काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनै पनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताएका हुन् । उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै गम्भीर रहेको खण्डमा एकता हुने उल्लेख गरे ।
नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिस्ट पार्टीहरूले गम्भीरतापूर्वक नलिएको उनको भनाइ थियो । क्रान्तिकारीहरूको एउटा सही विचार, संगठनको ध्रुवीकरण बनाउन आफूहरू लागेको बताए ।
उनले भने, "एकताको कुरा छ । बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सकियो रे भन्ने छ । त्यो कुरा होइन । हामीले भनेको कुरा के हो भने जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाइमा माओवादी केन्द्र वा अरु क्रान्तिकारी पार्टीको बीचमा गम्भीर नभएसम्म, त्यो नहुँदासम्म हामीले सहकार्यलाई मोर्चामार्फत कायम राख्दै एउटा ध्रुवीकरणतर्फ लैजाने भनेका हौँ । क्रान्तिकारीहरूको एउटा सही विचार, संगठनको ध्रुवीकरण बनाउनुपर्छ भनेर लागेका हौँ ।"
महासचिव चन्दले बदलिएको सन्दर्भ, जनताको चाहना, सुझाव र पार्टीले गरिरहेको राजनीतिक अभ्यासको निष्कर्षबाट निर्वाचनमा भाग लिने निर्णय गरेको बताए ।