site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या ११६ पुग्यो, ३९ बेपत्ता

मनिला । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ । आँधीका कारण ३९ जना अझै बेपत्ता रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले सोमबार जनाएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार ट्रामीले फिलिपिन्सका १७ वटा क्षेत्रमा ६७ लाखभन्दा बढी मानिसहरूलाई प्रभावित बनाएको छ भने अझै बाढीपहिरोका प्रभावितहरूको खोजी कार्य जारी रहेको छ ।

यस वर्ष फिलिपिन्समा आएका चक्रवातमध्ये ट्रामी ११औँ चक्रवात हो र यसले विशेष गरी बिकोल, क्यालाबारजोन र मध्य तथा दक्षिणी फिलिपिन्सका क्षेत्रहरूमा तुलनात्मक रूपमा बढी क्षति गरेको भए पनि फिलिपिन्सभरि प्रभाव पारेको थियो । आँधीसँगै आएको बाढीले राजमार्ग, पुल लगायतका संरचना ध्वस्त पारी यातायात अवरुद्ध भएको छ ।

शुक्रबार ट्रामी फिलिपिन्सबाट बाहिरिए पनि पीडितहरू अझै खाना, पानी लगायतका आधारभूत आवश्यकता आपूर्तिको पर्खाइमा रहेका छन् । शनिबारदेखि बाढीपहिरोको प्रभाव कम भएपछि केही पीडितहरू आफ्नो घर फर्कन थालेका छन् ।

यद्यपि, परिषद्ले करिब दश लाख विस्थापितहरू अझै पनि निकासी केन्द्रमा वा आफन्तहरूसँग बसिरहेको जनाएको छ ।

चक्रवात ट्रामीले पूर्वाधारमा अनुमानित क्षति २६.३५ मिलियन अमेरिकी डलर तथा कृषिमा ४३ मिलियन अमेरिकी डलर बराबरको क्षति पुगेको जनाइएको छ ।  

फिलिपिन्सले अर्को उष्णकटिबन्धीय चक्रवात, कङ–रेको सामनाको तयारी गरिरहेको छ, जुन लुजन टापुबाट ७५५ किलोमिटर पूर्वमा फिलिपिन्स सागरमा सोमबार बिहान अवतरण भएको छ । यो चक्रवात पनि तीव्र गतिसहित आउने हुँदा विनाशकारी बन्नसक्ने मौसम विभागले चेतावनी दिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro