site stats
बाह्रखरी :: Baahrakhari
देश
घट्दै छ अमेरिकाप्रति विदेशी विद्यार्थीको मोह, ट्रम्प र विश्वविद्यालयको द्वन्द्वले कस्तो असर पर्छ ?

काठमाडौं । अदालतले अस्थायी कानुनी राहत दिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हार्वर्ड विश्वविद्यालयजस्ता अमेरिकाका प्रतिष्ठित शैक्षिक संस्थाविरुद्धको बढ्दो आक्रमण र हस्तक्षेपमार्फत विदेशी विद्यार्थीलाई निसाना बनाउने क्रियाकलाप हानिकारक सावित हुन सक्ने विश्लेषण गरिएको छ ।

गत बिहीबार अन्तर्राष्ट्रिय विद्यार्थीलाई हार्वर्डमा भर्ना हुन पाउने अधिकार रद्द भएपछि हजारौँ विद्यार्थी अलपत्र परेका छन् । अन्य संस्थामा स्थानान्तरण गर्नेदेखि सरकारी अनुदान रोकिएकाले आर्थिक समस्या पर्ने भएपछि, विद्यार्थी र आईभी लिगअन्तर्गतका विश्वविद्यालय दुवै चिन्तामा छन् । ट्रम्प प्रशासनले यस्तै कारबाही अन्य प्रतिष्ठित शैक्षिक संस्थामा पनि गरे अमेरिकी अर्थतन्त्रलाई पनि ठूलो प्रतिकूल प्रभाव पर्ने द इन्डियन एक्सप्रेसको विश्लेषण छ ।

विश्वविद्यालयको तथ्यांक अनुसार सन् २००६/०७ मा तीनहजार ९४१ अन्तर्राष्ट्रिय विद्यार्थी हार्वर्डमा भर्ना भएका थिए । सन् २०२४–२५ शैक्षिक वर्षमा यो संख्या बढेर ६ हजार ७९३ पुगेको छ । यो हाल कुल भर्ना भएका विद्यार्थीमध्ये २७ प्रतिशतभन्दा बढी हो । हार्वर्डभन्दा पनि बाहिरका अन्य विश्वविद्यालयलाई हेर्दा यो संख्या अझ ठूलो हो ।

Argakhachi Cement Island Ad

अमेरिकी विदेश विभागको शैक्षिक एवं सांस्कृतिक मामिला ब्युरो र इन्टरनेसनल इन्स्टिच्युट अफ एजुकेसनले सन् २०२४ नोभेम्बरमा प्रकाशित प्रतिवेदन ‘ओपन डोर्स–२००४’ का अनुसार, सन् २०२३–२४ मा अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ११ लाख ३० हजार पुगेको छ । जुन अमेरिकामा हुने विद्यार्थीको कुल भर्ना एक करोड ८९ लाखको ५.९ प्रतिशत हो ।

हार्वर्ड अन्तर्राष्ट्रिय विद्यार्थीको आधारमा शीर्ष–२५ श्विविद्यालयमा पनि परेन । जबकि, न्युयोर्क विश्वविद्यालयमा २७ हजार २४७ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । अमेरिकामा धेरै विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयमा यो पहिलो स्थानमा छ ।

कुल तीन लाख ३२ हजार विद्यार्थीका साथ भारतले सन् २००९ पछि पहिलोपटक अमेरिकामा विद्यार्थी पठाउने देशको शीर्ष स्थानमा पर्छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना रोकेपछि विश्वविद्यालय र यसको मिसनमा ठूलो असर पार्ने भन्दै हार्वर्डले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दापछि सरकारले प्रमाणपत्र रद्द गर्ने निर्णयविरुद्ध अस्थायी रोक लगाउन पनि सफल भयो । विश्वविद्यालयले मुद्दामा ‘सरकारले कलमको एक ‘स्ट्रोक’मार्फत हार्वर्डको एकचौथाइ विद्यार्थी समाप्त गर्ने’ प्रयास गरेको आरोप लगाएको थियो ।

आर्थिक योगदान
अमेरिकी उच्च शिक्षण संस्थामा अध्ययनरत १० लाखभन्दा बढी विदेशी विद्यार्थीले अर्थतन्त्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । सन् २०२३–२४ उनीहरूले अमेरिकी अर्थतन्त्रमा ४३.८ बिलियन डलर र ३.७८ लाख रोजगारीमा योगदान गरेका तथ्यांक एसोसिएसन अफ इन्टरनेसनल एजुकेटर्सले सार्वजनिक गरेको छ । एसोसिएसनले बताएअनुसार, सन् २०२४ नोभेम्बर पछाडि अहिलेसम्म गरिएको आर्थिक गतिविधिको कुल रकम गणनामा यो सबैभन्दा बढी हो ।

यसले सन् २०१८–१९ को ४१ अर्ब डलरको रेकर्डलाई पछाडि पारेको बताइएको छ । साथै, प्रत्येक तीन विदेशी विद्यार्थीले एक अमेरिकी रोजगारी सिर्जना वा सहयोग गर्ने पनि एसोसिएसन अफ इन्टरनेसनल एजुकेटर्सले बताएको छ ।

बढ्दो चिन्ता
ट्रम्प प्रशासनले हार्वर्डको आलोचना गर्नु अगाडिदेखि नै अमेरिकाप्रति विदेशी विद्यार्थीको रुचि कम हुन थालेको देखिन्छ । यसले अनुसन्धान र विज्ञानमा ‘फन्ड’ कटौती गर्ने नीति पनि लागु गरेको छ । बोस्टन कलेजको एजुकेसनल लिडरसिप र उच्च शिक्षा विभागका प्रोफेसर क्रिस आर. ग्लासले ‘स्टुडेन्ट र एक्सचेन्ज भिजिटर इन्फर्मेसन सिस्टम’ डेटाको विश्लेषण अनुसार, सन् २०२५ मार्चमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा ११ प्रतिशत गिरावट आएको बताएका छन् ।

ग्लासले यस गिरावटले अत्याधिक पुनर्संरचनाको संकेत दिएको बताएका छन् । उनका अनुसार, ११ प्रतिशतको गिरावटले अमेरिकी शैक्षिक संस्थालाई चार अर्ब डलरको घाटा हुने सम्भावना छ । विशेषगरी, भारतीय विद्यार्थीको संख्या २८ प्रतिशतले कमी आएपछि गिरावट देखिएको उनको विश्लेषण छ ।

सन् २०२४ डिसेम्बरमा द इन्डियन एक्सप्रेसले जनाएअनुसार, जनवरी–सेप्टेम्बर २०२४ मा भारतीयलाई जारी गरिएको विद्यार्थी भिसाको संख्या ३८ प्रतिशतले घटेको देखाएको थियो । अन्य विश्वविद्यालयले पनि अमेरिकाप्रति कम विदेशी विद्यार्थी आकर्षित भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्न थालेका छन् ।

यस हप्ताको सुरुमा सान फ्रान्सिस्कोमा आयोजित एक प्रविधि शिखर सम्मेलनमा प्रख्यात एआई शोधकर्ता र स्ट्यानफोर्ड विश्वविद्यालयका कम्प्युटर विज्ञान विभागका सिकोइया प्रोफेसर फेई–फेई लिले अमेरिकाले विदेशी प्रतिभाहरूका लागि आकर्षण केन्द्र बनेर रहनुपर्नेमा जोड दिएकी छन् । यो आर्थिक वृद्धि र नयाँ आविष्कारका लागि धेरै महत्त्वपूर्ण रहेको भन्दै उनले अमेरिकी उच्च शिक्षा प्रणालीलाई समर्थन गरिरहनुपर्ने बताइन् ।

“अमेरिकाबाहिर बस्ने कुनै पनि समूह वा विशेष गरी विश्वको ९७ प्रतिशत जनसंख्याबाट आफूलाई अलग गर्नु असफलता हो । क्षतिग्रस्त विश्वविद्यालयले कम समृद्धि र कम नयाँ आविष्कार ल्याउँछन् । गोल्फ टीदेखि सेसम स्ट्रिट, अंग प्रत्यारोपणदेखि मधुमेहको स्टेम सेल उपचारसम्म हार्वर्डको अनुसन्धानबाट आएका सबै महत्त्वपूर्ण आविष्कार खतरामा पर्छन् । यसको अर्थ हो, यी योगदानको धेरै ठूलो भाग विदेशी विद्वान्‌बाट आएको हो । यी कार्यहरूले यी सबैलाई जोखिममा पारेको छ,” हार्भर्ड विश्वविद्यालयका पूर्व अध्यक्ष ल्यारी समर्सले पोलिटिकोसँगको कुराकानीमा भने ।

उनी आफ्नो पुरानो विश्वविद्यालयको नियमित आलोचक भए पनि ट्रम्पको बारम्बार आक्रमणपछि शैक्षिक संस्थाको रक्षा गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्