site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वजर्नेलको ‘हिटलर’ बन्ने चाह ! सामाजिक सञ्जालबाट गाली–गलौजदेखि हत्याको धम्कीसम्म 

काठमाडौं । “देशमारा २ कुत्ताहरूको अर्को समीकरण बनाएर सरकार बन्दै छ रे ? कुनै दिनमा आकाश खसेर मेरो हातमा शक्ति आयो भने मेरो भूमिका हिटलरकै रहनेछ । देशमाराहरूलाई 'ग्यास चेम्बर' मा जाक्नैपर्छ ।”
हेरौँ अकाईभ ।  पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट कांग्रेस बाहिरियो, एमाले भित्रियो । सत्ता समीकरण फेरिएको सन्दर्भ इंगित गर्दै नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यताले २० फागुन ०८० मा ‘एक्स’मा नेताहरूलाई ‘कुत्ता’ सम्बोधन गर्दै आफ्नो हातमा शक्ति आएमा हिटलर बन्ने चाहना व्यक्त गरे ।

बस्न्यातले ‘एक्स बायो’मा आफूले मानव अधिकार विषयमा स्नातकोत्तर गरेको लेखेका छन् । उनले लेखेका छन्, ‘एम.ए. मानव अधिकार ।’ मानव अधिकार, इतिहास, सैन्य रणनीति, ग्लोबल सेक्युरेटीमा स्नातकोत्तर गरेका बस्न्यातले नेपाली सेनाको इतिहासमा पिएचडी पनि गरेका छन् ।

Gern-1733478205.jpg
मानव अधिकार पढेको बताउने पूर्वजनरल बस्न्यात आफू हिटलर जस्तै हुने सपना देख्छन् । हिटलरले यहुदीलाई झैँ नेताहरूलाई ‘ग्याँस च्याम्बर’मा हाल्ने इच्छा व्यक्त गर्छन् । सामाजिक सञ्जाल एक्समा बस्न्यातले यस्ता उद्दण्ड, हिंस्रक, भ्रामक, गाली–गलौज र चरित्रहत्याका सयौं पोष्ट भेटिन्छन् । बस्न्यातका यस्ता पोष्टले उनले पढेका मानव अधिकारकै अपमान गरेको प्रतित हुन्छ ।

Dabur Nepal
NIC Asia

एक्समा बस्न्यातका ७ हजारभन्दा बढी ‘फलोअर्स’ छन् । अनुशासित मानिने सैन्य संगठनमा काम गरिसकेका बस्न्यातले एक्समा गरेका पोष्ट हेर्दा सैन्य संगठनको अनुशासनकै धज्जी उडेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सन्दर्भमा उनले एक्समा आपत्तिजनक पोष्ट गरेका छन् । देशको सार्भमौमिकता जोगाउने सपथ खाएर सैन्य संगठनको पृष्ठभूमिबाट आएका बस्न्यातले १५ नोभेम्बरमा प्रधानमन्त्री ओलीको तस्बिर हाल्दै लेखेकाछन्, “प्रधानमन्त्रीले गर्ने चीन भ्रमणमा नेपालको इतिहासमा पहिलो पटक परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको कान समातेर अनि कडा नियन्त्रणमा राखेर भ्रमण गराउँदै । यो काम भारत र अमेरिकी दबाबमा भएको बुझिएको छ । यो भ्रमण “डिप्लोम्याटिक् टुरिजम” मात्र हुनेछ । अरु कुनै अर्थ रहने छैन ।”

Fee-1733478205.png
हेरौँ अकाईभ । वर्तमान राजनीति र त्यसको नेतृत्व गरिरहेकाहरूमाथि बस्न्यात निरन्तर आक्रोश पोख्छन् । ६ नोभेम्बरमा परराष्ट्र मन्त्री आरजु राणा देउवालाई हियाउँदै उनले नेपाल बंगलादेश हुने लेख्दिए । उनले एक्समा परराष्ट्रमन्त्रीको नाम लिएर गरेका सबै पोष्टमा आरजु देउवा राणाको नाम बिगारेर उनलाई हियाएका छन् । परराष्ट्र मन्त्रीलाई होच्याउँदै उनको नाम बिगारेर लेखेका छन् ।

सुरक्षा संगठनमा काम गरिसकेका बस्न्यात नेपाल प्रहरीका महानिरीक्षकलाई समेत आरोप लगाउन पछि पर्दैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको दाबी गर्दै नोभेम्बर ५ मा उनी लेख्छन्, “केपी सर एन्ड म्याडम देउपिनी, देउपिनीको पेलाइमा केपी सर घुँडा टेकेर रवि लामिछानेको खेदो खन्दैछन भने देउपिनीको कारिन्दा गृहमन्त्री चाहिँ देउपिनीको हल्दार मेजर भएर रविलाई सोधपुछका नाममा महिनौ जेलमा राख्दैछन् । अनि पुलिसको क्ष्न्ए ले पनि रबिलाई प्रतिशोध साधेका छन् । म रबिको मान्छे पटक्कै होइन ।”

हेरौँ अर्काइभ  । रवि लामिछानेका विषयमा गरिएका हरेक पोष्टमा उनी ‘म रविको मान्छे होइन’ भन्दै ‘डिस्क्लेमर’ झुण्ड्याउँछन् ।

प्रहरी मात्र होइन, आफैँले काम गरेको संगठनका पदाधिकारीलाई पनि उनी दुत्कार्छन् । लैगिंक विदेश झल्किने शब्द प्रयोग गर्दै १ सेप्टेम्बरमा उनले नेपाली सेनाका अफिसरको आलोचना गरेका छन् ।

आफ्नो संगठनका नेतृत्वलाई ‘नामर्द’ र ‘कायर’को संज्ञा दिँदै उनले लेखेका छन्, “उ बेलामा माओवादीसँग लडेका सेनाका बहादुर अफिसरलाई नामर्द नेतृत्वले रिटायर्ड गराए । माओवादीसँग लड्न डराएर लुकेकाहरू रिटायर्ड जर्साब (केही) हरू बनेर 'रणनैतिक महत्व' मा प्रवचन् दिने भाका छन् । यी कायरहरू हुँदा हुँदा राजाको विरोध गरेर एमाले–माओवादी खुशी पार्दैछन् ।”

हेरौँ अर्काइभ 

khatara-hunxa-copy-1733478204.png
देशमा हर कोहीले संविधान पालना गर्नुपर्छ । सरकारकै अंग सेना पनि संविधानकै पालक हो । तर, बस्न्यात भने सेनाले संविधान पालना गर्नुलाई निको मान्दैनन् । २० अगष्टमा उनले एक्समा लेखेका छन्, “जब कुनै पनि देशको सेनाले देशको राष्ट्रिय सुरक्षाको महत्व भुलेर “संविधानको पालना गर्छु” भनेर मात्र जागिर खाने मेसो मिलाउँछ भने त्यो देश राजनैतिक डाँकाहरूको नियन्त्रणमा चलेको हुन्छ ।”

हेरौँ अर्काइभ ।  सेनाले संविधान पालना गर्नुलाई उनी ‘जागिर खानु’ भन्छन् ।

आफ्नै संगठनका भूतपूर्व अधिकारीहरूलाई ‘मलमूत्रका जुका’ भनेर गाली गर्न समेत पछि पर्दैनन्, पूर्व जनरल बस्न्यात । गणतन्त्र दिवसको पूर्वसंन्ध्यामा २८ मे मा उनले लखेका छन्, “लाज पचेकाहरू । हाम्रा सेनाका ठूला फुलीसमेत केपीका जुत्ता–मोजा त बने बने । घिन लाग्दो गरी मदन भण्डारी, आश्रित, लेनिन, मार्क्स, माओको फोटोमा सलाम गरेको देख्दा यी नांगा पेन्सनधारीप्रति घृणा लाग्यो । यी प्राणीहरू सेनामा छँदा पनि ठूला फुलीका “मलमूत्रकै जुका” भएर साखुल्ले थिए ।”

हेरौँ अर्काइभ

‘चेन अफ कमाण्ड’मा चल्ने संगठनबाट आएका बस्न्यात आफ्ना प्रधान सेनापतिमाथि पनि अनेक आरोप लगाउँछन् । उनी आफ्नो संगठका प्रधानसेनापतिलाई नै ‘शक्ति राष्ट्र र छिमेकीको कमारो’, ‘दलाल’ भनेर आरोपित गर्छन् ।
२० फेब्रुअरी २०२३ मा उनले प्रधानसेनापतिलाई ‘कमारो’ भन्दै लेखेका छन्, “हाम्रा जर्नेल बहालमा हुँदा पनि दलाल गर्थे भनेको सुनिथ्यो । रिटायर्ड भएपछि तीमध्येका केही प्रधानसेनापति केही जर्नेलहरू त शक्ति राष्ट्र र छिमेकीका कमारो भाको देख्दा लाज लाग्छ । यस्ता दलालहरूलाई सलाम गरियो । किन मारिए राजा वीरेन्द्र किन हारियो माओवादी युद्ध ? बल्ल पो बुझिँदै छ !”

हेरौँ अर्काइभ । आफ्नै संगठन र नेतृत्वमाथि अनेक आरोप र लाञ्छना किन लगाउँछन् त बस्न्यात ? यसको जवाफ पनि उनले एक्समा गरेको पोष्टमार्फत नै दिएका छन् । 

१६ अक्टोबर २०२३ मा उनले लेखेका छन्, “मैले नेपाली सेनाको देबीदत्त गणको निशान छोएर कसम खाएको छु कि यो देश र सेनाका लागि सधैं प्राण त्याग्न समेत तयार रहनेछु । देश र सेनाका लागि कहिले र कदापि विश्वासघात गर्ने छैन । सेनालाई माओवादीकरणबाट रोक्न मैले बोलेका र लेखेका कुराबाट 'ठूला साना फुली'जो रिसाउनुस्, मलाई बेमतलबको कुरा ।”

हेरौँ अर्काइभ । नेताहरूलाई गाली–गलौज गरेर नथाक्ने बस्न्यात दुर्गा प्रसाईं र काठमाडौं महानगरका मेयर बालेनको भने निरन्तर प्रशंसा गर्छन् । ३ नोभेम्बरमा प्रसाईंलाई तिहारको शुभकामना दिँदै नेपाली नेताहरूलाई प्रसाईंले नै जेल हाल्नेछन् भनी भविष्यवाणी गरेका छन्, बस्न्यातले । साइबर अपराध, कीर्ते कागजात बनाएको अभियोगमा उनै प्रसाई यतिखेर हिरासतमा छन् । बस्न्यातले प्रसाईलाई शुभकामना लेखिरहँदा पनि प्रसाईं सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोग खेपिरहेका थिए ।

३ नोभेम्बरमा दुर्गा प्रसाईलाई शुभकामना दिँदै बस्न्यातले लेखेका छन्, “दुर्गा प्रसाईंजीलाई तिहारको हार्दिक शुभकामना ! नेपालका लुटेराहरू शेरब देउवा– देउबिनी, प्रचन्ड, केपी वली, माकुने, भारुरामलगायतलाई भविष्यमा यिनै दुर्गा प्रसाईंले जेल हाल्नेछन् । नेपालका लागि यी एउटा शक्ति हुन् र झन् शक्तिशाली हुँदैछन । दुर्गाजीलाई अझै शक्ति मिलोस, शुभकामना !”

nov-5-copy-1733478204.png
 

हेरौँ अर्काइभ । भ्रम फैलाउन पनि माहिर छन्, पूर्व सहायक रथी बस्न्यात । सहकारी ठगीमा रवि लामिछाने पक्राउ परेपछि काठमाडौं महानगरका मेयर र धरान उपमहानगरका मेयर हर्क साम्पांगलाई पनि सरकारले पक्राउ गर्छ भन्दै उनले भ्रम फैलाउन खोजे । १८ अक्टोबरमा लेखेका छन्, “रवि लामिछाने पछि बालेन शाह र हर्क साम्पाङलाई पक्रनेछ यो सरकारले ! अर्थात् के पि र आर्जु मिलेर । अनी यो सरकारको अन्त्य हुनेछ । हेर्दै जानुस् ।”

हेरौँ अर्काइभ । २१ अगष्टमा बस्न्यातले परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘देश बेच्ने’ आरोप लगाए । परराष्ट्रमन्त्रीलाई आरोपित गर्दै उनले लेखेका छन्, “देउबिनीनै अब यो देउबा लिमिटेड कांग्रेसको मालिक्नी हुनेछिन । क्रिस्चियन संस्था, अमेरिकाको मात्र होइन अब भारतीय प्यारी बनेकी देउबिनिले गगन, विश्वप्रकाश, निधि, हुतिहारा कोइरालाहरू सबैलाई जुत्ता चप्पल बोकाइ प्रधानमन्त्री बन्नेछिन् । पैसाका लागि नेपाली बेच्ने र पदका लागि नेपाल पनि बेच्ने छिन् ।”

हेरौँ अर्काइभ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि त उनले साहै्र तल्लोस्तरको भाषा प्रयोग गरेका छन् । ओलीमाथि २३ जुलाईमा उनले लेखेका छन्, “अब झन् खतरा हुन्छ, केपी वलीविपरीत लिंग देखेपखि लल्याक लुलुक पर्छन । कांग्रेसमा राष्ट्रिय भाउजुको हालीमुहाली अनी सरकारको हालीमुहाली पनि उनैको हुने भो । अब भुटानी शरणार्थी, गिरिबन्धु, टिकापुरको जग्गा, भारतसँगका थप घाती सहमति र तीभन्दा खतरा अमेरिकासँग के–के हुने हो हेर्दै जानुस् ?”

मुलुकको सार्वभौमिकता र सार्वभौमसत्ताको सुरक्षा गर्ने जिम्मा पाएको संगठनको उच्च तहमा पुगेका बस्न्यात सामाजिक सञ्जालमा सार्वभौमिकता र सार्वभौमसत्ताबारे निरन्तर भ्रामक पोष्ट गरिरहन्छन् ।

हेरौँ अर्काइभ

नेताहरूमाथिको उनको आक्रोश यतिमै समाप्त हुँदैन् । ११ जुलाईमा उनले केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव नेपालको तस्वीर पोष्ट गरेर लेखे, “कति बाँचेका होलान् यिनीहरू ?”

अकाईभ । जर्नेल बस्न्यातको ‘हत्या मोह’ यतिमै सकिँदैन । २३ जुनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको तस्विर पोष्ट गरेर उनले लेखे, “यो माधव नेपाल भन्नेलाई अब जिउँदै गाडे हुन्छ ।”

हेरौँ अकाईभ । २५ फागुन ०७९ मा राष्ट्रपति निर्वाचनको दिन उनले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङलाई ‘पतित’ ‘दलाल’ भन्दै एक्समा आरोपित गरे । उनी त्यो सगंठनबाट आउँछन्, जसको परमाधिपति राष्ट्रपति हुन्छन् ।

संसद भवनमा राष्ट्रपतिका लागि मतदान हुनु अगाडि उनले एक्समा लेखे, “देशको दुर्भाग्य, आज २ जना नामुद “पतित”हरूलाई राष्ट्रपति चयन गर्न भोट हालिँदैछ । एउटा क्रिस्चियनको दलाल, जस्ले ७२ को  संविधानमा “शब्द चोरेर” नेपाललाई धर्मनिरपेक्ष बनायो । अर्को भारतीय दलाल अहिले पनि भारतीयलाई नेपाली नागरिकता बाड्न भारतले उठायको हिन्दू धर्ममारा पात्र हुन् ।”

हेरौँ अकाईभ । मानव अधिकारमा स्नातकोत्तर गरेका डा. बस्न्यात सामाजिक सञ्जालमा आफ्नो संगठन, उच्च पदस्थ व्यक्तिको मान मर्दन हुनेगरी किन लेख्छन् त ? यसको जवाफ पनि उनले एक्समै लेखेकाछन् । १४ जुनमा उनले लेखेका छन्, “मैले लेखेका शब्दहरू मेरा कुलदेवता, पित्री, मातृभूमिलगायतलाई सम्झेर छात्तीमा हात राखेर लेख्छु । देशप्रेमी न्यायप्रेमी सबै मेरा देवता हुन् । देसमारा–न्यायमारा जो हुन मेरा लागि 'कुत्ता' हुन् । मेरो टुईटमा गाली गर्नुस्– ताली दिनुस् सबै स्वीकार्य छ । मेरा आत्मा बोलेका हुन् । म जवाफ दिने छैन ।’

हेरौँ अकाईभ
सामाजिक सञ्जालमा गाली–गलौज, मानमर्दन र तुच्छ गाली गलौज गर्ने बस्न्यातलाई समाजको पनि चिन्ता लाग्छ । युट्युब, सामाजिक सञ्जालमा गाली गालैज, फोहोरी कुरा लेखिएको भन्दै उनी दिक्क मनाऊ पनि गर्छन् । २४ अक्टोबरमा उनले एक्समा लेखेका छन्, ‘के भाको यो समाज ? युट्युब हेर्नुहुन्न : गाली,  बेइज्जति, फोहोरी कुरा । सामाजिक सन्जाल हेर्नु हुन्नः रवि, बालेन, हर्क राइ, केपी, लाई गाली मनपरी, यो चोर–त्यो चोर, घीन लाग्दा लेखाई । पत्रिका हेर्नु हुन्न : कि केपी र देउवा देउबिनीको प्रशंसा कि प्रचन्डको । कि यिनलाई गाली ।”

यो लेखिरहँदा उनले आफ्नै पुराना पोष्टहरू हेर्न भने बिर्से कि ! आफ्नै प्रोफाइल एकपटक ‘स्क्रोल डाउन’ गरेको भए सायद यसो लेख्दैन थिए कि ?

हेरौँ अर्काइभ । प्रेमसिंह बस्न्यातले सामाजिक सञ्जालमा लेखेको देखेर नेपाली सेनाकै बदनाम भएको बताउँछन् नेपाली सेनाका एकजना पूर्व उपरथी । “सेनाको जर्नेल नै यस्ता (बस्न्याता) हुन्छन् कि भन्ने भान परेको छ । सबैतिर गाली–गलौज गर्ने उनको बानी देखेर मान्छेहरू हामीलाई ‘सेना यस्तो हुन्छ र ?’ भनेर सोध्छन् ? उसको प्रवृत्ति देख्दा हामीलाई पनि लाज लाग्छ ।”

बस्न्यातका सामाजिक सञ्जाल पोष्टल सेनालाई नै लञ्जित बनाएको बताउने ती पूर्व उपरथी नाम खुलाउन चाहँदैनन् । नाम नखुलाउनुको कारण बताउँछन उनी, “त्यो यस्तो मान्छे छ कि, उसले कुन टिभीमा गएर मलाई नै तथानाम भन्दिन्छ, मलाई नै गाली गर्दिन्छ ।”

सेनाको उच्च पदलाई विशिष्ट र संवेदनशील मानिन्छ । उच्च पदमा पुगिसकेको व्यक्तिले ‘समाज भाँड्ने पोष्ट’ गर्नु संगठनकै लागि हानिकारक भएको बताउँछन ती पूर्व उपरथी । 

“सेनाको उच्च पदलाई विशिष्ट र उच्च पद भन्ने गरिन्छ । त्यस्तो ठाउँमा पुगेको व्यक्तिले सेवाबाट अलग भयो भन्दैमा समाज, राष्ट्रलाई हानी हुनेगरी विकृति फैलाउनु कुनै हालतमा ठीक होइन,” उनी भन्छन् ।

एकपटकको सेना सधैँको सेना भन्ने गरिन्छ । “जर्नेल नेभर रिटायर भन्ने गरिन्छ,” उनी भन्छन्, “संगठनमा रहँदा र संगठनबाट बाहिँरिदा पनि अनुशासन पालना गर्नुपर्छ । अवकाशपछि सैनिक नागरिक सरह भएपनि नागरिकका पनि कर्तव्य हुन्छन् । अनुशासन हुन्छन् ।”

बस्न्यातले सैन्य अनुशासन मात्र होइन कि सामान्य नागरिकको मर्यादा र अनुशासन पनि तोड्ने गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । 

सामाजिक सञ्जालमा तथानाम पोष्ट गरेर बस्न्यातले सैनिक आचार–संहिता उल्लंघन गरेका छन् । “बस्न्यातले गरेको काम आचार–संहिताविपरीत हो । अनुशासित संगठनको उच्च पदमा पुगिसकेको मान्छेको त समाजलाई सौहार्द्र बनाउने अरुको भन्दा बढी दायित्व हुन्छ,” ती पूर्व उपरथीले थपे ।

सामाजिक सञ्जालामा सैनिक आचार–संहिता उल्लघंन गर्दै, नेताहरूको चरित्र हत्या किन गर्नुहुन्छ भनेर हामीले पूर्व सहायक रथी बस्न्यातलाई सोध्यौं । 

उनले आफूले ‘त्यस्तो’ लेख्न छाडिसकेको दाबी गरे । उनले बाह्रखरीसँग भने, “त्यस्तो लेख्न छाडिसकेँ । उहिले लेख्थेँ, अहिले त लेख्दिनँ, अहिले बन्द गरिसकेँ । अहिले राम्रा कुराहरू मात्र लेख्छु ।”

बस्न्यातले राम्रा कुराहरू मात्र लेख्छु भनेर दाबी गरिरहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा लैगिंक विभेद हुनेगरी एमाले र ओलीमाथि टिप्पणी गर्दै एक्समा पोष्ट गरेका छन् । उनले लखेका छन्, “एमाले, केपीको चीन भ्रमणमा गरेका सम्झौताबाट प्रस्ट देखियो अब एमाले कांग्रेसीको 'जुत्ता मोजा' बनेछ । एमाले पुलिंग हो कि स्त्रीलिंग हो ? उत्तर छ = केही पनि होइन 'सत्ता अर्थात् कुर्सी लिंग' हो ।”

हेरौँ अर्काइभ । यतिमात्र होइन उनले मानव अधिकारको हवाला दिँदै नेपाल सरकारलाई एउटा पत्र लेखेका थिए । ‘रवि मर्न सक्छन बचाउने अपिल गर्छु’ शीर्षकमा ७ बुँदे पत्र सार्वजनिक गरेका थिए । रवि लामिछानेलाई आत्महत्या गराइने दाबी गर्दै बस्न्यातले लखेको उक्त पत्रसहितको पोष्ट सामाजिक सञ्जालबाट डिलिट गरेका छन् । “त्यो पोष्ट मैले अस्ती डिलिट गरेँ । मैले २४ घण्टामा डिलिट गरेँ, मेरा पोष्टहरू अचेल २४ घण्टाभन्दा बढी रहँदैनन्,” बस्न्यातले भने ।

बस्न्यातलाई सामाजिक सञ्जालमा सैनिक संगठनमाथि आँच पुग्नेगरी लेखेको भन्दै यस अगाडि सेनाले सचेत पनि गराइसकेको छ । २०७५ चैतमा सेना परिचालनसम्बन्धी कानुनमा संशोधनको विषय उठेको थियो । त्यस समयमा उनले सैन्य संगठनको अनुशासनविपरीत सामाजिक सञ्जालमा लखेको भन्दै सेनाले उनलाई चेतावनी पत्र पठाएको थियो ।

यस लगत्तै सेनाले २०७६ को जेठमा सैनिक आचार–संहिता, २०७६ ल्याएको थियो । यो आचार–संहिता सेवामा रहेका र अवकाश प्राप्त दुवैलाई लागू हुन्छ । २०७७ मा भारतले लिपुलेक र कालापानीमा सडक बनाएको भन्दै बस्न्यात आन्दोलनमा उत्रिएका थिए । कोभिड–१९ को महमारीमा आन्दोलनका नाममा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सामाजिक सञ्जालबाट सेना, प्रधानमन्त्री, मन्त्री र संविधानकै खिल्ली उडाउँदै चरित्र हत्या र गालीगलौज गर्ने बस्न्यातलाई सेनाले २०७९ को सैनिक दिवसमा सम्मान गर्‍यो । सैनिक संगठनमाथि आँच पुग्नेगरी बोलेको भन्दै चेतावनी पत्र समेत पाइसकेका बस्न्यातलाई सेनाले २०७९ मा ‘प्रधान सेनापति सर्वोत्कृष्ट भूतपूर्व सैनिक’ पदबाट सम्मान गरेर तीन लाख रुपैयाँ पुरस्कार दियो ।

२०७२ मा सेनाबाट राजीनामा दिएका थिए, बस्न्यातले । लेखपढ गर्ने प्राज्ञिक जीवन बिताउने उद्देश्यले राजीनामा दिएको भनेका थिए । तर, दुर्भाग्य उनको ‘लेखपढ’ पढ्नै नसकिने तहको छ, तिनको सामाजिक सन्जाल हेर्दा ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro