site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीले विराटनगरविरुद्ध प्रस्तुत गर्‍यो १९२ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले १९२ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल बनाएको हो । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो ।

Dabur Nepal
NIC Asia

लुम्बिनीले सुदूरपश्चिम रोयल्सको नाममा रहेको कीर्तिमान तोडेको हो । यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । अर्धशतक बनाउनबाट चार रनले चुकेका रोहितलाई १२.५ ओभरमा राजेश पुलामीले प्रतिश जिसीबाट क्याच गराए । रोहितले २९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । 

६४–२ को स्थितिबाट रोहितले टम मोरेससँग तेस्रो विकेटका निम्ति ३३ बलमा ६७ रनको आक्रामक साझेदारी गर्दै लुम्बिनीको इनिङ बढाएका थिए । १४औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि मोरेसले १७ बलमा एक चौका र दुई छक्कासहित ३० रन प्रहार गरे । 

लुम्बिनीको खातामा १२ रन थपेका सन्दीप जोरा १६.२ ओभरमा रनआउट भए । उनले १३ बल खेले पनि बाउन्ड्री प्रहार गर्न भने सकेनन् । साद बिन जफरले १३ बलमा एक छक्कासहित १५ रन बनाए । सन्दीप लामिछानेले गरेको १९औँ ओभरको दोस्रो बलमा जफर मार्टिन गप्टिलबाट क्याच भएका थिए । सोही ओभरको चौथो बलमा बेन कटिङ पनि रनआउट भए । कटिङले ६ बलमा एक चौकासहित ६ रन बनाए । 

त्यसअघि लुम्बिनीले चौथो ओभरको पहिलो बलमा ओपनर आशुतोष घिरैयालाई रनआउटको रुपमा गुमाएको हो । ननस्ट्राइकमा रहेका आशुतोष रन लिन अघि बढेको स्थितिको फाइदा उठाउँदै विराटनगरका निकोलस किर्टोनले उत्कृष्ट ‘थ्रो’ गर्दै रनआउट गरे । आशुतोषले १५ रन बनाए । दोस्रो विकेट लुम्बिनीले आठौँ ओभरको दोस्रो बलमा अर्का ओपनर अर्जुन साउदलाई गुमाएको थियो । साउदलाई विराटनगरका इस्मात आलमले बोल्ड गरे । उनले लुम्बिनीको खातामा १७ रन थपे । अन्तिममा अविजित रहेका विवेक यादवले १९ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका विवेकले सात बलमा तीन छक्का प्रहार गरे । रोमन सिमोन्ड्सले दुई रन बनाए । 

विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्मात आलम र राजेश पुलामीले समान एक विकेट लिए । प्रतियोगितामा तेस्रो खेल खेलिरहेको विराटनगरबाट सन्दीपको यो पहिलो विकेट हो । यसबाहेक, विराटनगरले लुम्बिनीका चार ब्याटरलाई रनआउट गरेको थियो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो । विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro