site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मोनाको भर छैन

भाउपन्थी

महिनावारी भात खाने ठाउँ । शनिबार । खाना त खाइन्छ । बिहानको चिया पनि खाइहेरूँ न त भनेर पसेको छु । साहुनी मोबाइलमा भनिरहेकी छ— ‘मोना त मेरी दिदी नि । उसलाई कसले सक्ने ? बाबाले अरूलाईभन्दा उसलाई बढी गर्नु हुन्थ्यो । तर उसैले यस्तो गर्ली भन्ने कसैको मनमा थिएन । बाबा त गइहालनुभो, देख्नसुन्न परेन ।’

साहुनीको कुरा सुनिरहूँ जस्तो भइहाल्यो । मेरी पनि एउटी दिदी छिन् । तर कता छिन् मलाई थाहा छैन अहिलेसम्म । आसातिरको केटोसँग बिहे गरिदिएको हो । तर, मोनाले केही समस्या खडा गरेजस्तो थियो । साहुनीका कुराले त्यही झल्किरहेथ्यो ।

फोन राखेपछि सोध्नुपर्ला । साहुनीले अन्तिम वाक्यमा यो भनी, ‘मोनाको केही भर छैन ।’

मोना निकै बोल्ड थिई जस्तो लाग्यो । तर, अहिले यो निष्कर्ष टिकाउ नहुन पनि सक्छ । पहिले साहुनीसँग सोधौँ, मोनाबारे । साहुनीको घाँटी पनि खसखसाइरहेको हुन सक्छ—मोनाको बारे विस्तारमा कुरा गर्न ।
 
यो मेरो अनुमान हो, नहुन पनि सक्छ । ‘उसो भए त्यता के भइरहेछ थाहा दिने गर्नोस् है !’ यति भनेर साहुनीले फोन राखी ।

मोना साहुनीको दिदी हो भने कुन उमेरकी हो ? साहुनीले भनी, ‘हामी जुम्ल्याहा, पाँच मिनेटपछि म जन्मेको हुनाले ऊ दिदी म बहिनी ।’

उसो भए साहुनीजत्तिकै मोनाको उमेर होला । साहुनी यही पच्चिस–छब्बिसकी लाग्थी । उमेर बढाएर मैले सोचिन । सोच्न सक्थेँ—साहुनी पच्चिस–तीसकी होली । उमेर नबढाएर सोच्नुको कारण यो थियो—साहुनी कलिलो उमेरकी लाग्थी । राम्री पनि थिई हिरोइन जस्ती ।

म महिनावारी खाना खान आकर्षित भएको यो एउटा कारण हुन सक्थ्यो । तर, उसको होटेल अलि कुनामा पथ्र्यो । तैपनि म यहाँ आएँ ।

उसको लोग्ने हाम्रै कार्यालमा सहायक थियो । बाहिरबाट आएका कर्मचारीहरूलाई त्यतै खाइदिन अनुनय—विनय गथ्र्यो । भन्थ्यो— ‘सर, मेरो होटेलमा खाइदिनोस् । दुई पैसा भए पनि मलाई हुन्छ । म स्टाफ नै त हुँ सर ।’

यो मोनाको कथा थियो यद्यपि मोना देखिएकी थिइन । मोना अदृश्य थिई तर साहुनी उसको कुरा निस्केपछि फुरुङ्ग हुँदी रहिछ । मैले पनि मौका छोपेर भनिहालेँ— ‘यो मोना अहिले कहाँ छे साउनी ?’

मेरो उत्सुकता देखेर साहुनीले भनी यद्यपि साहुनी उसको उमेर र जिउडाल हेरी साहुनी सम्बोधन अलि गरुङ्गो सम्बोधन अलि गरुङ्गो लाग्थ्यो— ‘खै के थाहा ?’

थाहा नहुनु अलि रहस्यमय लाग्यो ।

‘तर तपाईंले त उसलाई बुवाले असाद्धे पुलपुल्याएर पालेजस्तो गरी कुरा गर्नु हुँदै थियो फोनमा ?’

‘त्यसैको परिणामको कुरा गर्दै थिएँ नि त म ।’

‘तर, एउटा कुरा के साउनी, उसको नाम मुना भए राम्रो सुनिने थियो, हैन ?’

साहुनी एकछिन घोत्लिई, मेरो बसेको कोणबाट हेर्दा ऊ अझ राम्री देखिई । तर, मैले यो सोध्न सक्दिनथेँ— ‘साउनी के मोना तपाईं जत्तिकै सुन्दर थिई ?’ यस प्रश्नले अर्कै आशय दिन सक्थ्यो ।

मोना सुन्दर त थिई नै होला तर, प्रकारान्तरले साहुनीलाई राम्री छौ भनेर फुर्काएजस्तो पनि हुने थियो । एक अधिकृत स्तरको व्यक्तिले त्यस्तो भन्नु स्वाभाविक देखिएन, शङ्कास्पद हुन सक्थ्यो ।

उसमाथि साहुनी आफ्नै कार्यालयको सहायककी पत्नी । धर्मसङ्कट थियो । साहुनीको सुन्दर रूपले बेलाबेला मलाई उसको सुन्दरताको तारिफ गर्न उमाल्न खोज्थ्यो जसलाई म बलजफती दबाएर राख्न विवश थिएँ ।

भनी, ‘अहिले यता आएर थाहा भयो मुना नाम उसको हुनुपर्ने रहेछ । तर, बाबा जो थिए उनी इन्डियन आर्मीबाट रिटायर्ड भएका हवल्दार थिए । त्यसको के भने इन्डियातिर मोना भन्ने बढी चल्दो रहेछ । म त नेपालमै जन्मेको ।’

‘त्यसो भए मोना इन्डियामै जन्मेकी हो ।’

साहुनीले उत्तरमा भनी, ‘इन्डियामै जन्मेको भए पनि ऊ नेपालमै हुर्केबढेकी हो । पढेकी पनि यहीँ हो । डिप्लोमा गरेकी पनि हो । तर...।’

तरपछि साहुनी मौन भई । शनिबारको दिन थियो र मजस्तै महिनावारी खाना खान आउनेहरू ढिलै आउने थिए । तरपछि साहुनी अलि गम्भीर भई । उसको अनुहार अलि उदास भयो । तर, भित्री कुरा लुकाउनु पर्ने हुनाले उसले तरपछि अरू कुरा थपिन ।

‘अनि बिहे पनि त नेपालमै भयो होला ।’

‘त्यो त हुने कुरै भो ।’ साहुनी कस्तो बेकुफ प्रश्न गरेको भन्ने आशय जनाउन फिस्स हाँसी ।

‘केटी यहीँ हुर्कीबढी भनेपछि उसको बिहे यहीँ हुने भएन र ?’ साहुनीले प्रश्न उल्टै मतिर तेस्र्र्याई ।

‘तपार्इंको पनि बिहे यतै भएको होला ?’

‘धत् ! यो पनि सोध्ने हो ? मेरा श्रीमान् त तपाईंकै कार्यालयमा काम गर्नुहुन्छ भनेपछि....।’

त्यसमा प्रश्नोत्तर हुन सक्तैनथ्यो ।

‘बाबा अहिले कहाँ हुनुहन्छ ? तपाईंको माइत कहाँ हो ?’

‘बाबा अहिले माथि गइसक्नुभो ।’ साहुनीले पुष्ट गोरो चोरऔँलोले माथितिर देखाई । नङ्मा रातो नेलपालिस थियो ।

‘बाबा नै नभएपछि माइतको के कुरा ?’

‘दाइभाइ त हुँदा हुन् ?’

‘यो इन्टरभ्युको के फाइदा ? तपाईं मलाई सुहाउँदो जागिर लगाइदिनुहुन्छ ?’ यति भनेर साहुनी खितित्त हाँसी । हाँस्दा भन्न सकिन्थ्यो, साहुनी झन् राम्री देखिई ।

‘मोनाको के भएको हो नि ?’ मैले सोधेँ ।

‘के कुरा ?’ साहुनी काउन्टरपछाडि थिई, टाउको उठाएर मतिर हेरी ।

‘त्यै, मोनाले त्यसो गर्न नहु्ने भन्दै हुनुहुन्थ्यो नि अगि फोनमा ।’

‘एउटा कुरा के सर,’ उसको लोग्नेको सम्बोधनको देखासिकी उसले पनि मलाई ‘सर’ नै भन्थी । सरको सम्बोधनले म अलि खस्कन्थेँ । उमेरमा केही वर्ष अरू थपिए भैmँ हुन्थ्यो । खान बसेको बेलामा पनि काम गर्ने केटोलाई अराउँथी— ‘ए सरलाई खाना थप् ।’ ‘मासुको रस ? दाल ?’

मलाई अनौठो लाग्थ्यो, साहुनीले सर भनेर सम्बोधन गर्दा । कममा पनि मेरो नाम लिएर सम्बोधन गर्न सक्थी । म अलि अझ तन्नेरीपन अनुभव गर्ने थिएँ होला ।

मैले यो पनि भनिन, ‘मेरो नाम कोमल हो साहुनी । यसै नामले बोलाउँदा हुन्छ साहुनी ।’ तर, एउटा स्मरणीय कुरो यो थियो, मैले अभैmसम्म साउनीको नाम सोधेको थिइन । होटेलको नाम त थियो ‘सनम होटेल’ ।

के साहुनीको नाम सनम हो ? उसको नाममा होटेल स्थापना गरिएको हो ? सनम नाम पनि ठीकै हो । नाम अझ मधुरो हुन सक्थ्यो, तर भएन । पक्कै पनि यो साहुनीको न्वारनको नाम हुन सक्दैन ।

हवल्दार बाउले राखिदिएको बोलाउने नाम हुन सक्छ— सनम । ‘सनम तेरी कसम....’ हवल्दार यो गीतबाट प्रभावित हुन सक्छ ।

‘मोनाको के भएको भन्नु नि सर, ऊ पढ्दापढ्दै पोइल हिँडी । बाबा कति रुनुभो । आमा त हामी जन्मेको केही समयपछि बित्नुभएको हो । के गर्ने अभागी रहेछौँ ।’

मलाई झड्का लाग्यो । मोना पोइल हिँडी भने साहुनी के टिक्ली ? तर, यो मेरो सरोकारको विषय थिएन ।

‘तपाईंका कति वटा छन् सन्तान ?’ मैले मोना पोइल हिँड्नुको सन्दर्भ टिकाएर उसको सन्तान हुनु नहुनुको प्रश्न उठाएको लाग्न सक्थ्यो ।

तर उसले त्यसतिर ध्यान दिइन । लागेको हुँदो हो, यो प्रश्न सबैले सोध्छन्, आशय जे भए पनि ।

साहुनीले उज्यालो मुख लगाएर भनी, ‘एउटा छ । ऊ यता देखा पर्दैन । काकाको घरमा बसेर पढ्छ । खर्च हामी भर्छौं । हामीले नै भनेका छौँ यता होटेलमा नआइज । अनेक थरी मानिस आउँछन् । दारुपानी, भैmँझगडा । होटेल थापेपछि सहनै पर्ने रहेछ, सर । सरले कत्तिको पिउनुहुन्छ ?’

म झसङ्ग भएँ । तर, यो भन्न सकिन— ‘छोराछोरीकी आमाजस्ती त लाग्नुहुन्न यद्यपि साहुनीको एउटा मात्र छोरो थियो । एउटाले स्त्रीको रूप र जीउडाल खुकुल्याउन सक्दैन कि ?

साहुनीको मान्यतामा म पनि पिउनेमा पर्दो रहेछु । तर, मैले हाँस्दै भनेँ, ‘साहुनी म पिउँदिन । अहिलेसम्म रक्सी छोएको छैन । तर हेर्नोस्, त्यस्तै परेमा पिउने काम सिक्न सकिन्छ ।’

साहुनीले मेरा कुरातिर ध्यान दिइन । आशय समात्नतिर पनि लागिन । तर, मोनाको प्रसङ्ग अभैm सकिएको थिएन ।

मैले दारुपानीका कुरा पन्छाएर सोधेँ— ‘अनि अहिले मोनाले के गरिछ त ? त्यस्तो के चिन्ता प¥यो तपाईंलाई ?’

‘चिन्ता के हुनु ? आफ्नै जुम्ल्याहा दिदी । उसले गरेको कर्तुतले हामी पनि लज्जित हुन सक्छौँ नि सर ।’

साहुनी इज्जतदार देखिई ।

‘के गरिछ त्यस्तो ?’ मैले तैपनि सोधेँ । साहुनीले आवाज अलि तल झारी तर मैले सुन्ने गरी भनी— ‘फेरि पोइल हिँडिछ ।’

साहुनी थोरे हाँसी । मोना मेरा आँखाअगाडि पटाक्षेप भई । कथा सकियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro