site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्रीको जवाफ : कांग्रेसमा फरक मत राख्न पाइन्छ, एमालेमा कारबाही हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् । पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा शर्माले संसदमा विकल्प रहुन्जेल पाँच वर्ष कसैले भंग गर्न नसक्ने भन्दै अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको पनि खाँचो रहेको बताए । 

संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु ठूलो कुरा नभएको भन्दै शर्माले कोही प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी गर्नुपर्ने बताए । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेर प्रधानमन्त्री केपी ओलीले भनेको अभिव्यक्तिप्रति महामन्त्री शर्माले पार्टीभित्र फरक मत राख्ने नेताहरू कांग्रेसभित्रै रहेको उल्लेख गरे । तर, एमालेभित्र प्रश्न उठाउने व्यक्तिलाई भने कारबाही गरिएको उनले बताए । 

उनले कांग्रेस पार्टीमा नेतृत्व लिन खोज्नेको अभाव देखिएको धारणा राखे । सभापति शेरबहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अब त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफूले दिएको उनको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरी योजना बनाउनुपर्ने सुझाव दिए । 

त्यस्तै, उनले मेलमिलापको नीति अनुसार नै माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको जिकिर गरे । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २३:०३
प्रतिक्रिया दिनुहोस्