site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोमन्थाङ – नदेखेको स्वर्ग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

आजभन्दा साढे २४ वर्षअघिको कथा हो यो । टाढाको होइन, हाम्रो मुलुककै हो, जसलाई हिमालपारिको जिल्ला पनि भनिन्छ । यदि, हामी जहाजबाट मुस्ताङ जान उड्यौँ भने हिमालमाथिबाट उडेर जानुपर्छ । एउटा चकलेट पनि चपाउन नसक्दै हवाईजहाज ग्राउन्ड पुगिन्छ । एउटा चकलेट नचपाउँदै विमानस्थल पुगिन्छ, जसमा त्यो बेला जहाजको भाडा १६ सय रुपैयाँ मात्र पर्दथ्यो ।

टिकट पाउन मुस्किल थियो । टिकटमा प्रायः जोमसोमवासीको पकड थियो । त्यो समय पनि स्याउ १५ रुपैयाँ किलो थियो । जहाजले १५ किलोभन्दा बेसी लगेज लैजान दिन्थेन ।

कुनै बेला जहाज चढ्न तीनचार दिनै पनि कुर्नुपर्दथ्यो । पोखरादेखि ८० किलोमिटर गुडेर बागलुङ बसपार्क पुगेर म्याग्दी, तातोपानी, दाना घाँसा, लेते, कोबाङ, टुकुचे, मार्फा पैदल सवार हुँदै जोमसोम पुगेर पनि लोमन्थाङ जान सकिन्थ्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

३ हजार ९०० मिटर उँचाइमा रहेको यो ठाउँ लोमन्थाङ हो । जोमसोमबाट कागबेनी अनि छुक्साङ हुँदै चेलीको उकालो चढेपछि स्याङबोचे, घमि, चाराङ हुँदै झन्डै ६० किमि दूरीमा यो उपत्यका पर्छ ।

घमिमा एमडीएस संस्थाले अस्पताल बनाएको छ, जहाँ त्यतिका उँचाइमा सेतो पारदर्शी जस्तामुनि जापानिजले धान रोपेको छ ।

Royal Enfield Island Ad

कामको खोजीमा भौँतारिने क्रममा सन् २००० ताका भगवान्ले डोर्‍याएर त्यहाँ पुगियो । मुस्ताङको सदरमुकाम जोमसोममा बुबाका धेरै थकाली इष्टमित्र भएकाले बुबाले सोधखोज गरेपछि मात्र उता जान घरबाट अनुमति पाइयो ।

सोम्बा र रोङ्बा सुन्दा उस्तै सुनिन्छ । सोम्बा भनेको घुँडासम्म आउने बुट जुत्ता हो भने रोङ्बा भनेको तलको मान्छे बुझिन्छ । तलको र माथिको मान्छे भने पनि व्यवहार त्यस्तो छैन ।

त्यो बेला पर्वतका धेरै शिक्षकहरू मुस्ताङमा जागिर गर्दथे । स्वास्थ्यमा मान्छे हुन्थेनन्, पियन मात्र हुन्थे । यहाँ प्रहरी असईको कमान्ड थियो । मुस्तांगी सिधासाधा छन् । तर, भारतको बनारसतिर हिउँदमा व्यापार गर्न र जाडो छल्न जाने भएकाले केही व्यावसायिक हुँदै थिए ।

केही अन्नपूर्ण एरिया कन्जरभेसन प्रोजेक्ट (एक्याप) संस्थाले सिकाएर, बुझाएर सचेत हुँदै थिए । एकल समुदायको बसोबास गर्ने स्थान भएर होला, नेपाली भाषा बुझ्न र बुझाउन कठिन थियो त्यो बेला ।

काठमाण्डु पोस्टको विज्ञापन हेरेर लोभिएको म जागिर खाने धुनमा उत्तरतिर लागेँ । बिहे नभएको भएर पनि सहज भयो होला त्यो बेला, सायद ।

राजधानीबाट निस्कने गोरखापत्र ३० दिन लगाएर पुग्ने ठाउँ कस्तो थियो होला, आफैँ अनुमान गर्नुहोस् । तर, जीवन संर्घष नै हो भन्ने बुझेको म लागेँ हिमालतिर ।

पहिलोपटक लामाजीका साथ लागेर पुगेँ दुई दिनमा । थुतुप लामा अन्दाजी ६० वर्षको हुनुहुन्थ्यो होला, उहाँको पछि लागेर पुगेको थिएँ । उहाँ घोडामा, म पैदल ।

जागिर थियो गुम्बामा । आफूले पोखराको भद्रकालीनेरको गुम्बा मात्र देखेको थिएँ । बाँकी आफूलाई केही थाहा थिएन ।

६० किलोमिटर अर्थात् दुई दिन हिँडेपछि पुगिने लो, उपत्यका हो । समथर भूभाग करिब १८० जति घरधुरीलाई पाँच मिटर पर्खालले घेरेको थियो । छिर्ने र निस्कने गेट थियो ।

मुस्तांगीहरू राजालाई मान्थे, जहाँ राजाको दरबार र दुई गुम्बा थिए । जसको नाम थुप्चेन र छोदे थियो । म छोदे गुम्बामा काम गर्दथेँ । लोमन्थाङनजिकै चराङ गुम्बा पनि थियो ।

लोमन्थाङमा विदेशीले पैसा दिएर लामालाई पढाउने स्कुल थियो । म जाने बेला ३५ जति लामा विद्यार्थी थिए । विद्यार्थीहरू कागबेनी, चराङ, छुक्साङ, घमि, छोसेरबाट आएका थिए ।

अधिकांश विद्यार्थी सानो उमेरका थिए । नेपाल सरकारबाट एक पैसा पनि अनुदान सहयोग स्कुललाई थिएन । विद्यार्थी ३५ र अन्य शिक्षक वयस्क लामा गुरु गरेर ६० जतिको संख्या थियो ।

म पढाउने र लेखा राख्ने दुवै काम गर्दथेँ । त्यहाँ सेकुलार र ननसेकुलार दुवै पढाइ हुन्थ्यो । लामाले पेचा, तिब्बती भाषा, नेपाली, अंग्रेजी, गणित, नेपाली, सामाजिक विज्ञान सबै पढ्नु पर्दथ्यो ।

पेचा र तिब्बती भाषा लामा गुरुले पढाउथे । बाँकी तलका शिक्षक थिए । पेचा भनेको पूजापाठ हो । तिब्बती भाषामा धर्मग्रन्थ लेखिएकाले त्यो पढ्न जरुरी थियो ।

पूजाको बेला स्कुलका लामालाई गाउँलेहरू बोलाउन आउँथे । पूजा गर्दा पिठोको तोर्मा बनाइन्थ्यो । सायद भगवान्को प्रतिमूर्ति थियो त्यो । मुस्ताङ अर्थात् लोमन्थाङभरिमा काटमार गर्न एकजना व्यक्ति मात्र थिए ।

लामाहरू मासु खान्थे, तर काटमार, हिँसा गर्दैनथे । तिनै मान्छेले मान्छे मरेका बेला पनि काटेर चोक्टाचोक्टा पारेर मन्त्र पढ्दै गिद्धलाई खुवाउँछन् भन्ने सुनेको हुँ, तर देखेको छैन ।

गुम्बामा त्यो बेला पनि धुवाँबाट चल्ने वाटर गिजर थियो । जाडोमा हामी कुनैकुनै बेला त्यसमा नै नुहाउँथ्यौँ । प्रविधिको विकासमा एक्यापले सहयोग पनि उत्तिकै गरेको थियो ।

अति जाडो, सिरेटो चल्ने र ओठ फुट्ने चिसो, गाईबाख्राको मलबाट खाना पकाउने, खाना खायो हात नधोई खाएको थालकचौरा टेबुलमुनि घुसार्‍यो ! भोेलिपल्ट त्यही भाडामा खानुपर्थ्यो ।

साँझ भात र रातो दाल हुन्थ्यो । बिहान प्रायः सातु, छुर्पी, नुनचिया हुन्थ्यो । बिहान चम्पा अर्थात् जौको सातु खाइन्थ्यो । बच्चासँगसँगै खान्थ्यौँ । रमाइला दिन थिए ती ।

त्यो बेला सहरका अन्य शिक्षक साथीहरूले क्यालेन्डरमा चिह्न लगाउँथे, अब यति दिनपछि घर जान पाइन्छ भनेर । पात झर्ने बेला जाने अर्थात् फागुनमा माथि जाने र अनि कार्तिकमा तल आउने तालिका हुन्थ्यो । नौ महिना काम गर्ने, तीन महिना जाडोको बिदा ।

बेलाबेलामा गुम्बा घुम्न मूलतः अमेरिकी, स्वीस, फ्रेन्च, जर्मन, स्पेनिस, इटालियन, बेलायती गोराहरू धेरै नै आउँथे । एकदम रमाइलो हुन्थ्यो । गोराले लामालाई कपी, किताब र कलम दिन्थे ।

गुम्बामा तीनवटा डरलाग्दा कुकुरहरू थिए । दिसापिसाब गर्न जाँदा लामाको साथ लागेर जानुपर्ने हुन्थ्यो । लामा सिधा र सहयोगी थिए ।

गाउँका मानिसले घरमा पूजा लगाएपछि प्रसाद ल्याइदिन्थे । बेलाबेलामा मिठो चोखो खान पाइन्थ्यो । आलु पाँच रुपैयाँको एक पाथी आउँथ्यो । कहिलेकाहीँ हामी कोठामा पनि पकाएर खान्थ्यौँ ।

एक्यापमा धेरै कर्मचारी थिए । त्यसकारण मेस पनि थियो । कहिलेकाहीँ मेसमा पनि खान्थ्यौँ ।

लोमन्थाङ उपत्यकाको खोलाबाट बिजुली निकालिएको थियो, पारस शाह युवराज हुँदा उद्घाटन भएको भनिन्थ्यो । अझ चाखलाग्दो कुरा के भने नेपालमा सायद सबैभन्दा पहिले अन्डरग्राउन्ड बिजुली वितरण मुस्ताङको लोमन्थाङबाटै सुरु भएको थियो ।

खोलाको छेउतिर बस्ने मुस्तांगीलाई लोमन्थाङवासीले अलिक अर्कै व्यवहार गर्दथ्ये । खोलाछेउका मानिससँग लेनदेन हुँदैनथ्यो । उनीहरू ज्याला मजदुरीको काम गर्दथे ।

अपर मुस्ताङमा त्यो बेला पनि धेरै घरका मानिस विदेशमा थिए । खोलापारि चाइनाबाट मोटर आउँथ्यो । मोटरमा ग्यास, चामल, दाल, ल्याइथ्यो ।

मुस्ताङ भेडाच्यांग्राको खानी भए पनि पैसा भएर तिर्न तयार हुँदा समेत च्यांग्र्राको मासु खान पाइँदैनथ्यो । उनीहरू मासु बेच्न मान्दैनथे ।

लोमन्थाङबाट दामोदरकुण्ड जान ओरालो झर्नुपर्दथ्यो । बाटो डरलाग्दो  थियो । चाराङबाट डियारा घारा हुँदै मुक्षेत्र पुगिन्छ भन्थे । तर, मचाहिँ गएको थिइनँ । बाटो डरलाग्दो छ भन्ने सुनेको हुँ ।

नजिकैका गाउँहरूमा पनि मुस्तांगी राजाका आफन्त नै जनप्रतिनिधि रहेका थिए । त्यहाँका राजा पनि त्यो गुम्बा स्कुलको समितिमा हुनुहुन्थ्यो, समयसमयमा भेट हुन्थ्यो ।

मुस्ताङमा यार्तुङ जनैपुर्नेताका घोडादौड हुन्थ्यो भने अंग्रेजी मे महिनामा तिजी पर्व मनाइन्थ्यो । दरबारको परिसरमा मुखौटा (मास्क) लगाएका लामाहरूको नाच हुन्थ्यो ।

सबैजसो कार्यक्रममा राजा नै मुख्य अतिथि हुन्थे । राजाका छोरा अशोक भने काठमाडांैमा व्यवसाय गर्छन् भन्ने सुनेको हुँ । केही मुस्तांगीको काठमाडौं र पोखरामा घर थियो, त्यस बेला पनि ।

तिजी यार्तुङ पर्व हेर्न विदेशी पर्यटकहरू प्रशस्त आउँथे । कागबेनीदेखिमाथि विदेशीलाई निषेध थियो । कागबेनीमा पोस्ट थियो । माथि मुस्ताङ जान परमिट चेक हुन्थ्यो । नेपालीलाई परमिट चाहिँदैनथ्यो ।

अपर मुस्ताङ जान महँगो शुल्क थियो । जो कोही पर्यटक जान पाउँदैन थिए । पाँच सय वर्ष पुरानो थुप्चेन गुम्बा बनाउन एक्याप, केमएनटसी, यूएनडीपी, एएचएफको प्रोजेक्ट थियो ।

त्यो गुम्बाको भित्तामा विभिन्न बुद्ध आकृति थिए । भित्तामा सुई लगाएर ती अमूल्य चित्र निकालेर मर्मत गरी इटालियन इन्जिनियरले पुनर्निर्माण गर्दै थिए ।

हामी फुर्सद भएपछि लोमन्थाङदेखि उत्तरपूर्वको छोसेर गाउँको गुफा हेर्न जान्थ्यौँ । त्यहाँ हाई स्कुल पनि थियो । हेडसर तलकै मान्छे थिए । कहिले हाजिरीजवाफ कहिले भलिबलको प्रतियोगिता हुन्थ्यो ।

राति उत्तरी हावा चल्थ्यो र अति नै जाडो हुन्थ्यो । कुकुरको डरले राति बाहिर निस्कनै गाह्रो हुन्थ्यो । अर्का तीनजना मास्टर थिए । हेडसर लामा नै थिए, गाउँकै प्रधानका छोरा । नालन्दा भारतबाट पढेर आएका ।

लामाले मास्टरलाई माटा भन्थे । गोर्खाका एक गुरुङ भाइ कुक थिए । वर्षभरि चहिने मासुका लागि तीनवटा याक काटेर सुकुटी बनाएर राखिन्थ्यो । ऊ बेला एउटा याकको मूल्य २१ हजारजति पर्दथ्यो ।

त्यहाँ एकपटक हेलिकोप्टर चार्टर्ड गरेर खाद्यान्न ढुवानी गरेको ७७ हजार रुपैयाँजति पर्दथ्यो । धेरै ढुवानी त खच्चरबाटै हुन्थ्यो । तर, कहिलेकाहीँ धनी पर्यटकहरू हेलिकोप्टरमा आउँथे ।

बिहान उठेपछि कोरा गर्ने चलन थियो । यो भनेको गुम्बा परिक्रमा गर्नु हो । म खानपानमा अलि नाटीकुटी गर्ने भएकोले गुम्बमा खाना खान गाह्रो हुन्थ्यो ।

मैले कुक भाइलाई एकचोटि भनेको थिएँ, ‘भाइ, म मासु खान्नँ । मासु नराखी तरकारी मात्रै दिनुस् ।”

ती भाइले त याकको सुकुटी छुट्ट्याएर झोल तरकारी मात्र दिन थाले । ‘किन यस्तो गरेको ?’ भनी सोध्दा त ‘सरले मासु नखाने भएर चोक्टा छुट्ट्याएर झोल मात्र दिएको सर’ भन्थे । अचम्मैको दुनियाँ थियो ।

यसैले गोराले ‘अबेन्डोन किङडोम’ भनेर किताब लेखेका छन् । साँच्चै नै अलग संसार थियो । नेपालभित्र भएर पनि अलग देश लाग्थ्यो । तर, निष्कलंक, निर्मल, कोमल प्रवृत्तिका मानिसको बसोबास थियोे लोमन्थाङ ।

तलको मान्छे अर्थात रुङ्बा पनि माया गर्थे । उनीहरूमा दयाभाव थियो ।  स्कुलको नाम नै तिब्बती भाषामा करुणा राखिएको थियो । स्कुललाई तिब्बती भाषामा सेचेन सेङरुवलिङ मोन गोन लोबड्रा भनिन्थ्यो । त्यहाँ लामाहरू मूलतः शाक्य ट्रिचेन मान्ने र मिङ्मापा थिए, एकथरी घरमा बस्ने अर्काथरी घर त्यागेका थिए ।

धेरै लामाका विदेशी गडफादर अर्थात् स्पोन्सर थिए । कोही लामा सिङ अर्थात् दाउरा फिस तिरेर पढ्दथे । त्यो बेलामै त्यहाँ एक लामाको पहलमा बोर्डिङ स्कुल खुलेको थियो । साथै, सरकारी निमावि पनि थियो ।

गाउँमा चिया पसल थिए । साथै, किराना पसल पनि थिए – जहाँ चाइनिज सामानहरू पाइन्थ्यो । सबै गाउँले लामादेखि डराउँथे । अहिले उक्त छोदे गुम्बाको स्कुल भारतीय दूतावासले बनाइदिएको नयाँ भवनमा छ भन्ने सुनेको छु । समय अभावले हेर्न जान पाएको छैन । जीवन यस्तै बेफुसर्दिलो भएको छ ।

त्यो बेला फोन थिएन । रेडियो सेटमा काठमाडौंमा कुरा हुन्थ्यो आकाशवाणीमा । गाउँलेलाई एक्याप संस्थाले धेरै सहयोग गरेको थियो । जौ, आलु र केराउ मात्र हुन्थ्यो । पछिपछि साग लगाउन थाले ।

त्यहाँ स्याउ समेत हुन्थेन, जोमसोमबाट ल्याउनुपर्थ्यो । स्याउ एक रुपैयाँ गोटा पाइन्थ्यो पसलमा । कागबेनीदेखि माथि गुरुङ बस्ती र तल म्याग्दीसम्म थकाली बस्ती थियो ।

थकाली अलिक चलाख र व्यावसायिक थिए । लोमन्थाङवासी भने सिधासाधा थिए । त्यहाँ एक परिवार जो दरबारअगाडि नजिकै पसल गर्दथे, ती तीन भाइले एउटी श्रीमती बिहे गरेका थिए । अंगे्रजी भाषामा यसलाई पोलिग्येमी भनिन्छ क्यारे !

जिम्बु टिप्न बिदामा मास्टरहरू जान्थे । भीरभीरमा जानुपर्ने भएकाले मचाहिँ जाँदिनथेँ । छक्क पर्छु, किनकि बजारमा जिम्बु यति सस्तोमा बिक्री हुन्छ ।

स्कुलनजिकै खोला थियो । ठाउँठाउँमा तातोपानी भेटिन्थ्यो । त्यही खोलामा गाउँलेले सद्गत गर्थे । त्यस्तोमा म कहिल्यै हेर्न गइनँ, डरले । धर्मात्माको मासु खान धेरै गिद्ध आउँछन् भनिन्थ्यो !

अचम्मको दुनियाँ, अलग्गै संसार थियो । धनीको घरमा घोडा हुन्थ्यो त्यहाँ एकजना ब्रिटिस नागरिक जोन स्यान्डी पनि थिए । उनले लोमन्थाङको विकासका लागि काम गरेका थिए । त्यसैले प्रख्यात थिए । त्यो बखतमा ७० हजार पर्ने चिल्लो र बलियो घोडा थियो उनको । उनको रवाफ पनि उस्तै थियो । तलका मान्छेले चना खाने र लोमन्थाङमा चना घोडालाई खुवाउने भएर घोडाको खाना, रुङ्वाको दाना भनेका रहेछन् ।

त्यहाँका खेतमा केराउ, उवा, जौ, बन्दा, आलु र सागको खेती हुन्थ्यो । मुस्ताङको विकासमा एक्यापको देन यसबाटै देखिन्छ । घरघरमा सोलार समेत जडान गरिदिएको थियो, अनुदानमा । माटाकै घर माटाकै पर्खाल थिए । घरमाथि दाउरा राख्थे ।

हरेकजसो घरमा लामा हुन्थे । माहिलो छोरालाई लामा बनाउने त्यहाँको चलन छ ।

नेपालभित्रकै स्वर्ग हो, लोमन्थाङ । म त मोटर नजाने बेला हिँडेर पुगेँ, त्यहाँ अहिले गाडी जान्छ । एकफेर अवश्य जानुहोला । आन्तरिक पर्यटन बढाऊँ, देश जानाैँ, बुझौँ र माटो चिनौँ ।

सुन्दा कथा लाग्ने यो लोमन्थाङ जीवनमा एकपटक जानैपर्ने ठाउँ हो । म जुन बेला त्यहाँ बसेँ, त्यो बेलाको परिस्थितिमा अहिले विकास भइसकेको छ । मैले तीन वर्ष त्यहाँको परिस्थिति भोगेँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro