site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्याङ्जा गण्डकी प्रदेशस्तरीय क्रिकेटमा च्याम्पियन

काठमाडौं । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेश तेस्रो संस्करणको पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा नवलपुरलाई चार विकेटले पराजित गर्दै स्याङ्जा च्याम्पियन बन्यो ।

च्याम्पियन भएसँगै स्याङ्जाले नगद एक लाख रुपैयाँ र उपविजेता बनेको नवलपुरले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलमा स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२९ रन बनायो । खेलमा जितका लागि १३० रनको लक्ष्य पछ्याएको स्याङ्जाले १९ ओभरको पाँचौँ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्न सफल भयो ।

नवलपुरका लागि रिजन काफ्ले २५ रन, दीपक डुम्रेले १९ रन बनाएका थिए । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएर तीन विकेट लिए । बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान एक–एक विकेट लिए ।

स्याङजाका ईश्वर क्षेत्रीले ६ चौकाको मद्दतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै, सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए । अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाएका हुन् ।

नवलपुरका लागि हिमाल न्यौपाने र कप्तान कमल परियारले समान दुई विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान एक–एक विकेट लिए । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही जेठ ३१ बाट सुरु भएको प्रतियोगितामा आठ जिल्लाको सहभागिता थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २३:४७
प्रतिक्रिया दिनुहोस्