site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सामान्य विवादमा भान्जाको बीभत्स हत्या, यसरी खुल्यो घटनाको रहस्य
झन्द्रबहादुर गाहा ।

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–६, सानाढुंगेका ५३ वर्षीय झन्द्रबहादुर गाहा र सोही ठाउँका ३५ वर्षीय तिलक रेग्मी मामा–भान्जा हुन् । मामा झन्द्र र भान्जा तिलकको घर केही दूरीको अन्तरमा छ । त्यही कारण झन्द्र र तिलक मामा–भान्जा भए पनि साथीजस्तै थिए ।

सामान्य घरायसी काममा व्यस्त रहने उनीहरू कहिलेकाहीँ रमाइलो गर्ने भन्दै सँगै मदिरा सेवन पनि गर्थे । मदिरा सेवन गर्न कहिले झन्द्र भान्जाको घर पुग्थे, कहिले तिलक मामाको घर ।

गएको मंगलबार साँझ ५ बजे भने झन्द्र एक्लैले मदिरा सेवन गरेर भान्जा तिलकलाई अनावश्यक गाली गर्न थाले । मामाले आफूलाई किन गाली गरे भन्नेबारे तिलक बेखबर थिए । गाली गर्नुपर्ने गरी उनीहरूबीच यसअघि कुनै विवाद भएको थिएन ।

त्यही कौतूहलले तिलक मामा झन्द्रको घरमै गएर भेट्ने निणर्यमा पुगे । झन्द्रले गाली गरेको आधा घण्टापछि तिलक उनको घर पुगे ।

आफू मामाको घर जान लागेको सूचना तिलकले श्रीमतीलाई पनि दिए । साढे ५ बजे मामाको घरतिर हिँडेका तिलक राति हुँदा समेत फर्किएनन् ।

तिलककी श्रीमतीलाई लाग्यो, मामाघर गएका श्रीमान् त्यतै बसे होलान् । त्यसैले उनी राति श्रीमान्को चिन्ता नलिई सुतिन् । तिलक बुधबार बिहान हुँदा समेत घर फर्किएनन् । श्रीमतीको मनमा चिसो पस्यो, श्रीमान् कता गए ?

श्रीमान्को खोजीका निम्ति मामाससुरा झन्द्रको घर पुगेर उनले सोधिन्, ‘‘तिलक कहाँ गयो मामा ? हिजो यतै जाने भनेर आएको हो, घर फर्किएन ।’’ 

मामा झन्द्रको मुखबाट सकारात्मक सन्देशको अपेक्षा थियो उनमा । तर, झन्द्रले जवाफ फर्काए, ‘‘हो, हिजो आएका थिए । साँझ नै फर्किएका हुन् । यता बस्नु भएन ।’’

तिलककी श्रीमती आत्तिइन् । कतै केही त भएन भन्ने चिन्ता मनमा गड्यो । उनी मामा झन्द्रको घरबाट फर्कन लाग्दा त्यहीँ आँगनमा ढुंगामा रगत लत्पतिएको देखिन् ।

तर, श्रीमान्को होला भन्ने शंका गरिनन् । उनी तिलक साथीको घर पो गए कि भनेर मनोजबहादुर गाहाको घर जाने बाटोतर्फ लागिन् ।

बाटोमा समेत रगतका टाटाहरू देखिन् । श्रीमान्को खोजीका निम्ति हिँडेकी उनी बाटोभरि रगत देखिपछि चिन्तित बनिसकेकी थिइन् ।

रगतको टाटा देखिएको बाटो हुँदै हिँड्दा मनोजको घरनजिकैको अर्यान भीरपाखोमा तिलक ढलेको अवस्थामा देखिन् । दौडँदै उनी तिलक भएको ठाउँतिर पुगिन् । तिलकको शरीर छामिन् । सास फेरेको चाल पाइनन् । शरीर चिसो भइसकेको थियो ।

शरीरका विभिन्न भागबाट रगत बगेको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरिन् । प्रहरी टोलीले हत्याको आशंका गर्‍यो । अनुुसन्धान अघि बढायो ।

सामान्य विवादमा हत्या
तिलककी श्रीमतीले खबर गरेको केही समयमै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी टोली घटनास्थल पुग्यो । उनको हत्या गरिएको भन्नेबारे निष्कर्ष निकाल्न प्रहरीलाई धेरै समय लागेन ।

प्रहरी टोलीले तिलककी श्रीमतीसँग थप जानकारी लियो । हत्या जघन्य देखिएपछि छिमेकीमाथि समेत सोधपुछ तीव्र पार्‍यो ।

प्रहरीले झन्द्रबहादुरलाई पनि केरकार गर्‍यो । सुरुमा झन्द्रले घटनामा आफ्नो संलग्नता इन्कार गरे । तर, घटनास्थलबाट प्रहरीले चप्पल बरामद गरेको थियो । चप्पल झन्द्रकै भएको खुलेको थियो ।

झन्द्रको हाफपाइन्टमा रगत पनि भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्या स्वीकार गरेका प्रहरीले जनाएको छ ।

सामान्य विवादमा उनले तिलकका टाउकोमा ढुंगा प्रहार गरेर बेहोस बनाएको र पछि घाँटी थिचेर हत्या गरेको खुलेको छ ।

हत्यापछि करिब २०० मिटर पर घिसारेर फालेको खुलेको र थप अनुसन्धान जारी रहेको अर्घाखाँचीका प्रहरी प्रमुख एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro