काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको बैठक चार महिनापछि बस्ने भएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको संसद् सचिवालयका प्रवक्ता तथा समिति सचिव एकराम गिरीले जानकारी दिए ।
गत भदौ ९ गतेयता बैठक बस्न सकेको छैन । समितिका पछिल्ला चार बैठकमा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषयमा छलफल भएको थियो । त्यसपछि समितिका सभापति ऋषिकेश पोखरेलले बैठक बोलाउन अनिच्छा देखाए ।
भदौ ९ गते बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड तथा ट्रंकलाइनको प्रमाण माग गरेको थियो । त्यसपछि प्राधिकरणले करिब ७५ हजार पेज बराबरको विवरण समितिमा पठाइदिएको थियो ।
लामो समयसम्म बैठक नबसेको आलोचनापछि सोमबारका लागि बैठक डाकिएको हो । बैठकमा बेरुजुसँग सम्बन्धित छलफल गर्न बनेको उपसमितिको प्रगतिको समीक्षा गर्ने कार्यसूची छ ।