
काठमाडौं । सोमबार टर्कीमा भएको युक्रेन र रुस वार्तापछि दुवै देशले आ–आफ्ना प्रतिक्रिया दिएका छन् ।
युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै पक्ष १८ देखि २५ वर्ष उमेरका घाइते सबै लडाकु आदानप्रदान गर्न सहमत भएको जानकारी दिए । साथै, मारिएका सैनिकहरूको शव पनि फिर्ता गरिने उनले बताए । युक्रेनले थप निर्णय गर्न एक हप्ता लाग्ने उनको भनाइ छ ।
यस महिनाको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्भावित बैठकको बारेमा पनि छलफल भएको उनले जानकारी दिए । उक्त वार्तामा सम्भवतः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित हुनेछन् ।
यसैबीच, रुसी प्रतिनिधिमण्डलका नेता भ्लादिमिर मेडिन्स्कीले रुस युक्रेनलाई ६ हजार युद्धबन्दी सुम्पन तयार रहेको बताए । मारिएका युक्रेनी सैनिकको शव अर्को हप्ता फिर्ता गरिने उनले बताए ।
रूसले युक्रेनलाई सीमा क्षेत्रका केही भागमा दुईदेखि तीन दिनको युद्धविरामको प्रस्ताव गरेको भ्लादिमिर मेडिन्स्कीले जानकारी दिए । यसले शव आदानप्रदानमा सहज हुने उनको भनाइ छ । बीबीसी