्तृत रूप से लिखी गई है और जो नरमेध यज्ञ का एक भयंकर नमूना हमारे सम्मुख उपस्थित करती है ।...’ । (शास्त्री, रजनीकान्त, हिन्दू जाति का उत्थान और पतन, नरमेध शीर्षकीय आलेखबाट, पृ. ९४) ।
(भावार्थ : अश्वमेध तथा गोमेध यज्ञबारे विचार गरेपछि अब नरमेध नामक यज्ञउपर विचार गरिन्छ कि जुन कुरा प्राचीन हिन्दुले अँगालेका थिए र जुन प्रथा ब्रिटिस शासन आउनुपूर्व कतैकतै अर्वाचीनकालमा यस (भारत) देशमा प्रचलित थियो । यस यज्ञको आधार ऋग्वेदमा वर्णित शुनःशेफ (प) सूक्तलाई मान्न सकिन्छ । यो निर्दयी प्रथालाई ब्रिटिस सरकारले सन् १८४५ को नियम २१ बाट बन्द गराए ।

...शुनःशेफको संक्षिप्त कथा ऋग्वेदमा र ऐतरेय ब्राह्मणमा विस्तृतरूपमा लेखेको पाइन्छ र नरमेध यज्ञको एक भयंकर नमुना हाम्रो सम्मुख उपस्थित गराउँद छ । (शास्त्री, रजनीकान्त, हिन्दू जाति का उत्थान और पतन, नरमेध शीर्षकीय आलेखबाट, पृ.९४) ।

नरबलि सम्बन्धमा श्रीमद्भागवत महापुराण (द्वितीय खण्ड)को सातौँ अध्यायको राजा त्रिशंक और हरिश्चन्द्रकी कथा शीर्षकको २१औँ श्लोक, पृ. ४० मा समेत उल्लेख भएको पाइन्छ ।

नरबलिका बारे नेपाली विद्वान्हरूले पनि अध्ययन गरी आफ्नो कृतिमा समावेश गरेका छन् । जस्तो कि मदनमणि दीक्षितको ‘त्यो युग’ नामक पुस्तकको ‘युगसन्धिको शुनःशेप’ पृ. ४६–५३ तथा प्रा. डा. वीणा पौड्यालका ‘वेदपुराणका केही रत्नहरू’, दोस्रो भाग, ‘हरिश्चन्द्र’ शीर्षकीय लेख (पृ. १२५–१२९) लाई लिन सकिन्छ ।

उल्लिखित आधारलाई मनन गरी बलि प्रथा बारे निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ मलाई । हेरौँ, भविष्यमा यसको सरल, सहज र सबै पक्षले विजयीविजयीको अवस्था सिर्जना गरी समस्याको समाधान निकाल्नेतर्फ अग्रसर हुनुमा नै कल्याण हुनेछ भन्ने लागेको छ । आराध्य देवीदेवता त्यत्ति निष्ठुर हुँदैनन्, जति हामीले सोचेर भयभीत हुने गरेका छौँ । किनकि, गढीमाईले पनि पाँच थोपा रगतलाई नरबलि स्वीकार्नुभएको माथि उल्लेखित किंवदन्तीबाट थाहा पाउन सकिन्छ ।

अहिलेलाई यी विवादको कुरालाई यहीँ बिट मार्दै गढीमाईको प्रत्यक्षदर्शी भएको कुरातर्फ नै बढौँ । देख्दै छु, माथि उल्लेख भएको वेदीमा विधिपूर्वक आरती सम्पन्न भएपछि गढीमाई विराजमान हुनुभएकी मन्दिरतर्फ सबैजना लागे । हामी पनि भीडसँगै त्यतै लाग्यौँ । त्यहाँ पनि बाजासहितको भजन भयो । फलामे चेनगेटको बाहिरबाट सो सबै प्रक्रियालाई नियाल्यौँ । आरतीको समय सकिएपछि पहिलेकै मन्दिरमा लगेर बाजा आदि सामानहरू राखेपछि विधिवत पूजा र दर्शन गर्नेहरूका समय सुरु भयो । खासै भीड नभएकोले लाइनमा लागेर पूजा गर्ने निधो गरी रामेश्वरजी र म पनि लाइनमा उभियौँ । सबैले ल्याएका पूजासामग्री र भेटी चढाउँदै दर्शन गर्ने काम गर्‍यौँ ।

रामेश्वरजीपछि मेरो पालो आयो । मैले आरामले दर्शन गर्दै पुजारीलाई यी सबै सामान र घरमै आफ्नी जीवनसाथी रत्न राईले रेखदेख गरी फुलाएको फूल देवीको चरणमा अर्पण गर्न ल्याएको बताएँ । अबिर र केसरीको प्याकेट खोली आफैँ चढाउन र नरिवल पनि आफैँ फुटाई चढाउन आदेश दिनुभयो पुजारीले । मैले अर्पण गर्न ल्याएका सामानहरू देवीलाई चढाउने क्रममा मन्त्रोच्चारणको क्रममा आफ्नो जीवनसाथीको नाम के हो भनी पुजारीले सोध्नुभयो ? मैले रत्न राई भनी जानकारी गराएपछि रत्न राईको नाम मन्त्रका साथमा उच्चारण गर्नुभयो । मैले भेटी हातमा राखिदिएँ । त्यसै समयमा गढीमाईको विविध अंगहरूमा स्पर्श गराएर सानो कागजमा पोका पारिएको पोका दिनुभयो । जतनसाथ दाहिने हातले समाएँ मैले ।

देवीको पाउमा शिर राख्न भनेपछि शिर राख्दै मनमनै भनेँ मैले देवीलाई प्रत्यक्ष दर्शन गरी– मैले नजानी गरेका गल्तीहरूबाट क्षमादान दिन र म तथा मेरो परिवारलाई दुःख, कष्ट र वैरीहरूबाट बचाइदिन, असल कार्यहरू हाँकेको ताकेको पुर्‍याइदिन अनुनय गरेँ । भविष्यमा पुनः बोलाउनुभएमा उपस्थित हुनेछु भनी मनमनै गुनगुनाएँं ।

यसरी लामो प्रतीक्षापश्चात् गढीमाईको दर्शन गर्न पाएकोमा धन्य भएँ । अपार प्राप्तिको महसुस गर्दै माईको पाउबाट शिरलाई उठाएँ ।

त्यही समयमा पुजारीले कतिपय मैले चढाएका र गढीमाईको पाउमा रहेका केही फूल प्रसादहरू प्लास्टिकको झोलामा राखेर दिनुभयो । साथै, एउटा सानो कागजको टुक्रामा पोको पारेर दिनुभएको सामानका बारेमा भन्नुभयो, ‘त्यो पर्समा बडो सुरक्षितसाथ राख्नुहोला र सकेसम्म कहिल्यै पनि पर्सबाट बाहिर ननिकाल्नुहोला ।’ विनीतभावमा मैले हवस् भन्दै पर्समा राखेँ । यसै क्षणमा पुजारीले पुनः भन्नुभयो, ‘गढीमाईले भविष्यमा बोलाउनुभयो भने अवश्य आउनुहोला ।’ स्वीकृतिसूचक टाउको हल्लाउने काम गरेँ मैले ।

यसरी जीवनका केही अमूल्य समय गढीमाई मन्दिर परिसरमा बितायौँ । मन्दिर वरिपरि अवलोकन समेत गरी साँझको पौने आठ बजे बाहिरियौँ ।

रामेश्वरजीले मन्दिरमा अर्पण गर्न फूलपाती लिनुभएको पसलमा गयौँ र चिया पियौँ । होटेलका लागि कुरा गर्दा त्यहीँका एक पसलेले राम्रो र कार पार्किङ भएको होटेल यहीँ गढीमाई रोडमा रहेको होटेल करनराज प्यालेस रहेको छ, सो होटेलमा बस्दा राम्रो हुन्छ भनी सुझाए । साथै, त्यहीँबाट होटेलवालालाई सम्पर्क गरी रुम भए/नभएको सोध्ने काम पनि गरिदिए । होटेलमा रुम रहेको र बाटैमा पर्खन एउटा मान्छे खटाइदिन्छु भनी होटेलवालाले भनेको कुराको जानकारी समेत दिए चिया पसलेले ।

त्यसपछि चियाको पैसा भुक्तानी गरी होटेलको लागि रमाना भयौँ । रातको समय भएकोले बिस्तारै कारमा यात्रा गर्‍यौँ । बजारभन्दा पाँच मिनेट वर रहेछ होटेल । बाहिरबाट हेर्दा भव्य र सानदार छ । होटेलमा प्रवेश गरी रुम आदि हेरेर पंखा र वातानुकूलित (एसी) रहेको रुमको रु. २,२००/– भने पनि दुई हजारमा मिलायौँ र सामान राख्ने काम गर्‍यौँ । त्यसपछि केही सामान किन्न र बजार घुम्ने उद्देश्यले बजारतर्फ लाग्यौँ ।

कलैयाबजार सोचेभन्दा भिन्न छ र जताततै बाटोहरू खनेर खाल्डाखुल्डी रहेको अवस्थामा छ । त्यसैले धेरै बेर घुमेनौँ । आवश्यक सामानहरू खरिद गरी होटेलमै फर्कियौँ ।

शरीरमा ताजापन ल्याउन पालैपालो नुहाइ केही खानेपिउने काम गरी बेलुकीको लागि शाकाहारी खाना रोज्यौँ ।

त्यसपछि आराम गर्न आआफ्ना बिछ्यौनामा पल्टियौँ । साक्षात् देवी गढीमाईले बोलावट भएपछि आइपुगेर आरामले दर्शन गर्न पाएकोमा दंग परेर पल्टिएको छु । निद्रा देवीले घप्लक्क काखी चेपिन् । त्यसपछि गाढा र शान्त रात्रिसँगै एकाकार भएर निद्रादेवीको काखमा लम्पसार परेँ म ।

०००

सन्दर्भ सामाग्री
– ऋग्वेद ।
– श्रीमद्भागवत महापुराण (महर्षि वेदव्यास प्रणीत), द्वितीय खण्ड, दशम स्कन्ध–पूर्वार्ध, अक्रूरजीको व्रजयात्रा ।
– खड्का, नवीनकुमार खड्का, महायात्रा, प्रकाशक ज्यो. पं. डा. देवीप्रसादलगायत अन्य ७ जना र अरुण उपत्यका संस्कृति अनुसन्धान केन्द्र, काठमाडौं, संस्करण २०७५ ।
– छाङ्छा, जय, साङ्ग्रिलाको पुछारतिर, प्रकाशक स्वदेश प्रकाशन, संस्करण २०८० ।
– थुलुङ, नारदमुनि, बिर्सेका अनुहारहरू : बिर्सन नसकिएका घट्नाहरू, प्रकाशक– प्रतिनिधि प्रकाशन, काठमाडौं, संस्करण २०४५ ।
– दीक्षित, मदनमणि, त्यो युग, प्रकाशक–दे गु्रप इन्टरन्याशनल, क्यानडा, संस्करण दोस्रो २०६६ ।
– नेपाल, पूर्णप्रकाश ‘यात्री’, बदलिँदो घामछाया, प्रकाशक– हिमाली सौगात प्रकाशन, विराटनगर, संस्करण २०३७ । 
– पौड्याल, प्रा. डा. वीणा, वेदपुराणका केही रत्नहरू, प्रकाशक– साझा प्रकाशन, काठमाडौं, संस्करण २०६७ ।
– भट्टराई, डा. गोविन्दराज, एक्लै एक्लै एक्लै, प्रकाशक– रत्न पुस्तक भण्डार, संस्करण २०६० । 
– रिजाल, नवराज, सम्पादक, नवप्रज्ञापन, कार्तिक–पौष, नवप्रज्ञापन, संस्करण २०७६ ।
– रोदन, श्रीओम श्रेष्ठ, नबिर्सने दिनहरू, साझा प्रकाशन, संस्करण २०६२ ।
– लामिछाने, जीवा, देश देशावर, प्रकाशक– फाइन प्रिन्ट, संस्करण २०७७ ।
– व्यास, निर्मोही, झलझली आँखामा, साझा प्रकाशन, संस्करण २०५१ ।
– सर्मा, ताना, बेलाइततिर बरालिंदा, प्रकाशक– साझा प्रकाशन, संस्करण सातौं २०७४ ।
– विकिपिडिया ।    
– शास्त्री, रजनीकान्त, हिन्दू जाति का उत्थान और पतन, किताव महल, इलाहाबाद, संस्करण १९९६ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro