site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वमन्त्री अधिकारीनिकट गौतमले बनाइदिएका थिए जापान जान खोज्ने युवाको नक्कली कागजात

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ । अधिकारीलाई प्रहरीले आइतबार (आज) मोरङको विराटनगरबाट पक्राउ गरेको हो ।

अधिकारीलाई आइतबारै दिउँसो करिब साढे २ बजे हवाईमार्गबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

मानव तस्करीमा मुछिएसँगै अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई नेकपा (एमाले)ले साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।

पूर्वमन्त्री अधिकारीसँगै जोडिएका ६ जना पक्राउ परिसकेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार, उनीहरूको बयानका आधारमा अधिकारीमाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ गरिएको हो ।

यही कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए । उनीसँगै त्यही कार्यक्रममा सहभागी हुन रसुवाको कालिका गाउँपालिका–५ घर भई काठमाडौंको मनमैजुमा बस्दै आएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ घर भई काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई समेत टोकियो विमानस्थल पुगेका थिए ।

तत्कालीन मन्त्री अधिकारीसँगै विमानस्थलको अध्यागमनमा पुगेका युवाको कागजात नक्कली रहेको पाइएको थियो । त्यसपछि मन्त्री अधिकारीसहित तीन युवालाई टोकियो अध्यागमन कार्यालयले ४८ घण्टा राखी फिर्ता पठाएको थियो । टोकियो विमानस्थलले फिर्ता पठाएसँगै मन्त्री अधिकारी संलग्न मानव तस्करी घटनाको पर्दाफास भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै देवकोटा, शेर्पा र राईलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको थियो । उनीहरूको बयानका आधारमा अनुसन्धान कार्यालयको टोलीले थप तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीया जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे छन् ।

प्रहरी स्रोतका अनुसार, मन्त्री अधिकारीसँगै जापान पुगेका तीन युवाले जनही साढे १० लाख रुपैयाँ बुझाएको खुलेको छ । टोकियो विमानस्थल पुगेका देवकोटाले धादिङका महेश पाण्डेलाई दावा र राईले दावाकै भाइमार्फत जापानमै रहेका एकजनालाई साढे १० लाखका दरले रकम पठाएको खुलेको हो ।

कसले बनाएको थियो मन्त्रालयको नक्कली कागजात ?
प्रहरीका अनुसार, मन्त्री अधिकारीसँगै टोकियो पुगेका तीन युवाले कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै कागजात बनाएका थिए । आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ अर्थात् कात्तिक १३ देखि १८ गतेसम्म आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन उनीहरू अधिकारीको नेतृत्वमा जापान पुगेका थिए । तर, उनीहरूको कागजात नक्कली भेटिएपछि टोकियो अध्यागमनले फिर्ता गरेको थियो ।

काठमाडौं प्रहरी स्रोतका अनुसार, धादिङका पाण्डेमार्फत नक्कली कागजात बनाइएको खुलेको छ । जापान जाने युवालाई सुनुवार र रिजालले पाण्डेको सम्पर्कमा ल्याएका थिए । पाण्डेले तत्कालीन मन्त्री अधिकारीका निकट मोरङकै गोपाल गौतमसँग नक्कली कागजातबारे प्रस्ताव राखेका थिए ।

पाण्डे र गौतमको मिलेमतोमा मन्त्रालयको नक्कली कागजात बनाइएको खुलेको काठमाडौं प्रहरीका एक अधिकारीले बाह्रखरीलाई बताए । “नक्कली कागजात बनाउने मुख्य योजनाकार महेश पाण्डे र गोपाल गौतम देखिन्छन् । गौतम र मन्त्री अधिकारीनिकट व्यक्ति एकै जिल्लाका भएका कारण पाण्डेमार्फत काम भएको देखिन्छ,” एक प्रहरी अधिकारीले भने ।

मन्त्री अधिकारी पक्राउ परे पनि गौतम फरार छन् । उनीविरुद्ध समेत पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro