
विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयको बेथिति र भ्रष्टाचारको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार (असार १२) कोसी प्रदेशसभामा विशेष समयमा उनले त्यहाँको बेथिति छानबिन गर्न सरकार उदासीन रहेको बताए ।
प्राविधिक विश्वविद्यालयका बेथितिबारे सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए । त्यहाँ चालकले लेखा फाँटको जिम्मेवारी सम्हाल्ने गरेको उनले उल्लेख गरे । मनमोहन अधिकारीजस्ता प्रतिष्ठित नेताका नाममा सञ्चालित विश्वविद्यालयमा विकृति बढ्नु लज्जाको विषय भएको उनले बताए ।
उनले भने, “यो प्राविधिक विश्वविद्यालय हो कि पार्टी विश्वविद्यालय ?”
विश्वविद्यालयको बेथिति बढ्दा समेत प्रदेश सरकारले चासो नदिनु गम्भीर भएको उनले बताए । “जुनसुकै सरकार आए पनि बजेट त विश्वविद्यालयले पायो, विकृति हटाएर सुधार गर्नैपर्छ । सुधार नगरी उकास्ने गरे मात्र हुन्न । पैसा लुट्नेजस्तो विश्वविद्यालय बन्नु हुन्न,” उनले भने ।
प्रदेश सरकारद्वारा सञ्चालित विश्वविद्यालयमा कुनै पार्टीको संगठित सदस्यले मात्र जिम्मेवारी पाएको उनको भनाइ थियो ।
उनले खाद्यान्न उत्पादनका निम्ति भद्रपुरदेखि भान्टाबारीसम्म ‘हब’ बनाउन प्रयास गरिएको तर सरकारले कृषितर्फको बजेट न्यून ल्याएको भन्दै आलोचना गरे । कुल गार्हस्थ उत्पादनमा बढी योगदान दिने कृषिक्षेत्रमा प्रदेश सरकारले न्यून बजेट विनियोजन गरेको उनले बताए ।