site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मरूभूमिमा हिमपात
SkywellSkywell

निष्काम कर्मयोगी रत्नप्रसाद खरेल
(जीवनवृत्त: सम्पादन–अर्जुन ढुंगाना/डा. रमा खरेल
काभ्रेपलाञ्चोक जिल्लाका प्रसिद्ध समाजसेवी एवम् राजनीतिज्ञ रत्नप्रसाद खरेलको सम्झना त्यस क्षेत्रमा आज पनि गरिन्छ । खरा राजनीतिज्ञ र दयालु समाजसेवीको छविले सबैको मन जितेका उनै खरेलको जीवनवृत्त संगृहीत पुस्तक सार्वजनिक भएको छ, ‘निष्काम कर्मयोगी रत्नप्रसाद खरेल’ । जसको सम्पादन खरेलकी छोरी डा. रमा खरेल र अर्जुन ढुंगानाले गरेका छन् ।

पुस्तककी सम्पादक डा. खरेलले आफ्नो भनाइमा लेखेकी छन्, “...रत्नप्रसाद खरेलेको जीवनगाथा वर्तमान र भविष्यको लागि मार्गदर्शक हो । जसरी आगोको एउटा सानो झिल्को महाशक्तिशाली हुनसक्छ, त्यसैगरी क्रान्तिको सूक्ष्म बीजले युगान्तकारी परिवर्तन ल्याउन सक्छ ।”

रत्नप्रसादका भतिजा अग्रज साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले ‘ऐतिहासिक व्यक्तित्व’मा लेखेका छन्, “काकाको बारेमा सम्झनुपर्ने थुप्रै घटनाहरू छन् । उहाँका सुकर्महरूको वर्णन गर्दा अर्को छुट्टै किताब बन्छ । उहाँको सत्कर्महरू काभ्रेपलाञ्चोकमा मात्र नभई चितवनसँग पनि सम्बन्धित छन् ।...।”

KFC Island Ad
NIC Asia

लेखन कुञ्जद्वारा प्रकाशित ३६८ पृष्ठको यो जीवनवृत्तको मूल्य ६५०/– रुपैयाँ राखिएको छ ।

०००

Royal Enfield Island Ad

मरूभूमिमा हिमपात
(कवितासंग्रह: सोझो गाउँले)
कवि सोझो गाउँलेको पछिल्लो समय प्रकाशित कविताकृति हो, ‘मरूभूमिमा हिमपात’ । नेपाली कविताका क्षेत्रमा परिचित छन् कवि गाउँले । बितेको दुई दशकदेखि उनको सक्रियता काव्यकारितामा रहँदै आएको छ । यसअघि उनको ‘मनको बाँसुरी’ शीर्षकको कविताकृति प्रकाशित भइसकेको छ ।

कृतिभित्र मन्तव्यमा प्रा. डा. अभि सुवेदीले लेखेका छन्, “गाउँले प्रायजसो सबै कविता ताजा, नौला र स्वतन्त्र रचनाको रूपमा लेख्न सफल भएका छन् । विम्बहरू सहजै प्रतीक हुन्छन् र स्थूल अर्थमा तिनै प्रतीकहरू कविता भएका छन् ।...।”

कवि सोझो गाउँलेले आफ्नो कविता ‘जुनीभरिको कमाइ’मा लेखेका छन्–
मेरा केही शत्रुहरू छन्
जसले मलाई घृणा गर्छन्
मेराविरुद्ध षड्यन्त्र गरिरहन्छन्
अलिक बढी विरोधीहरू छन्
जसले कुरा काट्छन्
मेरो आलोचना मात्रै गर्छन्
(पृष्ठ — ७९)

कृतिको ब्लर्बमा कवि श्रवण मुकारुङले लेखेका छन्, “लोकतन्त्र, सामाजिक न्याय र मानवीय मूल्यको सुमधुर गीत यिनले यसमा प्रेमपूर्वक गाएका छन् । यी युवा प्राध्यापन र राजनीतिमा पनि संलग्न छन् । यिनी मेरो पछिल्लो पुस्ताका असाध्यै थोरै प्रतिभाशाली कविमध्येका एक हुन् ।”

फिनिक्स बुक्सद्वारा प्रकाशित १३६ पृष्ठको यो कविताकृतिको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।

०००

साङ्ग्रिलाको पुछारतिर
(नियात्राकृति: जय छाङ्छा)
नेपाली नियात्रा साहित्यमा परिचित सर्जक हुन्, जय छाङ्छा । उनको नियात्राका पुस्तक मात्र सातवटा सार्वजनिक भइसकेको छ । यसबाहेक उनका कविताकृति, ब्लु नियात्राकृति र अनुसन्धानमूलककृति पनि प्रकाशित छ । केही समयअगाडि प्रकाशित छाङ्छाको ‘साङ्ग्रिलाको पुछारतिर’ आठौँ नियात्रा पुस्तक हो ।

डा. भूपहरि पौडेलले कृतिको भूमिकामा लेखेका छन्, “छाङ्छाद्वारा प्रणीत प्रस्तुत कृतिमा विविध विषय र सन्दर्भका यायावरीय रचनाहरू समावेश गरिएका छन् । यस कृतिमा छाङ्छा लक्षित विषयमा चुर्लुम्मै डुबेका छन् । यसमा भारत भ्रमणका सन्दर्भहरू जोडिएका छन् ।...।”

आफ्नो कुरामा नियात्राकार छाङ्छाले लेखेका छन्, “यो कृतिको सिर्जना परम्परागत ढाँचाभन्दा अलिक फरक शिराबाट लेख्ने जमर्को गरेको छु । विद्वान तथा विदुषी अर्थात् समालोचक एवं विद्वत समुदायबाट उठ्ने गरेका कतिपय सकारात्मक प्रश्नहरूबाट यसप्रकारले सिर्जना गर्ने प्रेरणा मिलेको हो ।”

२५ नियात्रा समेटिएको यो संग्रहमा भारतका विभिन्न स्थानहरूको भ्रमण गर्दाका पलहरूलाई उनले पस्केका छन् ।

स्वदेश प्रकाशनद्वारा प्रकाशित ४०० पृष्ठको यो नियात्रासंग्रहको मूल्य ७५०/– रुपैयाँ राखिएको छ ।

०००

साकार समय
(संवाद: उदय अधिकारी)
नेपाली काव्यकारिताका क्षेत्रमा शैलेन्द्र साकारको आफ्नै पहिचान र उपस्थिति छ । कवि साकारका थुप्रै कविताकृति प्रकाशित भइसकेका छन् । तर, सर्जक उदय अधिकारीले अग्रज कवि शैलेन्द्र साकारको लेखनी र जीवनलाई संवादको स्वरूप दिँदै ‘साकार समय’ पाठकलाई सुम्पिएका छन् ।

कृतिभित्र ‘सृजनात्मक मुठभेडको अभिलेखन’मा डा. अशोक थापाले लेखेका छन्, “...साहित्यिक अन्तर्वार्तामा अन्तर्वार्ताकार सहचालकजस्तै हुन्छन् जसले लेखकको सृजनायात्राको हरेक मोडमा ध्यान दिएर उनीहरूको लेखनको लय, प्रभावका आँधी, चुनौतीका चट्टान र अन्तिम गन्तव्यमा पुग्न उनीहरूले गरेका संघर्षको निगरानी गर्छन् ।”

संवाद सुरु गर्नुअघि ‘साकार समय’मा उदय अधिकारीले लेखेका छन्, “...यिनको मलाई मन पर्ने कुरा भनेको यी कार्यक्रममा हिँडिरहन्थे, आफ्ना कविता सुनाइरहन्थे, अरूका सुनिरहन्थे र बेलुकका समीक्षा गोष्ठीहरूमा सकेसम्म अनुपस्थित हुन्थेनन् । यिनी चियादेखि सियासम्मका पारखी थिए र थिए केही महान साहित्यिक जमघटहरूका साक्षी ।...।”

त्यसपछि प्रारम्भ संवादमा अनेकानेक प्रश्नहरू र तिनका जवाफ रहेका छन् ।

शिखा बुक्सद्वारा प्रकाशित १२४ पृष्ठको यो पुस्तकको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

लन्डन डायरी
(नियात्रासंग्रह: नगेन्द्रराज रेग्मी)
साहित्यकार नगेन्द्रराज रेग्मीको प्रकाशित पछिल्लो नियात्राकृति हो, ‘लन्डन डायरी’ । यसअघि उनका तीन पुस्तक सार्वजनिक भइसकेका छन् ।

नियात्राकार रेग्मीले आफ्नो भनाइ ‘जे भयो, यस्तै भयो’मा लेखेका छन्, “चौध दिन लन्डन बस्दा प्रत्येक दिन बेलुकी आफू हिँडेडुलेका स्थान र घटनाहरूको छोटकरी टिपोट दिनपञ्जी (डायरी) लेख्न थालेँ । नेपाल फर्केपछि एउटा यात्रा संस्मरणसम्म निकाल्नुपर्ला कि भन्ने सोच थियो । यसरी संग्रह नै निकाल्छु भन्ने कुरा कहिल्यै दिमागमा आएन । यस्तो सोच हुँदो हो त अलि बढी चासो र चिन्तन गर्दै तथ्य बटुल्थेँ कि !...।”

कृतिभित्र प्रा. डा. गोविन्दराज भट्टराईले लेखेका छन्, “यो नियात्राकृति पठनीय रहेछ । नेपालीले तयार पारेका बेलायत यात्रा र संस्मरणकृति बीस नाघे होलान् । तिनकै हारमा यसले उचित स्थान पाउनेछ ।...।”

प्रा. डा. सुधन पौडेल र डा. दुबसु क्षेत्रीले पनि कृतिका बारेमा आफ्नो धारणा राखेका छन् ।

नियात्रासंग्रहभित्र बेलायत यात्राका १५ संस्मरण प्रस्तुत छ ।

अनुसन्धान विमर्श प्रालिद्वारा प्रकाशित २०० पृष्ठको यो नियात्राकृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।

०००

इतिहासअघिको इतिहास
(वृत्तान्त: सुरेश ढकाल)
चर्चित मानवशास्त्री सुरेश ढकालको इतिहास एवम् सांस्कृतिक अध्ययनलाई समेटेर बजारमा ल्याइएको नेपाली भाषाको पहिलो पुस्तक हो, ‘इतिहासअघिको इतिहास’ (सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त) । यसअघि अंग्रेजी भाषाका उनका केही विषयगत पुस्तक प्रकाशित छन् ।

आफू मानवशास्त्रको विद्यार्थी भएकाले यस विषयमा जानेबुझेका कुरा आमपाठकका निम्ति पनि फलदायी होस् भन्ने उद्देश्यका साथ पुस्तक प्रकाशनमा ल्याएको ढकालले उल्लेख गरेका छन् ।

कृतिको भूमिकामा प्रा. डा. विनोद पोखरेलले लेखेका छन्, “यस पुस्तकले मानवशास्त्रीय पुरातत्त्वको सैद्धान्तिक अवधारणात्मक पक्षदेखि विभिन्न समयमा मानिसले गरेका आविष्कारहरू, प्राक्–इतिहास र महिलाको भूमिकादेखि पुरातात्त्विक खोजको राजनीतिसम्मका विषयवस्तु समेटेको छ ।”

पुस्तकको अन्तिम अनुच्छेदमा लेखक ढकालले लेखेका छन्, “प्रस्तुत पुस्तक प्राक्–इतिहास थाहा पाउने एउटा प्रारम्भिक स्रोत हो । यस पुस्तकमा सामान्य परिभाषा, अध्ययन विधि, प्रागैतिहासिक कालका महत्त्वपूर्ण सांस्कृतिक परिघटनादेखि नेपालको प्रागैतिहासिक अध्ययनमाथि संक्षिप्त विमर्श गरिएको छ । यसका अलावा इतिहास अध्ययनको अर्थ र यस विषयको भविष्यबारे चर्चा गरिएको छ ।...।”

यो कृतिभित्र १५ अध्यायमा परिचय, सुदूर विगतको खोजी, आधारभूत आविष्कार, प्राक्–इतिहासमा धर्म र महिला, नेपालको प्राक्–इतिहास र पुरातत्त्व, इतिहासको राजनीति र भविष्य र उपसंहार शीर्षकहरूमा विविध विषयवस्तु प्रस्तुत गरिएको छ ।

इन्डिगो इन्कद्वारा प्रकाशित २४० पृष्ठको यो पुस्तकको मूल्य ५९९/– रुपैयाँ राखिएको छ ।

०००

ससुरालीदेखि सुस्तासम्म
(नियात्राकृति: विनोद नेपाल)
साहित्यका विविध विधामा विनोद नेपालले कलम चलाउँदै आएका छन् । ‘ससुरालीदेखि सुस्तासम्म’ गरेर उनका दुई नियात्राकृति प्रकाशित भइसकेको छ ।

यसअगाडि उनको एउटा लघुकथासंग्रह, एउटा कवितासंग्रह प्रकाशित छ । लेखक नेपालले पत्रिपत्रिकामा समसामयिक विषयमाथि टिप्पणी पनि लेख्दै आएकामा पछिल्लो समय साहित्यमा समर्पित छन् ।

डा. टंकप्रसाद पन्थले कृतिभित्र भूमिकामा लेखेका छन्, “नियात्राकार विनोद नेपाल आफू गएका र घुमेका ठाउँहरूको आस्वादन आफूले मात्र नलिई पाठकलाई समेत सुसूचित गरी आनन्द प्रदान गर्न उद्यत हुनुहुन्छ । देश तथा विदेशमा गरिएका यात्राहरूको सँगालो ‘देश र विदेश’ (२०७६) प्रकाशनपछि नियात्रामूलक लेखहरू समेटिएको प्रस्तुत कृति यसका प्रमाण हुन् ।...।”

कृतिकार नेपालले आफ्नो भनाइमा लेखेका छन्, “नियात्राको क्षमताको परीक्षण पाठकलाई सँगसँगै घुमेको अनुभूति गराउन सफल वा असफल भएको कुराबाट हुन्छ । ज्ञान र जानकारसँगै पाठकलाई सम्बन्धित यात्रामा सँगसँगै रहेको अनुभूति गराउन सकेमा यो नियात्रा वास्तविक र सफल नियात्रा ठहरिन्छ ।”

यो नियात्राकृतिभित्र विनोदका १५ थान नियात्रा समावेश छ ।

भूगोल साहित्य समाजद्वारा प्रकाशित १३६ पृष्ठको यो पुस्तकको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro