सम्बन्ध भन्नु पनि बडो गजब हुने रहेछ ! सम्झना र हृदयको मिलन पनि अनौठो ! कोहीले कसैलाई चिन्नैपर्छ भन्ने पनि केही रहेनछ । चिनिनुको सीमा पनि सीमाहीन रहेछ ! यो मनले कतिखेर कसलाई कोसँग किन जोड्छ थाहै नहुने । न बाबुराम लामिछानेले कुबेरप्रसाद भेटवाल चिनेका छन् न भेटवालले लामिछानेलाई ! मलाई भने यी दुवै उस्तैउस्तै लागे । दुवैजना विद्यालय शिक्षाका लागि लागिपरेका, मिहिनेतको प्रतिफलसहित उत्कृष्ट नतिजा प्रदर्शन गरेका र विद्यालयलाई अब्बल बनाएर देखाएका समाजका असल दुई शिक्षकहरू ।
संखुवासभाको मनकामना रत्न अम्बिका माविको सभाहलमा साहित्यिक उत्सव चलिरहँदा त्यहीँका प्रअ भेटवालसँग बसेर नुवाकोटको पृथ्वी माविका प्रअ लामिछानेलाई सप्रेम सम्झेँ । सम्झना पनि कति मिठो ! दुई विद्यालय, दुई प्रअ र दुई परिवेशलाई दाँजेर हेरेँ । मेरो मन किन यसरी बतासिएको होला अरुण किनारबाट त्रिशूलीतिर ?
भेटवाल प्रअ रहेको विद्यालय कोसी प्रदेशको अब्बल, लामिछाने प्रअ रहेको विद्यालय वाग्मती प्रदेशको उत्कृष्ट । दुवैको शरीर पनि उस्तैउस्तै । हँसाइ र व्यवहार पनि उस्तैउस्तै ! काम गराइ र नजिता पनि उस्तैउस्तै ।
केही महिनाअघि म त्रिशूली किनारको पृथ्वी माविका अभिभावकहरूसँग थिएँ । यतिखेर अरुण किनारको मनकामना रत्न अम्बिका माविका शिक्षक, विद्यार्थी र आसपासका विद्यालयबाट कविता सुनाउन आएका भाइबहिनीसँग छु । नुवाकोटमा बगिरहेछ त्रिशूली । संखुवासभामा बगिरहेछ अरुण । नदी स्पर्श र नदी सभ्यताको दोभानमा छन् दुवै ।
जीवनको निकटतम सत्य भनेको नदी हो र नदीबाट उठेको सभ्यता मान्छेको प्रथम सभ्यता हो । शिक्षाको काँध चढेर सभ्यता हिँड्छ । सभ्यता झ्यांगिँदै गएपछि शिक्षाले मूलबाटो भेट्टाउँछ । म पनि मनमा सम्झनाको नदी बगाएर कविताको रसास्वादन गरिरहेछु ।
कान्छो पुस्ता कवितामा समयसँगै बगिरहेछ । म तिनको वाणीमा बगिरहेछु ! बगाइ शाश्वत ! बगाइ नित्य ! काव्य भन्नु सभ्यताको प्रवक्ता हो । म काव्य सुनिरहेछु, काव्यको भाकामा समयको कान्छो पुस्ताले अनुभूत गरेको समय सुनिरहेछु ।
संखुवासभाको तुम्लिङटारमा रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयको सभाहलमा छु । पुस्तक विमोचन समारोहमा छु । काव्य उत्सवमा छु ।
०००
संखुवासभा आउनु र रमाउनुको यो सन्दर्भ हिँड्न बाँकी बाटाहरूसँग जोडिएको छ । अर्जुनबाबु दाहाल लेखनका हिसाबले पुरानै कवि हुन् । तर, पुस्तक प्रकाशनका हिसाबले नयाँ । विद्यालयको एउटा भव्य सभाहलमा उनको नयाँ कविताकृति ‘हिँड्न बाँकी बाटाहरू’ सार्वजनिक हुँदै थियो । उनी त्यही विमोचनका लागि पुस्तक लिएर सप्रेम संखुवासभा ओर्लेका थिए ।
उनी आफन्तहरू, आफ्ना उमेरका दौँतरीहरू, आफैँ शिक्षक हुँदाका शिक्षक र वर्तमानका कलिला विद्यार्थीसहित मन्द मुस्कानमा थिए । पिताजीसँगै कुम जोडेर मञ्चमा थिए, हल्का गम्भीर मुद्रामा थिए । शिक्षक नवराज राई कार्यक्रम सञ्चालन गरिरहेथे ।
बडो गजब त के थियो भने उनी बोल्दाबोल्दै कहिले उत्साही हुन्थे, हौसिन्थे र कहिले तप्लक–तुप्लुक आँसु झार्थे, कहिले पिलपिल रोइदिन्थे । निकै भावुक र भावनाप्रधान रहेछन् उनी । जो रुन जान्दछ, उही बाँच्न जान्दछ हृदय पखालेर । उनी प्रेमले भरिएको एउटा पूर्ण मान्छेजस्तो लाग्यो ।
१६ जना भाइबहिनीले प्रतियोगितात्मक कविता सुनाइरहँदा म १६ प्रकारको भावमा डुबिरहेको थिएँ । कविताको कथ्य, शिल्प र तिनको प्रस्तुति नियालिरहेको थिएँ । निर्दोष चेहरामा समयको अक्षर आफैँ हिँडिरहेको थियो, ठमठम । तिनले आफू बाँचेको समय, समयको अनुहारमा देखिने शोषणको दाग, विभेदको बुटा र बरबादीका बिस्कुन लेखेका थिए ।
ती तिनकै भाषामा थिए, सरल थिए । तिनलाई यथास्थिति मन परेको थिएन । कविता आफैँमा एउटा विद्रोह हो, यथास्थितिविरुद्ध । भाइबहिनी आफ्नै शिक्षक र अविभावक अगाडि राखेर समयमाथि विद्रोह गरिरहेका थिए । सामाजिक न्याय र मानवता मागिरहेका थिए । फरक यत्ति हो, ठूला दार्शनिक चेतनाको पाठ होइन तिनले उठाएको विषयमा तिनकै शैली र तिनकै भाषा थिए र उनीहरू मान्छेसँग मानवता मागिरहेका थिए ।
०००
तल थियो अरुण नदी । कार्यक्रमअघि नै म त्यही अरुण किनारको मनकामना मन्दिर पुगेर फर्केको थिएँ, जसरी नुवाकोट जाँदा ‘साहित्य संगम’ नुवाकोटले एक साँझ त्रिशूली किनारको जाल्पादेवी मन्दिरमा आरती देखाउन लगेको थियो । जसरी त्रिशूलीको पानी छोएर साँझ बलेको कौतुकमय आरती हेरेर फर्केको थिएँ, त्यसैगरी कुबेर सरको उत्सुकता र उत्साहले मनकामना मन्दिर पुर्याएको थियो, एकाबिहानै ।
सतीदेवीको मस्तिष्क पतन भएको मानिने विशाल ढुंगा स्पर्श गरेर त्योभन्दा अलि माथि मनकामना मन्दिर पुग्दा लाग्थ्यो, म कुनै अलौकिक ठाउँमा छु । पुजारीले दुर्गास्तुति गरेर पूजाअर्चना गरिरहँदा म पनि मिसिएँ, त्यही पाठमा । त्यहाँ दुर्गा सप्तशतीका हरफहरू सस्वर वाचन गर्दा, गरिरहँदा जीवनमा धेरैपछि एउटा गहिरो सन्तोषको अनुभूति भयो । मन्त्र पढ्दा प्राप्त हुने आनन्दका लागि ठाउँ पनि आनन्दकै चाहिने रहेछ । त्यसैले त ऋषिहरू एकान्त जाँदा रहेछन् । मन्दिरको मन्त्रवाचनमा अरुणको स्वर पनि मिसिएको थियो ।
अरुणको पानी हातमा उठाएर यथानाम अर्पेर अज्ञातहरूलाई, म मन्दिर पुगेको थिएँ । पुजारीसँगै मिसिएँ, पुजारीकै लयमा । केही मन्त्रहरू सम्झेँ, पलेटी कसेर एकछिन छेवैमा बसेँ, आँखा चिम्म गरेँ । लाग्यो, आँखा चिम्लिन सक्यो भने संसार झन् राम्रो देखिँदो रहेछ । कहिले सकिएला आफूभित्र आफैँलाई सर्लक्क हेर्न ।
आफैँलाई हेर्न आफू रित्तो हुनुपर्छ । कहिले सकूँला आफैँलाई रित्तो पार्न र आफूभित्र भएको आफूलाई हेर्न । जीवनको जञ्जालबाट थुनिएर कसरी हेर्नु जीवनभित्रको सुकिलो जीवन ! जीवन खोज्दाखोज्दै जीवन सकिने यो कस्तो जीवन बाँचिरहेछौँ हामी !
दिङ्ला, अरुण, मनकामना मन्दिर र विद्यालयको यो काव्यप्रवाह ! सबै ठाउँमा उसैगरी अटाएको छु । मेरो मन र मलाई कसले अटाउँदो हो यसरी ! कसले खटाउँदो हो यसरी ! विषय र वैविध्य जेजे भए पनि सबैको मूलस्रोत मन नै रहेछ ।
यसरी रमाउन हामी अघिल्लो दिन नै संखुवासभा झरेका थियौँ ।
०००
मंसिर १६ गते । चिसो हावा र पारिलो घाम । तुम्लिङटार एयरपोर्टबाट बाहिर निस्किनेबित्तिकै पुरु लम्सालले लेखनाथ लम्साललाई फोन गरे । संयोग ८० वर्षको उमेरमा पनि फुर्तिलो उत्साह लिएर उनी एक मिनेटमै टुप्लुक्क देखापरे ।
आग्रह सबभन्दा ठूलो कुरो ! वकालतमा समेत लामो अनुभव भएका यी पाका हामीसँगै यात्रा गर्न तयार भए । नजिकैको एक होटलमा झोला बिसाएर हामी दिङ्लाको बाटो लाग्यौँ । पुरु कविता, गीत, गजल, नाटक र डकुमेन्ट्रीका लागि जति प्रख्यात छ, फोटोग्राफीका लागि पनि त्यत्तिकै । अर्जुनले बीचबीचमा थपिरहेको थियो, पुरु लम्सालको तस्बिरकला हेर्नु छ ।
प्रत्येक वाक्यपिच्छे नहाँस्ने कुरै थिएन । हाँस्दै थियौँ, तर त्यो हाँसो त्यति लामो टिकेन । जब हामी सतीघाट पुग्यौँ । सबैछिनमा सबै स्तब्ध ! सतीघाट ! अतीतमा सतीहरूलाई जलाउने घाट ! मनकामना मन्दिरनजिकै नदीतिरमा ठूलो सतीढुंगो । चितामा जल्ने सती र यो ढुंगोको सम्बन्ध के ? यो सांस्कृतिक अध्ययनको पाटोलाई दोबाटोमै छोडेर हामी अघि बढ्यौँ ।
फेरीमा गाडी राखेर हामी झोलुंगे पुलबाट अरुण तरिरहेका थियौँ । संखुवासभापट्टि गाडीले फेरी तर्ने पालो पर्खिरहँदा हामी झोलुंगे पुलबाट पारि भोजपुर पुगिसकेका थियौँ । वारि भन्नु र पारि भन्नु पनि त्यही नदीको बहावको सीमा न रहेछ । सराबरी हरियो खुर्सानी मिसिएको र गाउँकै अमिलोले लपक्क भिजेको चटपटे खायौँ थालभरि । काठमाडौंमा केटाकेटी किन चटपटे खाँदा रहेछन् बल्ल चाल पाएँ । तिक्खर जिब्रो राखेर चटपटेको स्वादमा, अरुणको किनार वरपर गरिरह्यौँ, नियालिरह्यौँ परिवेश र परपरसम्मका पाखाहरू ।
निकै बेरपछि फेरी तरेर आयो गाडी । दिङ्ला नउक्लियुन्जेल योगमाया र त्यहाँबाट करिब २० किलोमिटर परको मजुवा फाँट । विधवा विवाहका लागि योगमायाको विद्रोह र जलसमाधि ! बालागुरु षडानन्द, उनले रुमाल ओछ्याएर अरुण तरेको किंवदन्ती ।
शिक्षाको ज्योति । बालागुरुले रोपेको रुद्राक्ष । पूर्वी पहाड । भ्यु टावरको विकास र अरुणमा पक्की पुल नभएर आज पनि फेरीमा हालेर गाडी तार्नुपरेको दुःखद कथा ! सबैसबै सुनाए स्थानीयले । भोजपुर र संखुवासभाको बीचमा अल्छी मानेर बगेको अरुणजस्तै अल्छी छ, विकासको गति । दुखेसो थियो उनीहरूको ।
करिब सात किलोमिटरको दूरीमा छ, प्रसिद्ध लम्सुवाघाट । कात्तिकेमा पुल बन्ने तयारी त छ, तर काम सुस्त । भोजपुर र संखुवासभा जोड्नेगरी भरपर्दो पक्की पुल अझै छैन । नदी किनारको बालुवा, बालुवा हुँदै गुडेका गाडीहरू र त्यो स्वच्छ आकाशलाई धमिलो पारेर हुर्किरहेको प्रदूषणको मुस्लो । वातावरण विनाश र यसको असरबारे गहिरो बहस चलाउँदै आएका संखुवासभाकै मेरा मित्र श्रवण शर्मा सँगै भएको भए के लेख्थे होलान् ? उनको अनुहार याद आयो ।
दशकौँअघि चीनमा ठूलो बाढी आउँदा बाढीले गाडी बगाएर ल्याएको थियो रे । यसरी नदीमा आएको गाडी यतै कतै किनारमा अल्झिएछन् । तिनै गाडीका पांग्र्रा पछिसम्म पनि किनारतिरै थिए अरे ।
त्यही बाढीले पुरेपछि हो, मनकामनाको पुरानो मन्दिर अलि माथि सरेको । तल मस्तिष्क आकारको ठूलो ढुंगा छ, आकृति नै आकृतिको स्वरूपमा र माथि छ चिटिक्क परेको मन्दिर । त्यस मन्दिरका पुजारी पुजारी हुनलायक मुस्कानमा मनकामनाको पुकारा गर्दा रहेछन् । यिनै मनकामनालाई उनी गोर्खाको मनकामनासँग जोड्न जोडबल गर्दै थिए ।
०००
दिङ्ला उक्लिएपछि आफ्नै मनमा पनि तर्कनाले कोल्टे फेर्यो । मनमा आए पढेका, सुनेका अनेक कुरा । आज पनि नौ सय हाराहारी विद्यार्थी भएको षडानन्द मावि विक्रम संवत् १९३२ मा बनेको गुरुकुलको निरन्तरता हो । त्यतिखेर बालागुरुले कुन चेतनाको जगमा उभिएर यसरी गुरुकुल सुरु गरे होलान् ?
एकै पर्खालको घेरोभित्रैजस्तो लाग्ने गरी अर्को विद्यालय पनि छ, अरुण मावि । यो २०२१ देखिको निरन्तरता हो ।
शिक्षा, संस्कृति, सौन्दर्य र सुकुमार स्थानीयता बोकेर दिङ्ला दिलमै बसेको छ थपक्क ! स्थानीय शिक्षक खोमचन्द्र गुरागाईं भेटिए । उनी अंग्रेजी शिक्षक रहेछन्, तर नेपाली कविताको राम्रो ज्ञान । छोटो भेटमा उनैले सुनाए, दुई विद्यालयका पुराना किस्सा र कहानी ! र, सम्झाए मेरा आफ्नै पुराना कविता । म आनन्दले हुरुक्क भएँ ।
दिङ्लाको यात्रा त्यही साँझ टुंग्याउनु थियो र हामीलाई फर्किनु थियो, तुम्लिङ । अर्जुनबाबु त्यो अवलोकनबाट जति खुसी थिए, यति नै चिन्तित पनि थिए । भोलिपल्ट उनको किताब विमोचन गर्नु थियो । पहिलोपटक शिशु जन्माउँदा आमाहरूलाई प्रशवपीडा हुन्छ भनेझैँ पहिलोपटक आफ्नो गृहजिल्लामा किताब विमोचन गर्दै थिए, अर्जुन । उनी पनि अदृश्य प्रसवपीडामा थिए, मैले बुझेको थिएँ । बुझेकै थिएँ र त त्यो साँझ दिङ्लामै बिताऊँ भनिनँ ।
भोजपुरमा मेरा धेरै कवि कलाकार साथीहरू छन् । द सोल्टी ग्रुपका तर्फबाट हेमन्त मुकारुङहरूले आयोजना गरेको एक भव्य कार्यक्रमका लागि कुनै दिन कलाकारसहित भोजपुर गएको थिएँ । भव्य कार्यक्रममा उद्घोषण गरेको याद छ अहिले पनि । ती दृश्य, ती साथीहरू, ती सांगीतिक लहर र सम्झना कम्ता मिठो गरी बसेको छैन दिलमा । अर्जुनबाबुले बाटामा भनेको थियो, कलाकारहरू मादल किन्न दिङ्ला जान्छन् तर मैले दिङ्लामा मादल भेटिनँ । म मादल भएको पसलमै नपुगेर पनि हुनसक्छ र यस्ता सामान मेला महोत्सवमा मात्रै बिक्री हुने भएर पनि हुनसक्छ तर यो कुरा मनमै राखेँ । मौनमौन मौनता राखेर मनमा हामी तुम्लिङ फर्कियौँ ।
०००
अरुणको काखमा त्यो साँझ लुपुक्क निदाइयो । बिहानै कुबेर सरले विद्यालयमा स्वागत गरे । उनका सहकर्मीहरू सबै थिए, साथै थिए । २०१६ सालमा स्थापना भएको विद्यालय मनकामना रत्न अम्बिका । यस विद्यालयमा १५ सयभन्दा बढी विद्यार्थी । पालिकाभित्र सामुदायिक र संस्थागत गरी ५२ वटा विद्यालय छन् । मनकामना पालिकाको मात्र होइन, कोशीका सम्पूर्णमध्ये एक हो । उत्कृष्टमध्येको एक हो । यो कोशीको नमुना विद्यालय पनि हो ।
चैनपुरे करुवा, मकालु हिमाल, अरुण, वरुण, मनकामना मन्दिर, सिद्धकाली, शिवधारा, किमाथाङ्का, अर्बौँको व्यापार हुने रुद्राक्ष र अलैँची, ठूलाठूला बेसीहरू, धान, मकै, गहुँ र कोदोको उत्पादन, अल्लोको व्यापार, जलविद्युत् उत्पादन र गम्भीर प्राकृतिक सौन्दर्य ! यिनैयिनै हुन्, संखुवासभाका विशेषता ।
नवीन खड्का र उनको समूहले दिएको अरुण उपत्यकाको मौलिक लोकसम्पदा, संस्कृति र लोकगीतको योगदान उच्च छ । खेम गुरुङको ‘वारि जमुना पारि जमुना’ । गायक कमलीकान्त भेटवालको पुर्ख्यौली पनि यतै रहेछ ।
अन्य धेरै कलाकार साथीहरू सक्रिय छन् । गीतमा संखुवासभा र संखुवासभामा गीत उनेर सिर्जनामा छन् । काव्य कविता र साहित्यको अन्य विधा पनि धेरथोर जमेकै छन् । कुनै दिन मणि थापाले अरुण किनारमा एउटा गीत लेखे र संगीत गरे–
अरुण तरेर नाना तमोर तरेर
आयौँ हामी वीरताको गाथा कोरेर ।
यो गीतलाई मान्छेहरूले फरक कोणबाट सुने, सुनाए । संगीतमा समय खोज्नेहरूका लागि आज पनि यो गीत उत्कृष्ट समयसंगीत हो । एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘जनमुक्ति सेना भात पकाउँदै थियो । म अरुणमा नुहाएर भुर्लुक्क बाहिर निस्कँदा यो गीत फुर्यो । गिटारमा कम्पोज गरेँ । पछि प्रदीप देवान र योगिता मोक्तानले गाए ।’
संखुवासभासँग यसरी नवीन खड्काजस्ता त्यहीँका कलाकारले दिएको सांस्कृतिक उज्यालो र आफैँ संखुवासभाको नभएर पनि मणि थापाजस्ता कलाकारको विद्रोहको चेतना मिसिएको छ । गीतमा प्रेम मात्र होइन, युद्ध पनि भेटिन्छ, विद्रोह पनि भेटिन्छ । कुरा यत्ति हो, उच्च चेतनाले खोज्न बाँकी छ । खोजिन बाँकी छ ।
०००
औपचारिक कार्यक्रममा औपचारिक रूपमै भेट भयो ताराबहादुर बुढाथोकी र कृष्ण चापागाईंसँग । दुवै स्रष्टा, दुवै वक्ता । एक दर्जन पुस्तक प्रकाशित गरिसकेका बुढाथोकी विभिन्न साहित्यिक संघसंस्थाको नेतृत्व गर्छन् । उनको जिल्लाप्रेम गहिरो छ । त्यहीँ बसेर एक दर्जन पुस्तकमा उनी जीवन खोजिरहेछन् । उनी संस्कृतिकै धारमा बगिरहेछन् ।
पुस्तकको विमोचन सकियो । त्यसपछि त झन् बग्न थाल्यो, कार्यक्रमको निर्वाध गंगा । विद्यालयको सभाहल, चिटिक्कको मञ्च, झरिझुट्ट साजसज्जा, फूलमाला, पुस्तकहरूको चाङ । आनन्दले काव्यिक रसास्वादन गरिरहेका मसिना भाइबहिनीहरू । तिनका मायालु शिक्षकहरू ।
कार्यक्रममा जति आनन्द १६ जना भाइबहिनीका कविता सुन्दा भएको थियो, त्यति नै रमाइलो लागेको थियो, ताराबहादुरजी र कृष्णजीको मन्तव्य सुन्दा पनि । यी दुई स्रष्टाहरूले पुरु लम्साललाई पनि निर्णायक भइदिन आग्रह गरे । उसले पनि नाइँ भनेन । प्रेमिका राई, जमुना मगर, संयोग राई, सोनु कुमाल र निकेश कार्की पुरस्कृत भए ।
हामीले केही पुस्तकहरू लगेका थियौँ । पुरस्कृतलाई त दिनै भनेर लगेका थियौँ, तर सबै सहभागीलाई पुग्ने गरी लगेका थियौँ । सबैको हातहातमा पुस्तक । ती बाबुनानीले किताब मुसारेको देखेर कम्ता खुसी लागेन ।
पुरुले भन्यो, ‘आज यिनीहरू जति खुसी छन् कुनै दिन माया ठकुरी दिदीले आफ्नै हातले हस्ताक्षर गरेर दिएको किताब पाउँदा म पनि त्यति नै खुसी थिएँ । त्यसको महत्त्व मैले धेरै पछि आएर बुझेँ ।’
यो कार्यक्रमको महत्त्व यिनलाई २० वर्षपछि झन् बढी हुनेछ, दाइ । अर्जुनको मनचिन्ते झोलामा कति रहेछ किताब ! जसले किताबको अपेक्षा गर्छ, उसलाई दिन पुगेकै थियो । हामी विद्यालयपरिसर अवलोकन गरिरहेका थियौँ, अर्जुन पुस्तकमाथि हस्ताक्षर गरिरहेको थियो । जाँदाको जस्तो थिएन, अर्जुन । त्यतिखेर अर्जुन ‘अर्जुन दाइ’ भएर भाइबहिनीसँग घुलमिल गरिरहेको थियो । आफन्तसँग रमाइरहेको थियो ।
काठमाडौंमा आयुर्दा आयुर्वेदिक अस्पताल चलाएर बिमारीको उपचार गर्ने ऊ यतिखेर कविताको रमाइलोमा आफ्नै मनको उपचार गरिरहेथ्यो सायद ।
मन्तव्य राख्दाजस्तो अत्यासिलो अनुहार थिएन । मुस्कुराइरहेको थियो । सासूआमाको आँखामा आँसु र गम्भीर मुद्रामा आफ्नै पिताजीलाई देखेपछि उसको सातो उडेजस्तो लाग्थ्यो, तर पछि भाइबहिनीहरूको मायाले त्यो सातो फिर्ता ल्याइदिए । अर्जुन लामो सास तानेर खुसुक्क मुस्कुरायो ।
०००
कवि अर्जुनबाबु दाहालको कविताकृतिको नाम ‘हिँड्न बाँकी बाटाहरू’ । हामीलाई पनि हिँड्नु थियो र अझै धेरै थिए हिँड्न बाँकी बाटाहरू ।
गुरु सुवेदी शिक्षक पनि र आफैँमा कवि पनि । उनी साहित्यको गम्भीर कुरा गर्दै थिए । किन हो कुन्नि उनी अत्यन्तै आभारी थिए । स्कुल परिवार कति रमाइला र फरासिला ! सबैसँग कुरा भए, सबै कुरा भए जीवनका । साँझ नपरे हुन्थ्योजस्तो लागिरहेको थियो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोद खड्का साँच्चै साहित्यिक र रसिक रहेछन् । लाग्थ्यो, उनी जिल्लाका प्रशासक होइनन्, कुनै विश्वविद्यालयका प्राध्यापक हुन् । उनले नाम लिएका किताबहरू र ती किताबमाथिको उनको टिप्पणी सुनेर म हैरान भएँ ।
एउटा प्रशासक साहित्यको यति सूचना राख्छ, यति पुस्तक पढ्छ र पुस्तकमाथि यसरी समीक्षा गर्छ भन्ने मैले अनुमान गरेकै थिइनँ । उनी अझै रमाएका थिएनन् कुराकानीबाट, तर हामी बलजफ्ती च्यातियौँ । हामीलाई वरुण जानु थियो । वरुणको स्वच्छता आँखाले चुम्नु थियो र जिन्दगी त्यतै कतै एकान्तमा एकछिन शान्त बनाउनु थियो ।
०००
भोटखोला । सङ्लो वरुण ! धमिलो अरुण ! उही प्रकृति, उही काख, उही र उस्तैउस्तै पानी ! उही र उस्तै बगाइ, तर किन फरक छ यसरी ? एउटा सङ्लो अर्को धमिलो ।
जिन्दगी कर्मले निर्धारण गर्छ कि जिन्दगीले कर्म खोज्छ ? लामो यात्राको एउटा बिसाउने हो कि हरेक बिसाउनीको सँगालो हो, जिन्दगी । मलाई परिभाषाहरूभन्दा जीवन फराकिलो लाग्छ । अलिअलि उतारचढाव, अलिअलि तलमाथि, अलिअलि सुखदुःख, अलिअलि फूलकाँडा र अलिअलि आँसुहाँसो भएन भने जिन्दगी के जिन्दगी ? यही होला अर्थ अरुण र वरुणको पनि !
सङ्लो वरुणमा मात्रै होइन, धमिलो अरुणमा पनि त्यत्तिकै रमायौँ । आनन्दका लागि आनन्द नै कारण हो । दिल खुसी छैन भने स्वर्ग पनि नरक लाग्छ । दिल खुसी छ भने नरक पनि स्वर्ग । स्वर्ग र नरक भन्नु पनि आनन्दको सापेक्षतामा उठेको अनुभूतिको एउटा अग्लो पहाड हो ।
पहिलोपटक आएँ, वरुण । अरुण, वरुण मिसिएको संगममा म पनि मिसिएँ । रमाएँ, खुब रमाएँ । अर्जुन फोटोहरूमा रमाएझैँ, पुरु संगीतको धुनमा रमाएझैँ म एकान्तमा रमाएँ । मनकामना मन्दिरमा आँखा चिम्लेर एक्लै पलेटी कसेझैँ दुई नदी किनारको ढुंगामाथि एकछिन त्यसैगरी रमाएँ ।
किन हो कुन्नि म आनन्दको झिल्का एकै क्षणमा टिप्न सक्छु । भत्किएँ भने पनि आफैँभित्र क्षणभरमै जोडिन सक्छु । तर, त्यो शान्तस्थल न मलाई भत्काइरहेको थियो न जोडिरहेको थियो । म आफैँमा शान्त थिएँ । म आफैँमा शून्य थिएँ । शून्यमा भन्दा बढी शान्ति संसारमा कहाँ भेटिन्छ र ?
म आफैँमा अलौकिक अनुभूतिको पर कतै कुनै उज्यालोको पर्खाइमा थिएँ । त्यो दिव्य आनन्द भेटिँदैन भन्ने थाहा छ । थाहा भएर पनि त्यसको खोजीमा आनन्दले डुब्न सक्नुको मजा डुबाइमै छ । म खुसीहरूको बिस्कुन र पीडाहरूको लस्कर एकै ठाउँमा भेट्छु । एकै मान्छेमा भेट्छु ।
मलाई कसैमाथि शतप्रतिशत प्रेम पनि छैन । शतप्रतिशत घृणा पनि छैन । हरेक मान्छे, विषय र सन्दर्भलाई सापेक्षतामा हेरिनुपर्छ भन्ने ठान्छु । पूर्णता आफैँमा पूर्ण, अपूर्णता आफैँमा अपूर्ण । पूर्णता प्राप्तिको तिर्खा बाँकी रहन्छ र त यात्रा गरिरहनुको मूल्य छ । आँखाभरि तृप्ति र मनभरि प्रसन्नता राखेर हामी गोलाबजार फर्कियौँ ।
साँझ । झमक्क साँझ । पहाडको चिसो । सानासाना होटेल, पसलहरू । त्यतै बास बस्न टाढा कतैबाट आएका अपरिचित अनुहार । अर्जुनले संखुवासभाकै नाता जोडेर परिचय मागे, पुरु खच्चर र खच्चर गोठालाको कथा खोज्न लागे । तर, म त्यहाँ अपरिचित अनुहार हरूसँग परिचयको अनुहार विनिमय गरेर आनन्दको अर्को अध्याय पढिरहेको थिएँ ।
पसले साहुजी तिब्बततिरबाट त्यता आएको २२ पुस्ता भएको रहेछ । उनलाई यता र उता दुवैतिरको भाषा आउँछ । संस्कृति थाहा छ । जीवन थाहा छ । संखुवासभा र काठमाडौंमा घर छ ।
केटाकेटी काठमाडौंतिरै पढ्छन् । कुरा यत्ति हो कि अचेल प्रधानमन्त्री को छ, राष्ट्रपति को छ उनलाई त्यति सम्झना छैन । सम्झनलायक काम नगर्ने शासकलाई जनताले किन सम्झनु र ? मैले यसरी बुझेँ, बुझ्न खोजेँ । सेतो कालो रङको बुट्टे गलबन्दी झुन्डिरहेको रहेछ, गल्बन्दी किनेर विषय बदलेँ र सोधेँ– व्यापार कत्तिको हुन्छ ?
०००
गोलाबजारको साँझ भोलिपल्ट खाँदबारी आइपुग्यो । हामी काठमाडौं फर्कियौँ ।
यतिखेर लागिरहेछ, आयुर्वेदिक चिकित्सक अर्जुनबाबु दाहाल कविता लेखिरेहछ । पुरु लम्साल मूलतः नाटकको मूल प्रवाह हो, ऊ पनि कविता लेखिरहेछ । विद्यालयका भाइबहिनीहरू कविता लेखिरहेछन् ।
शिक्षकहरू कविता लेखिरहेछन्, कविता पढाइरहेछन् । बाबुराम सरहरू कविता पढाइरेछन्, कुबेर सरहरू कविता पढाइरहेछन् । मणि थापाहरू हतियार बोक्दा पनि र हतियार बिसाउँदा पनि कविता लेखिरहेछन् । ताराबहादुर बूढाथोकीहरू, कृष्ण चापागार्इंहरू रचनामै रमिरहेछन् ।
नवीन खड्काहरू सांस्कृतिक चेतनामा लोकलय संरक्षण र विस्तार गरिरहेछन् । यी सबै कर्मले मान्छेको मन कमलो र मलिलो पारिहेको छ । बाँझो खेतमा जसरी अन्नअनाज उम्रन्न, बीउबिजन उम्रन्न, बिरुवा सर्दैन, फल लाग्दैन, ठिक त्यसै गरी रुखासुखा हृदयमा प्रेम उम्रन्न, करुणा र दया उम्रन्न ।
मान्छे भन्छन्– किन चाहियो साहित्य ? हृदय कमलो बनाउन, प्रेम उमार्न, करुणा जगाउन र मान्छेलाई जिम्मेवार बनाउन साहित्य चाहिन्छ । जीवनको लय बुझ्न संगीत चाहिन्छ र जीवनलाई जीवन बनाउन जीवन रुझेको संस्कृति चाहिन्छ ।
नमुना स्कुलका नमुना हेडसर कुबेर सर र बाबुराम सरहरू दुवैको विद्यालयको आँगनमा पुगेँ, पुग्न पाएँ । दुवैको माया लिएर फर्केँ, त्रिशूली किनारबाट, अरुणको किनारबाट ।
आज दुवैजनालाई भन्नु छ– तपाईंको शिक्षामा साहित्य र संस्कृति हरायो भने विद्यार्थीहरू मेसिन हुनेछन्, रोबोट हुनेछन् । तपाईंहरू नमुना पनि हो र अगुवा पनि हो । भाइबहिनीहरूलाई साहित्य सिकाइदिनुहोला, जीवन सिकाइदिनुहोला । यतिखेर मान्छेलाई मेसिन हुनबाट जोगाउनु सबभन्दा ठूलो शिक्षा दिनु हुनेछ ।
तपाईंका विद्यार्थीहरू मेसिन नबनून् मान्छे बनून् र तिनले झोलाभित्र मात्र होइन, झोलाबाहिरको संसार पनि पढून् । बरु, प्रधानमन्त्री र राष्ट्रपति नचिनून्, तर देश चिनून् । यत्ति कुरा भन्दा अन्यथा त नहोला नि होइन ?
(शब्द शिविर, काठमाडौं ।)