site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मालढुंगा–बेनी सडक मंसिर ११ सम्म दैनिक ६ घण्टा बन्द

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी खण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो । 

सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिए । 

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उनले बताए । सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुंगा फुटाउने, सबबेस, बेस राखेको मालढुंगा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताए ।  

उक्त खण्ड अवरुद्ध हुँदा मालढुंगा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताए । अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ ।

कुश्मा–१ मालढुंगाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३  नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । 

१३ किमी दूरीको बेनी–मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो । 

तीस महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र पूर्ण रुपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ । 

उक्त सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । 

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा–बेनीअन्तर्गत बेनीतर्फ २०६८ सालमा कालोपत्र गरिएको थियो । 

मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro