
काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कुल’ अभियान सञ्चालन गरिहेका छन् ।
यो अभियान लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजा गरिएको कार्यक्रमहरूमध्ये एक हो । यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब एक हजार ५०० विद्यार्थी प्रत्यक्षरूपमा सहभागी भइसकेको एनसेलले जनाएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसीजस्ता जान्नै पर्ने विषयमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्त्वबारे सचेतना जगाउने रहेको एनसेलले जनाएको छ ।
“लैंगिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लंघन गर्छ र लैंगिक समानतामा प्रगतिलाई रोक्छ । गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणहरूले महिला र केटीहरूलाई जोखिम बढाउँछन् । ‘ओरेन्ज द स्कुल’ अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ । युवाहरूलाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्त्वपूर्ण छ,” जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन् ।
एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यसै कार्यक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनिन् 'ओरेन्ज द स्कुल' अभियानले लैंगिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालयस्तरमै सचेतना र छलफलको महत्वलाई उजागर गर्न मद्दत पुर्याएको बताइन् ।
"युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्य स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिन्छ । अहिलेको बदलिँदो अवस्था र प्रविधिको पहुँचले गर्दा भल्नरेबल सेगमेन्टमा पर्न जाने नकारात्मक असरको न्यूनीकरणकालागि साइबर सुरक्षा र डेटा प्राइभेसीजस्ता अत्यन्त आवश्यक विषयलाई विद्यार्थीहरूमाझ लानका लागि यस अभियानको हिस्सा बन्न पाएकामा हामी खुसी छौँ र हामीलाई विश्वास छ, हाम्रो सामूहिक प्रयासले दिगो प्रभाव पार्नेछ,” उनले भनिन् ।
जोन्टा क्लब अफ काठमाडौंको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष श्रीयुक्ता थपलियाले भनिन्, “यो अभियानले जोन्टा क्लब काठमाडौं, साथी संस्था र एनसेल फाउन्डेसनको साझेदारीमा स्रोत र विशेषज्ञताको संयोजन गर्दै प्रभावलाई अधिकतम बनाउन सहयोग पुर्याएको छ ।"
सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूप्रति उनीहरूको उत्साह र समर्थनका लागि उनले आभार व्यक्त गरिन् । "सामूहिक प्रयासले हामीले मौनता तोड्न, परिवर्तनलाई प्रेरित गर्न र महिला तथा बालबालिकाले सुरक्षित वातावरणमा जीवन बिताउन सक्ने भविष्य निर्माण गर्न मद्दत पुर्याउँछ,” उनले भनिन् ।
२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।