काठमाडौं । नेकपा (एमाले)बाट कीर्तिपुर नगरपालिकाको मेयर उमेदवार सुरेन्द्र मानन्धरले कीर्तिपुरलाई अपनत्वको महसुस गराउने बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले विकासलाई समानुपातिक ढंगले वितरण गर्ने बताए ।
“अपनत्वको महसुस हुन सक्ने गरी अघि बढाउने छौँ । कुनै किसिमको विभेद हुने छैन,” उनले भने, “विकासलाई समानुपातिक वितरणमा लानेछौँ । हरेक कुरा समानुपातिक ढंगबाट जाने छ ।”
उनले यसअघि मेयर बनेका राजकुमार नकर्मीको निधनपछि समन्वयकारी अभिभावकाको अभावमा जनप्रतिनिधिले काम गर्न नसकेको बताए ।
“काम गर्ने योजना हुँदाहुँदै केही पर्फमेन्स गर्न सक्नुभएको छैन । वडाध्यक्ष साथीहरूले, निर्वाचित जनप्रतिनिधिले समन्वयकारी नेतृत्वको खाँचो छ, त्यो सुरेन्द्र मानन्धर हो भनेर उहाँहरूले भन्नुभएको छ,” उनले भने ।
उनले आफूलाई जिताए हरेक कुरामा सल्लाह गरेर अघि बढ्ने बताए । शिक्षा, स्वाथ्य, रोजगारीलगायत हरेक क्षेत्रमा केन्द्रको विकासमा जोड्ने उनको भनाइ छ । नगर, प्रदेश र केन्द्रको बजेटलाई जनतासँग समन्वय गरेरमात्रै अघि बढाउने प्रतिबद्धता उनको छ ।
मानन्धरले वडा नम्बर १ र ४ मा पनि पार्टीका उमेदवारलाई निर्वाचित गर्न आग्रह गरे । मंसिर १६ गते हुने उपनिर्वाचनको प्रचार गर्न पाइने अन्तिम दिन एमालेले कार्यक्रम गरेको हो ।