काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपालीहरूको आफ्नै संवत् भएको बताएका छन् । शनिबार ११४५औँ नेपाल संवत्को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरुबाट उब्जिएको संवत् नेपाल संवत् भएको उल्लेख गरे । उपत्यकाको नेवार सभ्यता र संस्कृति दुनियाँका लागि असाधारण र अनुपम रहेको उनको भनाइ थियो । नेपाली संस्कृति, परिकार, वाद्यवादनको कुरा गर्दा सबैभन्दा पहिला नेवारी संस्कृतिको उल्लेख हुने गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल भाषालाई ऐच्छिक भाषामा राख्ने निर्णय मन्त्रिपरिषद्बाट गर्नेगरी छलफल अघि बढाउने बताए ।
प्रधानमन्त्री ओलीले भने, "नेपाल संवत्को ११४५औँ वर्ष हो । यो हाम्रो आफ्नो संवत् हो । आफ्नो भूमिको, आफ्नो माटोको, आफ्नो जनताबाट, आफ्नै काम कारबाहीहरूबाट उब्जिएको संवत् हो । यो हाम्रो आफ्नै संवत् हो । हाम्रो आफ्नै भाषा, सभ्यता, संस्कृति, नेपाल भाषा, खासगरी उपत्यकाको नेवार सभ्यता र यहाँको संस्कृति दुनियाँका लागि असाधारण र अनुपम छ । नेपाली संस्कृतिभन्दा, नेपाली परिकार, वाद्यवादनभन्दा पहिला नेवारी संस्कृति र नेपाल भाषा आउँछ । नेवारी संस्कृति आउँछ । कक्षामा कुनकुन भाषालाई ऐच्छिक भाषामा राखिएको छ र नेवार वा नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्ने भनेर मन्त्रिपरिषद्मा छलफल गर्नेछु र अरु भाषा ऐच्छिक भाषामा राखिएको छ भने नेपाल भाषालाई पनि ऐच्छिक भाषामा राख्दा कुनै नोक्सान हुँदैन । त्यसमा मेरो ध्यान गएको छ ।"
प्रधानमन्त्री ओलीले संस्कृति र सभ्यताको रक्षा गर्नुपर्ने बताए ।