site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भीम रावलको आरोपमा एमालेको प्रतिक्रिया– प्रचण्डको दस्तावेज कपी पेस्ट 

काठमाडौं । नेकपा (एमाले)ले नेता भीम रावलले सार्वजनिक गरेको ३१ पृष्ठको प्रश्न र आरोपलाई तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै दस्तावेजको कपी पेस्टको संज्ञा दिएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले रावलले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको दस्तावेज सोही प्रकृतिको भएको टिप्पणी गरेका हुन् ।

“२०७७ साल कार्तिकमा लगभग यिनै भाषामा प्रचण्डले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई यस्तै खालको टिप्पणी गर्नुभएको थियो,” ज्ञवालीले भने, “सायद १९ पेजको थियो । एक हिसाबले कपी पेस्टजस्तै हो ।”

उनले गालीगलौजले देश नबन्ने पनि बताए । “एक जमाना थियो, बाबुराम भट्टराईजी, प्रचण्डजी पुराना दललाई डिक्सनरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो,” ज्ञवालीले भने, “रवि लामिछानेजी पनि गालीगलौजबाटै उदाएको हो । गालीगलौजले देश बन्दैन ।”

साढे ३० पृष्ठको गालीगलौज र आधा पृष्ठ मात्र योजना रहेकाले रावलमा कति नकारात्मकता रहेछ भन्ने प्रस्ट भएको उनले बताए । रावलको अभिव्यक्ति अपेक्षित नै भएको उनले उल्लेख गरे । एमाले गालीगलौजको प्रतिस्पर्धामा नरहेको उनको भनाइ छ ।

संगठित सदस्यता खोसिएपछि रावलले बुधबार (हिजो) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ७४ प्रश्न र आरोप लगाएका थिए ।

यही पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकका निम्ति अध्यक्षले तयार गरेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामाथि बिहीबार छलफल गरिएको थियो । सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ । नेपाली कांग्रेस र एमालेबीचको सरकार गठनको औचित्य, आवश्यकताको विश्लेषण प्रतिवेदनमा गरिएको ज्ञवालीले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro