site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकीका पूर्व र वर्तमान मुख्यमन्त्रीबीच वाकयुद्ध

पोखरा । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र बहालवाला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक–अर्काविरुद्ध आरोप-प्रत्यारोपमा उत्रिएका छन् । 

अहिले संघीय सरकारमा प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका एमालेका गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुन् । बहालवाला मुख्यमन्त्रीचाहिँ कांग्रेसका सुरेन्द्रराज पाण्डे हुन् र उनलाई एमालेसहितको समर्थन छ । 

गत शुक्रबार मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका मुख्यमन्त्रीहरूले पद जाने डरका कारण प्रदेशले पाउनुपर्ने अधिकारका विषयमा नबोलेको आरोप लगाएका थिए । आफू मुख्यमन्त्री हुँदा संघीय सरकारसँग बोल्न नडराएको, तर अहिलेका मुख्यमन्त्रीहरूले बोलेको आवाज आफूले नसुनेको उनले बताएका थिए । 

आफू मुख्यमन्त्री हुँदाको कार्यकाल सम्झिँदै उनले अहिले प्रदेशहरूले काम गर्न नसकेको तर्क गरेका हुन् । उनले तोकेरै गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध नबोले पनि उनको भनाइको आशय पाण्डेप्रति नै लक्षित रहेको थियो ।

पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा उनले सातै प्रदेशका मुख्यमन्त्रीको पोखरामा भेला राखेका थिए । उक्त भेलालाई प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले आफूविरुद्ध प्रदेशको घेराउको रूपमा बुझे र अन्तरप्रदेश परिषदको बैठक नै स्थगित गरिदिएका थिए । त्यतिबेलाको घटनाक्रम सम्झिँदै गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरू बोल्न नसकेको आरोप लगाएका हुन् ।

“मैले आजसम्म सुनेको छैन, के भन्दाखेरि सातैजना मुख्यमन्त्रीहरूले हामीलाई बजेट किन घटाइयो, बढाउनुपर्‍यो भनेर भनेको मैले सुनेको छैन,” गुरुङले भने, “खुम्चिएर १–२ अर्ब बजेट सिलिङ भएको पर्यटन मन्त्रालय अहिले ६५ करोडमा खुम्चिनुपरेको छ । कसरी प्रभावकारी काम हुुन्छ ? भन्न सक्नुपर्‍याे नि ! मुख्यमन्त्री खोसिन्छ कि भनेर डराइरहेको छ ।”

संघीय संसदमा समेत आफूमात्र प्रदेशमा जाने बजेटको बारेमा बोलेको दाबी उनले गरे । उनले यसो भनिरहँदा गण्डकीका मुख्यमन्त्री पाण्डेले पनि त्यसको जवाफ फर्काएका छन् । 

प्रदेशको बजेट कम हुँदासमेत मुख्यमन्त्रीहरू नबोल्नु पदको लोभ भएको भनेर गुरुङले बताइरहँदा यता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने पृथ्वीसुब्बा गुरुङले प्रदेशको बारेमा केही नबोलेको र आफूलाई गुरुङले पद नदिएको बताएका छन् । “पद के पीएस (पृथ्वीसुब्बा) गुरुङले दिएको हो र मेरो पद जान्छ बोल्दा ?” उनले प्रतिप्रश्न गरे ।

मुख्यमन्त्रीले आफूले नभ्याएका कार्यक्रममा मन्त्री गुरुङ पुगेको भन्दै ‘कामै नपाएर हप्तामै तीन–चार कार्यक्रममा आएको’ बताए । पाण्डेले संघ सरकारमा रहेका प्रदेशका मन्त्रीहरूले संघीयताबारे नबोलेको र निकै फुर्सदिला भएका र पोखरामा हप्तामै तीन–चार पटकसम्म कार्यक्रम उद्घाटन गर्न आएको बताए ।
 
पूर्वमुख्यमन्त्री आफैँ बजेट दिने ठाउँमा हुँदासमेत उनले प्रदेशलाई बेवास्ता गर्दै आइरहेको आरोप पाण्डेले लगाए । “अहिले उहाँ दिने ठाउँमा हुनुहुन्छ । हिजो माग्ने ठाउँमा हुँदा बोलेको बोल्यै गर्ने आज बोल्न पर्दैन ?” मुख्यमन्त्रीले भने, “संघ सरकारमा नेतृत्व गर्नेले प्रदेशको बारेमा चरो‍-मुसो बोल्दैनन्, गण्डकी होस् वा अन्य कुनै प्रदेश हिजो प्रदेशमा बसेकाहरू आज संघमा जाँदा बोल्ती बन्द छ । संघका मन्त्रीहरू रिबन काट्न आउनुहुन्छ । मैले प्रदेशको कामले गर्दा आउन भ्याइनँ भनेर नजाँदा मलाई फोन आयो, तपाईंले टेर्नुभएन हामीले त सञ्चारमन्त्री ल्यायौँ, उपप्रधानमन्त्री ल्यायौँ । यस्तै–यस्तै कसरी आएका छन् ? चलेकै छ, राम्रै छ । भ्याएकै छन्, मैले त भ्याएको छैन ।”

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्