site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिजिटल कारोबार शुल्क : उपभोक्ता हुनुपर्छ सचेत !

काठमाडौं । नेपालमा हाल डिजिटल कारोबारमा लाग्ने गरेको शुल्कबारे नागरिकले प्रश्न उठाइरहेका बेला सरोकारवाला अधिकारीहरूले भने यसलाई ‘सामान्य’ रहेको बताएका छन् । 

अनलाइन कारोबार गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नु परिरहेको विषयलाई सरोकारवालाले फरक तरिकाले व्याख्या गरेका हुन् ।

व्यावसायिक अनलाइन भुक्तानीमा अतिरिक्त शुल्क नतोकिएको, तर व्यक्तिगत कारोबारमा भने भ्याट तिर्नुपर्नेमा सरकार एवं भुक्तानी सेवा प्रदायक एकमत छन् । व्यक्तिगत (अन्तर बैंक) कारोबारमा भ्याट लाग्नु ‘सामान्य’ भएको सरकारी अधिकारीले बताएका हुन् ।

Dabur Nepal
NIC Asia

अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले व्यावसायिक कारोबार गर्दा सेवा शुल्क नलाग्ने बताएका छन् । 

कुनै पनि पसल, होटेल वा व्यवसायसँग कारोबार गरी क्यूआरमार्फत भुक्तान गर्दा सेवा शुल्क नलाग्ने र सेवा शुल्क नलाग्दा भ्याट पनि नलाग्ने उनले बताए । 

व्यवसाय गरिरहेका व्यक्तिले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा राखिदिन लगाउँदा भने सेवा शुल्क लाग्ने र त्यससँगै भ्याट पनि लाग्ने उनको भनाइ छ ।

“व्यावसायिक भुक्तानी अथवा कुनै पसलमा गएर चिया पिएर भुक्तानी गर्दा शुल्क लाग्दैन । व्यवसायीले व्यावसायिक खाता प्रयोग नगरी आफ्नो खाताको क्यूआर राखेको छ वा आफ्नो खाताको क्यूआरमा पैसा हाल्न लगायो भने त्यहाँ सेवा शुल्क र भ्याट लाग्ने हो,” अर्थ मन्त्रालयका प्रवक्ता समेत रहेका भट्टराईले भने,“ व्यवसायको पैसा व्यक्तिगत खातामा हाल्न मिल्दैन । त्यस्तो भइरहेको छ भने उपभोक्ता पनि सचेत हुनुपर्छ ।”

व्यवसायिक क्यूआरमार्फत भुक्तानी गर्दा उपभोक्तालाई सेवा शुल्क पनि नलाग्ने र राजस्व छली पनि घट्ने विश्वास गरिएको छ । त्यसैले कुनै पनि ठाउँमा उपभोक्ताले सेवा लिँदा वा खरिद–बिक्री गर्दा व्यावसायिक क्यूआरमा मात्रै भुक्तानी गर्नुपर्ने सहसचिव भट्टराईको भनाइ छ ।

व्यक्तिगत अन्तरबैंक कारोबारमा भने तेस्रो सेवाप्रदायक कम्पनीले सेवा दिएबापत सेवा शुल्क लिने उनले बताए । “व्यक्तिगत कारोबारको कुरा गर्दा, समान बैंकबीचको कारोबारमा सेवा शुल्क लाग्दैन । अन्तरबैंक कारोबारमा कारोबारको सेटलमेन्ट गरिदिने (सिस्टम बनाउने) सेवाप्रदायकले सेवा शुल्क त दिन्छ,” प्रवक्ता भट्टराईले भने । व्यावसायिक क्यूआरमा व्यवसायीले नै कम्पनीलाई त्यसको भुक्तानी गर्ने उनले बताए । 

अनलाइन कारोबारका निम्ति सफ्टवेयर विकास गर्ने, त्यसलाई सुरक्षित बनाउनेजस्ता सेवा दिने कम्पनीका निम्ति १० रुपैयाँ सेवा शुल्क लाग्ने गरेको र कुनै पनि कम्पनीले त्यो सेवा निःशुल्क नदिने उनको भनाइ छ । 

“पहिला चेक लगेर बैंकमा जानुपर्ने झन्झट थियो, त्यो अहिले हटेको छ । सेवा निःशुल्क दिन सकिँदैन र त्यसमा भ्याट लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ,” उनले भने । 

अन्तरबैंक अनलाइन कारोबारमा लाग्ने गरेको यो शुल्क बाह्य देशको तुलनामा बढी नभएको उनको दाबी छ ।

नेपाल राष्ट्र बैंकले अन्तरबैंक कारोबारका निम्ति अधिकतम १० रुपैयाँ सेवाशुल्क तोकेको राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी डा. डिल्लीराम पोख्रेलले बताए । 

सेवा दिने कम्पनी बाँच्नका निम्ति पनि सामान्य सेवा शुल्क आवश्यक हुने उनको भनाइ छ ।

“भ्याटको विषय फरक पाटो हो, अर्थ मन्त्रालयले हेर्छ । सेवाप्रदायक कम्पनीले सेवा दिनकै निम्ति पनि शुल्क चाहिने हुँदा १० रुपैयाँसम्म सेवा शुल्क तोकिएको हो,” उनले भने । 

राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थाहरूलाई जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा शुल्कको व्यवस्था गरेको छ । 

निर्देशनको शुल्कसम्बन्धी व्यवस्थामा, “बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एप्लिेकसन वा इन्टरनेट बैंकिङबाट अन्तरबैंक रकमान्तर गर्दा सेवाप्रदायकले प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिनसक्ने,” उल्लेख छ ।

नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटकर्व फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले पनि व्यावसायिक भुक्तानीमा सेवा शुल्क र भ्याट नलाग्ने बताए । व्यक्तिगत कारोबारमा पहिलदेखि नै १० रुपैयाँ सेवा शुल्क लाग्ने गरेको थियो । चालू आर्थिक वर्षमा सरकारले भ्याट लगाएपछि यसमा टीकाटिप्पणी भइरहेको उनको भनाइ छ ।

“धेरैले क्यूआरमा पैसा लागेको हो भनेर सोचेका छन्, त्यस्तो हैन । व्यावसायिक क्यूआरमा भुक्तानी गर्दा पैसा लाग्दैन र व्यक्तिगत कारोबारमा पुरानै सेवा शुल्कमा भ्याट थपिएको हो,” फोनपेका सीईओ सापकोटाले भने ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा अन्तरबैंक भुक्तानीमा सरकारले तोकेको १० रुपैयाँ सेवा शुल्क महँगो नभएको उनको भनाइ छ । 

“केही देशका सरकारले अनलाइन कारोबार प्रोत्साहन गर्न आफूले खर्च गर्ने गरेका छन् । अन्य देशको तुलनामा १० रुपैयाँ सेवाशुल्क महँगो भने हैन, तर यसमा भ्याट नलगाउन हामीले नेपाल राष्ट्र बैंकलाई पनि पत्राचार गरेका छौँ,” फोनपेका सीईओ सापकोटाले भने ।

व्यावसायिक क्यूआरको विषयमा समेत सरकारले रणनीति अपनाउन आवश्यक रहेको उनको भनाइ छ । अहिले निःशुल्क र कम शुल्क भए पनि भोलि व्यावसायिक क्यूआरको सुविधामा सेवाप्रदायकको शुल्क बढ्दा उनीहरूले व्यक्तिगत खाता प्रयोग गर्न खोज्ने अवस्था आउनसक्ने सापकोटाको भनाइ छ । 

अहिले व्यावसायिक भुक्तानी अनलाइन प्रणालीमा जाँदा बढेको पारदर्शितालाई थप प्रवद्र्धन गर्न सरकारले यो विषयमा सोच्न आवश्यक रहेको उनले बताए ।

कुन कारोबारमा कति लाग्छ शुल्क ?

राष्ट्र बैंकको निर्देशिकाअनुसार अन्तरबैंक एटीएमबाट पैसा झिक्दा प्रतिकारोबार अधिकतम १५ रुपैयाँसम्म शुल्क लिन सक्छन् । 

सरकारी राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मा आबद्ध भुक्तानी सेवाप्रदायकले पाँच हजारसम्म पाँच रुपैयाँ, १० हजारसम्म आठ रुपैयाँ र १० हजारभन्दा माथिको कारोबारमा १० रुपैयाँ शुल्क लिन पाउँछ ।

अन्तरबैंक कारोबारमा अधिकतम १० रुपैयाँ शुल्क लाग्छ । विद्युतीय वालेटमा एजेन्टबाट लोड गर्दा र झिक्दा पाँच हजारसम्म प्रतिकारोबार पाँच रुपैयाँ, १५ हजारसम्म १५ र २५ हजार रुपैयाँसम्म २५ रुपैयाँ शुल्क लिन मिल्छ । वालेटबाट बैंक रकमान्तर गर्न १० रुपैयाँ शुल्क लाग्छ ।

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)मा बिहान १०, दिउँसो २० र साँझ १०० रुपैयाँसम्म सेवा शुल्क लाग्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro