site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बिर्सिएका सम्झनाहरू

कहिलेकाहीँ आफूले बिर्सिएका सम्झनाहरू अरू कसैले सम्झाइदिँदा हुनुसम्मको खुसी मिल्दो रहेछ । बिर्सिएका सम्झनाहरू सम्झिँदा रमाइलो लाग्नु र पुनः आफू उही समयको गर्तमा गोता खान पुग्नुको आनन्द पनि बेग्लै लाग्दो रहेछ ।

मान्छेजस्तै परमधाम गएर सदाका लागि नभेटिने बिछोडमा पुग्दैन रहेछ सम्झनाहरू । बरु, बिर्सिएका सम्झनाहरूले वर्तमानलाई पनि विगततिर लगेर मन बच्चा बनेर खेल्न थाल्दो रहेछ । मन केटाकेटी भएर रमाउँदो रहेछ । बाल्यकालतिर फर्किएर बिर्सिएका सम्झनाहरूले उमेरले नेटो काटिसकेको पनि बिर्साउँदो रहेछ ।

सम्झनाहरू भनेका हराएका हुँदैनन् । कसैले खोसेर कतै लगेको हुँदैन । सम्झनाहरू भनेका आफैँसँग हुन्छन् । आफैँभित्र लुकेर बसेका हुन्छन् । तिनलाई विस्तारै खोज्न सक्नुपर्छ । विस्तारै सम्झिने प्रयत्न गर्नुपर्छ ।

Dabur Nepal
NIC Asia

खोजेर भेट्नुपर्छ बिर्सिएका सम्झनाहरू । आफैँभित्र लुकेर हामीलाई नै हेरिरहेको हुन्छ कि कतै खोज्न टाढा जानै पर्दैन ।

सम्झनाहरूलाई कदापि तितो, टर्रो, नमिठो र अमिलो अनुभवको झटारो पनि हुनसक्छ, जुन झटारोले कुनै बेला ज्यानलाई हिरिक्क पार्न पनि कम्मर कसेर लागेको हुनसक्छ ।

त्यो बिर्सिएको सम्झना कुनै बेला आफैँलाई ठूलो दुर्घटनाबाट बचाएर, जीवनपथमा भड्खालोबाट बचाएर आज यहाँसम्म सकुशल पु¥याएको पनि हुनसक्छ ।

सम्झनाहरूलाई सामान्य र सस्तो ठान्नु नहुने रहेछ । सम्झनाहरूलाई त्यत्तिकै बिर्सिएर विगतमै अलपत्र छाड्न पनि नसकिँदो रहेछ । सम्झनाहरू समयसँगै बदलिँदो रहेनछ । सोचाइहरू बदलिँदै जाँदा रहेछन् ।

बरु, बुझाइहरू फरक र पृथक् अनि परिपक्व बन्दै जाँदा रहेछन् । तर, सम्झनाका ती अभिलेखहरू दिवंगतहरूको सम्झनामा ढुंगामा कुँदिएका स्मृतिहरू मात्र पनि हुन सक्दैनन् । र, होइनन्, हुँदैनन् ती चौतारीका अक्षरहरू । मन शान्ति र दिवंगतहरूको आत्मा शान्तिको लागि स्वर्गमा बास होस् भन्ने कामना गरिन्छ ।

यसरी गरिएका मनचिन्ते भाकलका ती चौतारीहरू र शिलामा अभिव्यक्त गरिएका श्रद्धा सुमनसहितका अभिव्यक्तिहरू प्रियजनप्रतिको असीम अनुराग हो । अग्रज वा आफूलाई छोडेर जाने ती आफन्तहरूको सम्झनाका बिर्सनै नसकिने प्रियप्रिय सम्झनाका चिनोहरू हुन् ।

जस्तै, ती सम्झनाहरू कहिले बिर्सिएर त्यत्तिकै खोलाखहरेमा बगेर जाँदैनन् । कतै बेवारिसे बन्दै बग्दैबग्दै अनकन्टारको भड्खालोमा पुगेर त्यत्तिकै विलीन हुन सक्दैनन् ।

सम्झनाहरू सधैँ अजर, अमर रहिरहन्छन् !

उमेरले १०–२० वर्ष जेठो मान्छेको कुरा सधैँ सत्य साबित हुँदैन, हुन सक्दैन कदापि कहिल्यै । आफूभन्दा सानो उमेरले जतिसुकै कान्छो नै किन नहोस्, उसको कुरा पनि कहिलेकाहीँ जेठो मान्छेको भन्दा सत्य र सुन्दर हुनसक्छ ।

उमेरको पर्खालले छुट्ट्याउन सकिँदैन । सिमानासाँध, घोचाघारा, पर्खाल वा दशगजा राखेर मात्र हुँदैन, हुन सक्दैन । त्यसलाई सिमाना मान्न सकिँदैन । समय आएपछि बौद्धिक सोचविचारले तिनलाई भत्काउँछन् ।

बिर्सिएको सम्झना कहिलेकाहीँ कति मिठो र मादक लाग्छ । कुनै समय त्यही सम्झना कति घातक हुनसक्छ, भन्न सकिँदैन । बोल्न हुँदैन । समयले कति ठूलो अर्थ र अभिप्राय बोल्न सक्छ । सामान्य शब्दले पनि ठूलो आघात पार्न सक्दो रहेछ । क्षणिक सम्झनाका सानै टाटो पनि ठूलो बाधक बन्न सक्ने रहेछ ।

समयसमयको कुरा न हो । मान्छेको सोचविचार र बुझाइका अर्थ र आयामहरूले धेरै फरक कुराको बोध गराउँदो रहेछ । एकछिन एकान्तमा गम्भीर भावमुद्रामा मनन–महसुस गर्नु आवश्यक हुन्छ ।

पुराना सम्झनाहरूका धमिलो स्मृतिमा पौडिँदैपौडिँदै तैरिएर क्रमशः कुनै निर्जन किनाराको सहारामा बल्लतल्ल बाहिर निस्केर सम्झँदा लाग्छ, बिर्सिएका सम्झनाहरू निकै पुराना भए पनि ताजा भर्खरकै, अहिलेकै, आजकै जस्तो हुँदो रहेछ ।

हिँडाइहरूको यो क्रममा कहाँदेखि कहाँ आइपुगियो, आफूले हिँडेर आएको बाटो कसलाई के थाहा छ र ? कसले पो पछाडि फर्किएर हेर्छ र ? हिँड्यो हिँड्यो बाटो बिर्सियो भनेजस्तै । को मान्छेले आफ्नो पाइला–पदचापको ख्याल गरिरहन्छ र ? साध्य पनि हुँदैन र सम्भव पनि छैन ।

किन र कति सम्झनु झ्याउ लाग्दा विगतका सम्झनाहरू भन्नेहरू पनि भेटिन्छन् ।

तथापि, कहिलेकाहीँ तिनै विगतको यादहरूले अर्को मिठो जिन्दगीको मिठास चखाउन पनि सक्दो रहेछ । के थाहा, त्यही विगतका कुराहरू कसैका लागि घाउजतिकै दुख्ने पनि हुन सक्दो रहेछ ।

निको भएर टाटा बनिसकेको खाटामा पनि धेरै ठूलो सम्झनाको पीडाले पलपल दर्फराउँदै, दुखाउँदै, बल्झाउँदै, अल्झाउँदै, सुस्तरीसुस्तरी मन र मुटुलाई छियाछिया पार्न पनि अग्रसर बन्दो रहेछ ।

त्यसैले होला सायद, बिर्सिएको सम्झनामा मान्छेले आफूलाई बौराउन चाहँदैनन् । परन्तु, बिर्सिएका सम्झनाहरूले साथ पनि छोड्न सक्दैनन् ।

कति स्वार्थी र बेइमान छ जिन्दगी, आफ्नै सम्झनाहरूसँग सम्झौता गर्छ । कहिले लेनदेनको हिसाबकिताबमा आएर बहीखातामा आफूलाई उपस्थित गराउँछ ।

अनुपस्थित समयका पलहरूमा पनि उपस्थितिको बाहुली दस्तखत गराउँदै, हुनसम्म फाइदाको कुम्लो कुटुरो कुम्ल्याउन उद्दत रहिरहँदो रहेछ ।

कस्तो अचम्मको स्वभाव मान्छेको ? जहिले पनि, जुन बेला पनि स्वार्थको मुख मिठ्याइमा रमाउन उत्सुक भइरहँदो रहेछ । आफूलाई सधैँभरि सकुशल राख्दै र कुशल नै रहिरहेको आभासमा बाँच्न रमाउँदो रहेछ ।

जतिसुकै शरीर खोक्रिएर, रोगाएर वा भोकाएर जीवनप्राण रित्तिनरित्तिन वा टुक्रिन लागिसकेको अवस्थामा पनि मान्छेको मनको स्वार्थीपन, लोभलालच वा घृणा भावको तृष्णा कति चखिलो रूपमा प्रस्तुत भइरहँदो रहेछ ।

मानौँ, त्यहाँ रोगको कुनै अर्थै छैन । प्राणपखेरु जानै लागेको पनि ख्यालै छैन । तैपनि, मर्न र मार्नको लागि कतिसम्म तिकडम रच्दै षड्यन्त्रको धोखाधडीमा मान्छेको मन वेग–बतासले ठूलो हुन्डरीको उत्पात मच्चाउँदै हाहाकार फैलाउन सक्दो रहेछ । असत्यलाई पनि सत्य बनाई आफ्नो पोल्टामा बल, पैसा र पावरलाई फकाई फुल्याई राख्न समेत सक्दो रहेछ ।

विषयगत सम्झनाहरूको पाइला पछ्याउँदै जीवनले कति लामो यात्रा पूरा गरिसकेको कुरा आफैँलाई थाहा हुँदैन । थाहा दिने कुरा पनि भएन ।

कसैले भनिदिँदा झ्वाट्ट सम्झना वा झल्यास्स वर्तमानमा कहिलेकाहीँ पत्यार नलाग्न सक्छ । आफैँलाई आफ्नो विश्वास नहुन सक्छ । मान्छेको मानसिक अवस्था कहिले पनि उही र उस्तै रहन सक्दैन । कहिले वर्तमानकै कुरा सम्झनामा अतीत भइसकेको हुन्छ । कहिले अतीतको कुरा सम्झनामा वर्तमान बनेर उपस्थित भइदिन्छ ।

लुकेर बसेको आफैँसँग । छाया बनेर पछ्याउँदै आइरहेको आफ्नै साथसाथै । हेर्दा नदेखिन सक्छ । बोल्दा नबोल्न सक्छ । सम्झँदा बिर्सन सकिन्छ । तर, झल्यास्स फेरि सम्झनामा आइरहन्छ । याद बनेर विगतलाई सम्झाइरहन्छ ।

वास्तवमा सम्झना र बिर्सनाको दोसाँधमा जिन्दगीको भाग्यरेखा पनि निर्धारण हुन सक्दो होला र ? किनभने, अतीत भनेको अलपत्र विगतमै हराएको कुनै कालखण्डमा आफैँले भोगिरहेको त्यो सम्झनाका खतहरू खातैखात, उरुङ्खाद सजिएर बसेका हुन्छन् हृदयको मझेरीमा ।

अन्ततः मनको क्यानभासरूपी भित्ताहरूमा ती चित्रांकित हुँदै रहन्छ । अनि, रङ र रूपका आयामहरूमा विभाजित हुन्छ । समयका साक्षी बनेर जीवनका स्वर्णिम दिनहरूको गणनामा रमाउँछ ।

र, बिर्सिएका सम्झनाहरूले प्रत्येक पलपलको हिसाबकिताब पेस गरिरहेको हुन्छ । वर्तमानमा रमाउँदै भविष्यको परिकल्पनामा डुब्दै गए पनि बिर्सिएका सम्झनाहरूले पछ्याइरहेकै हुन्छ ।

अतः कुनै न कुनै बेला हामीले विगतलाई सम्झिरहेकै हुन्छौँ । बिर्सिएका सम्झनाहरू मिठो याद बनेर आइरहेको हुन्छ । बिर्सिंदा बिर्सिंदै पनि याद बनेर पछ्याइरहेकै हुन्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro