site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिउँदको तेस्रो वर्षा सातै प्रदेशमा हुने, शनिबार काठमाडौंसहित यी स्थानमा पर्नेछ पानी
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको हिउँदको तेस्रो वर्षा शुक्रबार (भोलि) र शनिबार (पर्सि) हुने सम्भावना छ । सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने अर्को पश्चिमी न्यूनचापीय प्रणाली आजै राति नेपाल प्रवेश गर्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । त्यसको प्रभावले बदली (आकाशमा बादल), वर्षा र हिमपात हुने उनले बताए । पश्चिम नेपालबाट त्यो प्रणाली प्रवेश गर्नेछ । आज दिउँसो भने सबैतिर मौसम सामान्य रहने उनले उल्लेख गरे ।

यो वर्षको हिउँदको पहिलो र दोस्रोजस्तै शुक्रबार र शनिबार पनि पश्चिम नेपालमै वर्षाको सम्भावना बढी छ । “पश्चिम नेपालमा अलि बढी प्रभाव पर्ने देखिन्छ,” उनले बाह्रखरीसित भने, “सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

उनका अनुसार, अरू प्रदेशमा हल्का वर्षाको सम्भावना छ । शुक्रबार दिउँँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । “भोलि (शुक्रबार) राति त यीसँगै लुम्बिनी प्रदेशमा पनि वर्षाको सम्भावना छ,” उनले भने ।

शुक्रबार कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको पनि सम्भावना रहेको उनले बताए ।

शनिबार भने देशभर साधारणतया बदली रहने उनले जानकारी दिए । त्यस दिन सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । “शनिबार मधेस प्रदेशका पनि एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ,” उनले भने ।

शनिबार दिउँसो काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौं उपत्यकामा थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ, दिउँसोको समयमा,” उनले भने, “काठमाडौं आसपासमा हिमपातको सम्भावना भने खासै देखिएको छैन ।”

शनिबार रातिदेखि उक्त प्रणालीको प्रभाव कम हुँदै जाने उनले बताए । “क्रमिक रूपमा खुल्दै जान्छ, आइतबार घाम पनि लाग्ने हुन्छ,” उनले भने, “सोमबारदेखि मौसम सफा हुने सम्भावना छ । तत्काल अर्को प्रणाली भित्रिइहाल्ने सम्भावना देखिएको छैन ।”

शुक्रबार र शनिबारको वर्षा र हिमपात पनि गएको सोमबार र मंगलबार (पुस ८ र ९)को जस्तैजस्तै हुने सम्भावना रहेको उनले जानकारी दिए । सोमबार र मंगलबार काठमाडौंमा छिटपुटसहित पश्चिम नेपालमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो । यो हिउँदको तेस्रो वर्षा भने मधेस र कोसी प्रदेशमा पनि हुने सम्भावना छ ।

“ करिब त्यस्तै (सोमबार र मंगलबारको वर्षा र हिमपात) सम्भावना छ,” मौसमविद् अधिकारीले भने ।

गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको थियो । त्यति बेला काठमाडौंमा छिटपुटसहित पश्चिम नेपालमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो ।

अरू मौसमविद्ले पनि शुक्रबार र शनिबार वर्षाको सम्भावना औँल्याएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro