site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई अझै डर, अप्रत्याशित नतिजाको खोजीमा श्रीलंका 
फाइल तस्बिर ।

काठमाडौं । समूह चरणको अन्तिम खेलमा आज घरेलु टिम नेपाललाई श्रीलंकाको चुनौती छ । साफ महिला च्याम्पियनसिप–२०२४ मा समूह ‘बी’बाट सेमिफाइनल पुग्ने दुई टोलीको अझै टुंगो लागेको छैन । यो दौडमा छन्, घरेलु टिम नेपालसँगै भुटान र श्रीलंका ।

नेपाल र श्रीलंकाबीचको खेल दशरथ रंगशालामा हुने तालिका छ । खेल बेलुका ५ः३० बजे सुरु हुनेछ ।

तालिकाको शीर्ष स्थानमा रहे पनि नेपाल ढुक्कको स्थितिमा छैन । आजको खेलमा घरेलु टिमविरुद्ध श्रीलंकाले अप्रत्याशित जित निकाले नेपालको सम्भावना समाप्त हुनेछ । त्यसमा अर्को समीकरण पनि छ । नेपालको खेलअघि हुने प्रतिस्पर्धामा भुटानले माल्दिभ्सलाई हराउनुपर्नेछ ।

यही समीकरणका कारण नेपाली टिम आज पक्कै पनि जितको दबाबमा हुनेछ । भुटानले माल्दिभ्सलाई हराउँदा श्रीलंकाविरुद्ध बराबरीमा रोकिए नेपाल समूह उपविजेता बन्नेछ ।

साफको इतिहासमा यसअघिका पाँच संस्करणमा नेपालको समूहमा हुँदा भुटान कहिल्यै समूह विजेता बनेको छैन । नेपालका निम्ति आजको खेल प्रतिष्ठाको लडाइँ समेत बन्ने पक्का छ ।

नेपालको खातामा दुई खेल खेल्दा चार अंक छ । नेपाल पहिलो खेलमा भुटानसँग निराशाजनक बराबरीमा रोकिएको थियो । नेपालले दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० को जित निकालेको थियो । साफको इतिहासमा नेपालले निकालेको यो दोस्रो सबैभन्दा ठूलो जित हो । नेपालले यसअघि अफगानिस्तानविरुद्ध दोस्रो संस्करणमा १३–० को जित निकालेको थियो ।

समान खेलबाट चार अंक नै जोडेको भुटान गोलआधारमा नेपालभन्दा पछाडि छ । भुटानले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ४–१ को जित निकालेको थियो ।

दुई खेलबाट तीन अंक जोडेको श्रीलंका पनि अप्रत्याशित नतिजासहित सेमिफाइनल पुग्ने दाउमा छ । श्रीलंकाले माल्दिभ्सविरुद्ध १–० को जित निकालेको थियो । दुई खेल खेल्दा पनि अंकविहीन माल्दिभ्सको भने सेमिफाइनल सम्भावना समाप्त भइसकेको छ ।

साफको इतिहासमा नेपालले हालसम्म श्रीलंकाविरुद्ध हार व्यहोरेको छैन । नेपाल आज पनि यही लय कायम राख्ने लक्ष्यमा छ । तर, केही गुमाउन नरहेको श्रीलंकाविरुद्ध नेपाललाई सहज पक्कै हुने छैन ।

आजको समीकरणबाट समूह विजेता बने नेपालले फाइनल प्रवेशका निम्ति प्रतियोगिताकै सबैभन्दा सफल भारतविरुद्ध खेल्नेछ । यसअघिको संस्करणमा पनि नेपालले भारतलाई नै सेमिफाइनल प्रतिद्वन्द्वी पाएको थियो । उक्त खेलमा नेपाल १–० ले विजयी भएको थियो ।

समूह उपविजेता बने नेपालले साविक विजेता बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बंगलादेश त्यही टिम हो, जसले नेपाललाई पछिल्लो संस्करणको फाइनलमा दशरथ रंगशालामै स्तब्ध बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro