site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हिमालपारि के छ ?- ५

नवौं दिन

बिहान ‘ब्रेकफास्ट’पछि बाँकी एउटा त्रिशूल कैलासको नजिक प्रतिष्ठा गर्न बाँकी रहेकोले केही साथी होटलबाहिर दक्षिणतिर केही माथि गए र पूजा गरी त्रिशूल प्रतिष्ठा गरे । त्यसपछि हामी साथीहरू दुई समूहमा विभाजित भयौँ  । फर्किने ८ जना साथीहरूलाई लिन दुईटा गाडी आएको थियो । सबैजना आआफ्नो झोला बोकेर ती गाडीमा बसे र दार्चेनतिर नै फर्किए ।

हामी ६ जना आफ्नो सामान बोकेर गाइडसित घोडा चढ्ने ठाउँतिर लाग्यौँ । कुन घोडा लैजाने भनेर घोडा व्यापारीले चिठ्ठा हाल्ने रहेछन् । जसको घोडा पर्छ उसले नै घोडा लैजान पाउने रहेछ । हामी सबैले कागजको डल्लो तान्यौ र आफूलाई परेको घोडा चढ्यौँ । घोडामा ६ जना नै चढिसकेपछि सइसले घोडा अगाडि बढायो । उकालो बाटो सुरू भयो । आज हामी डोल्मा ला पास सम्मको ६ किमी मा ४४० मिटरको उकालो चढ्दै थियौँ  ।

Dabur Nepal
NIC Asia

सइसले घोडाको लगाम समातेको थियो र घोडा सँगसँगै अगाडि हिँडिरहेको थियो । म सइसको गति देखेर छक्क परिरहेको थिएँ । हाम्रा शेर्पाजस्ता देखिने यी सइसहरूलाई उचाइको कुनै समस्या थिएन । हामी जति माथि उक्लिँदै गयौँ हिउँ परेको भाग नजिक देखिन थाल्यो । ठाउँ ठाउँमा घोडेटो र गोरेटो बाटो छुट्टिएको थियो । सइसले बीचबीचमा घोडालाई आराम गर्न रोक्थियो र घोडाको सास फुलेको र फोक्सो भित्रबाहिर गरेको मेरो गोडाले थाहा पाउँथ्यो । आखिर त्यो पनि हामी जस्तै एउटा प्राणी न हो अनि किन सास नफुलोस् त । एकछिन उकालो उक्लेपछि केही तेर्सो तेर्सो ठाउँ आयो । मेरो सिट अलि नमिलेकोले सइसले मलाई झर्ने इसारा गर्‍यो । म झरें र उसले फेरि सिट कस्यो र मलाई बस्ने इसारा गर्‍यो । म फेरि घोडा चडेँ । हावा निक्कै चिसो हुँदै थियो । हामी हिमरेखाभन्दा माथि आइसकेका थियौँ  । अगाडि नाकै ठोकिने ठाडो उकालो थियो । फर्किने घोडाहरूलाई साइड दिन ठाउँ हेर्नुपर्थ्यो ।

बिस्तारै माथि चुचुरोतिर निकै धेरै ध्वजा पताका देखिए । एकछिनपछि सइसले मलाई झर्नु भन्यो । हामी डोल्मा ला पासको केही मुनि पुगिसकेका रहेछौँ र हाम्रो घोडाको यात्रा पनि त्यहीँसम्म थियो । केही बेरमै सबै साथीहरू माथि आइपुगे ।  नेपालको सोलुबाट आएका दुई युवा केटाहरू पनि त्यहीँ भेटिए । उनीहरू गैरआवासीय भारतीयहरूको गाइड बनेर आएका थिए र त्यति उचाइमा पनि चुरोट तान्दै थिए । तिनीहरूले हामीलाई धेरैबेर त्यहाँ नबस्ने सल्लाह दिए र हामी पनि बिस्तारै बाँकी उकालो उक्लियौँ  । यसरी जीवनमा पहिलोचोटी मैले ५ हजार ६५० मिटरको डोल्मा ला पासको उचाइमा पाइला टेकेँ । यो नै आजसम्मको मेरो सबैभन्दा अग्लो उचाइको अनुभव पनि थियो ।

अब हामी ओरालो झर्न थाल्यौँ । दायाँपट्टी अलि  तल गौरी कुण्ड देखियो । हामी बिस्तारै झर्दै थियौँ । हाम्रो गाइड छेवाङ र नेपाली गाइड देवकोटा तथा नेपाली कुक पनि हामीलाई भेट्टाउन त्यहाँ आइपुगे । उनीहरूको त्यो उचाइको अभ्यस्तताले गर्दा नै हिडेर यति छिटो हामीलाई भेट्न सकेका थिए ।

kailash-parikrama-1729566249.jpg
 

हामी बिस्तारै स्याउ, ड्राइ फ्रुट र लब्सीको तितौरा खाँदै तल झर्न थाल्यौँ । जब हामी डोल्मा ला पासबाट ५ किमी हिँडेर फेदीतिर पुग्न लागेका थियौँ । रेखा भाउजुलाई अलि अप्ठ्यारो भयो । गाइडले ‘सेब जी थेडो’ भन्ने ठाउँमा हामीलाई लैजान दुईवटा गाडी बोलाइसकेको थियो । यो गाडीको पनि हामीले छुट्टै पैसा तिर्नु पर्थ्यो । रेखा भाउजु केही बेर हिँड्न सक्नुभएन । तल गाइड चाहिँ गाडी धेरै बेर कुर्न मिल्दैन भनेर कराइरहेको थियो । त्यसैले हामी अगाडिको गाडीमा जाने समूह अलि छिटो गएर गाडीमा बस्यौँ र बिस्तारै सुधीर, रेखा भाउजु पनि अर्को गाडीमा हाम्रो पछि पछि आउनुभयो । यहाँ पनि गाडी केही किमी खोलाको किनार किनार कच्ची र उबड खाबड बाटोबाट हिँड्यो । यसरी अन्तिम १९ कि.मी. परिक्रमा (कोरा) को यात्रा हामीले गाडीबाट नै गर्‍यौँ र अपरान्ह ४ बजेतिर हामी दार्चेनको होटलमा पुग्यौँ । एउटा जीन्दगीको सपना पूरा भएको दिन थियो त्यो । एउटा साहसिक यात्राको शिखर पार गरेको दिन थियो त्यो ।

दसौं दिन

बिहानको क्वाँटी र रोटीको नास्तापछि हामी भस्मेश्वर महादेव दर्शन गर्न भनेर दार्चेनको ७० किमी पश्चिम सत्लज नदीको छेउमा पुग्यौँ । यहाँ तातोपानी पनि रहेछ र खासमा यसलाई तीर्थपुरी मोन्यास्ट्री भनिदो रहेछ । गुरु पद्मसंभवसित जोडिएकोले पनि तिब्बतीले यस ठाउँलाई मान्दा रहेछन् । गुम्बामाथि खरानीजस्तो देखिने पहाड भएकोले महादेवले भस्मासुरलाई यही मारेका हुन् भन्ने किंवदन्ति पनि हामीलाई नेपाली गाइडले सुनाए । त्यसपछि हामी पुन: दार्चेनको होटल फर्कियौँ र पुलाउ र क्वाँटीको झोल खायौँ । अनि दिउँसो १:१५ तिर सागाको लागि प्रस्थान गर्‍यौँ । मानसरोवर र कैलासको भ्रमणले सबैमा आत्मसन्तुष्टि मिलेको प्रष्ट अनुभव हुन्थ्यो । फेरि दस दिनसम्मको यात्राले सबैलाई थकित पनि बनाइसकेको थियो । त्यसैले आज सागा फर्कँदा सिटमा सबै आराम गरिरहेका थिए । सायद ‘मिसन’ पूरा गरेर घर फर्किन लागेको सोचेर पनि सबै उत्साहित थिए । सागा पुग्दा फेरि सुरक्षा चौकीको प्रक्रिया पूरा गर्नुपर्‍यो । यसले तिब्बतलाई चीनले सुरक्षाको लागि कति संवेदनशील क्षेत्रमा राखेको रहेछ भन्ने देखाउँछ । हामी रातको ९:३० बजे सागा पुग्यौँ र उही डोल्जौ सिखा होटलमा बास बस्यौँ ।

एघारौं दिन

बिहानको नास्तापछि हामी ८ बजेतिर होटलको लबीमा जम्मा भयौँ  । सामान सबै बसमा राखेपछि हाम्रो नेपालतिरको यात्रा सुरू भयो । सागाबाट केरूङ १७० किमीको दूरीमा रहेछ । आज हाम्रो साथी कमलराम जोशीलाई जोस आएछ र बसको अगाडि गएर माइक समाए । त्यसपछि राम्रो कार्यक्रम सञ्चालकको कौशल देखाउँदै उनले बसका सबैजनालाई कसैलाई चुट्किला भन्न लगाए, कसैलाई गीत गाउन लगाए, कसैलाई बितेका दिनका रमाइला घटना सुनाउन लगाए, कसैलाई बिहे गर्दाको रोचक स्मरण सुनाउन लगाए । यसले यात्रालाई निकै रमाइलो बनायो । यही बीचमा बस ५ हजार २३६ मिटरको गाङडुड्ला पासमा शौचकर्मको लागि रोकियो । बाहिर कुहिरो लागेको थियो ।

अब हामी तिब्बती पठारबाट हिमालको दक्षिणतिर झर्दै थियौँ  । एक हिसाबले केही क्षणमै ५ हजार २३६ मीटरबाट झरेर २ हजार ७८५ मिटर उचाइमा रहेको केरूङ पुग्दै थियौँ  । जहाजबाट प्यारासुटमा हाम्फालेको जस्तै । बस घुम्ती र मोड पार गर्दै तलतिर झर्दै थियो । केरूङ पुग्नुअघि हामी एउटा अग्लो झरना नजिक पुग्यौँ । अति सुन्दर त्यो झरनामा सबैले फोटो खिच्ने काम गर्‍यौँ र दिउँसो १२ बजेतिर हामी केरुङ पुग्यौँ । त्यसपछि होटलमा चेक इन गरेर हामी किपु क्यानन हेर्न एउटा पुलमा गयौँ  । पोखराको सेतीजस्तै भोटमा रहेको यो खोला जुन नेपाल पुगेपछि त्रिशूली हुन्छ निकै तल धसिएर बगेको रहेछ । हामीले त्यहाँको दृश्य पनि आफ्नो मोबाइलमा कैद गर्‍यौँ । धेरै दिनपछि आज फेरि उही भिर, जंगल र बाटोको किनारमा खोला पुग्दा हामीले नेपालको वातावरण महसुस गरिसकेका थियौँ र महत्त्वपूर्ण कुरा त हावामा अक्सिजन प्रशस्त भएकोले हाम्रो फोक्सोले शरीरमा राम्ररी अक्सिजनको मात्रा पठाउन सुरु गरिसकेको थियो । हामीलाई अल्छी लाग्ने र टाउको दुख्ने सबै उचाइ रोगले छोडिसकेको थियो ।

बेलुका एउटा साथीको जन्मदिन परेकोले हामीले पैसा उठाएर उसको जन्मदिन त्यहीँ होटलमा मनायौँ । नेपाल छोडेपछि पहिलो दिन केही साथीहरूले चिनियाँ बियरको स्वाद लियौँ  ।

बाह्रौं दिन

बिहानै दक्षिण पश्चिममा रहेको लाङटाङ हिमालमा सुनौला घाम देखियो । सफा केरूङ सहर मनमोहक देखिएको थियो । हामी बिहान ९ बजे केरूङबाट नेपाली सीमा रसुवागढीतिर प्रस्थान गर्‍यौँ । बाटो घुम्ती र ओरालो भए पनि खराब थिएन । कहिँ कहिँ बाढीपहिरोको समस्या भएको ठाउँमा द्रुत गतिमा मर्मत चलिरहेको थियो । हामी सिमानाको अध्यागमन कार्यालय आइपुग्यौँ र तिब्बती गाइड छेवाङलाई धन्यवाद दिदै पुन: भेट्ने वाचासहित नेपाल प्रवेश गर्‍यौँ । नेपाल प्रवेश गर्नेबित्तिकै चारैतिर बाटोमा मिल्काइएका मिनरल वाटरको बोतल, चाउचाउको खोल, गुट्खाको खोलले हामीलाई स्वागत गर्‍यो ।

नेपालतिर बाटो कच्ची रहेछ र दुई लेन सबै जाम भएर बसेको रहिछ । नजिकको एउटा टहरामा नेपाल प्रहरीले हाम्रो शरीर र झिटीगुन्टा सबै जाँच गर्‍यो । अध्यागमन कार्यालय एक किलोमीटर पर रहेको जानकारी पाएपछि हामी हिँड्दै त्यहाँ पुग्यौँ र राहदानीमा 'अराइभल’को छाप लगायौँ ।  त्यहीँ नजिक नेपाली होटलमा खाना खायौँ  । मोबाइलले नेपालको टावर समातिसकेको थियो र हामी ‘रिजर्भ’ बसमा काठमाडौं हिड्न लाग्दा बिहानको ९:३० बजेको थियो । बाटोले नेपालको बिजोग देखाइरहेको थियो । बेत्रावती पुग्न धुन्चे भएर नै जानुपर्ने रहेछ । मैले इञ्जिनियर पास गरेर पचास सालमा काम सुरू गर्दा नै बेत्रावती बाटो पुरा हुँदैछ र चाँडै नै रसुवागढी जान धुन्चे जानुपर्दैन भन्ने सुनेको कुरा ३१ वर्षमा पनि पूरा भएको रहेनछ । दु:ख लाग्यो, अरू त के भनुँ र । बसमा यता र उता मच्चिँदै बेलुका ४:३० बजे बेत्रावती पुगेर हामीले खाजा खायौँ  । बस छहरेको बाटोबाट काठमाडौं उपत्यका छिर्न उक्लिन थाल्यो । गुर्जु भन्ज्याङ काटेर हामी टोखा झर्न थाल्यौँ । मेरो घर टोखा रोड, सीआरएस कंपनीपछाडि भएकोले म उत्रिने पहिलो यात्रु भएँ । साढे आठतिर म सबैलाई बाई भनेर सीआरएस कंपनी अगाडि बसबाट झरेँ । यसरी बाह्रौं दिनको यात्रापछि म २८ भाद्र २०८१ मा घर आइपुगेँ ।

उपसंहार

मानिसको जीवन सृष्टिको एउटा वरदान हो र यो लाखौं वर्षदेखि यस धर्तीमा निरन्तर छ । विज्ञान त अहिले आएर एआईसम्म पुगेको छ तर सृष्टि यहाँसम्म आइपुग्ने क्रममा केही शक्ति र आस्थाले मानिसलाई डोर्‍याएको छ । हाम्रो कैलास भ्रमण पनि आस्थामा आधारित छ र त्यसबाट हामीलाई केही प्रकाश प्राप्त हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ । जसरी हाम्रो गायत्री मन्त्रको सारले भन्छ

हामी त्यो परम प्रकाशको ध्यान गर्छौं

जो सूर्य भगवान (या परमात्मा) को दिव्य तेज होस्

जसले हाम्रो बुद्धि र ज्ञानलाई प्रेरित गरोस् ।

हामी पनि मानसरोवर र कैलास भ्रमण एउटा तेजको खोजीमा र ज्ञानको निखारको लागि गएका थियौँ  । हामीलाई यस भ्रमणले मनोवैज्ञानिक ऊर्जा थपेको अनुभव भएको छ । मानसरोवर जान इच्छा राख्ने तीर्थयात्री रसुवाबाट सिधै मानसरोवर जान पनि सक्छन् । स्वास्थ्यमा समस्या छ भने कैलाश परिक्रमा नगरे पनि हुन्छ । तर जानुअघि एकचोटी ‘ट्राभल एजेन्सी’ वा कैलास भ्रमण गरिसकेको व्यक्तिसित सल्लाह गरेर जानु उपयुक्त हुन्छ ।
समाप्त

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro