पाइलटहरूले नेपाल एयरलाइन्स कर्पोरेसनसँग आफ्नो माग पूरा गराउन बुद्धि त प्रयोग गरे तर विवेक बिर्सिए ।
हवाई उड्डयन हडताल निषिद्ध क्षेत्र हो । तर, नेपाल एयरलाइन्सका केही पाइलटले यस्तो जुक्ती लगाए कि उनीहरूको माग सुन्न सरकार बाध्य बन्यो र वार्ता भयो । गत साताको बिहीवारदेखि केही पाइलटले सल्लाह गरेर एकैपटक बिरामी र भैपरी बिदा लिए । फलस्वरूप विमानको उडान अवरुद्ध भयो र सरकार वार्तामा आउन बाध्य भयो ।
अहिले त सम्झौता पनि भएर नेपाल वायुसेवा निगमको उडान सुरु भइसकेको छ । तर यस्तो जुक्ती लगाउँदा तिनले विवेकको प्रयोग गरे त रु कि आफ्नो उद्देश्य पूरा हुने खण्डमा साम, दाम, दण्ड र भेद जुनसुकै नीति प्रयोग गरे पनि हुने हो रु
कुनै विषयमा आफूलाई अन्याय भएको छ वा आफ्नो क्षमता अनुरूपको प्रतिफल आएको छैन भने त्यसको प्राप्तिका विभिन्न उपाय हुन्छन् । त्यस्ता उपाय प्रयोग गरेर आफ्नो उद्देश्य वा साध्य पूरा गर्न पाइन्छ र कतिपय अवस्थामा सामूहिक हितका लागि अनेक उपाय अपनाउनु पनि पर्छ । तर, आफ्नो उद्देश्य प्राप्तिका लागि कस्तो बाटो अवलम्बन गरिन्छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ । अर्थात्, साध्य प्राप्त गर्न कस्तो साधन प्रयोग गरियो त्यसको आधारमा साध्य आफैँमा कति महत्त्वपूर्ण, गहकिलो र इज्जतदार भयो भन्ने मूल्यांकन समाजले गर्छ ।
आजको दिनमा नेवानिका पाइलटहरूले सरकारलाई तह लगाउन अपनाएको उपाय वा साधनले तिनलाई विवेकशील, इमानदार र जनताप्रति जिम्मेवार प्रमाणित गर्यो कि त्यसको अन्यथा भयो ?
नेपाल वायुसेवा निगमका चारवटा ठूला जहाज उडाउन ४३ जना पाइलट सेवामा छन् । यी पाइलटले निकै पहिलेदेखि सेवा तथा सुविधा वृद्धिका लागि आवाज उठाउँदै आएका पनि हुन् । नेवानिमा कार्यरत ठूला जहाजका २२ पाइलटले आफूले खाईपाई आएको तलब र सुविधामा सरकारले पुनरवलोकन गर्नुपर्ने र उनीहरूको नयाँ तलबमान आठ वर्ष अघिदेखि लागु हुनुपर्ने माग राखेका छन् ।
यी मागहरू जायज हुन वा होइनन् भन्ने विषयमा अहिले चर्चा गरिएको होइन । करारमा जागीर खाने पाइलटहरू पनि निगममा नै लामो समय सेवा गरेर आफ्नो विशिष्ट योग्यताको आधारमा जागिर खाएका हुन् भने अलिकति बढी तलब हुनु नाजायज होइन तर दोब्बर बढी हुनुले त्यहाँ नियुक्त गर्नेहरूको केही खेल पनि देखिन्छ ।
यहाँ चर्चा गर्न खोेजेको विषय विवेक हो । कुनै पनि पेसामा जनताले तिरेको पैसाबाट सेवा, सुविधा लिने पेसेवर व्यक्ति जनताप्रति उत्तरदायी हुनुपर्छ । हुनत, नेपाल एयरलाइन्सका उडान प्रायः रद्द हुने नै हुन् पाइलटको हडतालका कारण रद्द हुनुलाई किन ठूलो ठान्नु भन्नेहरू पनि होलान् ।
तर, नेवानि साख गुमाएको संस्था भयो भन्दैमा त्यसमा काम गर्ने सबै कर्मचारीले आफ्नो इमान बेच्नु हुँदैन, बेच्दैनन् पनि । पाइलटले पनि आफ्नो कामकारवाहीले उडान रद्द हुने, ढिला हुने र जनताले दुःख पाउने काममा आफूलाई संलग्न नगराएको भए विवेकको सही प्रयोग हुनेथियो ।
पाइलटको हड्तालले निगमलाई आर्थिक हानि त भयो नै यात्रुहरूले पनि सास्ती भोग्नु पर्यो । यसै ह्रास भएको नेपाल वायुसेवा निगमको साख झन् गिर्यो । पाइलटसँग बेलैमा वार्ता नगर्ने निगम व्यवस्थापन र रोक्नै नहुने उडान रोकेर दबाब दिने पाइलटहरू दुवैलाई लाभ त भएन । सार्वजनिक सम्पत्तिको यस्तो क्षतिका लागि कस्लाई जिम्मेवार बनाउने ?
हवाई उडान एक प्रतिष्ठित, धेरै कमाई हुने, रोमाञ्चक पेसा हो । हवाई जहाज उडाउने पाइलटहरूले समाजमा प्रतिष्ठा र पैसा राम्रै कमाउँछन् । तथापि उनीहरूका पनि समस्या हुन्छन् र समयमै तिनको निराकरण पनि गरिनुपर्छ तर त्यसका लागि जनताले दुःख पाउने र निगमको साख गिर्ने काम कसैबाट पनि हुनुहुँदैन ।