
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाह्य ऋण पुँजी निर्माणमा नै खर्च गरिने बताएका छन् । शनिबार (असार १४) प्रतिनिधिसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथिका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक ऋण, अनुदानलाई राष्ट्रिय पुँजी निर्माणमा लगाइने बताएका हुन् ।
बाह्य ऋण साधारण खर्चका निम्ति खर्च हुनु हुँदैन भन्ने पक्षमा सरकार रहेको उनले उल्लेख गरे । “हामी स्पष्ट हुन जरुरी छ । साधारण खर्चका लागि ऋण लिने होइन । पुँजीगत खर्चका लागि लिनुपर्छ,” उनले भने, “उत्पादन, उत्पादकत्व बढाउन ऋण लिनुपर्छ । यसका निम्ति आएका सुझावहरूप्रति सम्मान गर्न चाहन्छु । सरकारको दृष्टिकोण पनि त्यही नै हो ।”
उनले अगाडि भने, “चालु र आगामी आवको राष्ट्र ऋणको तुलना गर्दा राजस्वले व्यहोर्ने दायित्व बढाएर प्रस्ताव गरिएको छ । यसको अर्थ हामी ऋणलाई पुँजी निर्माणको क्षेत्रमा खर्च गछौँ भन्ने नै हो ।”
विगतको दायित्व धेरै भएकाले हाल संयमित तवरले ऋण लिइएको अर्थमन्त्री पौडेलले बताए । न्युज एजेन्सी नेपाल