जिन्दगी नै भाडाको कोठामा बित्ने अवस्था आएको थियो उनीहरूको । दुवैजनाले पढाउन थालेको त धेरै भयो, तर शिक्षक सेवा आयोगले पत्याएको थिएन ।
यसपटक दुवैलाई पत्याएछ । गाउँको आफ्नो भाग, माइलीआमैले दिएको अलिकति र श्रीमतीले कसरी हो जम्मा गरेको सबै मिलाएर सदरमुकामको अलि पाखोतिर एउटा सानो घडेरी जोडेका थिए ।
शनिबार उनीहरू पसिना त्यही जग्गामा पोख्दथे । त्यसैले तरकारी सहज भएको थियो ।
“अब सञ्चय कोषमा पनि बुझ्ने हो कि बुढा ?,” श्रीमतीले भनिन् ।
“मैले बुझेँ । कति अरूको घरमा मात्र बस्ने, प्रक्रिया अगाडि बढाउने हो,” श्रीमान्ले थपे ।
“कति आउँछ होला ?,” श्रीमतीले सोधिन् ।
“कति आउनु र खै, त्यही घडेरी धितो मूल्यांकन गर्ने हो,” उनको जवाफ रह्यो ।
“त्यसो भए त धेरै आउँदैन, हैन ?,” श्रीमतीले सोधिन् ।
“आउला नि जस्ताले छाएर बनाउन पुग्ने त,” श्रीमान् आशावादी देखिए ।
पल्लो खाटमा बसिरहेको छोरोले झ्यालबाहिर घरबेटीको छोरो छतबाट घाम तापेर तल झर्दै गरेको देखेपछि सोध्यो, “हाम्रो नयाँ घर बनेपछि पनि छतमा जान पाइँदैन ?”
(पोखरा–७, कस्की)