केएटीएच ९७.९ एफएम (हाल इमेज एफएम)को उद्घाटनको दिन थियो । तत्कालीन युवराज दीपेन्द्र वीरविक्रम शाहले एफएमको उद्घाटन गर्दै थिए । एफएमले दीपेन्द्रलाई मनपर्ने पाँचवटा गीत बजाएको थियो । त्यसमा ‘माया मेरी माया’ पनि थियो ।
यो गीत थियो, सञ्जय श्रेष्ठको । दिनभरि यी पाँचवटा गीत पटकपटक बजे ।
बूढानीलकण्ठ स्कुलमा सेफ सन्ध्या हुन्थ्यो । त्यहाँ सञ्जयले यो गीत पर्दा खुल्नेबित्तिकै र बीचमा पनि गाउनुपर्थ्यो । त्यसपछि उनले थाहा पाए, दीपेन्द्रलाई यो गीत मनपर्दो रहेछ ।
त्यसपछि ?
संगीतकार शुभबहादुर सुनामले सञ्जयलाई एउटा गीत पठाए । सुनामले नै संगीत पनि गरे । संगीत राम्रो, गीत पनि । सञ्जयको स्वरमा रेकर्ड पनि भयो । त्यो गीत थियो, तत्कालीन युवरानज दीपेन्द्रको ।
गीत बजारमा निकाल्ने चरणमा थियो । तर, दरबार हत्याकाण्ड भयो । त्यसमा दीपेन्द्रको पनि निधन भयो । गीत बजारमा आएन ।
“मैले दीपेन्द्रसँग तीनपटक भेटेँ । मिजासिलो स्वभावको हुनुहुन्थ्यो । संगीतमा उहाँको एकदमै रुचि थियो । गीत सुनेर थ्यांक यु भन्नुभयो,” सञ्जय नोस्टाल्जिक हुन्छन् ।
दीपेन्द्रले गीत लेख्न रहर मात्र नगरेको भन्दै सञ्जय गीत लेखनमा शिल्प पनि रहेको दाबी गर्छन् । सञ्जयलाई गीत मनपर्यो । दीपेन्द्रले इटन कलेज लन्डनमा पढ्दा लेखेका रहेछन् ।
“सायद त्यो टाइपराइटरमा लेख्नुभएको थियो । त्यो पेपर अहिले पनि मसँग छ,” सञ्जय भन्छन् । दीपेन्द्रले लेखेको गीतको दुई लाइन सुनाए सञ्जयले–
मुस्कान सुन्दर बोकेको, त्यो चुमूझैँ लाग्दछ
मायालाई साथ लिएर संसार घुमूझैँ लाग्दछ
यो गीतलाई सञ्जय सरल तर राम्रो भन्छन् । बजारमा चल्ने खालको शब्द भन्छन् ।
सञ्जय अहिले यो गीत रि–रेकर्डिङको तयारीमा छन् । केही समयपछि दीपेन्द्रको शब्द रहेको गीत स्रोतादर्शकले सुन्न पाउने सञ्जयले बताए ।
“दीपेन्द्रलाई गिटार मन पर्थ्यो । मैले सुनेको उहाँलाई बेस गिटार बजाउने ठूलो रहर थियो,” सञ्जय भन्छन्, “राजपरिवारमा संगीत र साहित्यमा गहिरो लगाब थियो, जुन गीत र कवितामार्फत उजागर भएको छ ।”
० ० ०
सन् १९९२ मा गाएको ‘माया मेरी माया’ उनलाई नेम र फेम दिने गीत हो । यो गीत बजारमा ल्याउनुअगाडि निकै संघर्ष गर्नुपरेको थियो ।
सञ्जय ‘क्रसरोड’ एल्बम निकाल्न भनेर थुप्रै म्युजिक कम्पनी पुगे । हरेक म्युजिक कम्पनी उनको गीत सुन्थे र भन्थे– राम्रो लागेन । निकाल्न सकिँदैन । अन्तै कतै ट्राई गर्नुस् ।
आजित भइसकेका सञ्जय अन्नपूर्ण क्यासेट सेन्टर पुगे । यो क्यासेट सेन्टर थियो, पपगायक भीम तुलाधरको । उनले आफ्नो कम्पनी गीत निकाल्ने अवस्थामा नरहेको भन्दै एक ठाउँमा जान सुझाए । भीमले सिफारिस गरेको व्यक्ति र कम्पनी भने एकाएक पोजेटिभ देखिए । अरूले सुनेर फ्याँकेका गीत निकाल्न तयार भए ।
त्यही एल्बममा थियो, ‘माया मेरी माया’ । क्यासेटमा गीत निकाल्ने जमाना थियो । सम्भावना बोकेका गीत साइड ‘ए’मा राखिन्थ्यो । त्यसमा पनि स्रोताले सबैभन्दा मन पराउलान् भनेर अपेक्षा गरिएका गीत क्रमशः एक, दुई, तीन... गर्दै राखिन्थ्यो ।
सञ्जयले ‘माया मेरी माया’ साइड ‘बी’को पनि तीन नम्बरमा राखेका थिए । यसको अर्थ यो गीतमा स्वयं उनलाई पनि भरोसा थिएन ।
तर, त्यही गीत स्रोताले मन पराए । सञ्जयलाई चिनाउने गीत नै यही बन्यो ।
“म आफैँले पनि विश्वास गरेको गीत होइन यो । तर, सरल शब्द र सहजिलै गाउन सकिने संगीत भएकाले यो गीत मन पराइयो भन्ने लाग्छ,” सञ्जय समीक्षा गर्छन्, “सामान्य तरिकाले बोलेजस्तो गीत छ । यही सिम्पिलिसिटी नै स्रोताको रोजाइ बन्यो ।”
यो एल्बम ३५ लाखभन्दा धेरै कपी बिक्री भयो । एउटा कपी बिक्री हुँदा उनको हातमा चार रुपैयाँ हात लाग्थ्यो । पैसाभन्दा पनि सोख र मिहिनेत रिकभर होस् भनेर निकालेको एल्बमले ठूलो परिमाणमा व्यापार गर्यो । नाम र दाम सञ्जयले एकैपटक हात पारे । भलै, ब्यान्ड मेम्बरहरूमा रोयल्टी बाँडफाँट हुन्थ्यो । र पनि उनको हातमा आएको पैसा कम थिएन ।
० ० ०
इन्टरनेटले प्रवेश पाइनसकेको समय थियो । कलाकारको गजबको इज्जत हुने समय थियो । कन्सर्टमा कलाकारलाई हेर्न हजारौँ दर्शक आउँथे । ओपन स्पेसमा कन्सर्ट हुन्थ्यो । त्यो कन्सर्टको चार्म नै बेग्लै हुन्थ्यो ।
अहिले त्यस्तो कन्सर्ट हुँदैन ? ‘हुँदैन’ उनी जवाफ दिन्छन् । त्यही समय हजारौँको भीड हुन्थ्यो । स्टेजमा हुने ब्यान्ड मेम्बरले लाइभ म्युजिक बजाउँथे । त्यसको मजै बेग्लै हुने उनी सम्झिन्छन् ।
“कन्सर्ट सकिएपछि अटोग्राफको छुट्टै सेसन हुन्थ्यो । रगतले लेखेका चिठी दिन्थे । साइन गराउन लुगा र डायरी लिएर फ्यान आउँथे,” सञ्जय अतीततिर फर्किन्छन्, “कतिको त शरीरभरि साइन गरिदिनुपर्थ्यो । अनौठाअनौठा फ्यान हुन्थे । सबै कुरा त भन्न पनि सकिँदैन । पोस्ट अफिसमा चिठीको चाङ हुन्थ्यो ।”
त्यो समय पपगीतको माग र चार्म अनुभव गरेका सञ्जय अहिलेका कन्सर्टलाई म्युजिकल शो भन्छन् । होटेलमा आठदशजना खाना खाइरहेका बेला गाउँदा पनि कन्सर्ट भन्ने गरिएको सञ्जय टिप्पणी गर्छन् । ट्रयाकमा गाउँदा कन्सर्टको फिल नै नआउने उनको अनुभूति छ ।
सञ्जय गायक मात्र होइनन्, सिनेमाको ब्याकग्राउन्डस्कोरर पनि हुन् । नेपाली चलचित्र ब्याकग्राउन्डस्कोरका निम्ति भारत गइरहेको समयमा उनले यहीँ ब्याकग्राउन्डस्कोर गर्न थालेका थिए ।
कम्पोज र एरेन्जमा पनि सञ्जयको शिल्प त्यतिकै चल्छ, जति गायनमा चल्छ । त्यसैले त उनले विज्ञापन निर्माणमा पनि आफूलाई माथिल्लो श्रेणीमा राख्न सके । टेलिकमदेखि वाइवाइसम्मको विज्ञापन उनैले बनाएका हुन् । नेपाल टेलिभिजनको लोगो म्युजिक सञ्जयकै हो । त्यसैले त गीत बज्दा पनि छुट्दैदनन् सञ्जय । विज्ञापन बज्दा पनि गुन्जिन छोड्दैनन् सञ्जय ।