site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका मुख्यमन्त्री र मन्त्रीहरूमा कसको सम्पत्ति कति ? (विवरणसहित)

विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकार गठन भएको लामो समयपछि मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै सरकारको आलोचना भइरहेका बेला कोसी सरकारले शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

वेबसाइटमा सार्वजनिक गरिएको विवरणअनुसार, मुख्यमन्त्री हिक्मत कार्कीको स्थायी ठेगाना गौरादह तथा ललितपुरको महालक्ष्मी नगरपालिकामा दुईवटा घर छन् । ती स्थानमा घरले चर्चिएको जमिन क्रमश: एक कठ्ठा १० धुर र १३२ र २८६ वर्गमिटर जमिन छ । गौरादहको घर मुख्यमन्त्री कार्कीले पैतृक सम्पत्तिको बिक्री र वृद्धिबाट निर्माण तथा गरेको जनाइएको छ ।

ललितपुरको घर भने एभरेस्ट बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएर निर्माण भएको जनाइएको छ । अघिल्लोपटक मुखयमन्त्री हुँदा २७ चैत २०७९ मा सार्वजनिक गरिएको विवरणमा समेत कार्कीको ऋण ९० लाख नै देखाइएको थियो ।

कार्कीको गौरादहमा पैतृकबापत प्राप्त थप दुई कठ्ठा जमिनसमेत रहेको उल्लेख छ । यसैगरी, विवाहको बेला प्राप्त ६ तोला सुन र १० तोला चाँदी प्राप्त भएको विवरणमा जनाइएको छ ।

मुख्यमन्त्रीको नाममा विभिन्न बैंकमा रहेको नगद मौज्दात एक लाख १६ हजार ६८८ रुपैयाँ रहेको छ । ड्रिमल्यान्ड हाउजिङमा १० हजार कित्ता, सहिद मेमोरिय अस्पताल कंकीमा एक हजार ५०० कित्ता सेयर छ । यसैगरी, श्रीमती अन्जना पाण्डेको नाममा लिभरपुल एजुकेसन नेटकर्व प्रा.लिमा पैतृक सम्पत्ति बिक्रीबाट प्राप्त २१ लाख ३८ हजार ७०० बराबरको सेयर छ ।

ललितपुरमा जग्गा खरिद गर्दा एभरेस्ट बैंकबाट लिएको ९० लाख रुपैयाँ ऋण रहेको कार्कीको सम्पत्ति विवरणमा उल्लेख छ । कार्कीको नाममा गौरादह कृषि तथा पशुपन्छी विकास फार्मको नाममा तीन लाख रुपैयाँको सम्पत्ति छ, जुन हाउजिङ कम्पनीबाट प्राप्त आम्दानीबाट लगानी गरिएको जनाइएको छ ।

कोसीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको इलाम देउमाई नगरपालिकामा वडा नम्बर २ मा पैतृकरूपमा प्राप्त घर छ । यसैगरी, सोही वडाका विभिन्न स्थानमा खरिद गरेको र पैतृकरूपमा प्राप्त ६ ठाउँमा जमिन छ । छ आना सुन र पाँच तोला गहना छ । बैंकमा नगद मौज्दात छैन ।

पुवामाई चिया कम्पनीमा संस्थापक सेयर एक हजार, देउमाई काष्ठ चिरान तथा फर्निचर उद्योगमा १२ लाख मूल्य बराबरको संयुक्त सेयर तथा देउमाई सहकारी संस्थामा दुई कित्ता सेयर छ । मन्त्री मगरको नाममा कृषि विकास बैंकमा ३५ लाख र देउमाई सहकारीमा तीन लाख ५० हजार ऋण छ । घरमा एउटा गाई र पाँचवटा बाख्रा छन् ।

भौतिक पूर्वाधार तथा योजनामन्त्री भुपेन्द्र राईको पैतृकरूपमा प्राप्त खोटाङ दिप्रुङ चुईचुम्बामा दुई वटा माटोले बनेको टिनको छाना भएको घर छ । खोटाङमा १६ ठाउँमा जमिन छ । पन्ध्र तोला सुन र २० तोला चाँदी पैतृकरूपमा प्राप्त छ । विभिन्न बैंकमा एक लाख ४३ हजार नगद मौज्दात छ । विभिन्न १२ वटा कम्पनीको ५०० कित्ता साधारण सेयर छ । मन्त्रीको नाममा विभिन्न व्यक्तिहरूबाट लिएको १० लाख रुपैयाँ ऋण छ । एउटा सेन्ट्रो कार र पुरानो पल्सर बेचेर खरिद गरेको स्कुटी छ । पाँचवटा कुखुरा घरमा छन् ।

यसैगरी, मन्त्री राईले कागती फर्म सञ्चालन गरी ३०० बोटबाट ६ वर्षदेखि आम्दानी गरिरहेको, जडीबुटी र प्रशोधित सुगन्धित तेलको उत्पादन बिक्री गरिरहेको, श्रीमतीले आईएमई सञ्चालन गरिरहेको, श्रीमती सेयर बजारबाट खरिद बिक्रीमा संलग्न रहेको र गैरसरकारी संस्था सञ्चालन गरिरहेको समेत विवरणमा उल्लेख गरेका छन् ।

खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीको अंशबाट प्राप्त जमिनमा झापा बिर्तामोडमा घर छ । अंशबाट प्राप्त सात स्थानमा जमिन छ । साढे दश तोला सुन र १५ तोला चाँदी छ । बैंक तथा वित्तीय संस्थाहरूमा एक लाख ८० हजार नगद मौज्दात छ । सेयर छैन भने एक करोड आठ लाख रुपैयाँ विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरूमा ऋण छ । एक थान मोटरसाइकल, चार थान मोबाइल र दुई थान ल्यापटप छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro