site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आईटीमा फ्रिलेन्सरले लाख रुपैयाँ कमाइरहँदा पनि गगन थापा किन ट्रोल ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कीर्तिपुरको मंसिर १३ गते चुनावीसभामा दिएको भाषणपछि ‘ट्रोल’ बने । सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप निकै भाइरल भयो– “युवाहरूले कीर्तिपुरको डाँडामा बसेर हातमा ल्यापटप राखेर महिनाको दुई–तीन लाख, चार लाख आम्दानी गर्नेछन् ।”

मुलुकले आईटीमार्फत खर्बको निर्यात गरिरहेकै छ । सूचना प्रविधि क्षेत्रमा नेपालमै अवसर बढ्दै गएको छ । सरकारले अझ अवसर सिर्जना गर्नुपर्ने धारणा राख्दै उनले त्यसो भनेका थिए ।

उनले भनेका थिए, “कीर्तिपुरलाई नेपालको यस्तो नमुनाको नगर बनाउन सकिन्छ । जसको घरबाट निस्केका बच्चाहरूले अबको पाँच, छ, सात, आठ वर्षपछि । यी कतार जाने छैनन्, मलेसिया जाने छैनन्, इजरायल जाने छैनन्, यहीँ कीर्तिपुरको डाँडोमा बसेर हातमा ल्यापटप राखेर महिनाको दुई लाख तीन लाख, चारलाख यहीँ डाँडामा बसेर आम्दानी गर्नेछन् ।”

Dabur Nepal
NIC Asia

अवसरका निम्ति विदेश मात्रैको भाष्य बन्दै गएको माहोल चिर्न उनले नेपालजस्तो देशलाई सूचना प्रविधिले अवसर ल्याएको बोली राखेका थिए ।

उनले भनेका थिए, “केटाहरू कतार काम गर्न गएका छन् । बहिनीहरू इजरायल काम गर्न गएका छन् । कतार काम गर्न जाने कुरा, इजरायल काम गर्न जाने कुरा मुठ्ठी कसेर मात्रै उनीहरू फिर्ता आउँदैनन् । कतारमा पाएको भन्दा बढी तलब यहाँ पाउने अवस्था बनाउन सक्यो भने मात्र आउँछन् । म सक्छु भन्ने ठान्छु, म भनेको म नेपाली कांग्रेस । हामी सबैले सक्छौँ भन्ने ठान्नुपर्छ । सकिन्छ, यहीँ बसेको केटाकेटीलाई महिनाको तीनलाख चारलाख कमाउने दिने बनाउन सकिन्छ ।’’

चुनावीसभामा प्रतिपक्षी उमेदवारहरूविरुद्ध टिप्पणी गर्दै जाँदा र आफ्नो दलको पक्षमा प्रस्तुति राख्दै जाने क्रममा निरन्तर बोलिरहेका थापाले सूचना प्रविधिले अवसर सिर्जना गरिदिएको टिप्पणी गरेका थिए ।

कीर्तिपुरको भाषणपछि गगन थापा हाँसोको पात्र बने । तर, यथार्थमा नेपालमा सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोफेसनल एवं फ्रिलेन्सरहरूले नेपालमै रहेर विदेशीलाई सेवा दिँदै आकर्षक आम्दानी गरिरहेका छन् ।

फ्रिलेन्सरहरूले विदेशमा आईटी सेवा निर्यात गरेर राम्रो आम्दानी गरिरहेको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास–आईटी)का अध्यक्ष सन्तोष कोइरालाले बताउँछन् । 

“विदेशी कम्पनीहरूका लागि नेपालबाटै काम गरेर लाख, दुई लाख रुपैयाँ कमाउने र डलर भित्र्याउने फ्रिलेन्सहरू धेरै छन्,” आईटी सेवा निर्यात गर्ने कम्पनी टेकक्राफ्टका इंकका कार्यकारी निर्देशकसमेत रहेका अध्यक्ष कोइरालाले भने ।

नेपालबाट आईटी सेवा निर्यात गर्ने कम्पनीभन्दा बढी फ्रिलेन्सहरू रहेको यस क्षेत्रमा काम गरिरहेका प्रोफेसनलहरूको भनाइ छ ।

गगनमात्रै नभएर पछिल्लो दुई/तीन वर्षयता सबैजसो राजनीतिक दलका राजनीतिज्ञहरूले सूचना प्रविधिमार्फत देशलाई नयाँ उचाइँ दिने र दिन सकिने ‘एजेन्डा’ मत पाउन र जनताको मन जित्न प्रयोग गर्दै आएका छन् ।

चालु आर्थिक वर्षको बजेटमा नै सरकारले १० वर्षमा ३० खर्बको आईटी निर्यात गर्ने लक्ष्यसहित यस वर्षलाई ‘आईटी दशक’को सुरुवाती वर्ष भनको छ । फ्रिलेन्सरहरूले काम गर्न मिल्ने इन्टरनेट, विद्युत् र सुरक्षासहितको आईटी पार्क बनाउने र तीन वर्ष नि:शुल्क वर्क स्टेसन सञ्चालन गर्न दिने विषय बजेटमा छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा आईटी एवं अनलाइनमार्फतको सेवा निर्यात गरी नेपालमा करिब १८ अर्ब रुपैयाँ भित्रिएको छ ।

आईटीजन्य सेवा निर्यातमा वेबसाइट, सफ्टवेयर, एप बनाउने, मर्मत गर्ने मात्रै नभएर बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) पनि रहने नास आईटीका अध्यक्ष कोइरालाको भनाइ छ ।

त्यसैले अनलाइनमार्फत विदेशमा दिइएका लिगल, अकाउन्टिङ, म्यानेजमेन्ट, कन्सलटेन्सिी, म्यानेजेरियल, विज्ञापनलगायत सेवाहरूलाई पनि आईटीभित्रै राख्दा तीन महिनामै १७ अर्ब ९४ करोडरुपैयाँभन्दा बढी आम्दानी नेपालले गरेको राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ ।

गएको आर्थिक वर्ष २०८०/०८१ भरि यस्तो सेवा एक खर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको देखिन्छ । तर, यो दूरसञ्चार, कम्प्युटर तथा इन्फरमेसन सेवा र अन्य व्यावसायिक सेवा निर्यातको तथ्यांक हो । छुट्टाछुट्टै शीर्षकमा विवरण नहुँदा आईटीजन्य (कम्प्युटर एन्ड इन्फरमेसन) र बीपीओजन्य निर्यातको यकिन तथ्यांक छैन । तर, निर्यातको ठूला हिस्सा यी दुवै क्षेत्रको भएकाले वास्तविक निर्यातको आँकडा एक खर्बभन्दा केही कम हुन जान्छ ।

आर्थिक वर्ष २०७९/०८० मा आईटी निर्यात ८५ अर्ब १६ करोड रुपैयाँको थियो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ५७ अर्ब ७३ करोड रुपैयाँको थियो । यसरी पछिल्ला वर्षमा निरन्तर नेपालबाट अनलाइनमार्फत सेवा निर्यात गरेर हुने आम्दानी बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकबाट स्पष्ट देखिन्छ ।

तर, के यो सम्भव राजनीतिक दलका नेताको भाषण र उनीहरूले सरकारमा हुँदा गरिदिएको सहजता एवं सुविधाले भएको हो ? यो प्रश्नमा आईटी क्षेत्रको जवाफ छ– ‘होइन ।’

नेपालमा हालसम्म आईटी क्षेत्रले जति पनि उपलब्धि गरेको छ, त्यो उनीहरूले आफ्नो क्षमताका आधारमा गरेको जानकार बताउँछन् । नेताहरूले भने ती उपलब्धिहरूलाई सार्वजनिक ठाउँमा भोट र जनमत संकलन गर्ने काममा प्रयोग गरेको आईटी क्षेत्रका सरोकारवालाको गुनासो छ ।

आईटी क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका डा. राजीव सुब्बा नेपालका आईटी कम्पनीले गरिरहेको निर्यातका आधारमा बोल्ने हो भने गगन थापाले वास्तविक टिप्पणी गरेको बताउँछन् । कीर्तिपुरमा सानो आईटी पार्क बनाउँदा झन् राम्रो हुन सक्ने उनको भनाइ छ ।

“नेपालको आईटी निर्यातको परिदृष्यमा नेपाली कम्पनीको निर्यातको सम्भावना हेर्दा गगन थापाले जे बोलेका हुन् ठिकै बोले । काभ्रेको बनेपामा आईटी पार्क चलेन, कीर्तिपुरमा मिनी आईटी पार्क बनाउने हो भने विश्वविद्यालयबाट पनि नजिक हुने, क्रिकेट मैदान पनि नजिक छ, राम्रो चल्न सक्छ त्यहाँबाट राम्रो आईटी सेवा निर्यात हुन सक्छ । अब कीर्तिपुरमा कांग्रेसले जित्यो, बनाउला कि !,” डा. सुब्बा भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro