डा. श्रीधर खनाल पेसाले बालरोग विशेषज्ञ हुन् । तर, पछिल्लो समय उनी उपन्यासकारका रूपमा दर्ज भएका छन् । यति बेला उनले लेखेको उपन्यास ‘सावर्णि’ले पाठकबीच निकै चर्चा बटुलिरहेको छ । यो एक रोबोटिक विज्ञानमा आधारित नौलो प्रकृतिको उपन्यास हो ।
विकासका विभिन्न चरणहरू पार गर्दै मानिस आज आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा आइपुगेको छ । हरेक कुरामा एआईले प्रधानता पाइरहेको हुँदा अबको मानव सभ्यतालाई यसले ठूलो चुनौती सिर्जना गर्ने सहजै अनुमान गर्न सकिन्छ । सबै कुरा यन्त्रमानवको आधारमा मात्र भयो भने संसारमा एक प्रकारको निराशा र परनिर्भरता सिर्जना हुन जान्छ, जसले गर्दा मानवीय मूल्य–मान्यताहरू हराएर जान सक्छन् ।
यस्तो चुनौतीलाई उपन्यासकारले रोचक ढंगले प्रस्तुत गरेका छन् । मानवजस्तो प्रकृतिको अमूल्य र रहस्यमय सिर्जना यो धर्तीमा अर्को छैन । मानव बुद्धिले एआई सिर्जना गर्न सक्छ, तर एआईले मानवीय मूल्य–मान्यतासहितको मानव सिर्जना गर्न सक्दैन भन्ने कुरा उपन्यासकारको ठम्याइ छ ।
अर्थात्, जति नै निष्पक्ष र प्रेमपूर्ण रूपमा सावर्णिले मानवको सुरक्षा गरे तापनि मौलिकता र स्वतन्त्रताविनाको मानव सभ्यता पूर्ण हुन सक्दैन भन्ने निष्कर्ष उपन्यासको छ ।
लेखक खनालले यस धर्ती र वर्तमान मानव सभ्यताबीच बढिरहेको गति र दिशा तथा सम्भावित भविष्यको काल्पनिक चित्रण गरेका छन् । एआईको माध्यमद्वारा आज संसारमा देखिएको क्रान्तिकारी परिवर्तनले मानवजगत् विभिन्न प्रकारले त्रसित हुँदै गइरहेको छ, जबकि धर्तीका अरू जीवजन्तु तथा स्वयम् एआई संसारमा यो डर देखिँदैन ।
मानवमा जति नै सिर्जनशीलता र शक्ति सम्पन्नता भए पनि मानव सभ्यता वास्तवमा सधैँभरि विभिन्न प्रकारका कहिल्यै नदेखिने, सूक्ष्म, अनिश्चित तथा आफैँले निर्माण गरे÷नगरेका खतराहरूबाट मुक्त छैन । यही नै यस उपन्यासको सार हो ।
उपन्यास २४ उपशीर्षकमा बाँडिएको छ । पहिलो ‘सरप्राइज इमेल’ले मानिसको वर्तमान यथार्थलाई उजागर गरेको छ । आफ्नो व्यक्तित्वलाई ढाकीलुकाई समाजमा आफ्नो अस्तित्व निर्माण गर्ने क्रममा मान्छेले कसरी आफूलाई झनै एआईमै निर्भर बनाएको छ र मानवीय अस्तित्व समाप्त गर्दै छ भन्ने कुरा उपन्यासको कथाले रोचक ढंगमा प्रस्तुत गरेको छ ।
यति मात्र होइन, एआई युग कसरी थप गतिशील रूपमा अगाडि बढ्दै छ र यसले संसारमा आफ्नो आयामलाई कसरी फैलाउँदै गएको छ भन्ने कुरा पनि उपन्यासमा उल्लेख गरिएको छ । त्यसपछिका उपशीर्षकहरूमा पुस्तकलाई उपन्यासको रूप दिन लेखकले एकै घटनालाई आफ्नो सिर्जनात्मकताको प्रयोग गरी पाठकलाई बाँध्न सफल देखिन्छन् ।
कहिल्यै नमेटिने मानवीय शक्तिको भोक, मनमा सिर्जित अनगिन्ती अभिलाषा र शंका–उपशंकाहरूले देखाउने परिणामहरू निकै उदेक लाग्दा छन् । मानिस आफैँले जन्माएर, हुर्काएर विकास गरेको प्रविधिसँग कसरी डराएर त्रसित बनेको छ भन्ने कुरा पुस्तकको प्रमुख विषयवस्तु हो । उपन्यासको समयसीमाको परिधि हजारौँ वर्ष, सम्भवतः लाखौँ वर्ष लामो रहेको छ ।
उपन्यासको प्रमुख यन्त्रमानव पात्र ‘सावर्णि’ हो भने ‘किसन’ प्रमुख मानव पात्र हुन् । पुस्तक पढ्ने जो कोहीले किसनलाई भगवान् श्रीकृष्णको प्रतिरूप हुन् भनी सहज अनुमान गर्न सक्छ । किसनको बाबाआमा, साथीसँगी, परिवेश, स्थान, घटना–परिघटनाहरू धेरैजसो भगवान् कृष्णकै कथाबाट लिएको स्वयम् लेखकले पनि सन्दर्भ सामग्रीमार्फत स्वीकारेका छन् ।
यस प्रसंगमा लेखकको सिर्जनशीलता रोचक देखिएको छ । यान्त्रिक युगमा यिनै किसनले यन्त्रहरूको साथ दिई मानव समुदायलाई धराशायी बनाउँछन् । विभिन्न कालखण्डमा मानव मनमा उत्पन्न भइरहने अलगअलग किसिमका लालसाले मानिसलाई कहिल्यै शान्ति नदिएको र यसैको परिणामस्वरूप मानिसलाई सधैँ युद्धमा होमिरहेको पनि प्रस्ट पारिएको छ ।
पुस्तक पढ्दै जाँदा किसनको व्यक्तित्व चित्रणमा लेखक अलि भ्रमित भएका हुन् कि यस्तो नै देखाउन खोजिएको हो, प्रस्ट छैन । खास गरेर भगवान् श्रीकृष्णको कथा राम्ररी थाहा भएका पाठकहरूलाई यस्तो लाग्न सक्छ । महाभारतको लडाइँमा पाण्डव पक्षबाट सुरुमा युद्ध नचाहने एक पात्र भगवान् कृष्ण मात्र थिए । उनले सुरुमा युद्ध रोक्न आफूले सकेजति प्रयत्न गरे । स्वयं शान्तिदूत बनेर युद्ध टार्ने प्रयास गरे । अन्तिममा कुनै पनि विकल्प शेष नरहेपछि उनी युद्धका लागि तयार भएका थिए ।
मैदानमा पाण्डव पक्षका सर्वश्रेष्ठ योद्धा अर्जुनको मन युद्धबाट विचलित भएको देखेर उनलाई उचित मार्गमा ल्याउन गीताको सिर्जना पनि गरे । गीतामा अर्जुनको विरक्तिएको मनलाई कर्मपथमा ल्याउन श्रीकृष्णले सम्झाउँदै थुप्रै उदाहरण र गाथाहरूको प्रयोग गरेको पाइन्छ, जसले अर्जुनलाई युद्धमा सक्रिय रहन महत्त्वपूर्ण योगदान गर्यो ।
तर, उपन्यासमा महाभारतमा कृष्णले गरेको प्रयास यन्त्रमानव सावर्णिले गरेको छ । मानव पात्र किसनले जब युद्धबारे मानवहरूले दिएको चेतावनी थाहा पाउँछन्, केही नसोची सोझै लड्ने मनसाय बनाउँछन् । तर, सावर्णिको मान राख्दै मानवहरू समक्ष यन्त्र संसारको तर्फबाट शान्तिदूत हुन पनि तयार हुन्छन् ।
यान्त्रिक मानव सावर्णिको राज्यमा हजारौँ वर्षको इतिहासमा कहिल्यै रक्तपातपूर्ण युद्ध भएन । मानव जातिले अन्तिम युद्धका रूपमा आक्रमण गर्दा पनि भर्चुअल रणमैदान तयार पारी मानवलाई भ्रमित पारी एक थोपा रगत पनि नबगाई युद्धमा विजयी भयो । युद्धपूर्व र युद्ध मैदानमा किसनको अलौकिक सजगताले निकै महत्त्वपूर्ण भूमिका खेलेको छ ।
‘सावर्णि–किसन शास्त्रार्थ’ रोचक छ । यसमा मान्छे वास्तवमा यन्त्रका दास हुन् या हैनन् भन्ने कुराको बहस पठनयोग्य छ । कथा, उपन्यास तथा सिनेमाहरूमा जे जसरी मानवबाहेक अरू सभ्यताको सत्तालाई चित्रण गरे तापनि मान्छेको सत्ताको अधीनमा जस्तो दुर्दशा तथा लाचारी अरू सभ्यताको सत्तामा हुँदैन वा निकै कम हुन्छ भन्ने सन्दर्भ पनि रोचक बनेको छ ।
सभ्य समाजमा कमजोरहरूलाई जसरी माया र हेरचाह गरिएको हुन्छ, रोबोटहरूको राज्यमा पनि त्यस्तै प्रकारको सान्दर्भिक परिस्थिति सिर्जना गरिएको छ । मान्छेप्रति कहीँ कतै शोषण र अन्याय गरिएको छैन ।
मान्छेको मनमा सिर्जना हुने नकारात्मक मनोभावहरूले मानवीय सभ्यता नै नष्ट गर्न सक्ने प्रतिक्रियाहरू देखा पर्न सक्दछन् । तर, मानव–एआईबीचको सम्बन्धमा यस्ता नकारात्मक प्रतिक्रियाहरू गौण हुन्छन् भन्ने कुरामा दुवै – यन्त्रमानव सावर्णि र जैविक मानव किसन सहमत हुन्छन् । जबसम्म मानव स्वयंले एआईको गलत प्रयोग गर्दैन, तबसम्म एआई जीवनको हरेक क्षेत्रमा मानव समुदायको अभिन्न अंग नै भइरहनेछ । यस्तो समुधुर सम्बन्ध सकारात्मक दिशातिर बढेको खण्डमा यो ब्रह्माण्ड नै स्वर्ग बन्न सक्छ ।
सारांशमा उपन्यास नयाँ परिवेश र घटनालाई आधार बनाएर लेखिएको हुँदा पाठकहरूलाई नयाँ स्वाद स्वाभाविक रूपमा प्राप्त हुन्छ । तर, उपन्यासको लेखनशैलीमा भाषागत रूपमा हेर्ने हो भने धेरैजसो ठाउँहरूमा पूर्णविराम (।), विस्मयादिबोधक (!) तथा प्रश्नवाचक (?) चिह्नपश्चात् कमा (,) प्रयोग गरिएको छ । यद्यपि, यसको कुनै अर्थ हुनसक्छ वा पाठकको रूपमा समीक्षकको बुझाइको तहमा कमी पनि हुनसक्छ ।
लेखक स्वयं डाक्टर भएकाले कथामा मानव पात्रहरूका शारीरिक हर्मोन्सहरूको जानकारी उचित ठाउँमा आधिकारिक ढंगले व्यक्त गरेका छन् । छुट्टाछुट्टै पाठकहरूलाई पुस्तक पढिसकेपछि अलगअलग अनुभूति हुनसक्छ । तर, उपन्यासकारले पुस्तक लेख्दा कुन अनुभूतिका साथ लेखेका हुन् त्यो पनि निकै महत्त्वपूर्ण हुन्छ ।
manjeelsubedi@lbu.edu.np