site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आफ्नै झन्डा प्रदर्शन गर्न डराएको रास्वपा ! 

काठमाडौं । चर्का नारासहित दुई सातायता पोखरा र काठमाडौंमा जुलुस प्रदर्शनी र नाराबाजी भए । तर, त्यो आन्दोलन कसले गरेको हो ? जिज्ञासाचाहिँ सजिलै मेटिँदैनथ्यो ।

त्यो थाहा पाउने अघिल्लो पंक्तिमा उभिएका सांसद–नेताहरूका अनुहार हेर्नुपर्ने अवस्था थियो । किनभने, प्रदर्शनीमा न पार्टीको ब्यानर थियो न त झन्डा नै । कतिसम्म भने राजनीतिक प्रतिशोधविरुद्ध बृहत प्रदर्शन लेखिएको ब्यानरमा रवि लामिछानेको तस्बिर देखिन्थ्यो । तर, आयोजक खुलाइएन ।

प्रदर्शनकारीले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको फोटो अंकित टिसर्ट पनि प्रयोग गरेका थिए । तर, त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा, ब्यानर, पर्चा कतै पनि नाम देखिँदैनथियो ।

Argakhachi Cement Island Ad

सहकारी ठगीमा मुछिएमा आफ्ना सभापति लामिछाने बचाउका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको झन्डा–चिह्न प्रयोग नगर्ने रणनीतिले अन्योल उत्पन्न गरेको थियो ।

लामिछाने ठगीमा पक्राउ परेपछि उक्त पार्टीका सांसद–नेताहरू पछिपछि लाग्दै पोखरा पुगे । अदालतलाई प्रभावित पार्ने गरी नाराबाजीसहित जुलुस र प्रदर्शन र भाषण गरे । तर, तिनले पार्टीको चिह्न–झन्डा कतै पनि देखाएनन्, बरु राष्ट्रिय झन्डा प्रयोग गरे । त्यही शैली काठमाडौंकेन्द्रित आन्दोलनमा अपनाइएको छ ।

यो आन्दोलन रास्वपाको हो कि होइन ? हो भने झन्डा, ब्यानर र आयोजक किन खुलाइएन ? यो प्रश्न उक्त पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालसँग गर्‍यौँ । 

अर्याल सहकारीपीडित सबै पार्टीका हुन सक्ने देखेपछि पार्टीको झन्डा–चिह्न प्रयोग नगरिएको जिकिर गर्छन् ।

अर्याल भन्छन्, ‘‘आन्दोलन सहकारीपीडितका पक्षमा हो र सबै पीडितहरू आऊन् भनी त्यसो गरिएको हो । त्यसबाहेक रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको छ । त्यसविरुद्ध पनि नागरिक रहेकाले पार्टीको झन्डा र ब्यानर प्रयोग गरिएको छैन ।’’

उनी आन्दोलन रास्वपाकै भएको विषय निर्विवाद रहेको बताउँछन् । उनी भन्छन्, “रवि लामिछानेजी हाम्रो पार्टीका सभापति हुन्, यो दुनियाँलाई थाहा भएकै कुरा हो । आन्दोलनको नेतृत्व रास्वपाकै उपसभापतिको नाताले मैले गरिरहेको छु ।’’

उनी रविलाई राजनीतिक प्रतिशोधका साँध्न पक्राउ गरिएको आरोप लगाउँछन् । संसदीय छानबिन समितिले सहकारीको ८७ अर्ब रुपैयाँ ठगी भएको प्रतिवेदन बुझाएकामा अरुलाई पक्राउ नगरी रवि लामिछानेलाई मात्र तारो बनाएको उनको जिकिर छ ।

“मानिलिनुस् न्यायलयले रवि लामिछानेलाई दोषी ठहर गर्‍यो । बिगो पनि ठहर गर्‍यो । ८७ अर्व त हुँदैन होला नि त ! यो कुरा नागरिक नागरिकलाई बुझाउनुपर्नै देखियो,” उनले भने, “त्यहीकारण यो रास्वपाको मात्रै नभएर आमनागरिकको आन्दोलन हो भनेर बुझाउन पार्टीको झन्डा नबोकिएको हो ।” 

त्यसो भए पार्टीको झन्डा देखेपछि अन्यायविरुद्ध नागरिक आउँदैनन् भन्ने बुझाइ हो त रास्वपाको ?’ जवाफमा अर्याल भन्छन्, ‘‘सहकारीपीडित एमाले, माओवादी, कांग्रेस जोसुकै हुन सक्छन् । उनीहरू पनि आन्दोलनमा आउने बाटो खुलोस् भनेर झन्डा नराखिएको हो ।’’

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार पनि आन्दोलनलाई बृहत् बनाउन झन्डाको प्रयोग नगरिएको बताउँछन् । स्वःस्फूर्त रुपमा मानिस आइरहेका कारण पनि पार्टीको झन्डा नराखिएको उनको भनाइ छ । 

“स्वतस्फूर्त धेरै मान्छेहरू आएका हुँदा पार्टीको झन्डा किन राख्ने भन्ने भयो,” परियारले बाह्रखरीसँग भने, “यसमा सहभागीहरूले पार्टी झन्डा राख्नु हुँदैन भनेका होइनन् । आम मान्छेले राजनीतिक प्रतिशोधविरुद्ध र न्यायका निम्ति हामी पार्टीमा नभए पनि आउँछौं भनेकाले अलि फराकिलो होस् भन्ने हिसाबमा हो ।”

उनले रास्वपाले आयोजना गरे पनि आन्दोलनलाई आमसहभागिताको आन्दोलन भन्नुपर्ने जिकिर गरे । 

सभापति रवि लामिछाने सहकारी ठगीको अभियोगमा कात्तिक २ गते पक्राउ परेपछि रास्वपा लगातार आन्दोलनमा छ । मंगलबारबाट तिहारभरका लागि विश्राम लिएको रास्वपाले तिहार पछि पुनः आन्दोलन चर्काउने बताएको छ । 

तर, पार्टीको झन्डा र ब्यानर भने उसले निकालेको छैन । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी तिहारका बेला आन्दोलन स्थगित भएको र तिहारपछि थप मुद्दासहित आन्दोलन हुने बताउँछन् । 

राजनीतिक प्रतिशोधविरुद्ध, सहकारीपीडितलाई न्याय दिलाउने, ०६२/६३ पछिका भ्रष्टाचारका फाइल खोल्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय छलफलमा रहेको जानकारी उनले दिए ।
 
झन्डा र ब्यानर नबोक्नुको कारणबारे उनले अभियन्ताहरूकै पार्टी भएकाले त्यसमा नागरिक अभियान जोड्ने प्रयास भइरहेको स्पष्ट पारे । उनले नागरिक आन्दोलनका रूपमा स्थापित गर्न केही चरणका छलफलहरू पनि भइसकेको बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्