पोखरा । सहकारी ठगी प्रकरणमा चर्चित नाम हो, पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड । ०७९ असोज मसान्तयता यो सहकारी तरलता अभावका कारण बन्द छ । तरलता अभावमात्र नभई यस सहकारीबाट १८ हजारभन्दा बढी बचतकर्ताको एक अर्ब १० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको विषयले पनि चर्चामा छ ।
त्यसमाथि संस्थाका सञ्चालक फरार छन् । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापनि रवि लामिछाने यही प्रकरणमा कात्तिक २ यता विभिन्न जिल्लाका हिरासतमा छन् । संस्थाका सञ्चालक समितिका केही पदाधिकारीहरू कारागारमा छन् । केही फरार छन् ।
सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनेको संसदीय समितिले यस सहकारीमा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख गरेको छ । समितिले विभिन्न व्यक्तिलाई नाम किटान गरेर नै कारबाहीका लागि सिफारिस गरेको छ ।
पछिल्ला दुई वर्षमा यो सहकारीमाथि पोखरा महानगरपालिकाले पनि छानबिन गरेको छ । दुवै प्रतिवेदनमा सहकारीको रकम अपचलन भएको उल्लेख छ ।
तर, आफ्नो बचत फिर्ता पाउने आश बचतकर्ताले मारेका छैनन् । उनीहरूले प्रदर्शनदेखि ज्ञापनपत्र बुझाउने काम पछिल्लो दुई वर्षमा पटकपटक गर्दै आएका छन् । पोखरामा यस सहकारीमा बचत गर्ने बचतकर्ताको संख्या १८ हजार ७०० भन्दा बढी छ ।
सरकारी वकिलको कार्यालय कास्कीले यस सहकारीमा भएको अपचलनबारे एक अर्ब ११ करोडको बिगो भराउने मागसहित जिल्ला अदालत कास्कीमा दायर गरेको मुद्दा विचाराधीन नै छ । बरु सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्तिमाथि ठगीसहित संगठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरणलगायत मुद्दामा अनुसन्धान भइरहेको छ ।
अदालतमा मुद्दा लगिँदा बचतकर्ताहरूले न्यायको मागसहित प्रदर्शन पनि गर्ने गरेका छन् । अदालतको फैसला कुरेका संगठित बचतकर्ताहरूले सहकारीमा नयाँ सञ्चालक समिति बनाएर त्यसलाई पुनः सञ्चालन गर्ने तयारी गरेका छन् ।
नवगठित सञ्चालक समितिको अध्यक्षमा किरण श्रेष्ठ अध्यक्ष चुनिएका छन् । श्रेष्ठ सूर्यदर्शन सहकारी पीडित बचतकर्ता समूहको नेतृत्वसमेत गर्दै आएका थिए । उनकै नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय, पोखरा महानगरपालिका सहकारी शाखा र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा गठित समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र कोषाध्यक्षमा प्रेम रेग्मी चयन भएका छन् । सदस्यमा मिलन शाही, श्रीभद्र बराल, हरि चालिसे, शान्ति आचार्य र लक्ष्मी कँडेल छन् ।
साधारणसभाले आर्थिक निगरानीका लागि लेखा समिति पनि गठन गरेको छ । राजेन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा तारापति सापकोटा र गोपाल गुप्ता छन् ।
मंगलबार नयाँ समिति गठन हुनासाथ साधारणसभाले बजारमा भएको ऋण लगानी उठाउने र पूर्वसञ्चालक समितिका सदस्यहरूले गरेको लगानी खोजी गर्ने निर्णय गरेको छ । यसबाहेक सञ्चालक समितिले सहकारी सञ्चालन गरे पनि ऋण प्रवाह नगर्ने निर्णय पनि गरेको थियो ।
बचतकर्ताले बचत रकम फिर्ता नपाएकै कारण उपचार अभावमा ज्यान गुमाएको, व्यवसाय बन्द गर्नुपरेको अवस्थामा नयाँ समितिले कसरी काम गर्छ ? के बचतकर्ताले आफ्नो बचत फिर्ता पाउने अवस्था तयार गर्न समितिले सक्छ ? संस्थाले अब अगाडि कसरी काम गर्छ ? यीलगायत विषयमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठसँग बाह्रखरीले कुराकानी गरेको छ ।
उनले सुरुमा नै अब वास्तविक सेयर सदस्य, बचतकर्ता, ऋणीको पहिचान गर्ने, जाहेरीवालासँग प्रत्यक्ष सम्पर्क गर्ने बताए । “हाम्रो समितिले अब सहकारीबारे हुने हरेक गतिविधिमा समन्वय गर्ने हो । अभिभावक नभएको संस्थालाई अभिभावकत्व दिएका हौँ । अहिले रोक्का सम्पत्ति भएका धेरै छन्, खोजीनीति गर्ने विषय पनि छ । नयाँ समिति बनेपछि त्यहाँ हाम्रो पनि संलग्नता हुन्छ,” श्रेष्ठले भने ।
०८० को विवरणअनुसार, सूर्यदर्शन सहकारीबाट बजारमा धितोमा ६ करोड रुपैयाँ, हायर पर्चेजमा ९० लाख र बिना धितोमा सात करोड गरी झन्डै १४ करोड रुपैयाँ लगानी भएको छ । यस विवरणको सत्यता जाँच गर्न महानगरबाट लोनसिट लिएर हेर्ने उनले बताए । यही रकम उठाउन सके पनि एउटा कामको सुरुवात हुने उनको भनाइ छ ।
उनी भन्छन्, “यही रकम पनि हामीले उठाउन सक्यौँ भने वा १० करोड नै उठे पनि बचतकर्तालाई धेरै राहत हुन्छ । दश करोड भनेको एउटा संस्था हो, यो ऋण भनेको हाम्रो ऋण पनि हो । उठाउन सकियो भने यसलाई कसरी अगाडि लैजाने भन्ने बारेमा हामी पनि छलफल गर्छौं । महानगरपालिकाले पनि प्रक्रिया अगाडि बढाउला, हामी पनि बढाउँछौँ । संस्थामा कर्मचारी नै राखेर काम गर्नुपरेमा पनि हामी गर्छौं ।”
तर, अदालतमा अर्बौं रकम अपचलन भएकाले सो बराबरको बिगो माग गरिएको छ । यो रकम भने जोजोलाई आरोपित मानेर बिगो दायर गरिएको छ, उनीहरूबाट नै असुल हुनेछ ।
कुनै कार्यकालका अध्यक्ष ऐनबहादुर बम्जन, जिबी राई, भुपेन्द्र राई र थानबहादुर बुढाको नेतृत्वमा संस्था थियो । जसको नेतृत्वमा अपचलन भएको छ, त्यो रकम प्रतिवेदनमा छ । जसरी उनीहरूले एकलौटी रकम आफैँले प्रयोग गरे, उक्त रकम उनीहरूबाट नै भराउने हो । सरकारले अहिले सम्पत्ति रोक्का राख्ने, खोजीनीति गरेको पनि त्यही बिगोबाट भराउने भनेर मुद्दाको प्रक्रिया अगाडि बढाएको हो ।
श्रेष्ठ भन्छन्, “सरकारले थप खोजी गर्दै गरेको होला, अरू धेरै सम्पत्ति पनि भेटाएको होला, यी कुरा पनि सार्वजनिक होला भन्ने आशा छ ।”
उनले अबको हप्तापछि नै बचतकर्ताको पक्षमा केही प्रक्रियागत कामको थालनी हुने बताए । “सेयर तथा बचत सदस्यको हकमा सूचना निकाल्नुपर्नेछ । जाहेरीवालासँग पनि बसेर केही काम गर्नुपर्नेछ । अर्को हप्तादेखि हामी काम सुरु गर्छौं,” उनले भने ।
उनका अनुसार, सहकारीबाट ऋण लिएका ऋणीहरू पनि अहिले सम्पर्कमा आउन थालेका छन् । उनीहरूसँग पनि छलफल गर्नेदेखि ऋण असुलीको बारेमा विकल्पसहितको छलफल समितिले गर्ने उनको भनाइ छ ।
“अहिलेसम्म हामीसँग प्रत्यक्ष जोडिन आउनुभएका ऋणीको बारेमा पनि छलफल गर्छौं । अहिले दिनहुँ ४/५ जना ऋण लगेकाहरू सम्पर्कमा आइरहेका छन् । उनीहरूमध्ये केहीको सम्पत्ति, घरजग्गा रोक्का छ । संस्थाको नाममा साधन लिनेहरू पनि छन् । ऋण तिर्छु भनेर आउनेहरूको हकमा छिटै नै काम थाल्छौँ,” उनले भने ।
सम्पर्कमा नआउने ऋणीहरूलाई सूचना जारी गर्ने र ऋण तिर्न आह्वान गर्ने तर म्याद सकिँदा पनि ऋण तिर्न नआउनेहरूको हकमा प्रचलित कानुन अनुसार अगाडि बढ्ने उनले बताए ।
“५०/६० लाख ऋण लिनुभएर म तिर्छु भनेर आउनुभयो भने पनि कामको सुरुवात त भयो । यसले अरूलाई पनि सन्देश जाला र सबै आउनुहोला भन्ने लाग्छ । जो ऋणीहरूले ऋण लगे र अहिले तिर्न सक्ने अवस्था छैन भने निश्चित समय पनि दिनुपर्ने हुन सक्छ, त्यसमा पनि छलफल गरिन्छ,” उनको भनाइ छ ।
उनले अगाडि थपे, “बिनाधितो ऋण लगेकाहरू म धितो राख्छु, यति समय दिनुहोस् भनेर आउन पनि सक्नुहुन्छ, त्यसको विकल्पमा पनि छलफल हुन्छ । ४/६ महिना लाग्ला, केही काम गरौँ भन्ने हो,” उनी भन्छन् ।
सरकारले नै ऋणीको रकम तिरिदिने बताएर मिति तोकिदिए आफूहरूको कुर्न तया रहेको उनको भनाइ छ । "होइन भने जीबी राईबाट नै भराउने हो भने पक्राउ गर्न किन ढिलाइ गरिरहेको छ, यो हाम्रो प्रश्न हो," उनले भने ।
यस सहकारीबाट ४०० जनाले ऋण लिएका छन् । ऋणीहरू सम्पर्कमा आइरहेका छन् । उनका अनुसार, कोही हायर पर्चेजका, कोही स्कुटर पास गर्न, कोही ऋण तिर्न, घरजग्गा फुकुवा गर्न भनेर आउने गरेका छन् ।
“ऋण तिर्न आउनेहरूलाई हामीले के छुट दिनुपर्ने हो, अवस्था हेरेर समन्वय गरौँला तर लिएपछि त तिर्नुपर्छ भन्ने मानसिकता ऋणीले राख्नुपर्यो,” उनले भने ।