site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारकै कारण भैरहवा विमानस्थलमा उडान रोक्दै एयरलाइन्स, किन भएनन् यात्रु ?

काठमाडौं । कतार एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको उडान अनुमति मंसिर १५ पछि थपेन । अठार दिन उडान गरेको कतार एयरवेजले जम्मा ९३ जना यात्रु बोक्नु परेपछि नवीकरण गर्न अनिच्छा गर्‍यो । कतार एयरले कात्तिक २७ देखि मंसिर १५ सम्म उडान गरेको थियो ।

कतार एयरवेजले उडान रोकेको ९ दिनपछि उडान गरिरहेका अन्य तीन कम्पनी (जजिरा, थाई एयर एसिया र फ्लाई दुबई) पनि भैरहवा उडान स्थगित गर्ने तयारीमा छन् ।

मंसिर २४ गते नेपाल नागरिक उड्ड्यन प्राधिकरणलाई मौसमको बाहना बनाउँदै उडान स्थगित गर्ने पत्र पठाएका थिए । ‘विन्टर सेड्युल’ (अक्टोबर २७ देखि मार्च ३१) पूरै भैरहवा उडान गर्ने अनुमति लिएका थिए । तर, भिजिबिलिटी कमको बाहना बनाउँदै उडान स्थगितको पत्र पठाएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“भैरहवा विमानस्थलमा बिहानको मौसमले गर्दा चाहिँ त्यहाँको भिजिबिलिटी एकदमै कम हुने र त्यसले गर्दा फ्लाइटहरू डाइभर्ट हुने होल्ड हुने कारणले गर्दा उनीहरूको अपरेटिङ कस्ट पनि बढेको र यात्रु संख्या पनि कम भएको भन्दै पत्र पठाए,” क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने ।

उनले अगाडि थपे, “जजिराले यसअघि जनवरीमा फ्लाइट गर्दिनँ भनेको थियो । उसको सेड्युल त्यही अनुसार ‘अप्रुभ’ भएको छ । तर, पनि हामीले बीचमा ‘ब्रेक’ नगुर्नस् भनेका छौँ । थाई एयर एसिया र फ्लाई दुबईले केही समयका लागि प्यासिभ गर्छौं । जनवरीको अन्तिमबाट मौसम क्लियरपछि फेरि सुरु गर्ने भनेर उहाँहरूले रिक्वेस्ट गर्नुभएको छ । क्यानले निर्णय गरिसकेको छैन ।”

विमान कम्पनीहरूले मौसमको कारण देखाए पनि भैरहवा विमानस्थलबाट यात्रु नपाएपछि रोक्न पत्राचार गरेको विमानस्थलकै कर्मचारी बताउँछन् । साना एटीआरदेखि ठूला जेट विमान अवतरणका न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । भिजिबिलिटीमा समस्या देखाएर विमान कम्पनीहरू भैरहवाबाट उडान स्थगितका लागि क्यानमा पत्राचार गरेका थिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सार्वजनिक गरेको एक महिनाको तथ्यांकअनुसार जम्मा चारहजार ७७१ यात्रुले यात्रा गरेका छन् । नोभेम्बर ३ देखि डिसेम्बर ३ सम्मको तथ्यांकअनुसार दुईहजार २३८ यात्रु विदेश जाँदा दुई हजार ५३३ यात्रु अवतरण गरेका थिए । नोभेम्बर–डिसेम्बर नेपाल पर्यटकीय सिजन हो । उक्त सिजनमा पाँचवटा विमानमा करिब पाँच हजारको हाराहारीमा मात्रै यात्रुले यात्रा गरेका छन् । एक महिनामा कुल १५६ उडान/अवतरण भएका छन् ।

उक्त अवधिमा जजिरा एयरवेजले सबैभन्दा धेरै यात्रु बोकेको थियो । जजिराले तीनहजार ३४, फ्लाई दुबईले एक हजार १३२, थाई एयर एसियाले ४४७, कतारले ९३ र नेपाल एयरलायन्सले ३९ यात्रु बोकेका थिए ।

सुरुमा ‘विन्टर सेड्युल’ भर उडान गर्ने प्रतिबद्धता जनाएका विमान कम्पनीहरूले यात्रु नै नपाएपछि उडान स्थगनको पत्राचार गरेका हुन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले भने निरन्तर उडान गरिरहेको छ । एक महिनामा जम्मा ३९ अन्तर्राष्ट्रिय यात्रु बोकेको निगमले काठमाडौं हुँदै भैरहवा टेकेर अन्तर्राष्ट्रिय गन्तव्यमा गइरहेको प्रवक्ता रमेश पौडेल बताउँछन् ।

क्यानका सहायक प्रवक्ता भुलका अनुसार, भैरहवामा हाल भएको ‘भीओआर/डीएमई’ सिस्टममा जहाज ल्यान्ड गर्न कम्तीमा १८ सय मिटर भिजिबिलिटी चाहिन्छ । जनवरी २३ देखि ८०० मिटरमा ल्यान्ड गर्न मिल्ने आरएनपी एआर सिस्टम जडान गर्ने तयारीमा छ । यसले हालको समस्या समाधान हुने र त्यो बेलासम्म फ्लाइट रिसेडुअल गरेर भए पनि चलाउन आग्रह गरेको भुलले जानकारी दिए । 

“प्रिसिजन अप्रोचका लागि आईएलएस जडान गरिएको छ । तर, सञ्चालनमा आइसकेको छैन । प्रिसिजन र नन्प्रिसजनमा ल्यान्डिङका लागि आरएनपी एआर सिस्टम जनवरी २३ बाट सुरु गर्ने तयारीमा छौँ । ‘आरएनपी एआर’ सिस्टम सुरु गर्न हामी नोटिस एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी) जारी गर्दै छौँ,” उनले भने, “आरएनपी एआर भएपछि ८०० मिटर भिजिबिलिटीमा उडान गर्न सकिन्छ ।’’

उनका अनुसार, वायुसेवा कम्पनीहरूले उडान बन्द भन्दा पनि केही समय फ्लाइट सेफ्टी वा मौसमको कारणले केही समय फ्लाइट निष्क्रिय गर्ने र आरएनपी एआर सुरु भएपछि फ्लाइट एक्टिभ गर्ने भनेर आग्रह गरेका छन् ।

“उहाँहरूलाई गत वर्षको समेत डाटा हेरेर फ्लाइट गर्न आग्रह गरेका छौँ । फ्लाइट झिक्ने काम नगर्नुस् भनेका छौँ । बरु कुन समयमा हुन्छ फेरबदल गरी फ्लाइट गर्न आग्रह गरेका छौँ," उनले भने ।

किन छैनन् भैरहवामा यात्रु ?

नेपालबाट वैदेशिक रोजगारीमा दैनिक तीन हजारको हाराहारीमा विदेशिन्छन् । विदेशिने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । सरकारले तराई क्षेत्रबाट रोजगारीका लागि भैरहवाबाटै उड्ने व्यवस्था गर्न साउन २८ गते गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको कार्यविधि स्वीकृत गरेको थियो ।

साउन २८ गतको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको कार्यविधि नै पूर्णरूपमा कार्यान्वयन नगर्दा उडान गरिरहेका विमान कम्पनीहरूसमेत फिर्ता हुन थालेका हुन् । विमान कम्पनीहरूले एक महिना लोड, मौसम, अन्य विभिन्न कारण देखाइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी बताउँछन् । सरकारले ल्याएको २७ बुँदे कार्ययोजना राम्रोसँग कार्यान्वयन नभएका कारण पनि भैरहवातर्फ यात्रु कम भएको उनको भनाइ छ ।

“म्यानपावर ल्याउने कुरा, भिसा सेन्टर, मेडिकललगायत कुराहरू भएका छैनन्,” उनले भने, “म्यानपावर, मेडिकल, भिसा सेन्टरलगायतका कुराहरू भएका भए पनि केही यात्रुहरू बढ्ने थिए ।”

संस्कृति नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेले आफ्नो कार्यकालमा सुधारका लागि ल्याएको २८ बुँदे कार्ययोजना अन्य मन्त्रालयले चासो दिएका छैनन् । पाण्डेले तुरुन्त लागु गर्नेदेखि चार वर्षसम्म सुधार गर्न सकिने कार्ययोजना ल्याएका थिए । तर, अन्य मन्त्रालयका कर्मचारीदेखि मन्त्रीसम्मले चासो कम दिएपछि सुधारको कार्ययोजना प्रभावकारीरूपमा लागु गर्न समस्या भएको मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न हवाई टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाई सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेसन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुटलगायत कार्ययोजना मन्त्रिपरिषद्‌बाट स्वीकृत छ । 

यसमा भ्याट छुट, स्वास्थ्य परीक्षण, श्रम स्वीकृतिलगायतका कार्यान्वयन भएको छैन । श्रमका लागि यात्रुहरू काठमाडौं आउनुपर्ने बाध्यता छ । काठमाडौं आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै श्रम गन्तव्य लाग्ने गरेका छन् । यसकै कारण काठामाडौंमा यात्रुको चाप र भैरहवा यात्रु अभाव रहेको तिवारी बताउँछन् । 

गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्याक्सी वे’ निर्माण गर्न १० घण्टा बन्द छ । काठमाडौंको ट्राफिक ३० प्रतिशत भैरहवा र पोखरा लैजाने भनेर कार्ययोजना बनाए पनि अन्य मन्त्रालयले सहयोग नगरेका कारण कार्ययोजना लागु गर्न समस्या भएको मन्त्री पाण्डेले बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro