site stats
बाह्रखरी :: Baahrakhari
खेल
अन्तिम खेलमा स्कटल्यान्डसँग नेपाल ३४ रनले पराजित

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा नेपाल घरेलु टिमसँग ३४ रनले पराजित भएको छ ।

शुक्रबार स्कटल्यान्डको ग्लासगोमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १५९ रनमात्र बनाउन सक्यो ।

नेपालका रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । कप्तान रोहित पौडेलले २७, आसिफ सेखले १४ र भीम सार्कीले १२ रन थपे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्कटल्यान्डका ग्रिस ग्रेभ्सले तीन विकेट लिए । सफयान सरिफले दुई विकेट लिए । वार्क वाट, ब्रान्डन म्याकमुलम, र माइकल लियस्कले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो । 

स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले ७८ रन बनाए । उनले ३९ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलमले ४२ रन थप्दा माइकल लियस्कले २६ र म्याथ्यु क्रसले १७ रन बनाए । 

नेपालका कुशल भुर्तेलले दुई विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले समान एक विकेट लिए ।

योसँगै नेपालले चार खेलको यो शृंखलामा दुई जित र दुई हारको नतिजा आत्मसात गरेको छ ।

नेपालले यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा हार व्यहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको नेपालले तेस्रो खेलमा डचविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २३:०६
प्रतिक्रिया दिनुहोस्