शिक्षा प्रणालीका तीन पक्ष – विद्यार्थी, विद्यालय र अभिभावकमध्ये विद्यालय र विद्यार्थीबारे प्रशस्त चर्चा र बहस भए पनि अभिभावकको व्यवहार, अभ्यास र जान्नुपर्ने कुरामा यथोचित बहस भएको पाइँदैन ।
अध्ययन सामग्रीको पनि अभाव छ, संस्थागत रूपमा अभिभावकलाई सिकाउने र सिक्ने ठाउँको पनि अभाव छ । अभिभावकहरू पनि शिक्षाको एक अभिन्न अंग हुन् भन्ने नै बिर्सिएको अनुभव भइरहेको बेला लेखक धीर भण्डारी लिखित पुस्तक ‘अभिभावक शिक्षा : असल सन्तान निर्माणका व्यावहारिक अभ्यास’ हालै बजारमा आएको छ ।
प्रेरणामूलक कृतिदेखि उपन्यास, कथा र संस्मरण लेखनमा कलम चलाइरहनुहुने धीर भण्डारीको यो कृति प्रकाशनका दृष्टिले पाँचौँ हो । परिवर्तनकारी जीवनदृष्टि, परिवर्तनकारी कार्यशैली, मृतात्माको डायरी, समृद्धि विज्ञान, समाज सेवामा महिलाहरूको योगदान आदि कृति प्रकाशित भइसकेकोे छ । लेखकको यो कृति बालबालिकाको हुर्काइ र सिकाइका व्यावहारिक ज्ञान र अभ्यासमा अभिभावकलक्षित छ ।
यस कृतिको शीर्षकले पुस्तकको मुख्य विषय के हो त्यसको संकेत गर्दछ । ‘अभिभावक शिक्षा ः असल चरित्र निर्माणका व्यावहारिक अभ्यास’ पुस्तकमा लेखकले बालबालिकाको चरित्र विकासका लागि अभिभावकले के कसरी व्यवहार गर्नुपर्छ, के कुरा बुझ्न आवश्यक हुन्छ, अनि कसरी घरभित्रको शिक्षा दिनुपर्छ भन्ने सविस्तार चर्चा गर्नुभएको छ ।
पुस्तकले अभिभावकत्वको सुरुआत बच्चा जन्मेपछि मात्र होइन, गर्भधारणभन्दा अगाडिदेखि नै हुनुपर्छ भन्ने मान्यता एवं अभिभावक सचेतनाको लागि सामग्री पस्किएको छ । बालबालिकाले अभिभावकप्रति र अभिभावकले बालबालिकाप्रति गर्ने गुनासा, बनाएका मान्यता र अवधारणा अनि विज्ञहरूका निचोड र अध्ययन निष्कर्षलाई सुरुमै राखेर पुस्तकले उठान गरेका विषयहरूको संकेत सुरुमै गरिदिनुभएको छ लेखकले ।
लामाछोटा गरी कुल १३ अध्याय रहेको यस पुस्तकमा सन्तान र बालबालिकाको लालनपालन र सिकाइबारे हाम्रो समाजमा प्रचलित मान्यता, बाल सिकाइबारे हाम्रा भ्रम र यथार्थ, अभिभावकत्वको सुरुआत, बालबालिका गिलो माटोका डल्ला कि मलिलो माटो ? सन्तान सम्पत्ति कि अतिथि ? जस्ता आमाबाबु त्यस्तै सन्तानको अवधारणा, गर्भावस्थामा बाल सिकाइ, सुनौला हजार दिनमा बाल स्याहार र सावधानी, बाल सिकाइका प्रवृत्ति र बालमनोविज्ञानका आधारभूत अवधारणा, प्रभावकारी बाल सिकाइमा अभिभावकको भूमिका, सकारात्मक बाल सिकाइका लागि अभिभावकले जान्नुपर्ने कुरा र पद्धति, घरभित्रको शिक्षामा सुधारका पक्षहरू आदिबारे पुस्तकले विस्तारपूर्वक चर्चा गरिएको छ ।
पुस्तकको अन्त्यमा प्रस्तुत ‘शिक्षाविज्ञहरूका दृष्टिमा यो पुस्तक’ प्रकाशनपूर्व नै पाण्डुलिपिउपर अनुभवी विज्ञहरूको रायसल्लाह लिएर मात्र अन्तिम स्वरूप प्रदान गरिएको छनक मिल्छ । उक्त खण्डमा उल्लिखित रमाकान्त सापकोटाले पुस्तकभित्रका तीन महत्त्वपूर्ण विशेषता औँल्याउनुभएको छ—
‘शिशु जन्माउन चाहने आमाबाबुको तन र मनको स्थिति तथा गर्भ र गर्भपछिका दुई वर्षभित्रको वातावरण बाल विकासमा निर्णायक हुन्छ । यसैलाई सुनौला हजार दिन भनिन्छ । यसको व्यावहारिक अभ्यास यस पुस्तकभित्र छ ।
सिकाइ जीवनको प्रारम्भबाट हुनुपर्छ, स्वतन्त्र रूपले र प्राकृतिक वातावरणमा हुनुपर्छ भन्ने डाक्टर मारिया मन्टेसरीको निष्कर्ष तथा बगैँचाका बेग्लाबेग्लै फूलहरूजस्तै बालबालिकामा जन्मजात नै व्यक्तिगत विभिन्नता हुन्छन् । सोहीअनुसार वातावरण दिन आवश्यक छ भन्ने फ्रेडरिक अगस्ट फ्रोबेलको निष्कर्षजस्ता सान्दर्भिक सिद्धान्त, अभ्यास र प्रयोगका सरल तरिकाहरू सिक्न–सिकाउन यो पुस्तक उपयोगी छ ।
सबै मानिस हिजो, आज वा भोलिका अभिभावक हुन् । आमाबाबुलगायत बालक हुर्कन र सिक्न सहजीकरण गर्ने शिक्षकहरूलाई तालिम आवश्यक भएजस्तै जीवन सिकाउने अभिभावक पनि उत्तिकै ज्ञान, सीप सिक्न तालिम प्राप्त गर्न आवश्यक हुन्छ । अभिभावकहरू स्व–अध्ययन तालिम सामग्रीको रूपमा प्रस्तुत कृतिको अध्यनबाट यथेष्ट ज्ञानको भण्डार ग्रहण गर्न सकिन्छ भन्ने विश्वास लिएको छु ।’
यस पुस्तकको रचनागर्भबारे पुस्तकको सुरुमै लेखकले उल्लेख गर्नुभएको छ, ‘०७६ सालको फागुनतिर हुनुपर्छ, मेरा अगिल्ला पुस्तकहरू–‘परिवर्तनकारी जीवनदृष्टि’, ‘परिवर्तनकारी कार्यशैली र समृद्धि विज्ञान’ प्रकाशित भइसकेपछि सांग्रिला पुस्तक प्रालिका मणि शर्मा र म एक दिन नयाँ पुस्तक लेखनबारे कुरा गर्दै थियौँ, अभिभावक शिक्षाको कुरा निस्क्यो ।
उनले भने, “धीर सर, तपाईंसँग यसको अध्ययन पनि छ, लेख्न पनि जान्नुहुन्छ, यस विषयमा एउटा पुस्तक लेखौँ न । ..नेपाली सन्दर्भमा एउटा पुस्तक अति जरुरी छ ।”
मलाई पनि यो विषय खट्किरहेको थियो । समय बित्दै गयो । कोरोनाको महामारीले चेप्दै लग्यो । त्यति बेला के गर्ने त भनेर लामै समय हामीले त्रिभुजीय शिक्षासम्बन्धी चिन्तन र छलफल चलायौँ । जब मैले यो चिन्तन शृंखला चलाउन थालेँ, मलाई लाग्यो– शिक्षाको सबैभन्दा बढी सुधार गर्नुपर्ने क्षेत्र त अभिभावक नै रहेछन् । अभिभावकलाई सुधार नगरी हाम्रो बालबालिकाको सिकाइ उपलब्धि परीक्षाको अपेक्षित परिणाम पनि आउँदैन र शिक्षाले सुधारको बाटो समात्न सक्तैन ।
...त्यसपछि मैले यससँग सम्बद्ध विषयहरूको अध्ययन सुरु गरेँ । देश र विदेशबाट प्रकाशित बालमनोविज्ञान, अभिभावक शिक्षासम्बन्धी सामग्रीहरू अध्ययन गरेँ । विभिन्न स्कुलका शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच अन्तरक्रिया गरेँ । उनीहरूका भनाइ र अपेक्षा सुनेँ । अभिभावक शिक्षाका बारेमा मलाई लागेका कुरा भनेँ । विचार माझामाझ गरेँ । त्यसपछि मलाई लाग्यो, यो अनुभव र अध्ययन त्यसै खेर फाल्नु हुँदैन । यी कुरा समेटेर एउटा पुस्तक त लेख्नैपर्छ ।’
यसरी गर्भाधान भएको लामो समयसम्म परिमार्जित, थपघट, काँटछाँट गर्ने अवसर पाएकाले पनि होला, पुस्तक बालबालिकाको हुर्काइ र लालनपालनका विविध आयामलाई समेट्न समर्थ भएको छ । विषयसँग सम्बद्ध अनेक उदाहरण, घटना र कथाहरू समावेश गरेर विषयलाई सम्प्रेषणीय र बोधगम्य बनाइएको छ ।
पुस्तकको औचित्यबारे लेखकको भनाइ यस्तो छ, ‘विवाहित दम्पतीहरूमध्ये अधिकांशको चाहना हुन्छ, सन्तान जन्माउने, उनीहरूलाई असल बनाउने र अभिभावक हुनुको गौरवबोध गर्ने । कसैले पनि आफ्नो सन्तान असल नहोस्, खराब होस् भन्ने चाहँदैन ।
...आफ्नो सन्तानलाई असल बनाउन जानेअनुसार, भोगेअनुसार, ज्ञानअनुसार, क्षमताअनुसार प्रयत्न पनि गरिरहेका हुन्छन्, तर त्यो प्रयत्नले उनीहरूले चाहना राखेअनुसारको सन्तान बनिरहेको भने हुँदैन । ...उनीहरूलाई सानोमा हामीले गर्ने निर्देशन र व्यवहारले कस्तो प्रभाव पार्छ भन्नेजस्ता आधारभूत जानकारी नै नभएपछि हामीले गर्ने कामहरू र निर्देशनले मात्र कसरी चाहेजस्तो परिणाम दिन सक्छ ? यही कारणले हामी आफ्नो सन्तानलाई एक प्रकारको बनाउने इच्छा राख्छौँ, तर ऊ भने अर्कै बन्न पुग्छ ।’
यिनै समस्याहरूमा केन्द्रित भएर लेखकले पुस्तकको नाम नै अभिभावक शिक्षा राख्नुभएको बुझिन्छ । लेखक तथा प्रेरक वक्ता लक्ष्मण भण्डारीले पुस्तकबारे दिनुभएको निचोडबाट पनि पुस्तक कति उपयोगी छ भन्ने बुझ्न सकिन्छ ।
लक्ष्मण भण्डारी लेख्नुहुन्छ, ‘अभिभावक शिक्षा’ विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकका लागि लेखकले तयार पार्नुभएको एउटा निर्देशिका हो । विशेष गरी आफ्ना छोराछोरी कसरी राम्रा बनाऊँ भनेर चिन्ता र चासो प्रकट गर्ने बाबुआमाले यस पुस्तकबाट प्रशस्त लाभ ग्रहण गर्न सक्नुहुनेछ । बाबुनानीसँग काम गर्दा अथवा उनीहरूको सिकाइमा सहजीकरण गर्दा ध्यान दिनुपर्ने अत्यन्त व्यावहारिक विषय र तिनको व्यावहारिक समाधान पुस्तकमा उल्लेख गरिएका छन् । सारमा भन्नुपर्दा अभिभावक शिक्षाका लागि प्रस्तुत पुस्तक अत्यन्त उपयोगी पुस्तक बन्न पुगेको छ । आजका लागि आवश्यक र उपयोगी पुस्तकका लागि लेखकलाई धेरैधेरै धन्यवाद, धेरैधेरै बधाई !!’
यो पुस्तक भाषिक दृष्टिले अत्यन्त सरल छ । सरल र मितव्ययी भाषा कुशल लेखकको विशेषता हो भन्ने तथ्य पाठकको हैसियतले उहाँका सबै मौलिक र अनुवादित कृतिको अध्योपान्त अध्यनबाट मैले महसुस गरको छु । यस जादुगरी कलामा लेखक सफल देखिनुहुन्छ ।
यसमा अध्यायको अन्तिममा हरेक अध्यायका मुख्य कुरा बुँदागत रूपमा प्रस्तुत गरेर लेखकले पाठकलाई पढेका विषय संक्षेपमा सम्झन र बुझ्न सहज गरिदिनुभएको छ । प्रेरणामूलक कृति लेखनमा सिद्धहस्त भएर पनि होला, प्रसिद्ध लेखक शिव खेराले झैँ हरेक अध्यायको अन्त्यमा त्यस अध्यायभित्रका मुख्य कुरा, दैनिक रूपमा अभिभावकले गर्नुपर्ने अभ्यास अनि भावी कार्ययोजनाका लागि सुझाव प्रस्तुत गरेर पुस्तकलाई तालिम निर्देशिका वा तालिम पुस्तिकाको रूपमा पनि उपयोगी हुन सकोस् भन्ने ध्येय राख्नुभएको बुझिन्छ, जुन यो पुस्तकको साह्रै सुन्दर पक्ष हो । अगाडिबाट पढ्दै जाँदा सारवस्तु बुझ्न अलमल भएको रहेछ भने अन्तिम खण्डमा रहेका मुख्य बुँदाहरू पढेपछि अध्यायको निचोड बुझ्न यसले हामीलाई सजिलो बनाउन सक्छ ।
पुस्तक पढ्ने मात्र होइन, त्यसलाई अभ्यासमा पनि लानुपर्छ भन्ने बुझाउन लेखकले पाठकलाई केही गृहकार्यहरू समेत दिनुभएको छ । दैनिक रूपमा गर्नुपर्ने अभ्यास र कार्ययोजनाका लागि सुझाव दिएर यसलाई कसरी व्यावहारिक रूपमा उपयोग गर्न सकिन्छ भनेर संकेत लेखकले नै गरिदिनुभएको छ । यसमा उल्लेख गरिएका कुराहरू मात्र गर्ने हो भने पाठक, अभिभावकगण तथा शिक्षकवर्गले समेत यसलाई आफ्नो जीवन व्यवहारमा स्वतः लागु गर्न सक्षम हुन सक्छन् ।