site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अब सुविधाको खोजीमा सहर पस्नुपर्ने अवस्था छैन : मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडकलगायत विकास पूर्वाधार गाउँकेन्द्रित भइरहेकाले सुविधाका निम्ति सहर पसेकाहरूलाई ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताएका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ स्थित वीरेन्द्र माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सवको शनिबार उद्घाटन गर्दै उनले तीन तहका सरकारले गाउँकेन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधा पुर्‍याइरहेकाले अब यस्तो अभियान जरुरी रहेकामा जोड दिए ।

Dabur Nepal
NIC Asia

“हामीले गाउँमा विकास र सुविधा पुर्‍यायौँ । त्यही सुविधाका लागि सहर पसेकाहरू गाउँ फर्कन आवश्यक छ,” मुख्यमन्त्री आचार्यले भने, “अब राम्रो स्कुलमा पढाउनकै लागि घरमा ताला लगाएर सहर पस्नुपर्ने अवस्था छैन । रोजगारी सिर्जनाका लागि पनि अब गाउँ फर्किएर उद्यम गर्न सकिन्छ । त्यो अवसर विकास भएको छ ।” 

उनले राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाले यो अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । “राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यमशील बन्नुपर्छ । व्यावसायिक बनेमा स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने सन्देश फैलाउन पनि उत्पादनसँग जोडिनैपर्छ,” उनले भने ।

उनले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताए । “गुणस्तरीय शिक्षा र नतिजा सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुँदैन । यसमा शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालयय व्यवस्थापन पक्ष, जनप्रतिनिधि सबै साझा रूपमा अघि बढ्न सक्नुपर्छ । गत वर्षको एसईई नजिता सन्तोषजनक भएन । यसपालिको नजिता सुधार गर्न सबै चिन्तित र संवेदनशील बन्नैपर्छ,” मुख्यमन्त्री आचार्यले भने ।

कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro