“निम्तो आएर के गर्ने हो, जान पाउने हैन !,” ठस्कँदै मोबाइल कुनातिर मिल्काइन् रञ्जुले । उनी कुनै निमन्त्रणापत्र नआउँदाभन्दा आउँदा दुःखी हुन थालेकी थिइन् ।
“बाबुआमालाई के दोष दिनु, आफ्नै निधारमा लेखेको भएर होला नि अब,” आफैँलाई सान्त्वना दिइन्, मनमनै ।
“तिमीलाई फोन गरेन ? राकेश आएको रहेछ त !,” उमेशले भन्यो ।
“गरेको थियो, नितुको बिहेको निम्तो गरेको छ,” रञ्जुले भनिन् ।
धेरै समय बाहिर बसेर आएको मामाको छोरा राकेशले बहिनीको विवाहको निम्तो गरेको थियो, तिनलाई ।
“कहिले हो ? अफिसमा बिदा मिलाउनुपर्ने हो कि !,” उमेशले भन्यो ।
“के बिदा मिलाउने ? मेरो बेइज्जत गर्नु छ र ? अहिले त अझ विदेश गएका सबै आएका छन् । आफ्नो न लगाउने गतिलो कपडा छ न जाने साधन,” श्रीमतीको लबजमा आक्रोश देखिन्थ्यो ।
अकासिएको बजार भाउ, बढ्दो खर्च, सीमित आम्दानी र भड्किलो सामाजिक व्यवहारले ल्याएको निराशाले दुवैमा हिनताबोध बढ्दो थियो । आखिर जसले जे भने पनि विवाह समारोहमा त जानैपर्थ्यो । उनीहरू गए ।
कुनामा बसेर रञ्जुले आफूले लगाएको कुर्थाको खरिद मिति सम्झिँदै यही एउटा लुगा लगाएर मानेका निम्ताहरू गन्ती गर्न थालिन् ।
“ए, दिज्यू त यस्तो कुनामा बसिस्या रहेछ, मैले कताकता खोजेँ,” सानीमाकी छोरी ऋतिकाले भनी ।
रञ्जु हाँसिन् मात्र । उसका सम्भावित प्रश्नहरूबाट रञ्जु आतंकित थिइन् ।
“दिज्यू, अलि पर गएर कुरा गरौँ न ल !”
मन नलागे पनि ऋतुको पछि लागिन् उनी ।
पर पेटीमा बस्दै बहिनीले कुराको सुरुआत गरी, “दिज्यू, हजुर कति भाग्यमानी होइसिन्छ, भिनाजुले आफ्नै देशमा रोजगारी पाइस्यो । हामीजसरी बेरोजगार भएर भौँतारिनु परेन । हेरिस्यो न, भोलि त हामी जानैपर्छ ।”