site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनविरुद्ध पोखराको लज्जास्पद हार  

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकालेको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमा ७४ रनमै समेटियो । प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जित हो । चितवनले यसअघि पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालको थियो ।

पोखराका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । पोखराबाट नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाए । उनले २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । मार्कस क्रितकेलीले १६ बलमा दुई चौकासहित १७ रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

Dabur Nepal
NIC Asia

पोखराले पहिलो पावर प्लेको पहिलो ओभरमा कप्तान कुशल भुर्तेल, दीलिप नाथ र बास डे लिडेलाई गुमाएको थियो । चितवनका सोहेल तान्विरले इनिङको पहिलो बलमै पोखराका कप्तान कुशललाई ‘रोयल डक’ गरे । 

यस्तै, चौथो बलमा चार रन बनाएका दीलिपलाई र त्यसपछि ब्याटिङमा आएका बास डे लिडेलाई ‘गोल्डेन डक’ गरे । यसपछि चौथो ओभरमा रिजन ढकालले पनि तीन विकेट लिए । सो ओभरको पहिलो बलमा रिजनले दीनेश खरेल, चौथो बलमा किरण ठगुन्ना र अन्तिम बलमा माइकल लिस्कलाई आउट गरे । 

सातौँ ओभरको दोस्रो बलमा चितवनका लुक बेन्केन्स्टाइनले पोखराका रेमन रेफरलाई विपीन रावलबाट क्याच गराए । रेफरले पोखराको खातामा एक रन थपे । ११औँ ओभरको दोस्रो बलमा पोखराका मार्कस क्रितकेलीलाई बेन्केन्स्टाइनले एलबीडब्लूको धरापमा पारे । १३औँ ओभरको पाँचौँ बलमा पोखराका नारायण जोशीलाई बेन्केन्स्टाइनले सन्तोष कार्कीबाट क्याच गराए । पोखराका दीनेश र किरणले समान एक रन बनाउँदा लियस्क ‘डक’ भए । 

चितवनका सोहेल तान्विर, रिजन र लुक बेन्केन्स्टाइनले समान तीन विकेट लिए । दीपक बोहराको नाममा एक विकेट रह्यो । समान तीन ओभर बलिङ गरेका तान्विर र रिजनले एक मेडन फ्याक्दै क्रमशः ६ र १० रन खर्चिए । 

पहिलो इनिङ : बोपाराको अर्धशतक 
त्यसअघि टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा ग¥यो । चितवनका बोपाराले ५१ रन बनाए । बोपाराले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । 

योसँगै बोपारा एनपीएलमा अर्धशतक प्रहार गर्ने पाँचौँ ब्याटर बने । यसअघि विराटनगरका मार्टिन गप्टिल, जनकपुरका अनिल साह र लहिरु मिलान्थासँगै सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । 

४६–३ को कठिन स्थितिबाट बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका निम्ति ६८ रनको साझेदारी गर्दै चितवनको इनिङ सम्हालेका थिए । बोपारा १६औँ ओभरको अन्तिम बलमा रेमन रेफरको बलिङमा मार्कस क्रितकेलीबाट क्याच हुँदै पभेलियन फर्किएका थिए । 

यी दुई क्रिजमा हुँदा चितवनले पहिलो १० ओभरमा ९३ रन बनाएको थियो । तर, यसपछिका ब्याटर क्रिजमा लामो समय टिक्न नसक्दा चितवन विशाल योगफलसम्म पुग्न सकेन । कुशलले २३ बलमा एक चौका र चार छक्कासहित ३८ रन बनाए । उनी १४औँ ओभरको दोस्रो बलमा सागर ढकालको बलिङमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए । 

यसबाहेक, लुक बेन्केन्स्टाइनले १६ रन बनाएका थिए । छैटौँ ओभरका दोस्रो बलमा बास डे लिडेले गरेको बलिङमा कुशल भुर्तेलबाट क्याच हुनुअघि बेन्केन्स्टाइनले १३ बलमा एक चौका र दुई छक्का प्रहार गरे । ओपनर हसन आइसाखिलले १० बलमा एक चौका र एक छक्कासहित १४ रन बनाए । 

हसन पाँचौँ ओभरको पहिलो बलमा विपीन खत्रीको बलिङमा कुशल भुर्तेलबाट क्याच भएका थिए । सन्तोष खत्रीले १३ बलमा ११ रन थपे । उनी रेमन रेफरले गरेको १८औँ ओभरको पाँचौँ बलमा विपीन खत्रीबाट क्याच भए । अविजित रहेका अमर रौटेलाले १३ र शदर भेषवाकरले ११ रन बनाए । दीपक बोहराले दुई रन थप्दा सोहेल तान्विर भने ‘गोल्डेन डक’ भए । 

दीपकलाई पोखराका विपीनले बोल्ड गर्दा तान्विर बास डे लिडेको बलमा एलबीडब्लूको सिकार बने । पोखराका विपीन खत्री, बास डे लिडे र रेमन रेफरले समान दुई विकेट लिए । सागर ढकालको नाममा एक विकेट रह्यो । 

प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । 

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध ९० रनको जित दर्ता गरेको थियो । प्रतियोगितामा बुधबार पनि दुई खेलहरू हुँदै छन् । बुधबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाज र दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले खेल्नेछन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro