गुलेरिया । नेपालमा बढ्दो सहरीकरणसँगै आधुनिक संरचना निर्माणमा टायलको प्रयोग बढ्दो छ । घर होस् वा अस्पताल, विमानस्थल जहाँसुकै टायलको प्रयोग बढ्दै गएको छ । निर्माण क्षेत्रमा टायलको बढ्दो प्रयोग र यसको पूर्ति अन्तर्राष्ट्रिय बजारबाट भइरहेको परिप्रेक्षमा तीन महिनाअघि नेपालमा एउटा उद्योग स्थापना भयो । जसको नाम हो लुम्बिनी सेरामिक्स लिमिटेड ।
लुम्बिनी सेरामिक्स बर्दिया जिल्लाको गुलेरिया–८ मा साढे १२ बिघा क्षेत्रफलमा फैलिएको छ । उक्त उद्योगबाट लेमिनार भेट्रिफाइड टायल उत्पादन हुन्छ ।
नेपालमा कोभिड अघिसम्मको तथ्यांक हेर्दा करिब ९९ प्रतिशत टायल भारतबाट आयात हुन्थ्यो ।
सन् २०१९ को तथ्यांक हेर्दा पनि १० अर्ब ५० करोड बराबरको टायल भारतबाट आयात भएको देखिन्छ । यही सम्भावनालाई देखेर लुम्बिनी सेरामिक्सको स्थापना भएको निर्देशक अभिनव चुरिवाल बताउँछन् ।
नेपालमा पछिल्लो समय उद्योग स्थापना निकै सुस्त छ । सबैतिरबाट लगानी गर्नेमाथि हमला हुने अवस्था छ । चाहे राजनीतिक नेतृत्वबाट होस् वा अभियान्ता बाटै किन नहोस् । यस्तो प्रतिष्पर्धाको अवस्थामा पनि अभिनवको टिमले तीन अर्बमाथि लगानी गरेको छ ।
उसो त नेपालमा अन्य टायल उत्पादन उद्योग नभएको होइन । तर पनि स्तरीय अन्तराष्ट्रिय स्ट्यान्डर्ड मिट गर्ने क्वालिटीको टायल नभएको अभिनव दावी गर्छन् ।
“नेपालमा भेट्रिफाइड टायलको गुणस्तर कस्तो हुने बारेमा कुनै मापदण्ड छैन । तर, हामीले अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको टायल उत्पादन गरिररहेका छौं,” उनी भन्छन् , “भेट्रिफाइड टायलको सतह निकै कसिलो हुन्छ । यो ९९.९२ प्रतिशत पानी प्रतिरोधी हुन्छ । यसमा हाम्रो टायल पास भएको छ ।”
लुम्बिनी सेरामिक्सबाट टायल उत्पादन सुरू भएको तीन महिना भयो । टायल उत्पादन सुरू गरेपछि यसको माग पनि बढ्दै गएको छ ।
उद्योगले अहिले दैनिक एक लाख ४० हजार वर्गफिट टायल उत्पादन गर्न सक्ने चुरिवालको दाबी छ ।
“माग बढेको खण्डमा हामी यसको १० देखि १५ प्रतिशत थप उत्पादन गर्न सक्ने क्षमता छ,” उनले भने, “कारखाना अझै पूर्ण क्षमतामा सञ्चालन भएको छैन ।”
उद्योग स्थापना भएपछि जानकारी गराउने उद्देश्यले शुक्रबार एक पत्रकार टोलीलाई भ्रमण गराउँदै अभिनवले भने, “नेपालमा पछिल्लो समय रोजगारी नपाएको भन्दै विदेशिने बढेका छन् । उद्योग स्थापना त परैको कुरा भएका उद्योगहरु पनि बन्द हुने अवस्था छ । यसमा हामीले ठूलो रिस्क लिएका छौं ।”
“कम्पनीमा सबै अटोमेटिक मेसिन छन् । भारतको राजस्थानबाट कच्चा पदार्थ आएपछि त्यसलाई मेसिनमा हालेर प्रोसेसिङ गरी टायल बनेर प्याकिङमा समेत गर्र्दा करिब ३०० जना कामदार छन्,” लुम्बिनी सेरामिक्सका बोर्ड अफ डाइरेक्टर सुब्रत धितालले भने ।
कच्चा पदार्थ नेपालमा नपाइने हो भन्ने प्रश्नमा धिताल भन्छन् –“हामीले डडेलधुरामा खानीबाट कच्चा पदार्थ उत्पादनको तयारी गर्दै छौं । उक्त खानी तयार भएपछि त्यहाँको कच्चा पदार्थ प्रयोग गछौं । अहिले कच्चा पदार्थ नभएका कारण भारतको राजस्थानबाट मगाइरहेका छौं ।”
कोभिडअघिसम्म करिब ११ अर्बको टायल आयात भएको अवस्था रहे पनि पछिल्लो समय भने नेपालमा आधा दर्जन टायल उद्योग स्थापना भइसकेका छन् ।
अन्य कम्पनीले स्थापना गरेको टायल र लुम्बिनी सेरामिक्सले उत्पादन गरेको टायलमा के फरक छ भन्ने प्रश्नमा अभिनव भन्छन् –“अन्यले उत्पादन गर्ने र हाम्रोमा तुलना गरेर हेर्न सक्नुहुन्छ । हाम्रोमा केही कम्पनीका स्याम्पल पनि छ । जुन भेट्रिफाइड भनेर बजारमा बेचिरहेका देख्छौं । उच्च गुणस्तरको भेट्रिफाइड टायलले शून्य दशमलव शून्य ८ प्रतिशतभन्दा कममात्र पानी सोस्ने गर्छ । यसो हुँदा टायल बिग्रने सम्भावना एकदमै न्यून हुन्छ । जुन अन्यमा देखिएन ।”
बजारमा भेट्रिफाइड टायल भनेर नन–भेट्रिफाइड टायलले प्रचारप्रसार तीव्र पार्न थालेपछि कम्पनीले भेट्रिफाइड टायल कस्तो हुन्छ र यसको फाइदाबारे उपभोक्तालाई सुुसूचित गरी बजार विस्तार गर्ने रणनीति लिएको अभिनव बताउँछन् ।
“नेपालमा गुणस्तर विभागले टायलको गुणस्तर (एनएस)का मापदण्ड तयार पारेको छैन । भारतमा बिक्रीका लागि हामीले भारतीय गुणस्तर विभाग तथा अन्तर्राष्ट्रिय मापदण्डको लागि एप्लाई गरेका छौं,” उनले भने, “हामीले इटाली र स्पेनका डिजाइनरले तयार पारेका टायल्स उत्पादन गरिरहेका छौं ।”
लुम्बिनी सेरामिक्सले उत्पादन गर्ने टायल गुणस्तर कायम त गरेको छ नै त्यसमाथि मूल्यपनि अन्य कम्पनीको तुलनामा धेरै देखिन्न ।
“टायलको बाक्लोपन लगायत मापदण्डका आधारमा प्रतिवर्गफुट ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म मूल्य पर्छ, जुन प्रतिस्पर्धीको भन्दा धेरै होइन,” चुरिवाल भन्छन् ।
लुम्बिनी सेरामिक्सले कम्पनीको आवश्यकताअनुसार कम्पनीको लोगो राखेर तथा डिजाइन अनुसार टायल उत्पादन गर्छ । उद्योगका उत्पादन हाल नेपाली बजारमा सिमित छ । चाँडोभन्दा चाँडो यसलाई अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने कम्पनीको लक्ष्य छ ।
नेपालमा आधादर्जन टायल कम्पनी खुलेपछि देशमा सेरामिक्सजन्य पदार्थमा समेत कमी देखिएको छ ।
आर्थिक वर्ष २०८०–८१ को तथ्यांक भन्सार विभागको तथ्यांकमा नौ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेरामिक्सजन्य पदार्थको आयात भएको छ । पहिलो तीन महिनाको उत्पादन सन्तोषजनक रहेको र चाँडै उद्योग पूर्ण क्षमतामा सञ्चालन गरी निर्याततर्फ पनि ध्यान दिने अभिनव बताउँछन् ।