काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४–अन्डर ६४ सहित शीर्ष स्थानमा छन् । उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे ।
रोयल नेपाल गल्फ क्लबमा आज (मंगलबार)देखि सुरू भएको प्रतियोगितामा प्रो जयरामले बोगीरहित स्कोर कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । उनले चौथो, आठौँ, दशौँ र १२औँ होलमा बर्डी प्रहार गरे ।
संयुक्त रूपमा दोस्रो स्थानमा रहेका विष्णुप्रसाद र निरजले ३–अन्डर ६५ सहित पहिलो दिनको खेल सकाए । विष्णुले पहिलो र सातौँ होलमा एक–एक सट बचाउँदै फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि ११औँ होलको बोगीविरूद्ध १२औँ र १३औँ होलको दुई बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा पूरा गरे ।
डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी प्रहार गरे पनि चौथो र पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ खेले । यसपछि १०औँ र ११औँ होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २–अन्डर ३२ को स्कोर दर्ज गरे ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य २–अन्डर ६६ सहित चौथो स्थानमा रहे । यो स्कोरमा उनी एमेच्योरतर्फ भने शीर्षस्थानमा छन् । उनले राहुल विक र ज्ञानबहादुर ढेंगालाई चार स्ट्रोकले पछि पारे ।
७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीको सहभागीता छ । कुल सात लाख ३५ हजार नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले उपाधिसँगै एक लाख ५० हजार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् ।