राजाराम फुयाल
नेपालको सुदूर उत्तर दार्चुलामा रहेको अपिहिमालको नाम बच्चैदेखि सुन्दै आए तापनि दुरीका कारंण घुम्न जाने आँट कहिल्यै आएन ।
सुदूरपश्चिमकै अति सुन्दर अग्लो शिखर हो, अपिहिमाल । सुदूर पश्चिमकै गौरवमय धुरी हो यो । ७ हजार १३२ मिटर उचाइको यस हिमालको काख टेक्ने अभिलाषामा बाटोघाटो र होटल पूर्वाधार पनि छैन भनेको सुन्दा अलिकति जन्मिएको आँट पनि हराएर जान्थ्यो !
तैपनि पुग्नु पर्ने सूचीमा भने अपि कहिल्यै हटेन ।
यदाकदा दार्चुलाका मानिस काठमाडौंमा भेट हुँदा अपिकै बारेमा गफिन्थे । अपशोच, मैले कहिल्यै अपि पुगेको मानिस भेटिनँ । दार्चुलाकै मानिस पनि अपि नपुगेको देख्दा मेरो मनमा यो ठाँउ पुगिएलाजस्तै लाग्थेन ।
हिमाल पत्रिकाका पत्रकार मित्र कृष्ण धामीको यात्रा संस्मरण पढेपछि मरिसकेको जोश फेरि जाग्यो । अनि लागे अपि यात्राको तयारीमा । आफ्नो पदयात्रा टोलीमा पनि छलफल सुरु गरे ।
एक त लामो यात्राको समय मिलाउनै गाह्रो । यही गाह्रोकाबिच १० यात्री अपिहिमाल तिर जान तयार भए । यसपटकको टोली निकै आकर्षक देखिन्थ्यो । २१ देखि ६५ वर्षसम्मका उत्साहि यात्री यस समूहमा थिए ।
काठमाडांै वरिपरि हरेक शनिबार पदयात्रा गरेर हातगोडा तिखारीसकेको टोली भएकाले यात्रा हिँडाइकै कारण समस्या आउने अवस्था रहेन ।
पूर्व निर्धारित दिन र समयमा हामी काठमाडांैबाट दार्चुलाका लागि बस चढेर हिँड्यौँ ।
पदयात्रा आफैंमा साहसिक यात्रा ठानेका हामीले ३० घण्टा एउटै बसमा यात्रा गर्ने हिम्मत पनि गरेका थियौँ । पदयात्री मित्र राम श्रेष्ठको आत्मीय बिदाईबाट सुरु भएको हाम्रो यात्रा प्रचण्ड गर्मी खाँदै बुटबल, दाङ, नेपालगञ्ज हुँदै अत्तरिया कटेर गोदावरीको उकालो काट्दा नकाट्दै कम हुन लागिसकेको थियो ।
महाकाली राजमार्गको भासुको भीर हुँदै हामी साहुखर्क भन्ने चिसो स्थानमा पुग्यांँै । यस ठाउँमा प्रायः यो राजमार्ग भएर यात्रा गर्ने जोकोही खीर खान खोकिने रोकिने गर्दा रहेछन् । तर, हामी सवार बस त्यहाँ रोकिएन । खीरबूढाको नामबाट प्रख्यात यो खीर पसल झण्डै चालिस वर्षदेखि सञ्चालित रहेछ भन्ने कुरा छेउमा बसेका यात्रुबाट जानकारी पाउँदा बडो उत्सुकता जागेको थियो ।
ती स्थानीय भन्दै थिए– “अहिले दोस्रो पुस्ताबाट सञ्चालित यो होटलमा आज पनि ४० लिटर शुद्ध दूधको खीर पाक्दछ ।”
डडेलधुराको उग्रतारा मन्दिरको समेत बसबाटै दर्शन गरी हामी अगाडी बढी रह्यौँ ।
बैतडीको पाटन एरियामा झुलिरहेका पाकेका धानका बालाहरू, सल्लाको रूखबाट भइरहेको खोटो संकलन जस्ता दृश्यहरू पनि बसको झ्यालबाट नियाल्दै बाटोमा तीनछाक खाना खाएर दार्चुला र बैतडीको सिमावर्ती बजार गोकुलेश्वर पुगेका थियौँ ।
करिब ३० घण्टा लामो बस यात्रा अब सकिएको थियो । त्यहिँको एउटा होटलमा झोला बिसाउँदै भोलिको यात्रा तयारी गर्न थाल्यौँ, हामी ।
बैतडी र दार्चुलाको सिमानामा अवस्थित सुन्दर बजार रहेछ, गोकुलेश्वर । गोकुलेश्वरबाट झन्डै ३० कोस पूर्व उत्तरमा रहेको अपी हिमाल बेसक्याम्प जान हामी हतारिएका थियौँ ।
बिहान सबेरै १० यात्रीलाई भनेर दुइटा जीप बुक गरिसकिएको थियो । जीप यात्रा मकरीगाडसम्मको मात्रै थियो । ३४ कि.मी पररहेको मकरीगाड जाँदा बाटोमा अनेक गाउँ भेटिए । गुल्जर गन्नासम्म अत्तरियाबाट बस आउँदो रहेछ । गोकुलेश्वरको सट्टा यहाँ बस्न पनि सकिने रहेछ ।
चमेलिया नदीको किनारै किनार हामी गुडिरहेका थियौँ । चमेलियालाई स्थानीयले चौलानी नदी भन्दा रहेछन् । चौलानी नदीको किनारै किनार १८ किलोमिटर पक्की बाटोमा यात्रा गरेपछि चमेलिया हाइड्रोपावर पुगिन्छ ।
त्यहीँबाट पक्की बाटो सकिन्छ र सुरु हुन्छ ग्राभेल बाटो । केही बेरमा ड्यामसाइड पुगिन्छ । पुरै नदीलाई ड्याम्प बनाएर बिजुली निकालिएको रहेछ । ड्यामपारि एउटा निकै आकर्षक झरना रहेछ । हामीले मन थाम्न सकेनौँ । हामी जिपबाट ओर्लेर फोटो खिच्न थाल्यौँ ।
चौलानी खोलाको तिरैतिर जिपमा गुड्दा वरिपरिका निकै आकर्षक भूगोलले मन तानिरहेको थियो । अपि हाइड्रोपावर पनि यसै बाटोमा नै पर्दो रहेछ । भर्खरै ‘अपि भ्रमण सप्ताह’ मनाएर आगन्तुकलाई आकर्षित गरेको सुदूरपश्चिम प्रदेशको सबभन्दा अग्लो अपिको आधारशिविरसम्म पदयात्रा गर्न बाटोमा हामी १० यात्रीबाहेक एकाध मानिस मात्र भेटिरहेका थियौँ !
बिहान ६.३० बजे गोकुलेश्वरबाट गाडीमा हुइँकिएका हामी १० बजे मकरीगाड पुग्यौँ । गाडीको यात्रा मकरीगाडसम्म मात्रै गर्न पाइन्छ । त्यहाँ भाइको होटलमा मीठो खाना खाएपछि हाम्रो पैदल यात्रा सुरू भयो, अपि आधारशिविरका लागि ।
मकरीगाडबाट खण्डेश्वरी नौपाटा होमस्टे पुग्ने गरी अगाडि बढ्यौँ । मकरीगाड खोलामा श्रीलंकाको लगानीमा हाइड्रोपावर बनिरहेको देख्दा अचम्मित भए ।
नेपालजस्तै सानो अर्थतन्त्र भएको देशले नेपालमा लगानी गरेको देख्दा जो कोहीलाई अचम्ममा पार्छ । हाइड्रोपावरअगाडिको झोलुङ्गे पुल तरेर एउटा कठिन तर छोटो उकालो चढेपछि सिँढीको बाटो आउँछ । त्यो सिँढी खण्डेश्वरी जान बनाइएको रहेछ ।
मकरीगाडको डाँडोदेखि मकरीकोटसम्म चार हजार सिँढीमा स्वाँस्वाँ गर्दै, बोतलमा बोकेको पानीको घुट्की लिँदै करिब तीन घण्टाको उकालो पैदल यात्रा यात्रा गरेर हामी २ बजे मकरीकोट पुग्यौँ ।
मकरीकोटमा एउटा निकै आकर्षक चौतारा रहेछ । त्यहिँसँगै रहेको चिया पसलमा चिया र बिस्कुट खायौँ । भोकाएका साथीहरूले चाउचाउ पनि खुब मीठो मानी मानी खाए । त्यही होटलवाला दाइले बताएअनुसार मकरीकोट माथि निकै राम्रो खर्क रहेछ । हिमाली दृश्य र चौर निकै आकर्षक रहेछ भन्ने कुरो तिनीबाट बुझेपनि यसपाली हाम्रो गन्तव्य त्यो थिएन ।
पछि कुनै बेला आउने सोच बनाउँदै करिब एक घण्टा आराम गरेर हामी खण्डेश्वरीतर्फ लाग्यौँ । हामी साँझ ५ बजे खण्डेश्वरी पुग्यौँ । अपिहिमाल गाउँपालिका–४ स्थित नौपाटा होमस्टेमा हामी पुगेका थियौँ ।
नौपाटा सामुदायिक भवनमा साँझ पुग्ने बित्तिकै यसो वरिपरी हेरेको, गाँउ नै क्या गुल्जार ! घरघरमा सेता बिस्कुन । बारीभरि सयपत्री, गोदावरी र लाहुरे फूल ढकमक्क ! मन त्यसै बहकियो ! देख्दै मनमा शीतलता छायो ।
हामी आइपुगेको खबर पाउनासाथ खण्डेश्वरी गाउँपालिकाका पर्यटन विभाग प्रमुख बिसन बुढाथोकीजी आइपुग्नु भयो । आमा समूह तुरुन्त आफ्नो भेषभूषामा सजिएर हाम्रो लागि माला लिएर आइपुगे ।
गाउँमा पर्यटक आएकोमा सबैको अनुहार धपक्क बलेको थियो । आमाहरू निकै खुशी देखिन्थे । यसरी स्थानीय बासिन्दाले भव्य स्वागत गरे । देउडा गीत गाउँदै, दमाहा बजाउँदै रमाइरहेका थिए, स्थानीय ।
हामीले पनि नसोचेको आतिथ्य पाउँदा दङ्ग थियौँ । हामी सबै सँगै नाच्न थाल्यौँ । नाचगान निकै बेरसम्म चल्यो । गाउँमा बत्ती नभएकाले लामो समय चल्ने नाच बिचमै बन्द गर्नुपर्ने भयो ।
नौपाटामा रहेको पाँच वटा होमस्टेमा हाम्रो बासको प्रबन्ध गरिएको थियो । होमस्टेको बसाई निकै सुबिस्ताजनक रह्यो ।
खासमा संस्कार र संस्कृतिले भरिएको आतिथ्य मिल्यो । त्यहाँको आमा समूहको सत्कार शब्दमा बयान गर्नै नसकिने ! त्यो गाउँको परिवेश अनि एकै ठाउँमा झुरुप्प भएर मिलेर बसेको सुन्दर बस्तीसँग सामीप्य पाउँदाको आनन्द, खै कुन शब्दमा बयान गरु !
जीवनमा पहिलोपटक काक्रोको दाल पनि खाइयो । यो परिकार मेरा लागि नौलो र स्वादिष्ट पनि थियो । स्थानीय परिकारको मिठो स्वाद र फरक अनुभूति लिँदै गयौँ । दिनभरको थकाइ र चिसो बढेका कारण न्यायो ओछ्यान पाउने बित्तिक्कै निद्रा लागिहाल्यो । एकैचोटी बिहान ६ बजे मात्रै उठियो ।
राति निद्रा राम्रो परेकाले बिहान निकै स्फुर्ति थियो, हामीमा । बिहान ओछ्यानमै स्थानीय जडीबुटी (गानन) राखेको चियाले ‘फ्रेस’ गरायो । ब्रेकफास्ट खाएर अगाडिको यात्राको तयारीमा जुट्यौँ ।
अबको हाम्रो यात्रा तेस्रोबासका लागि सितीसम्मको थियो । सितीका लागि हामी ८ बजे प्रस्थान गर्यौँ । विसनसिंह बुढाथोकीले खोजिदिनु भएको दुई जना गाइड भाइको अगुवाईमा खण्डेश्वरीबाट जुस्कुको ओरालो झर्यौँ । खण्डेश्वरीबाट ओरालो लागेपछि करिब दुई घण्टाको हिँडाइमा चौलानी नदीको झोलुङ्गे पुल पुगियो ।
बाटोमा डाँडाबाटै दुई अति नै लामा झरना देखिएको थियो । त्यही झरना हेर्दै ओरालो झरेको त, हामीलाई पत्तै भएन !
चौलानीले हामीलाई पर्खिरहेको थियो । धनबोहरा पुगेपछि चौलानी नदी तरियो । करिब १६ मिनेट तेर्सो बाटो हिँडेपछि उकालो बाटो सुरु भयो ।
यहाँबाट उकालो लाग्दा बाटोमा गुस्याली झरनाको सुन्दरताले हामीलाई मोहित तुल्यायो । घाँसेभिरको बाटो रहेछ । चार फिटे बाटो भए पनि उक्लिन निकै कठिन थियो । लडियो भने हाडखोर पाउन पनि मुस्किल !
अरू साथीको अनुभव त थाहा भएन, मेरो अनुभव चाहिँ निकै डरलाग्दो थियो । एउटा ढुंगा गुडाइ हेरँे कहाँ पुगेर रोकिन्छ भनेर, तर ढुंगो कहाँ पुग्यो पुग्यो आँखाले ठम्याउन सकेन ।
ओहो ! म लडेँ भने यस्तै हालत त होला भन्ने सोचेँ । अनि बहुत होसियारीपूर्वक हिँडेँ । घुसाको भीरबाटोमा चीलहरूले कावा खाइरहेको दृश्यले आफू पनि चीलसरी उड्न सके यहीँबाट अपि हिमालको दर्शन गर्न पाइने कल्पनामा मग्न हुँदै अघि बढिरहेँ ।
फर्किंदा यो बाटो नआउने अर्को बाँटो खोज्ने सोच्दै भिरतिर आँखा नलगाइ अघि बढेँ । त्यसैबिच निकै प्यास लाग्यो । बोकेको पानी पुरै सक्याएँ !
करिब दुई घन्टा त्यो भीरबाटो हिँडेपछि बल्ल सिमीबारी भेटियो । खेती गरेको ठाउ भेटिएपछि अब गाँउ टाढा छैन भन्ने लाग्यो । तर, कुनै गाँउबस्ती आँखाले देखेको थिएन ।
विशनजीले खोजिदिनु भएको गाइड चन्द्रसँग उकालोकै आडमा बनाइएको विश्रामगृहमा भेट भयो । उनैबाट नजिकै पाटुगाँउ रहेको जानकारी मिल्यो । डरलाग्दो उकालो सजकतापूर्वक पार गरेपछि बल्ल बाँचियो भन्ने अनुभूति गरियो !
यसो चिप्लियो कि प्राणपखेरु नरहने भीर हामी १० जनाले पार गरेकोमा खुसी लाग्यो । सिमीबारी आएपछि बाटो उकालो भए पनि डरलाग्दो थिएन । बारीकै छेउमा बगेको खोल्सीबाट बोटलमा पानी भेरेर उकालो लाग्यौँ हामी ।
एक घन्टा जति हिँडेपछि एउटा रुख आयो । रुख मुनि हामीजस्तै दुई पदयात्री थकाइ मारिरहेका देखिए । मलाई पनि त्यहिँ बस्न मन लाग्यो । साथीहरू कोही अगाडि कोही पछाडि थिए ।
अपिरिचित यात्रीहरूले मलाई पनि काँक्रो खुवाए । कुराकानीबाट थाहा भयो, उनीहरू श्रीलंकन रहेछन् । आफ्नै देशले बनाएको हाइड्रोपावरमा काम गर्दा रहेछन् । अनि अपि हेर्ने जोश चलेपछि हिँड्न कस्सिएका रहेछन् ।
अरु साथी आइपुगेपछि हिँड्न सुरु गरेँ । बारीका कान्लाकुन्ली पार गर्दै अर्को एक घन्टामा बल्ल घुसा गाँउमा पुगियो । निकै दयालु रहेछन् गाँउलेहरू पनि । बारीको काँँक्रो टिपेर नुन खोर्सानी दलेर निःशुल्क खुवाए । हामी धन्यवाद दिँदै अगाडि बढ्यौँ ।
घुसा गाउँ पार गरेर सिरमा रहेको तेर्सोबाटोमा पुगेपछि थाहा भयो नाली अझै एक घन्टा पर पो रहेछ । नालीमा हाम्रो लागि खाना पाकिरहेको थियो । दिउँसोको खाना नालीमा खाएर आरुखोट हुँदै बेलुकी सिती होमस्टेमा पुग्ने योजना थियो ।
नालीमा हाम्रो लागि खाना तयार थियो । केही बेर आराम गरेर खाना खाइवरी हामी सितीतर्फ लाग्यौँ । स्थानीय बासिन्दाका लागि नालीदेखि आरुखोट हुँदै सितीको हिँडाइ अढाइ घन्टाको यात्रा हो ।
तर, हाम्रा लागि त्यो सम्भव थिएन । डेढ घण्टाको हिँडाइमा सिती गाउँ देखिने सेल्फीडाडाँसम्म पुग्यौँ । मौसम खुल्दै गयो । अपि हिमालको पहिलो दर्शन यहिँबाट पाइयो । हिमालको साथमा सिती तथा अन्य गाँउका निकै रोमाञ्चक दृश्य पनि देखियो ।
स्वाभाविक थियो, हामी निकै रमायौँ । यही रमाइलोमा अक्करे भीरको बाटो हुँदै हामी सितीतर्फ अघि बढ्यौँ । बाटोमा स्थानीय व्यक्तिको आतिथ्य स्वीकार्दै, भेटिएका चीलका बथानको उडान हेर्दै, तलपट्टि चौलानीको सुस्केरा सुन्दै, साथीभाइका मीठा गफमा रमाउँदै जाँदा बाटो कटेको पत्तो भएन ।
त्यही जोशले पनि होला, यात्रालाई बल दियो । जेनतेन बेलुकी ६ बजे सिती होमस्टेमा पुग्यौँ । होमस्टेका भाइले न्यानो स्वागत गरे । त्यस दिनको वास सिती होमस्टेमा शान्ति जागरीको घरमा भयो । दुईवटा घरमा बासको प्रबन्ध गरिएको थियो । घरमा पाहुना आएकोमा होमस्टेको भाइ निकै खुशी देखिए । न्याना ओछ्यान हाम्रा लागि तम्ततयार थियो ।
हामीले खानाको मेनु बताएपछि भाइ किचनतिर लागे । हामी आँगनमा मकै पोल्न थाल्यौँ । पछि तातो भात र लोकल कुखुराको मासुसंग खाएर हामी सुत्यौँ । दिनभरको थकाइले होला, केही बेरमै निद्राले छोपिहाल्यो ।
भोलिपल्ट बिहान ६ बजे नै सिती होमस्टेबाट निस्क्यौँ, हामी । सिती गाउँको बिचबाट हिँड्दै बिस्तारै ओरालोतर्फ झरियो । पर क्षितिजमा निकै राम्रो जंगल र जंगलमुनि चौलानी नदी देखिएको थियो । घुसा मुनि छोडिएको खोलासँग फेरि भेट हुँदै थियो । हामी चौलानीमा मिसिन बेतोडले बग्दै आएको खोलामा पुग्यौँ ।
खोला निकै सफा र कञ्चन थियो । पुल तरेर सानो उकालो चढ्ने बित्तिकै एउटा चौर आयो । पर्यटकका लागि जानकारी बोर्ड पनि राखिएको रहेछ । छेउमा एउटा घर थियो । त्यहि घरमा पसल र होमस्टे राखिएको रहेछ ।
हाम्रो पथ प्रदर्शक चन्द्रकाअनुसार यो ठाउँ खायकोट रहेछ । खायकोटमा हाम्रो ब्रेकफास्ट खाने योजना थियो । स्थानीय होमस्टे संचालक हामी आएकोमा दंग परे । एकाबिहानै घरमा पाहुना आउँदा उनी छक्क परिरहेका थिए ।
सितीबाट खायकोटसम्मको पदमार्ग ओरालो अनि चित्ताकर्षक थियो । चौलानी नदीको डिलमा रहेको सानो चौर अनि व्यास हिमालको सुन्दर दृश्य हामी मोहित भयौँ । चना, अण्डा र चिया हाम्रा लागि तयार थियो ।
केही बेरको गफगाफपछि हामी छिरछिरेका लागि अगाडि बढ्यौँ । हाम्रो लागि खानाको व्यवस्था त्यहीँ गरिएको थियो । खायकोट अन्तिम बस्ती हो । त्यहाँबाट जंगल शुरू हुन्छ ।
अब हाम्रो यात्रा चमेलीया नदीको किनारैकिनार अघि बढ्छ । सागर भेट्न हतारिएको नदीको सुसेली, निगालो घारीको बीचबाट लमतन्न परेको पदमार्ग, चराको चिरचिराहट, पारि भीरमा झुण्डिरहेको भीरमौरीका चाकैचाका, गन्तव्यमा पुग्न हतारिएका खच्चडका बथान, ठाउँठाउँमा भेटिने भेँडी गोठ र तिनका सुरक्षामा खटिएका भोटे कुकुरको एकोहोरो भुकाइ, अपि हिमाललाई स्पर्श गरी फर्किएको चिसो सिरेटो, हिमाली भेगमा पाइने वनस्पतिहरूको बाक्लो जंगलले यो खण्ड वास्तवमै अतुलनीय अनुभव भयो ।
जाने बाटो नै यती सुन्दर छ भने अपि तिमी कस्ती हौलि ? यो कौतुहलाताले हाम्रो मन थप रोमान्चित हुँदै थियो । अपि हिमाल गाउँपालिकाले पदमार्गमा राम्रो लगानी गरेको देखियो । बाटो निकै सजिलो र सूचना पाटीयुक्त थियो ।
खायकोटभन्दा माथि गाउँ नभएकाले गाउँपालिकाकै लगानीमा बास बस्न मिल्ने काठको घर छिरछिरेमा बनाइएको रहेछ । सितीबाट आधार शिविर जाने बाटो सजिलो छ । खायकोटबाट चौलानीको किनारैकिनार अपिआधार शिविरसम्म पुग्ने पदमार्गमा कहिले उकालो, कहिले झाडी र कहिले छहारी हुँदै चार घन्टाको हिँडाइपछि २ हजार ५ सय मिटरको उचाइमा अवस्थित छिरछिरे पुगियो ।
हामीले ठुलो ढुंगामा बसेर घाम ताप्यौँ र मासु भात खाइ सिध्याएर सिमारतिर लाग्यौँ । हरियो जंगल, चौलानी नदीको एकनासको आवाजले बेग्लै वातावरणको रन्को दिन्थ्यो । चौलानी नदीको तिरैतिर तेर्स्रो बाटो हिँडिरहेका थियौँ । नदीले आकार फेरीफेरी हामीलाई मोहित गरिरहेको थियो । घरी झरना त घरी तालजस्तो बनेर नदीले आफ्नो बहुरूप देखाइरह्यो ।
बाटोमा भेडाको बथान र गोठालासँग भलाकुसारी गर्दै हिँड्न पाएकोमा पनि रमाइलो अनुभव भइरहेको थियो । सिमारमा मानवबस्ती थिएन । भेडी गोठ उठिसकेको रहेछ । अवशेष मात्र देखियो । चौरमा केहीबेर आराम गरेर धौली ओडारका लागि हामी हिँड्यौँ ।
दुई–तीन घन्टाको यात्रा हो, तर थकाइ र चिसोले होला, समय दोब्बर नै लाग्यो । रोखापु र अपिको आधार शिविर जाने दमोल दोभानबाट अगाडि लागेपछि फेरि मौसम प्रतिकूल बन्यो । साह्रै चिसो भयो । जब भई दह धौली ओडारको नजिक पुग्यौँ, झमक्क अँध्यारो पर्यो । चिसो अँध्यारोबिच हामी हिँडिरह्यौँ, हिँडिरह्यौँ ।
लगभग ३० मिनेट हिँडेपछि हामी धौलीओडारको गाँउपालिकाले बनाएको होमस्टेमा पुग्यौँ । धौलीओडार पुग्न चाहिँ अलि कठिन भएको अनुभूत भयो मलाई । यात्रा जति कठिन हुन्छ त्यति नै अविस्मरणीय र रमाइलो नि हुँदो रहेछ । होमस्टे रुँङ्न राखिएका कर्मचारी रक्सी पिएर होसमै थिएनन् !
कोठाको चाबी नै हरायो खोल्न मिल्दैन भनेर कडकिँदै थिए । साथीहरू अत्तालिए । यस्तो चिसोमा बाहिर बस्नु पर्यो भने त...! आत्तिनु स्वभाविक थियो ।
त्यहाँबाट अपिहिमाल आधार शिविर पुग्न एक घण्टा हिँड्नु पथ्र्याे । हिँड्न सक्ने अवस्थामा हामी थिएनौँ । जसो तसो त्यहिँ बस्नुको विकल्प पनि थिएन । त्यसैले बल्लतल्ल तिनलाई फकाएर साँचो खोज्न लगाएँ । तिनले माने पनि । अनि साँचो भेटियो भनेर दियो । बल्ल सजिलो भयो । यसरी धौलीओडारमा रहेको गाउँपालिकाको होमस्टेमा वास भयो । गाउँपालिकाले प्रेम जागरीलाई होमस्टेको रखवाला बनाएको रहेछ ।
प्रेम जागरीले कुरुवा राखेका होमस्टे हेरालु भाइ भने खाना पकाएर हामीलाई खुवाउने अवस्थामै थिएनन् । हाम्रा पथप्रदर्शक चन्द्रले खानपानको सबै प्रबन्ध गरे । आफैं भान्छे बनेर पकाएर हामीलाई खुवाए ।
गाउँपालिकाले पदयात्रीहरूका लागि सजिलो होस् भनेर थुप्रै स्लिपिङ्ग ब्याग र म्याट्रेसको व्यवस्था गरिदिएको रहेछ, त्यो पनि निःशुल्क । मौसम खुलोस् भन्ने कामना गर्दै हामी ओछ्यानमा पल्टियौँ ।
नभन्दै भोलिपल्ट झिसमिसेमै पनि आकाश सफा थियो । हामी चन्द्र भाइले पकाएको चना र अण्डा खाएर हिँड्न तयार भयौँ र एकाबिहानै सुस्केरा हाल्दै अगाडि बढ्यौँ । झिसमिसे अँध्यारोमै बिहानीपखको हिमाल हेर्ने उद्देश्यले हामी उकालो लागेका थियौँ । टाउकोमा हेडटच बालेका थियौँ ।
अलि पर पुगेपछि कायाकोरा हिमालले दर्शन दियो । एकाबिहानै हिमालको दर्शन पाएकाले मौसमले साथ दिने लक्षण देखियो । हामी निकै खुसी भयौँ । कायाकोरा हेर्दै र त्यसको फोटो खिच्दै हामी अपिलगायत अरू हिमालहरू पनि हेर्न उकालो चढिरह्यौँ ।
उकालोका दुइटा घुम्ति पार गरेपछि बल्ल अपि हिमाल मुस्कुराएको देखियो । नाम्पाले पनि आफ्नो अनुहार देखायो । दुवै हिमाल दाजुभाइ जसरी बसेका रहेछन् । हामी तिनलाई अपलक हेरिरह्यौँ ।
निकै आनन्द लाग्यो । नजिकैबाट अपि अवलोकन गरेको यो पहिलो अवसर थियो । केही बेरको हिँडाइपछि बिहान ६ बजे अपि आधारशिविरमा पुग्यौँ । करिब डेढ घण्टाको उकालोपछि ३ हजार ९०० मिटरको उँचाइस्थित वेश क्याम्पमा थियौँ, हामी ।
आँखैअगाडि उभिएको अपि हिमाल कायाकार, नाम्पा, भवैया, लाइकुपिकको प्रथम सात्क्षात्कारमै यात्राको थकाई भाग्यो । यी हिमालहरूको विशालताले हामी मानिस प्रकृतिकाअगाडि कति साना र निरीह छौँ भन्ने बुझ्ने मौका समेत पाइयो ।
सबै कुरा प्रत्यक्ष नियाल्दै स्वर्गको एउटा टुक्का जस्तो लाग्ने अपी आधारशिविर पुग्दा निकै खुशी लाग्यो । एकछिन त ठिङ्ग चौरमा उभिएर बडेमानको चौर देख्दा छक्क परियो । यति ठूलो चौर अन्य हिमालको आधार शिविरमा देख्न पाइएको थिएन । चौरमा बसेर केहीवेर वरिपरि हेरेर रमायौँ । फोटो खिच्यौँ । आधारशिविरबाट अपिसँगै देखिने हिमशृङ्खलाको दृश्य मनोरम थियो । हिमपात नभए पनि चिसो बढेको थियो ।
अझ बेलाबेला हिमपहिरो खसेको आँखैअगाडि देख्दा अर्कै संसारमा पुगेको अनुभूति हुँदो रहेछ । केही दिनको हिँडाइ, थकाई र पसिनासँग पौठेजोरी खेल्दै हामी आधारशिविरसम्म पुगेका थियौँ । त्यहाँ पुगेपछि भने थकाइ आफैं हरायो । मन प्रफुल्ल भयो । ज्यानमा ऊर्जा भरिएको महसूस भयो । हामी दशै जना पदयात्री निकै रमायौँ ।
अबको हाम्रो यात्रा कालीढुंगा तालतिरको थियो । पाइला त्यतैतिर लागे । चौरमा करिव १० मिनेट हिँडेपछि एउटा पुल आयो ।
त्यहि पुल तरेर हामी कालीढुंगा तालतिर गयौँ । हिमाली चौरमा एक घन्टा हिँडेपछि एउटा कठिन उकालो आयो । ढुंगैढुंगाको त्यो उकालो निकै गाह्रो थियो । तैपनि हाम्रो ज्यान थाके पनि मन थाकेको थिएन । निरन्तर हामी हिँडिरहेका थियौँ ।
निकै कठिनतापूर्वक हामी अन्ततः कालीढुंगा ताल पुग्यौँ । पान आकारको ताल निकै आकर्षक थियो । वरिपरि हिमताल अनि हिमालको छेउमा रहेको तालले हामीलाई मोहित बनायो ।
करिब दुई घन्टा त्यहाँ बसेर खाजा खाइवरि फेरि बेसक्याम्प फर्कियौँ । अबको यात्रा चौलानी नदीको मुहानतर्फको थियो । तालबाट फर्किएर पुल तरेपछि सिधै मुहानतिर लागियो । अनि ४० मिनेटको हिँडाइमा मुहान पुग्यौँ । अपि हिमालको ठ्याक्कै काखमा चमेलिया खोलाको मुहान रहेछ । धार्मिक आस्थाको एक बलियो स्थानका रूपमा रहेको यस मुहानमा सानो मन्दिर पनि रहेछ । नदीको उद्गमस्थल निकै आकर्षक थियो ।
नदीको पहिलो बिन्दु हेर्ने अवसर चौथो पटक मिलेकोमा निकै खुशी लाग्यो । यसभन्दा अघि मैले लाङ्टाङ, इन्द्रावति र मोदी नदीको मुहान हेर्ने अवसर पाइसकेको थिए । मुहान पश्चात् अब हामी अर्को ताल जाने मनस्थितिमा थियौँ । तर यो अलि टाढा रहेछ ।
तैपनि हिम्मत हारेका थिएनौँ । सुरुमा सजिलो अनि पछि कठिन बाटो पार गरेर हामी अन्ततः तालमा पुग्यौँ । रिंगदेपानी ताल नामक यो ताल पनि निकै आकर्षक रहेछ ।
केही समय त्यहाँ पनि रमाएर हामी फेरि बेसक्याम्प नै फर्कियौँ । हाम्रो लागि रोटी तरकारी तयार थियो । भोकाएका थियौँ । मिठो मानेर खायाँै । र, एक रात त्यहीँको होटलमा बस्यौँ ।
भोलिपल्ट बिहान पनि हामी सबै अपिकै सौन्दर्यमा रमाउन थाल्यौँ । मन त त्यहीँ नै बसिराख्ने थियो, तथापि दिउँसो तल धौलीओडारतिर झर्यौैँ, अपि आधारशिविरसँग बिदा माग्दै ।
फर्किंदा भने मनमा केही कुरा खेलिरहे । जस्तो– अपि आरोहण सञ्चालन हुनसक्यो भने दार्चुलासँगै सुदूरपश्चिमकै पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्थ्यो ।
नेपालको सुदूरपश्चिम क्षेत्रको ‘अपि नाम्पाको यात्रा’ सदैव रोमाञ्चक र सुखद् हुन्छ । विकटता, अविकास, अशिक्षा, सरसफाइको कमी लगायतका धैरै सामाजिकसूचक नकारात्मक दिशातर्फ सोझिए पनि, त्यहाँका बासिन्दाका मिठो र निःस्वार्थ मुस्कान तथा सहयोगले सधैं आनन्दको अनुभूत गराएको सदा अविस्मरणीय रहने छ ।